१ लाखसम्मका सहकारी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी

काठमाडौं । सरकारले सहकारीमा १ लाख तथा सोभन्दा कम रकम बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी गरेको छ । भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीडितको बचत रकम फिर्ता गर्ने उद्देश्यले कार्यविधि तयार पारेको हो ।  सानो रकम फसेका पीडित नागरिकलाई चक्रीय कोष बनाएर रकम फिर्ता कार्यविधि निर्माण गरी अर्थ मन्त्रालयमा पठाइएको छ । अर्थ मन्त्रालयबाट कार्यविधि स्वीकृति प्राप्त भएपछि कानुन मन्त्रालयको राय लिएर मन्त्रिपरिषद् लैजाने र त्यहाँबाट अनुमोदन भएपछि पीडितलाई बचत फिर्ता गरिने मन्त्रालयका सह प्रवक्ता दामोदर वाग्लेले जानकारी दिए ।  उनका अनुसार पीडित परिवारलाई राज्यको प्रत्याभूति दिलाउन कम बचतकर्तालाई पहिलो चरणमा छिट्टै रकम फिर्ता गरिने छ । अर्थ मन्त्रालयले निश्चित रकम बिउ पुँजीका रूपमा चक्रीय कोषमा जम्मा गर्नेछ । त्यसबाट समस्याग्रस्त घोषणा गरिएका सहकारीका बचतकर्तालाई रकम उपलब्ध गराइने छ । ती सहकारी लिलाम गरी आएको रकम पुनः सोही कोषमा जम्मा गर्दै आर्थिक स्रोत व्यवस्थापन गरिने छ । पीडित बचतकर्ताले आफ्नो रकम फिर्ताका लागि विभिन्न समिति गठन गरी राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन् । देशभर करिब ३४ हजार सहकारी संस्था सञ्चालनमा रहेका छन् । ती सहकारी तीन तहका सरकार मातहत अलग अलग दर्ता रहेकाले नियमनमा समस्या छ । पीडितले आफ्नो रकम फिर्ता पाउन तथा ठगी गर्ने सञ्चालकलाई कारबाहीको माग गर्दै आएका थिए । समुदायमा सहकारीको आदर्श तथा सिद्धान्तमा आधारित भएर सहकारी सदस्यको हितमा क्रियाशील सहकारी संस्थाहरूले राम्रो प्रगति गरेका छन् भने सिद्धान्त विपरीत बचत सङ्कलन गरी कर्जा प्रवाह गर्ने अधिकांश सहकारी समस्यामा छन् ।

गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेड २०८२’ सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १९औं वार्षिकोत्सवका अवसरमा ‘गरिमा रोड रेड २०८२’ दौड प्रतियोगिता सम्पन्न भएको छ । बैंकको वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित सो प्रतियोगितामा खुला, कर्पोरेट तथा भेट्रान गरी तीन विधामा महिला र पुरुष गरी कुल ६ वटा प्रतिस्पर्धा सम्पन्न गरिएको हो । खुला तर्फ १० किमीको दौड बालुवाटारस्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय अगाडिबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिका–३ सम्म पुगेको र सोही मार्ग हुँदै पुनः बालुवाटारमै समापन गरिएको थियो । त्यस्तै, कर्पोरेट तथा भेट्रान विधाको ५ किमी दुरीको प्रतियोगिता समेत बालुवाटारबाट सुरु भई नारायणगोपालचोक हुँदै न्यूरो अस्पताल, बाँसबारीसम्म गई पुनः बालुवाटारमै सम्पन्न गरिएको हो । २०७ जनाभन्दा बढी सहभागी रहेको खुला विधामा महिलातर्फ १० किमी दुरी ३४ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै ओलम्पियन सन्तोषी श्रेष्ठ प्रथम बनेकी छिन् । पुरुषतर्फ २९ मिनेट १२ सेकेन्डमा दूरी पूरा गर्दै नेपाल आर्मीका राजन रोकायले पहिलो स्थान हासिल गरेका छन् । पुरुष खुला विधाका सबै पुरस्कार तथा महिलातर्फ चार पुरस्कार नेपाल आर्मीका धावकहरूले जित्न सफल भएका छन् । खुला विधाका प्रथम, द्वितीय, तृतीय, चतुर्थ र पंचम स्थान हासिल गर्ने धावकहरूलाई क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, कर्पोरेट तथा भेट्रान ५ किमी विधाका उत्कृष्ट पाँच धावकहरूलाई क्रमशः ३० हजार, २० हजार, १४ हजार, १० हजार र ७ हजार रुपैयाँ नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विकास बैंकका सञ्चालक, पूर्व सञ्चालक, सेयरधनी, स्थानीय निकायका प्रतिनिधि, संघ–संस्था, पत्रकार तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । स्वागत मन्तव्य दिंदै प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले कार्यक्रममा स्वास्थ्य–सचेतना र सामुदायिक सहभागिताबाट प्राप्त सकारात्मक प्रभावको बारेमा प्रकाश पारे । समापन सत्रमा बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले मानव स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई आगामी वर्षहरूमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैगरी, मङ्सिर ७ गते बैंकले १९औं वार्षिकोत्सवका अवसरमा देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान तथा १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम आयोजना गरिएको जानकारी गराइएको छ ।

राष्ट्र बैंकले तीन अर्ब ७६ करोड लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ७६ करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।      केन्द्रीय बैंकले एक सूचनामार्फत आफूले लिन चाहेको रकम र सो रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत उल्लेख गरी यही मङ्सिर ८ साँझ ७ः०० बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।    सूचनाअनुसार सो रकम एक वर्षका लागि लगानी गर्न लागिएको हो । सूचनाअनुसार क वर्गको वाणिज्य बैंकमा तीन अर्ब ८० लाख रुपैयाँ,  ख वर्गका विकास बैंकमा ५६ करोड ४० लाख रुपैयाँ र ग वर्गका वित्त कम्पनीमा १८ करोड ८० लाख रुपैयाँ बराबर लगानी हुनेछ ।      बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, केन्द्रीय बैंकबाट तोकिएको न्यूनतम कूल पूँजीकोष कायम गरेको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायतका शर्त पूरा गरेको हुनुपर्ने छ ।