गुल्मीमा शिक्षकले पाएनन् पारिश्रमिक

गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन् । आन्तरिक स्रोतमार्फत गाउँपालिकाले तलब उपलब्ध गराउनेगरी राखेका ३१ शिक्षकले कात्तिक महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् । गाउँपालिकाले आफै दरबन्दी सिर्जना गरी राखेका ती शिक्षकलाई बजेट अभावका कारण तलब खुवाउन नसकिएको त्यहाँका शिक्षा शाखाका प्रमुख अग्निधर पराजुलीले जानकारी दिए । कात्तिकदेखि पुस महिनासम्मको तीन महिनाको तलब उपलब्ध गराउन ३९ लाख आवश्यक पर्ने तर बजेट अभावका कारण शिक्षकलाई तलब दिन नसकिएको उनको भनाइ थियो । तलव नपाउनेमा बालशिक्षा कक्षादेखि माध्यमिक तहसम्मका शिक्षक रहेको प्रमुख पराजुलीले बताए । पालिकाको आन्तरिक स्रोत र कालीगण्डकी जलविद्युत् परियोजानको आर्थिक सहयोगमार्फत ती शिक्षकलाई तलब उपलब्ध गराउने गरी बजेट बजेटको व्यवस्था गरिएकामा परियोजनाबाट सहयोग उपलब्ध नभएका कारण तलब खुवाउन नसकिएको हो । कात्तिकदेखि तलब नआउँदा आफूहरुलाई दैनिक खर्च चलाउनसमेत समस्या हुँदै गएको सम्बद्ध शिक्षकको गुनासो थियो । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले आर्थिक सहयोग प्राप्त नभएकाले समस्या थपिएको बताए । परियोजानबाट सहयोग नपाए शिक्षकहरुलाई स–सम्मान बिदाइ गर्ने बाहेक पालिकासँग अन्य विकल्प नभएको र आफूहरुसँग स्रोत व्यवस्थापन गर्ने आधार नभएकाले उक्त सहयोग नपाए ती शिक्षकलाई भुक्तानी दिनुपर्ने रकमको अभिलेख राखि स–सम्मान बिदाइ गरिने उनले उल्लेख गरे । रासस

रिद्धि सिद्धि सिमेन्टद्वारा मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामाग्री हस्तान्तरण

मकवानपुर । रिद्धि सिद्धि सिमेन्टले मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । नेपालमा पहिलो पटक अत्याधुनिक रोवोटिक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले मकवानपुर, मनहरी – ८, सिम्पानीमा अवस्थित मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्यूटर, प्रिन्ट, प्रोजेक्टर, सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार आयोजित सो कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका प्रमुख कार्यकारी अधिकृत गुण बहादुर खनालले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लाकै विकट क्षेत्र (राक्सिराङ्ग कैलास, मनहरी) लगायतका क्षेत्रका आर्थिक रुपमा विपन्न विधार्थीहरुले लाभाम्वित हुने गरि हामीले यो शैक्षिक सामाग्रीहरु वितरण गरेका हौं ।’ उक्त कार्यक्रममा क्याम्पसका अध्यक्ष तथा पूर्वसांसद ओम बहादुर घलानले कम्पनीको सहयोग प्रति हार्दिक मन्तव्य तथा आभार व्यक्त गर्दै उद्योग सञ्चालन र विकाशका लागि सो भेगका जनताले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। आगामी दिनमा पनि कम्पनीले यस्तै सामाजिक कार्यक्रम गर्दै जाने जनाएको छ ।

