खेर जाने वस्तुहरुबाट बन्यो आकर्षक सामान

काठमाडौं । फोहोरबाट मोहर भनेजस्तै भक्तपुरको एउटा स्कुलका विद्यार्थीले खेर गएको सामान वस्तुहरुको उपयोगबाट नयाँं सामानहरु तयार पारेका छन् । तयार सामानहरुको शुक्रबार प्रदर्शन गरिएको छ । भक्तपुरको एभरेष्ट इगलिश स्कुलका विद्यार्थीले जाडो विदामा गृहकार्यको रुपमा दिएको खेर जाने सामान वस्तुहरुबाट बनेको सामानहरुको प्रदर्शनी गरिएको हो । विद्यार्थीले खेर जाने कागज, प्लाष्टिक, प्लाष्टिकका बोटल, सिसालगायतबाट नयाँं प्रयोग गर्न सकिने र सजावटका लागि राखिने सामानहरुको प्रदर्शनी गरेका छन् । उनीहरुले जुता, सामान राख्ने बक्स, नाइट लाइन (राति बाल्ने बती), कलम, पेन्सिल राख्ने कपलगायतका प्रयोग हुने सामानहरुका साथै सजावटमा राखिने विभिन्न सामानहरु बनाई प्रदर्शन गरेका हुन् । तीन वटा आर अर्थात् रिड्युस, रियुज र रिसाइकल भन्ने मन्त्रका साथ कार्यक्रम गर्दै आएको स्कुलले जनाएको छ । स्कुलको आयोजनामा भएको यस कार्यक्रमलाई वेष्ट फ्रम वेष्ट इक्जिविशन नामाकरण गरिएको छ । स्कुलमा अध्ययनरत छात्रछात्राहरुले खेर जाने वस्तुहरुबाट बनाइएका विभिन्न सामानहरुको एकदिने प्रदर्शनी भएको हो । स्कुलमा अध्ययनरत एक हजार भन्दा वढी विद्यार्थीले एक हजार भन्दा वढी प्रकारका सामानहरु बनाई प्रदर्शन गरिएको हो । आआफूले बनाएका सामानहरु स्कुलका सवै विद्यार्थीलाई लहरै लगिएर प्रदर्शनीको अवलोकन गराइएको थियो । विहान साढे दस बजेदेखि दुई बजेसम्म विद्यार्थीलाई पालैपालै प्रदर्शनीस्थलमा लगेर अवलोकन गराइएको थियो । छात्रछात्राहरुलाई क्रियटिभ बनाउन सहयोग गर्नुका साथै खेर जाने सामानलाई पनि उपयोग गर्न सकिन्छ भन्ने सन्देश दिन प्रत्येक वर्ष वर्षमा एक पटक यस्तो कार्यक्रम गर्दै आएको स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताए ।

फुटसल प्रतियोगिता आयोजना गर्दै डिएभी कलेज

काठमाडौं । डिएभी कलेजले धनराशि सहित फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । ललितपुरको जावलाखेलमा अवस्थित डिएभी कलेजले अन्तर कलेज चौथो फुटसल प्रतियोगिता भव्य रूपमा आयोजना गर्ने भएको हो । कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतका अनुसार गत वर्षको पुरस्कार राशिमा वृद्घि गरी विजेता टिमलाई ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई २ लाख नगद, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने उल्लेख गरेको छ । माघ २० गतेदेखि २२ गतेसम्म ऐतिहासिक रूपमा सञ्चालन हुने सो प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने कलेजले जानकारी गराएको छ ।

