धितोपत्र बोर्डले शुरु गर्यो ईआरआरएस प्रणाली, विवरण पेश गर्न कार्यालय धाउनै नपर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले इलेक्ट्रोनिक रिपोर्टिङ एण्ड रिट्राइभर सिष्टम(ईआरआरएस) प्रणालीको शुरुवात तथा अनावरण गरेको छ । यससँगै सूचीकृत कम्पनी तथा अन्य बजार सहभागीहरुले बोर्डमा पेश गर्नुपर्ने वित्तीय तथा अन्य विवरणहरु अनलाइनबाटै पेश गर्न सक्नेछन् । यस व्यवस्थाबाट अब बोर्डबाट इजाजतपत्र प्राप्त संस्था र निश्कासनकर्ता एंव सुचिकृत संगठित संस्थाहरुले भौतिक रुपमा विवरहरु पेश नगरी आफ्नै कार्यालयबाट विद्युतीय माध्यममार्फत आवधिक वित्तीय विवरण तथा अन्य विवरणहरु पेश गर्न सक्ने बोर्डले जनाएको छ । यससँगै बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी आधारभूत ज्ञान हाशिल गर्न चाहने स्कूल तथा कलेजका विद्यार्धीहरु र आम लगानीकर्ताहरुलाई लक्षित गरी बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता हाते पुस्तक, २०२० (अग्रेजी संस्करण) तयार गरी प्रकाशन गरेको छ । विश्व लगानीकर्ता सप्ताह २०२० को तेस्रो कार्यक्रमको रुपमा बोर्डले हाते पुस्तक तथा उक्त प्रणालीको शुरुवात गरेको हो । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले लगानीकर्ताको लागि हाते पुस्तकको बिमोचन र ईआरआरएस प्रणालीको शुरुवात गरेका हुन् । यससँगै, वित्तीय बजार, पुँजी बजार, धितोपत्र बजार, धितोपत्रको प्राथमिक निश्कासन तथा यसको प्रकृया, लगानी योजना तथा प्रक्रिया, सेयरधनीको अधिकार, बजार सहभागी तथा बजार सहभागीले प्रवाह गर्ने सेवा सुविधा, लगानीको मन्त्र, लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरु, बारम्बार सोघिने प्रश्नहरु तथा बजारसँग सम्बन्धित उपयोगी शव्दावली आदि समेटिएको धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी हाते पुस्तक, २०२० (अग्रेजी संस्करण) ले विद्यार्थी, सर्वसाधारण लगानीकर्ता तथा अन्य सरोकारवाला सबैको वित्तीय साक्षरतामा अभिवृद्धि गर्ने र यसबाट लगानी सम्बन्धी सुसूचित निर्णय लिन सहज हुने कुरामा बोर्ड विश्वस्त रहेको छ । त्यस्तै नियमन व्यवस्था अनुरुप सुचिकृत संगठित संस्थाले लगानीकर्तालाई उपलब्ध गराउनुपर्ने सूचना, जानकारी तथा विवरण लगानीकर्ताहरुले समेत प्राप्त गर्न सक्ने गरी विकास गरिएको ईआरआरएसको माध्यमबाट आम लगानीकर्ताले न्यून प्रयास तथा लागतमा प्राप्त गर्न सक्षम हुनेछन् । बोर्डले आगामी दिनमा क्रमशः धितोपत्र बजार सम्बन्धी अन्य गतिविधीहरु त्था प्रकृयाहरुलाई पनि प्रविधि मैत्री बनाउंदै लैजाने छ । यस प्रणालीको प्रयोगबाट बजारमा सूचना प्रवाह तथा नियमको परिपालना कार्य सहज हुनुका साथै बजार सहभागीहरुको कानुन परिपालना लागतमा कमी आउने बोर्डले जनाएको छ ।
पाँच तारा साकोसको १३औं साधारणसभा सम्पन्न, कुल कारोबार ५९ करोड बढी
काठमाडाैं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले नवीनतम प्रविधिको प्रयोगमार्फत विषम परिस्थितिमा पनि १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा संस्थाले साधारणसभा सम्पन्न गरेको हो । सभामा शुभकामना मन्तब्य राख्दै अध्यक्ष पौडेलले सहकारी क्षेत्र अब डिजिटाइजेशन र सर्भिस्टाइजेशनमा जाने बेला आएको बताए । कोभिड-१९ महामारीबाट बच्न सरकारले शुरुमा गरेको लकडाउनसँगै नेफ्स्कुनले जारी गरेका दुईवटा मार्गनिर्देशनमा सहकारी संस्थाहरु अघि बढेकाले समाजमा सहकारीको साख झनै बढेको उनले जनाए । कोभिडका कारण सदस्यहरुमा मनोवैज्ञानिक असर पर्नुका साथै भौतिक उपस्थिति समेत पातलिँदै गएको अवस्थामा उनीहरुमा आत्मविश्वास जगाउँदै जनजीविकालाई सुचारु बनाउन सहकारीको महत्वपूर्ण भूमिका हुने पौडेलले जनाए । कोभिडको प्रभाव बढेसँगै मुलुक आर्थिक मन्दीमा जान सक्ने संकेत देखिएकाले सदस्यहरुको आर्थिक स्तरलाई माथि उठाउन सहकारीहरुले व्यवसायिक निरन्तरता योजना तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव