७१ हजार २१८ पशुको बीमा, मूल्य २९ करोड ७५ लाख रुपैयाँ

काठमाडौं । तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ । जिल्लास्थित कृषकले पालेका ७१ हजार २१८ पशुको बीमा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढ्दै गएपछि कृषकहरू पशु बीमातर्फ सचेत भएको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी कुखुराको बीमा ५९ हजार ९५९ कुखुराको गरिएको छ । त्यस्तै १ हजार ७४२ गाई, ७४० भैँसी, १ हजार ५८१ बाख्रा, ६९६ बङ्गुर, ६ हजार ५०० माछाको बीमा गरिएको छ । बीमा गरिएको पशुको मूल्य २९ करोड ७५ लाख ४० हजार रुपैयाँ रहेको छ । त्यसमध्ये गाइको १५ करोड ६७ लाख ८० हजार रुपैयाँ, भैँसीको ६ करोड ६६ लाख रुपैयाँ, बाख्राको १ करोड ५८ लाख १० हजार रुपैयाँ, बङ्गुरको १ करोड ७४ लाख रुपैयाँ, कुखुराको ४ करोड ४३ लाख ६ हजार रुपैयाँ, माछाको ५१ लाख ४ हजार रुपैयाँ रहेको छ । बीमा गरिएकोमध्ये गाईमा १५ लाख ६७ हजार रुपैयाँ कृषकले बेहोरेका छन् । यस्तै भैँसीमा ६ लाख ६६ हजार रुपैयाँ, बाख्रामा १ लाख ५८ हजार रुपैयाँ, बङ्गुरमा १ लाख ७४ हजार रुपैयाँ, कुखुरामा ३ लाख ४४ हजार रुपैयाँ, माछामा ८ हजार रुपैयाँ कृषकले बेहोरेका छन् ।  तनहुँमा ४९ हजार ७४२ गाई, ५३ हजार ३८३ भैँसी, ३ लाख ८८ हजार १७६ बाख्रा, ७२३ भेडा, सुँगुर बुङ्गुर ४६ हजार ८१३, कुखुरा ९ लाख ९८ हजार ९३६, हाँसको सङ्ख्या ११ हजार ९८७ रहेको कार्यालयले जननाएको छ ।  दुधालु गाइको सङ्ख्या १३ हजार ९४२, दुधालु भैँसीको सङ्ख्या २१ हजार ५०३ रहेको छ । 

नागरिक लगानी कोषको साधारणसभा पुस ३० गते

काठमाडौं । नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ । साधारणसभामा कोषको आर्थिक वर्ष २०८१र८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ ।  त्यसैगरी, सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिकासमेत रहेको छ ।    

नेपाल क्लियरिङ हाउसको वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंक सम्मानित

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ । डिजिटल भुक्तानी र प्रविधिमैत्री बैंकिङ सेवामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बैंकलाई एकसाथ दुइवटा अवार्ड प्रदान गरिएको हो । नेपाल क्लियरिङ हाउसले मंगलबार काठमाडौंमा आयोजना गरेको समारोहमा राष्ट्रिय वाणिज्य बैंकलाई सबैभन्दा बढी क्युआर मर्चेन्ट कारोबार गर्ने बैंक तथा सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैंकका रूपमा पुरस्कृत गरिएको हो । उक्त सम्मान बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले ग्रहण गरेका थिए । यस उपलब्धिप्रति राष्ट्रिय वाणिज्य बैंकले सम्पूर्ण व्यावसायिक मर्चेन्टहरू, ग्राहक महानुभावहरू तथा समग्र कर्मचारीहरूप्रति हार्दिक आभार प्रकट गर्दछ । बैंकले भविष्यमा पनि डिजिटल बैंकिङ प्रवर्द्धन, सुरक्षित तथा प्रभावकारी भुक्तानी प्रणालीको विस्तार र ग्राहक–केन्द्रित सेवामा थप प्रतिबद्ध भएर अघि बढ्नेछ । डिजिटल कारोबारलाई सहज, सरल र सुरक्षित बनाउने उद्देश्यसहित राष्ट्रिय वाणिज्य बैंकले गरेको निरन्तर प्रयासको प्रतिफलस्वरूप यो सम्मान प्राप्त भएको बैंकको विश्वास रहेको छ ।