गत वर्षभन्दा राजस्व बढ्यो, भद्रपुर कार्यालयले मङ्सिरसम्म उठायो १ अर्ब १४ करोड
काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा १ अर्ब १४ करोड ९९ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको २५ दशमलव ८१ प्रतिशत हो । आन्तरिक राजस्व कार्यालयको चालु आवमा ४ अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए । ‘चालु आवको पहिलो पाँच महिनामा एक अर्ब ३६ करोड नौ लाख ७० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८४ दशमलव ५० प्रतिशत राजस्व सङ्कलन भयो’ उनले भने । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको पाँच महिनामा आयकरबाट ४२ करोड ८८ लाख ३८ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबापत ४० करोड ५२ लाख ५८ हजार रुपैयाँ अन्तःशुल्कबापत २६ करोड १० लाख ८४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आव २०८१/०८२ को मङ्सिर मसान्तसम्ममा १ अर्ब ८ करोड ८५ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत थापाले जानकारी दिए । कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिलका लागि निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै लाभग्राही केन्द्रित व्यवहारिक कर शिक्षा प्रदान गर्ने काम भइरहेको प्रमुख कर अधिकृत थापाले बताए ।
बजेट प्रणाली सुधारका लागि नेपाललाई एडिबीको १० करोड डलर ऋण सहयोग
काठमाडौं । नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयन, सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा तीनवटै तहका सरकारमा बजेट प्रणाली सुधारका लागि एसियाली विकास बैंक (एडिबी) ले १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्ने भएको छ । सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा सेवा प्रवाह सुधार कार्यक्रमअन्तर्गतको उपकार्यक्रम–२ का लागि यो ऋण उपलब्ध गराउन लागिएको हो । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव डा. घनश्याम उपाध्याय र एसियाली विकास बैंकका नेपालस्थित देशीय निर्देशक आर्नो कोस्वाबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो । एडिबीले नीतिमा आधारित ऋणका रूपमा प्रदान गर्ने उक्त रकम बजेटरी सपोर्टका रूपमा नेपाल सरकारलाई उपलब्ध गराइनेछ । सम्झौताअनुसार ऋणको भुक्तानी अवधि २४ वर्षको हुनेछ भने आठ वर्षको ग्रेस अवधि रहनेछ । सन् २०३४ फेब्रुअरी १ तारिखसम्म ग्रेस अवधिमा ब्याजदर एक प्रतिशत र त्यसपछि एक दशमलव पाँच प्रतिशत रहने व्यवस्था गरिएको छ । सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा सेवा प्रवाह सुधार कार्यक्रमलाई सङ्घीयतासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै अर्थसचिव डा. उपाध्यायले बलियो वित्तीय व्यवस्थापन प्रणाली निर्माण सरकारको मुख्य लक्ष्य रहेको बताए । उनले भने, ‘यो कार्यक्रम सङ्घीय संरचनाअनुसार तीनवटै तहका सरकारको बजेट निर्माण, कार्यान्वयन र नतिजामूलक व्यवस्थापन सुधारमा केन्द्रित छ । यसबाट समग्र बजेट प्रक्रिया सुधार भई सार्वजनिक सेवा प्रवाह प्रभावकारी बन्नेछ ।’ उक्त कार्यक्रममार्फत सार्वजनिक खरिद प्रणाली सुधार, वित्तीय अनुशासन प्रवर्द्धन, राजस्व सकलन, क्षमता अभिवृद्धि तथा स्थानीय तहलाई थप सक्षम बनाउँदै समावेशी र नतिजामुखी विकासलाई अघि बढाउने अपेक्षा गरिएको छ । कार्यक्रमबारे जानकारी दिँदै एडिबीका देशीय निर्देशक कोस्वाले यो सहुलियतपूर्ण ऋण नेपालको वित्तीय शासन सुधारमा केन्द्रित रहने बताए । उनका अनुसार सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित कानुनी, संस्थागत तथा प्राविधिक सुधारमा सहकार्य गर्दै सबै तहका सरकारका लागि स्रोत योजना प्रणाली, सार्वजनिक संस्थान सूचना व्यवस्थापन प्रणाली निर्माण, मध्यमकालीन खर्च संरचना विकास तथा प्रविधिमैत्री कर प्रणाली निर्माणमा ऋण रकम प्रयोग गरिनेछ । उनले भने, ‘यो कार्यक्रममार्फत वित्तीय दिगोपना सुनिश्चित गर्नुका साथै राजस्व प्रणालीलाई थप प्रभावकारी बनाइनेछ । साथै सम्भावित वित्तीय जोखिम व्यवस्थापनमा सहयोग पुग्नेछ । यसले नेपालको समग्र अर्थतन्त्र सुधार र दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।’ सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा अर्थ मन्त्रालयका कर्मचारी तथा अधिकारीका साथै एसियाली विकास बैंकका अधिकारीहरूको उपस्थिति थियो ।
५ महिनामै वीरगञ्ज भन्सारले उठायो ९६ अर्बभन्दा बढी राजस्व
काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ५ महिनामा ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको ५ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १२ अर्ब १ करोड रुपैयाँ अर्थात् १४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । जबकी कार्यालयले गत आवको ५ महिनामा भने ८४ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको ५ महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको बताए । ‘कार्यालयले मङ्सिर महिनामा २१ अर्ब ३३ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले सो महिनामा मात्रै लक्ष्यको ९८ प्रतिशत अर्थात् २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।’ प्रमुख भन्सार प्रशासक ज्ञवालीले चालु आवको ५ महिनामध्ये सबैभन्दा धेरै राजस्व पनि मङ्सिर महिनामा सङ्कलन भएको बताए । साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोज महिनामा १९ अर्ब ९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । त्यस्तै कात्तिक महिनामा १७ अर्ब ३३ करोड रुपैयाँ तथा मङ्सिर महिनामा भने २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयालाई वर्षभरिमा २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ । हालसम्मको ५ महिनामा वार्षिक लक्ष्यको ८७ प्रतिशत राजस्व सङ्कलन भएको छ ।