सुरज सिंह ठकुरी बने शुभगृहको ब्रान्ड एम्बेसडर

काठमाडौं। शुभगृह इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले सुरज सिंह ठकुरीलाई आफ्नो बोर्डमा बोर्ड एम्बेसडर नियुक्त गरेको छ ।  शनिबार आयोजित विशेष कार्यक्रममा सो संस्थाले ठकेरीलाई बोर्ड एम्बेसडर नियुक्त गरेको हो । ‘जेन्युन सिन्स २०१४’ के नारा बोकेको शुभगृहले विद्यार्थीरुलाई उचित सहयोग र परामर्श प्रदान गर्ने, उनीहरुको बौद्धिक जिज्ञासालाई उत्प्रेरित गर्ने विश्वव्यापी मान्यता र सहकार्यको संस्कृतिलाई बढावा दिई आफे सेवा प्रदान गरिरहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै ठकुरीले शुभगृह इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीमा आबद्ध हुन पाउँदा धेरै खुसी लागेको बताए । उनले विद्यार्थीहरुलाई शुभगृहमा उनीहरुको लक्ष्य प्राप्त गर्न सहयोगका लागि तत्पर रहेको बताए । ‘शिक्षा वा सामान्य जीवनमा सफल हुनका लागि आफ्नो दृढ संकल्पको शक्तिमा विश्वास गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ, यदि तपाईंले यसलाई लगनशिलता र वास्तविकतासँग जोड्नु भयो भने कुनै पनि कुार असम्भव छैन, अष्ट्रेलिया, क्यानाडा, युरोप, संयुक्त राज्य अमेरिका वा युनाइटेड किंगडममा अध्ययन गर्ने विद्यार्थीहरुको सपना पूरा गर्न शुभगृहले ठूलो योगदान पुर्याइरहेको छ ।’ शुभगृह इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुभेन्द्र थापाले ठकुरीलाई ब्रान्ड एम्बेसडरको रुपमा स्वागत गर्न पाउँदा आफूहरुलाई धेरै खुसी लागेको बताए । उनले भने, ‘लक्ष्यप्राप्तिका लागि इच्छुक विद्यार्थीहरुलाई कसरी शुभगृहले सधैं सम्मान गरेको छ भन्ने भावनालाई सुरज सिंह ठकुरीले पूर्णरुपमा बुझेका छन्, उनले सही मनोवृत्ति, ठूला सपना र सच्चा सल्लाहकारको साथ भएमा जो कोही पनि सफल हुन सक्छन् भन्ने प्रमाणित गरेका छन् ।’ शुभगृह इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीका प्रबन्ध निर्देशक थापाको थप भनाइ थियो, ‘विश्वभर धेरै विकल्पहरु बढेसँगै नेपाली विद्यार्थीहरुसँग उच्च शिक्षा हासिल गर्न पहिलेभन्दा धेरै जानकारी र स्रोतहरु पनि बढेका छन्, संसारमा मान्यताप्राप्त उच्च शिक्षा शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीहरुको विश्वव्यापी उपस्थितिले उनीहरुको क्यारियरका लागि उत्कृष्ट प्लेटफर्म सिर्जना गर्ने छ भन्ने मेरो अनुमान छ । शुभगृहमा हाम्रो लक्ष्य भनेको नेपाली विद्यार्थीहरुलाई अहिले र भविष्यमा उच्च स्तरको अन्तर्राष्ट्रिय शिक्षामा पहुँच प्राप्त गर्न सक्षम बनाउनु हो ताकि उनीहरुले आफ्नो देश र विश्वको विकासमा योगदान दिन सकून् ।’ शुभगृह अ‍ेष्ट्रेलिया, क्यानडा, युरोप, बेलायत र अमेरिकामा केन्द्रित रहेको शैक्षिक संस्था र परामर्शदाता हो । यसले नेपाली विद्यार्थीहरुलाई उनीहरुको शैक्षिक लक्ष्यहरु प्राप्त गर्न मद्धत गर्नमा महत्वपूर्र्ण भूमिका खेल्दै आएको छ । यो संस्थाले सही मार्गदर्शन प्रदान गरेवापत धेरै अन्तर्राष्ट्रिय कलेजबाट ‘उत्कृष्ट परामर्शदाता पुरस्कार’ प्राप्त गरेको छ ।