दुई पुनर्बीमा कम्पनीको विभिन्न क्षेत्रमा लगानी ३७ अर्ब ७५ करोड, कुनमा कति ?
काठमाडौं । नेपालमा सञ्चालन रहेका दुई पुनर्बीमा कम्पनी नेपाल र हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विभिन्न क्षेत्रमा ३७ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेका छन् । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा र निजी क्षेत्रद्वारा सञ्चालित हिमालयन रि इन्स्योरेन्सबीच बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, पब्लिक कम्पनीको साधारण सेयर, विभिन्न सौर्य ऊर्जा, शिक्षा स्वास्थ्य, इन्भेष्टमेन्ट कम्पनी लगायतका क्षेत्रमा लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार हिमालयन रि इन्स्योरेन्सको लगानी बढी रहेको छ । पहिलो त्रैमासमा कम्पनीको विभिन्न क्षेत्रमा १८ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ लगानी रहेको छ । नेपाल पुनर्बीमा कम्पनीले १८ अर्ब ८२ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ । दुई पुनर्बीमा कम्पनीहरूले राष्ट्र बैंकबाट अनुमतिप्राप्त ‘क’ वर्गको बैंकको मुद्दति निक्षेपमा २४ अर्ब २६ करोड ३९ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै ‘ख’ वर्गको बैंकको मुद्दति निक्षेपमा १ अर्ब १६ करोड रुपैयाँ र ग वर्गको बैंकको मुद्दती निक्षेपमा १५ करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीहरूले नागरिक लगानी कोषमा १ अर्ब ३४ करोड ४७ लाख रुपैयाँ, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा एक अर्ब पाँच करोड रुपैयाँ, अन्य संस्थापक सेयरमा ८२ करोड १५ लाख रुपैयाँ, सूचीकृत नभएका अन्य पब्लिक कम्पनीहरूको सेयरमा ५० करोड ७२ लाख रुपैयाँ र अन्य लगानी ६५ करोड ४७ लाख रुपैयाँ लगानी गरेका छन्।
युवा महिला उद्यमी सशक्तिकरणका लागि सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच सहकार्य
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कृषि, सौर्य ऊर्जा तथा स्वस्थ घरेलु–आधारित खाद्य समाधानका क्षेत्रमा क्रियाशील युवा महिला उद्यमीहरूलाई समर्थन गर्ने उद्देश्यसहित नेपाल सोशल बिजनेससँग सहकार्य गरेको छ । नेपाल सोशल बिजनेससँग हातेमालो गर्दै सामाजिक प्रभावयुक्त उद्यमशील यात्रामा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सिद्धार्थ बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जनले यस सहकार्यले नेपालमा उद्यमशीलता प्रवर्द्धन तथा दिगो आर्थिक विकासप्रतिको साझा प्रतिबद्धता प्रतिबिम्बित गर्ने उल्लेख गरे । त्यसैगरी नेपाल सोशल बिजनेसका तर्फबाट निर्भाण चौधरीले रणनीतिक लगानी, मार्गदर्शन तथा दीर्घकालीन सहयोगमार्फत सामाजिक उद्यमलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । एक दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको नेपाल सोशल बिजनेसले हालसम्म देशभर २० भन्दा बढी सामाजिक उद्यमहरूलाई सहयोग गर्दै समावेशी आर्थिक वृद्धि र दिगो जीविकोपार्जनमा योगदान पुर्याउँदै आएको जानकारी उनले दिए । यस्ता प्रभावमूलक उद्यमहरूको सशक्तिकरणले समावेशी, दिगो तथा सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास सिद्धार्थ बैंकले लिएको छ । प्रभावमुखी उद्यमीहरूको प्रवर्द्धन गर्दै उनीहरूलाई विस्तार र सुदृढीकरण गर्न निरन्तर क्रियाशील रहँदै आएको नेपाल सोशल बिजनेसको पहल तथा उद्देश्यप्रति समर्थन जनाउँदै सिद्धार्थ बैंकले उद्देश्य–केन्द्रित उद्यमहरूको सशक्तिकरणमार्फत समग्र देशको आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ । बैंकले आगामी दिनहरूमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ६२ करोडको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा कम्पनीले ३९ करोड ३३ लाख ९५ हजार ७ सय ३० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीलाई वितरण गरिनेछ ।