शिखर इन्स्योरेन्स २२औं वर्षमा प्रवेश, सात प्रदेशमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले २१औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशभर बढ्दो रगतको मागलाई ध्यानमा राख्दै कम्पनीले सातै प्रदेशमा एकसाथ साताव्यापी रक्तदान अभियान सञ्चालन गरेको हो । कम्पनीका अनुसार कोशी प्रदेशमा ५३ युनिट, मधेश प्रदेशमा १६७ युनिट, बागमती प्रदेशमा ६३९ युनिट, गण्डकी प्रदेशमा ७९ युनिट, लुम्बिनी प्रदेशमा ४३५ युनिट, कर्णाली प्रदेशमा ४४ युनिट तथा सुदूरपश्चिम प्रदेशमा २२ युनिट गरी जम्मा १४३९ युनिट रगत संकलन भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा सहकार्य र उत्साहजनक सहभागिताका लागि कम्पनीले सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक समिति, आयोजक कार्यालयहरू, नेपाल रेडक्रस सोसाइटी, रक्तदाता तथा सबै सहयोगीप्रति आभार व्यक्त गरेको छ । २२औं वर्षमा प्रवेश गरेको शिखर इन्स्योरेन्सले आगामी दिनमा अझ सबल, सरल र सुदृढ बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

मुक्तिनाथ विकास बैंकले महराजगञ्ज प्रहरीवृतलाई दियो दुई थान मोटरसाइकल

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रदान गरिएको उक्त सहयोग शान्ति–सुरक्षा प्रवर्द्धनमा उपयोगी हुने अपेक्षा गरिएको छ । एक समारोहबीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बर्जाचार्यले प्रहरीवृत महराजगञ्जका प्रमुख निरञ्जन थापालाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् । बैंकले गरेको सहयोगले प्रहरीलाई संवेदनशील क्षेत्रहरूको निगरानी, समयमै सूचना संकलन तथा समाजमा शान्ति–व्यवस्था कायम राख्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । बैंकका अनुसार सुरक्षित समाज निर्माण सबैको साझा दायित्व भएकाले नागरिक सुरक्षामा अग्रपंक्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग गर्नु संस्थाको सामाजिक जिम्मेवारी हो । यस सहयोगले प्रहरीको दैनिक कार्यसम्पादन सहज हुने बैंकको विश्वास छ ।

आइजीआई प्रुडेन्सियल र अल्का अस्पतालबीच नगदरहित उपचार सेवासम्बन्धी सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र अल्का अस्पताल प्रालिबीच बीमित ग्राहकका लागि नगदरहित (क्यासलेस) उपचार सेवा प्रदान गर्ने सम्झौता भएको छ। नारायणचौर, नक्शालस्थित आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रधान कार्यालय र जावलाखेल, ललितपुरस्थित अल्का अस्पतालबीच भएको सम्झौतापत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अल्का अस्पतालका वित्त अधिकृत मुकुन्द भुसालले हस्ताक्षर गरे । सम्झौता अनुसार आइजीआई प्रुडेन्सियलबाट औषधोपचार बीमा सेवा खरिद गरेका बीमितले बीमालेखमा तोकिएको सीमाभित्र अस्पतालमा नगदरहित भर्ना सेवा प्राप्त गर्न सक्नेछन् । सम्झौता हस्ताक्षरपछि नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले अल्का अस्पतालका ग्राहकलाई आइजीआई प्रुडेन्सियलको स्वास्थ्य बीमा सेवा उपयोग गरी सहज र व्यवस्थित सेवा लिन अनुरोध गरे । उनले अस्पताल तथा त्यससँग आवद्ध सदस्यहरूले आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा कम्पनीमार्फत निश्चिन्त रूपमा पाउन सकिने बताए । त्यसैगरी अल्का अस्पतालका वित्त अधिकृत भुसालले अस्पतालसँग सन्तुष्ट ग्राहकको संख्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै आइजीआई प्रुडेन्सियलबाट प्राप्त बीमा सेवा छिटो छरितो हुने र आगामी दिनमा दुबै संस्थाले मिलेर सेवाको दायरा अझ विस्तार गर्दै जाने जानकारी दिए