वार्षिक ५० हजार विद्यार्थी बिदेशतिर, अध्ययनकै नाममा हजारौ युवशक्ति पलायन

काठमाडौं । एक वर्षमा ५० हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेसन लेटर’ लिएका छन्। अध्ययनका लागि भिषा आवेदन गर्दा आर्थिक वर्ष २०७३/ ७४ मा मात्र डेढ अर्ब रुपैयाँ बिदेशिएको छ। गत वर्ष ३२ हजार ४८९ नेपाली बिद्यार्थीले बैदेशिक अध्ययनका लागि आवेदन दिएकोमा यस वर्ष त्यस भन्दा १८ हजार १७० बढी बिद्यार्थीले आवेदन दिएका छन् । शिक्षा मन्त्रालयबाट नो अब्जेसन लेटर लिने ५० हजार ६५९ बिद्यार्थीमध्ये २४ हजार २३३ बिद्यार्थीले अष्ट्रेलियाका लागि आवेदन दिएका छन् । अष्ट्रेलियाको भिषा आवेदनका लागि करिव ४५ हजार नेपाली रुपैयाँ पर्छ । नेपाली बिद्यार्थीको बिदेश मोहबारे शिक्षा मन्त्रालयले कुनै अध्ययन गरेको छैन । यसबारे अनौपचारिक बिश्लेषणमात्र हुने गरेको छ । नयाँ पत्रिका दैनिकबाट ।

बर्खे बिदामा पनि विद्यालय सञ्चालन

जाजरकोट । शिक्षण सिकाइ लक्ष्यमा पुर्याउन र पाठ्यक्रम पूरा गर्न भन्दै यहाँका १६ विद्यालयले बर्खे बिदामा पनि विद्यालय सञ्चालनमा ल्याएका छन् । चुनाव तथा विभिन्न पर्वका कारण पढाइ प्रभावित भएको भन्दै जिल्लाका १६ विद्यालयले विद्यालय सञ्चालनमा ल्याएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले जानकारी दिए । पट्यारलाग्दो एक महिना लामो बिदामा विद्यार्थी पढाइभन्दा अन्य कुरामा समय खर्चने र शिक्षकले पनि काम नपाउने भन्दै आफूहरु विद्यालय खोलेर बर्खे बिदा नलिएको कालिका प्रावि डाँडागाउँका प्रधानाध्यापक ठाकुरनाथ शर्माले बताए। शिक्षकहरु विद्यालयमा बिदा नलिएरै पढाउन आएपछि विद्यार्थी पनि विद्यालयमा खुसीका साथ आएको उनले बताए । त्यस्तै घरमा जान आउन समयलाग्ने तर विद्यालय र घरको काम दुवै नहुने भन्दै बर्खे बिदामा विद्यालय खोलेर पठनपाठनमै समय बिताउने निधो गरेको मालिका प्रा.वि सुगुरखालका प्रधानाध्यापक शान्तबहादुर रोकायाले बताए । असार १५ देखि साउन १५ सम्म विद्यालय बन्द गर्ने निर्णय सरकारी नियम भएपनि यहाँका विद्यालयले त्यो बिदा नलिएर विद्यालय खोलेर नियमित अध्यापन गर्दा अहिले यहाँका सबै विद्यालय सिको गर्ने मोडमा पुगेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत यज्ञश्वर खत्रीले बताए। नियमित विद्यालयमा नआउने र कामचोर शिक्षकलाई यहाँका १६ विद्यालयका शिक्षकले विद्यालय खोलेर गतिलो पाठ सिकाएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । विद्यालय बन्द हुन्छ भनेर घरघरमा बसेका विद्यार्थीलाई समेत घरघरमा गएर शिक्षकले विद्यार्थी विद्यालयमा ल्याउने काम भएको लाइटफ्यूचर आधारभूत विद्यालय टालेगाउँका शिक्षकले बताए । घरघरमा पुगेर विद्यार्थी विद्यालयमा ल्याएको देख्दा अन्य विद्यालय नखोल्ने विद्यालयका शिक्षकसमेत अब हामी पनि विद्यालय खोल्छौँ भन्दै धमाधम खोल्नतर्फ लागेको जिल्ला शिक्षा अधिकृत, सिंहले बताए । रासस –––––––

किङ्स कलेजद्धारा दिक्षान्त समारोहको आयोजना, २३० विद्यार्थी दिक्षित

काठमाडौं । किङ्स कलेजले पहिलो दिक्षान्त समारोहको आयोजना गरेको छ जसमा सो कलेजबाट विभिन्न वर्षहरुमा बिबिए गर्ने ६४ र एमबिए पढाइ सम्पन्न गर्ने १६६ गरी जम्मा २३० विद्यार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सबै दिक्षित विद्यार्थीहरुलाई बधाई दिदै उनीहरुले हासिल गरेको ज्ञान तथा शिपलाई समाज र राष्ट्र विकासमा उपयोग गर्ने विश्वास व्यक्त गरे । शिक्षाका लागि वर्षेनी हजाराैं नेपालीहरु देशबाट बाहिर जानपर्ने बाध्यता रहेको परिप्रेक्षमा देशभित्रै सुपथ शुल्कमा विदेशी पढाइ संचालन गरेकोमा किङ्स कलेजलाई धन्यवाद दिँदै धेरैभन्दा धेरै विधार्थीहरु माझ विदेशी पढाइको पहुँच बढाउनुपर्ने बताए । “आधुनिकतथा अनुसन्धानमा आधारित शिक्षा दिन सकेको अवस्थामा मात्रै हाम्रा विधार्थीहरुले अन्तराष्ट्रिय तहमा प्रतिस्पर्धा गर्नसक्छन्,” उनले भने । शिक्षा क्षेत्रको विकास र उत्थानकालागिउनको मन्त्रालयले सबै प्रयासहरु गरिरहेको जनाउँदै मन्त्री श्रेष्ठले यस क्षेत्रको बृहत्तर विकासका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नु पर्ने आवश्यकता औंलाए । हाल अमेरिकाको वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा बिबिए र एमबिए कार्यक्रम संचालन गरिरहेको किङ्स कलेजले २ वर्षअघिसम्म अमेरिकाकै इन्टरनेशनल अमेरिकन विश्वविधालयको कोर्श संचालन गरिरहेको थियो । दिक्षान्त समारोहमा कलेजले यि दुबै विश्वविद्यालयको कोर्श पूरा गरेका विधार्थीहरुलाई दिक्षित गरेको कलेजले जनाएको छ ।