एसईई पछि कुन विषय पढ्दा छिटो करिअर बन्छ ?

काठमाडौं । सामान्यतया एसईई पछिको पढाइलाई विद्यार्थीको करिअर निर्माणको शुरुवातको रुपमा लिने गरिन्छ । कक्षा १० सम्मको पढाईमा विद्यार्थीहरुले धेरै अनिवार्य विषय पढ्नुपर्ने हुन्छ भने सिमित विषय मात्रै ऐच्छिक रुपमा पढ्न पाएका हुन्छन् । कक्षा ११/१२ मा भने विद्यार्थीहरुले अनिवार्य शिक्षा भन्दा धेरै आफूले रोजेको विषय पढ्न पाउँछन् । केही दशक यता डिग्री हासिल गरेका लाखौं विद्यार्थीहरु देशभित्रै स्वरोजगार हुन नसक्ने र रोजगार पनि प्राप्त गर्न नसक्ने समस्या फराकिलो दरमा वृद्धि हुँदै गएको छ । पछिल्लो केही वर्ष यता पाठ्यक्रम विकास केन्द्रले कक्षा ११/१२ को लागि ९३ वटा विषयको विकास गरेको छ । विद्यार्थीहरुका लागि छनोट गरेर अध्ययन गर्न धेरै विषयहरु भएपनि उनीहरुले कुन विषय पढ्दा करिअर छिटो बन्छ वा पढेको विषयलाई आफ्नो जीवन, परिवार र समाजको लागि प्रयोगमा ल्याउन सकिन्छ भन्ने कुरालाई भने ध्यान दिएर विषय छनोट गर्नुपर्छ । पछिल्लो समय नेपालमा डाक्टर, इन्जिनियर, पाइलट, कृषि लगायत प्राविधिक विषय अध्ययन गरेका धेरै विद्यार्थीहरुपनि देशभित्रै स्वरोजगार नबन्ने र रोजगारका लागि विदेशीने गरेको पाइन्छ । तर, स्वदेश वा विदेशमा प्राविधिक रुपमा क्षमतावान भएका व्यक्तिहरु नै स्वरोजगार हुन सकेको वा रोजगार पाउन सकेको देखिन्छ । अन्यथा भाषिक विषय मात्रै पढेका विद्यार्थीहरुले स्वरोजगार वा रोजगारको लागि पनि पुनः प्राविधिक तालिम लिनुपर्ने हुन्छ । गण्डकी बहुप्राविधिक शिक्षालय पोखराका निर्देशक लक्ष्मण तिमिल्सिनाले प्राविधिक शिक्षा भनेको मानिसले आफ्नो शारीरिक क्षमता हुने बेलासम्म प्रयोग गर्न सकिने तथा स्वरोजगार र रोजगारको हिसाबले पनि प्रभावकारी रहेको बताउँछन् । सैद्धान्तिक विषय पढेका विद्यार्थीहरु धेरै पढेर पनि बेरोजगार भएको तर, प्राविधिक शिक्षा पढेका विद्यार्थीहरुमा त्यस्तो समस्या नदेखिएको उनको भनाइ छ । ‘प्राविधिक शिक्षा पढेकाहरु कहिल्यै रिटायर्ड हुँदैनन्, सक्रिय जीवनसम्म उनीहरुले काम गर्न पाउँछन्, तर, साधारण विषय पढेकाहरुले निश्चित समय जागिर खान्छन् अनि रिटायर्र्ड हुन्छन्’, निर्देशक तिमिल्सिनाले भने । आफूले चाहेको बेलामा सिपको प्रयोग गरेर आर्थिक उपार्जन गर्न सकिने शिक्षा प्राविधिक शिक्षा भएको उनको भनाइ छ । सैद्धान्तिक विषयमा धेरै पढेका व्यक्तिहरुले रोजगार नपाइरहेको अहिलेको अवस्थामा प्राविधिक शिक्षा लिएका विद्यार्थीहरु भने खाली बस्न नपरेकोको कारणले उनीहरुमा खुसीको अवस्था पनि तुलनात्मक रुपमा राम्रो भएको निर्देशक लामिछाने बताउँछन् । राम्रोसँग विषय छनोट गरेर पढ्न सक्दा अहिले नेपालमा भएका प्राविधिक शिक्षा पढेपछि नेपालमा नै स्वरोजगार हुन वा रोजगार प्राप्त गर्न समस्या नभएको उनको भनाइ छ । आर्थिक विकासको दृष्टिकोणबाट हेर्दा पनि नेपाल एउटा विकासोन्मुख मुलुक हो । साढे तीन दशक यताको मुलुकको अवस्था हेर्ने हो भने नेपाल धेरै वस्तुहरुमा परानिर्भर बन्दै गइरहेको छ । परानिर्भरताको दर घट्ने भन्दा पनि थप बढ्ने क्रम जारी छ । शिक्षा मन्त्रालयले २०७६ सालमा गरेको जनशक्ति प्रक्षेपण सम्बन्धी अध्ययनले वि.सं. २१०० सालसम्म कृषि क्षेत्रमा ७६ लाख ६१ हजार ७४७ र उद्योगमा ५५ लाख ३० हजार ५९० जना जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरेको छ । त्यस्तै विश्वबजारमा पनि दिन प्रतिदिन जनशक्तिको अभाव बढीरहेको तथ्यांकहरुले देखाएका छन् । विशेषगरी, कृषि, उद्योग, विज्ञान तथा प्रविधि, चिकित्सा, इन्जिनियर, लगायतका प्राविधिक क्षेत्रसँग सम्बन्धित विषय पढ्दा बेरोजगार पनि बन्न नपर्ने र पढाइ सकिएपछि व्यवसायिक करिअरको पनि शुरुवातको शुनिश्चित हुने देखिन्छ । त्यसैले, एसईई उत्तिर्ण गरेका विद्यार्थीहरुले उच्च प्राविधिक शिक्षा उन्मुख विषयहरु नै रोजेर अध्ययन गर्दा सैद्धान्तिक विषयको तुलनामा उत्तम हुने विज्ञहरुको सुझाव छ ।  शिक्षा क्षेत्रका अभियन्ता तथा युवा राजनीतिकर्मी मिलन पाण्डेले कामसँग जोडिएका धेरै विषय भएको भन्दै औसत भन्दा राम्रो करिअर बनाउने हो भने ग्राफ खिचेर पढ्न विद्यार्थीहरुलाई सुझाव दिन्छन् । ‘पाँचवर्ष र सातवर्षमा के–के विधाको विकास हुनुपर्छ होला, विगतमा फिल्म समिक्षक निकै चलेको थियो, सायद अबको पाँचवर्ष पछि सामाजिक सञ्जालको समीक्षा गर्ने कामको निकै माग हुन्छ होला, आइटीमा सबैभन्दा बढी राम्रो छ, धेरै विधाहरु छन्, जसको लागि राम्रो शिक्षक र मेन्टरको सहयोग लिन आवश्यक हुन्छ’, पाण्डेले सुझाव दिन्छन् । त्यस्तै, स्टार्टअप विज्ञ रञ्जित आचार्यले समाजको आवश्यकतालाई बुझेर पढ्न सक्दा पनि छिटो करिअर बनाउन सकिने सुझाव दिन्छन् । ‘समाज के हो ? समाजको आवश्यकता के छ ? समाजले के खोजिरहेको छ ? के–के विषयमा उत्पादन र उद्यमको आवश्यकता छ भन्ने विषयमा थाहा पाउन सकिन्छ, आजको युवा पुस्ताले यो बुझ्न जरुरी छ’, आचार्यले नयाँ पुस्ताका युवाहरुलाई सुझाव दिएका छन् ।

