बीमा अनुसन्धान र ज्ञान आदानप्रदानका लागि नेपाल बीमा प्राधिकरण र त्रिवि बीच समझदारी

काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच बीमासम्बन्धी अनुसन्धान र ज्ञान आदानप्रदानसम्बन्धी संयन्त्रण निर्माण गर्ने सम्बन्धी समझदारी भएको छ । बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्मा र त्रिवि तथ्याङ्कशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रभात उप्रेतीले आइतबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा सो सम्बन्धी सझादारीपत्रमा हस्ताक्षर गरे । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले बीमा सम्बन्धी अनुसन्धानलाई अगाडि बढाउन र प्राधिकरणका लागि आवश्यक बीमा सम्बन्धी तथ्याङ्क प्राप्त गर्न समझदारीबाट सहयोग पुग्ने बताए । अध्यक्ष शर्माले विश्वमा नयाँ नयाँ अनुसन्धान र नविनतम् प्रविधि विकसित हुँदै गरेको सन्दर्भमा द्विपक्षीय सहकार्य आगामी दिनमा अझ प्रभावकारीरूपले व्यापक हुँदै जाने विश्वास व्यक्त गरे । तथ्याङ्कशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रभात उप्रेतीले द्विपक्षीय समझदारीबाट अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई बीमा सम्बन्धी अनुसन्धान एवम् ज्ञान आदान–प्रदानमा सहयोग पुग्ने धारणा राखे । समझदारीपत्रमा बीमा क्षेत्रको अवस्था, प्रभावकारिता र चुनौती, बीमा नीति, बीमाको पहुँच, नयाँ बीमालेखको आवश्यकता, दिगो विकासमा बीमा क्षेत्रको योगदान, बीमा सम्बन्धी सरकारी नीति र वित्तीय क्षेत्र लगायतसँग सम्बन्धित अनुसन्धानलाई अगाडि बढाइने उल्लेख छ ।  यसैगरी, नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी अनुसन्धानका क्षेत्र पहिचान गर्ने, त्रिवि तथ्याङ्कशास्त्र केन्द्रीय विभागले प्राधिकरणको प्राथमिकताका आधारमा बीमा सम्बन्धी अनुसन्धानका लागि विज्ञहरू उपलब्ध गराउने, प्राज्ञिक तथा अनुसन्धानका लागि तथ्याङ्कहरू आदान–प्रदान गर्ने र बीमा अनुसन्धान सम्बन्धी विषयमा तालिम संचालन गर्ने लगायतका विषय समझदारीपत्रमा उल्लेख छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, निर्देशक पुजन ढुंगेल अधिकारी, निर्देशक कुन्दन सापकोटा, निर्देशक शाम्भ राज लामिछाने र निर्देशक निर्मल अधिकारी तथा त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागका प्रा.डा. श्रीजन लाल श्रेष्ठ र लेक्चरर अरूण यादव उपस्थित थिए ।

नेशनल फण्ड म्यानेजमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।  यस अन्तर्गत, प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ रहनेछ र कुल २१ लाख ६ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिनेछ । कम्पनीले २१ करोड ६ लाख रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।  सम्झौता अनुसार नेशनल फण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरी निकट भविष्यमा आईपीओ सुरु गर्ने योजना तय गरेका छन् । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भइसकेको छ । नेपाल धितोपत्र बोर्डबाट विशेषीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड र हेज फण्डको कोष व्यवस्थापकको इजाजत प्राप्त गरेको कम्पनीले बुक बिल्डिङ्ग विधिबाट निष्काशित धितोपत्रका लागि योग्य संस्थागत लगानीकर्ता बन्न स्वीकृति पाएको छ ।  

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरेबिका र क्याफियोफिलिया कफीमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले अब अरेबिका कफी र क्याफियोफिलिया कफीमा छुट प्राप्त गर्ने भएका छन् । बैंकले कफी पारखीहरूलाई लक्षित गरेर छुट सुविधा उपलब्ध गराउने उद्देश्यले भैंसेपाटीस्थित अरेबिका कफी र क्याफियोफिलिया कफीसँग सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले अरेबिका कफीका दरबारमार्ग, बौद्ध, बानेश्वर, राधेराधे भक्तपुर, यूएन पार्क ललितपुर, मीनभवन, कालीमाटी, बुढानिलकण्ठ तथा भैंसेपाटी शाखाबाट कफी तथा तातो पेय पदार्थमा १० प्रतिशत र इटालियन खानामा १५ प्रतिशत छुट पाउनेछन् । यस्तै, क्याफियोफिलिया भैंसेपाटीले प्रदान गर्ने बेकरीबाहेकका सेवामा ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यस सहकार्यबाट डिजिटल कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा राखेको छ । बैंकले हालै मात्र आफ्ना क्रेडिट कार्डवाहकका लागि आकर्षक सुविधा थप गर्दै विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने व्यवस्था सुरु गरेको थियो । यस योजनामा ग्राहकले खरिद गरेको टुर प्याकेजको लागत अनुसार ६ देखि १२ महिनासम्म मासिक किस्तामा भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध छ । बैंकले आगामी दिनमा पनि यस्ता सहकार्य तथा सुविधामार्फत ग्राहक अनुभवलाई अझ सहज र लाभदायक बनाउँदै लैजाने जनाएको छ ।