पर्वतका सामुदायिक क्याम्पस आर्थिक समस्यामा

पर्वत । एउटा पनि आङ्गिक क्याम्पस नभएको पर्वतमा १३ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सातवटै पालिकामा सञ्चालित ती क्याम्पस लामो समयदेखि आर्थिक सङ्कटमा छन् । नियमित आम्दानीको स्रोत नहुनु, विद्यार्थी सङ्ख्या न्यून हुनु, शिक्षक तथा कर्मचारीको सेवा शुल्क बढ्दै जानुजस्ता कारणले क्याम्पस धरासायी बन्दै गएका हुन् । फलेबास नगरपालिका–६ देवीस्थानस्थित जिल्लाकै पुरानो पर्वत बहुमुखी क्याम्पस यतिबेला करिब डेढ करोड ऋणको भारी बोकेर जीर्ण संरचनासहित सञ्चालनमा छ । विसं २०४१ मा स्थापना भएको उक्त क्याम्पस सञ्चालन गर्न स्थानीय अगुवाले जति सङ्घर्ष गरे त्यसपछिका दिनमा समेत उक्त क्याम्पसको आर्थिक तथा पूर्वाधारको अवस्थामा सुधार हुन नसक्दा समस्या भएको हो । सदरमुकाम कुश्माबजारमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसको अवस्था पनि उस्तै छ । विसं २०४८ मा स्थापना भएको सो क्याम्पसलाई अहिलेसम्म त्रिभुवन विश्वविद्यालयले आङ्गिक क्याम्पसको अनुमति दिएको छैन । विश्वविद्यालय अनुदान कार्यक्रममार्फत बर्सेनि १३ लाख रुपैयाँ हाराहारी आउने रकमले दुई प्राध्यापकलाई पारिश्रमिक दिन मुस्किल भएको छ । पूर्णकालीन र आंशिक गरी २७ प्राध्यापक, कर्मचारी पाल्न धौधौ भइरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष वसन्तकुमार कर्माचार्यले बताए । ग्रामीण क्षेत्रमा सञ्चालित शङ्करपोखरी क्याम्पस, त्रिभुवन बहुमुखी क्याम्पस, बहाकी क्याम्पस, जनता सुदर्शन, अन्नपूर्ण, नवजागृत, महाशिला बहुमुखी क्याम्पसलगायतमा अपेक्षित सङ्ख्यामा विद्यार्थी नहुँदा आर्थिक सङ्कट बढ्दै गएको हो । सबैजसो क्याम्पसले विज्ञानबाहेक शिक्षा, मानविकी र व्यवस्थापन विषयमा पठनपाठन गराउँदै आएका छन् । कुश्माको गुप्तेश्वरबाहेकका क्याम्पसमा स्नातक तहको मात्रै पढाइ हुन्छ । गुप्तेश्वरले गत वर्षदेखि व्यवस्थापन सङ्कायमा स्नातकोत्तरको पढाइ सुरु गरेको छ । शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा ग्रामीण क्षेत्रमा अध्ययन गर्नेमा अधिकांश गृहिणी, छोरीबुहारीमात्रै छन् । युवा कक्षा १२ पढेपछि विदेश जाने चलन बढेपछि गाउँमा अधिकांश छोरी–बुहारीले मात्र पढ्दै आएको शङ्करपोखरी बहुमुखी क्याम्पसका प्रमुख गोविन्दप्रसाद शर्माले बताए । सदरमुकामकै क्याम्पसमा पनि छात्रा विद्यार्थीको बाहुल्य छ । सबैजसो सङ्कायमा ८० प्रतिशत छात्रा र २० प्रतिशत छात्र छन्, स्नातकदेखि माथि अध्ययन गर्ने छात्र निकै कम छन् । जिल्लाभरका क्याम्पसको परीक्षा सञ्चालन हुने गुप्तेश्वर क्याम्पसमा उपस्थित परीक्षार्थीमध्ये १० देखि १५ प्रतिशत मात्रै छात्र उपस्थिति हुने गरेका गुप्तेश्वर क्याम्पसका प्रमुख सुभास पन्तले बताए । न्यून विद्यार्थी सङ्ख्या, जीर्ण पूर्वाधार, अर्थाभावलगायत कारणले सामुदायिक क्याम्पसको अवस्था दयनीय छ । न्यूनतम पारिश्रमिकमा अध्यापन गराउनुपर्ने बाध्यता र त्यसमाथि पनि अर्थाभावका कारण प्राध्यापकले समयमा पारिश्रमिक पाउनसमेत मुस्किल छ । फलेवास नगरपालिकाले विगत तीन वर्षदेखि नै पालिकाभित्रका क्याम्पसलाई आर्थिक सहयोग गर्दै आएको छ । फलेवासले पर्वत क्याम्पसलाई दुई प्राध्यापकको पूर्णकालीन तथा शङ्करपोखरी र अन्नपूर्ण क्याम्पसलाई एक–एक प्राध्यापकको पारिश्रमिक बराबरको अनुदान दिँदै आएको नगरप्रमुख गङ्गाधर तिवारीले बताए । कुश्मा नगरभित्रका क्याम्पसले पनि अनुदान माग गरेका छन् । गुप्तेश्वर क्याम्पस सञ्चालक समितिका अध्यक्ष वसन्तकुमार कर्माचार्यले स्नातकोत्तर तहको पढाइ हुने क्याम्पसका प्राध्यापकलाई समयमा पारिश्रमिक भुक्तानी गर्न नसक्दा हिनतावोध हुने गरेको बताए । सञ्चालक समितिले कुश्मा नगरपालिकालाई आर्थिक सहायताका लागि पटक–पटक माग गरे पनि नगरपालिकाले स्थानीय सामुदायिक क्याम्पसको शैक्षिक विकासका लागि ध्यान नदिएको उनको गुनासो छ । कुश्मा नगरप्रमुख रामचन्द्र जोशीले स्थानीय सरकारको क्षेत्राधिकारभित्र नपर्ने भएकाले क्याम्पसलाई सहयोग गर्न समस्या भएको बताए । कार्यपालिकामा निर्णय गरेर सहयोग गर्नलाई भने कानुनी उल्झन नहुने उनको भनाइ छ । ग्रामीण क्षेत्रका क्याम्पसमा बढीमा एक सयदेखि डेढ सयसम्म विद्यार्थी पढ्छन् । आम्दानीको मुख्य स्रोत विद्यार्थी नै हुन् । विद्यार्थीबाट एउटा क्याम्पसले बर्सेनि १२ लाखदेखि रु २० लाख हाराहारीमा रकम सङ्कलन हुने गरेको बताइएको छ ।