कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ । गत साउन २ र ३ गते सञ्चालन भएको उक्त परीक्षाको नतिजा बोर्डले आज औपचारिक रूपमा प्रकाशन गरेको हो । बोर्डका अनुसार परीक्षामा कुल ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये सबै विषयमा ग्रेड प्राप्त गरी सफलता हासिल गर्ने परीक्षार्थीको संख्या ५७ हजार ८९७ रहेको छ । यो कुल सहभागी परीक्षार्थीको ८१.१९ प्रतिशत हो । परीक्षामा सहभागी तीन जना परीक्षार्थीको भने परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । परीक्षार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट, एसएमएस तथा आईभीआर सेवामार्फत सजिलै हेर्न सक्नेछन् ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीले लिए शपथ
काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा. खड्गबहादुर केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शपथ गराएका हुन् । त्यसपछि मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए । शपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनःसंरचनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । विश्वविद्यालय सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए । नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव श्रेष्ठले पनि आफ्नो कार्यकालमा विश्वविद्यालय अनुदान आयोगलाई थप प्रभावकारी बनाउँदै उच्च शिक्षाको सुधारका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताए । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित केसीले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गरेका छन् ।
त्रिविबाट यूजीसीमा सर्यो विदेशी डिग्रीको समकक्षता सेवा
काठमाडौं । विदेशी विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता प्रदान गर्ने सेवा अब विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मार्फत सञ्चालनमा आएको छ । यसअघि त्रिभुवन विश्वविद्यालयले प्रदान गर्दै आएको यो सेवा २०८३ साउन १ गतेदेखि कानुनी व्यवस्थाअनुसार आयोगमा हस्तान्तरण भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । आयोगले समकक्षता सेवाका लागि आवश्यक नियमावली तयार गरी स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पठाइसकेको छ । हाल नियमावली अर्थ मन्त्रालयबाट राय-परामर्श लिने प्रक्रियामा रहेको र स्वीकृतिको अन्तिम चरणमा पुगेको छ । नियमावली स्वीकृत नभइसके पनि सेवा अवरुद्ध हुन नदिन आयोगले आवश्यक पूर्वाधार तयार गरी साउन ६ गतेदेखि अनलाइन आवेदन दर्ता प्रणाली सञ्चालनमा ल्याएको छ । आयोगको संस्थागत संरचना पूर्ण रूपमा तयार नहुँदासम्म भने साउन १५ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार त्रिभुवन विश्वविद्यालयले अवलम्बन गर्दै आएको कार्यप्रक्रिया, आधार र मापदण्डका आधारमा त्रिभुवन विश्वविद्यालयको सहकार्यमा सेवा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ। आयोगका अनुसार समकक्षताका लागि प्राप्त आवेदनहरूको आन्तरिक प्रमाणीकरण (भेरिफिकेसन) प्रक्रिया सुरु भइसकेको छ । विद्यार्थीले साउन २० गतेदेखि समकक्षता शुल्क भुक्तानी गर्न सुरु गरेका छन् भने प्रमाणीकरण प्रक्रिया पूरा भएपछि समकक्षता प्रमाणपत्र उपलब्ध गराइनेछ । नयाँ प्रणालीमा हालसम्म तीन हजार १६२ जना प्रयोगकर्ता दर्ता भइसकेका छन् भने करिब एक हजार आवेदन प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ । विद्यार्थीले आयोगको आधिकारिक अनलाइन पोर्टलमार्फत जुनसुकै स्थानबाट समकक्षताका लागि आवेदन दिन, शुल्क भुक्तानी गर्न तथा डिजिटल प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । आयोगले नयाँ प्रणालीबाट समकक्षता सेवालाई थप छिटो, सहज र पारदर्शी बनाउने अपेक्षा गरेको छ ।