उनले दिए । सदस्यहरुको आर्थिक सामाजिक स्तरलाई आधार बनाएर व्यवसायिक निरन्तरता योजना लागु गर्न सके सदस्यहरुले गरिमामय जीवन जिउन सक्ने उनको भनाइ थियो । नेफ्स्कुनले व्यवसाय प्रवर्द्धनका सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कोषहरुसँग सहकार्य गरेर काम गरिरहेको र कोभिडका बीचमा सदस्यहरुको सामना शक्ति विकास गर्नेतर्फ केन्द्रित भएको उनले जनाए । अहिले सहकारी ऐन संशोधनको कुरा अघि बढाइएको र ऐनमा रहेका बाधक पक्षहरु संशोधनका लागि सरकारी प्रतिवद्धता आएको उनले जनाए । कोभिडबाट अन्य क्षेत्र जस्तै सहकारी क्षेत्र पनि प्रभावित भएकाले सहकारीका ऐन नियम कार्यान्वयनको कुरामा सरकारलाई लचकता अपनाउन उनले आग्रह गरे । पाँच तारा साकोस नेफ्स्कुनकै गाइडलाइनमा अगाडि बढेको उल्लेख गर्दै उनले सहकारीहरुलाई स्तरिकृत र स्थरिकरण कोषमा जोड्दै सबल र सुशासनयुक्त संस्था बनाउने अभियानमा नेफ्स्कुन लागेको उल्लेख गरे । संस्थाको कारोबार बढ्दै जाँदा जोखिम पनि बढ्ने भएकाले नेफ्स्कुनले अघि सारेको ३ मध्ये एक कार्यक्रममा सहभागि हुन पाँच तारालाई उनले आग्रह गरे । संस्थाका अध्यक्ष भोला नाथ पाठकले असहज परिस्थितिका कारण सदस्यहरुको भौतिक उपस्थिति बिना नै साधारण सभा गर्नु पर्दा खल्लो महशुस भएको बताए । सामान्य हेराइबाट नदेखिन अदृष्य भाइरसले संसारलाई नै चपेटामा पारेको र यसको प्रभावबाट कुनै क्षेत्र, वर्ग र समुदाय अछुतो नरहेको भन्दै यस्तो अवस्थामा पनि संस्थाले सदस्यहरुलाई निरन्तर सेवा दिन सकेको उनले उल्लेख गरे । महामारीका बीच पनि संस्थागत र सामाजिक कार्यक्रममा संस्था निरन्तर लागिरहेको र लकडाउनका कारण आर्थिक समस्यामा परेका सदस्यहरुलाई राहत उपलब्ध गराउनले देखि भोजन दानमा समेत संस्थाले सहभागिता जनाएको उनले जानकारी दिए । संस्थाले उद्यमशीलता विकासका लागि उद्यम विकास खाता शुरु गरेको र कृषि तथा महिला उद्यमी कर्जा सहुलियत दरमा लगानी गर्ने योजना अघि बढाएको अध्यक्ष पाठकले बताए । प्राकृतिक विपत्तिहरु आउँदा त्यसलाई व्यवस्थापन गर्न प्राकृतिक विपत्ति कोषको स्थापना गरेको र उक्त कोषमा हालसम्म ७ लाख ७ हजार ९१६ रुपैया जम्मा भएको जानकारी उनले दिए । संस्थाले स्मार्ट मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको र निकट भविष्यमै एससिटि नेटवर्कमार्फत एटिएम सेवा शुरु गर्ने योजना भएको जनाए । उद्यमशीलता बाट नै व्यक्ति समृद्ध हुने भएकाले संस्थाबाट लिएको ऋणलाई समुचित उपयोग गरी आयस्तर वृद्धि हुने कार्यमा लगाउन उनले आग्रह गरे । संस्थाका कोषाध्यक्ष कुमार विमलीले आर्थिक वर्ष २०७६।७७ को आर्थिक विवरण पेश गर्दे शेयर पूँजी ६ करोड ३२ लाग २८ हजार, बचत संकलन ४१ करोड ६६ लाख ८७ हजार र ऋण लगानी ४६ करोड १ लाख २४ हजार पुगेको जानकारी गराए । संस्थाले आव २०७६।७७ मा २ करोड ६२ लाख १५ हजार खुद मुनाफा आर्जन गरेको छ । मुनाफा अघिल्लो आ.व.को भन्दा ६९ लाख ६ हजारले बढि रहेको छ । संस्थाको कुल कारोबार ५९ करोड ८ लाख ७० हजार पुगेको छ । पूँजी फिर्ता कोषलाई योगदानको आधारमा ऋण लगानीमा ६० प्रतिशत र बचत योगदानमा ४० प्रतिशत हुने गरी बाँडफाँड गर्नुपर्ने कानुनी व्यवस्था भएपनि संस्थाले पूँजी फिर्ता कोष कार्यविधि तयार गरिनसकेकाले शेयर अनुपातका आधारमा सक्रिय सदस्यहरुका लागि दामासाही रुपमा बाँडफाँड गर्ने भएको छ ।
जनरल इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालको साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर मंगलबार (असोज २७ गते)देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल जीआईसी दिइएको छ । यससँगै पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०१ रुपैयाँदेखि अधिकतम ३०५ रुपैयाँ तोकेको छ । यस कम्पनीले सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि कुमारी क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।