विगतको कार्यकालमा गरेको कामको निरन्तरता नै मेरो जित्ने आधार हो – पाण्डे

नेपाल शैक्षिक परामर्श संघ(इक्यान)को अधिवेशन यहि असार ३० गते हुन लागिरहेको छ । अधिवेशनले संस्थाको आगामी नीति तथा कार्यक्रम सहित नयाँ नेतृत्व समेत निर्वाचन गर्नेछ । सोही अधिवेशनबाट नेतृत्वमा आउनका लागि पदाधिकारी लगायत कार्यसमिति सदस्यहरुको पदमा धेरैजना आकांक्षीहरुले आफ्नो उम्मेदवारीको अनौपचारिक घोषणा गरेका छन् । त्यस्तै, इक्यानको आगामी नेतृत्व अध्यक्ष पदका लागि विगतमा एकपटक अध्यक्ष भैसकेका शैक्षिक परामर्श व्यवसायी विष्णुहरी पाण्डेले पनि उम्मेदवारी घोषणा गरेका छन् । प्रस्तुत छ उनै पाण्डेसँग विकासन्युजका प्रतिनिधिले समसामयिक विषयमा गरेको कुराकानीको छोटो अंश : नेपाल शैक्षिक परामर्श संघ(इक्यान)को आगामाी अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवार हुने घोषणा गर्नुभएको छ । विगतमा एक कार्यकाल नेतृत्व गरिसक्नुभएको तपाईंले फेरि किन अध्यक्ष बन्ने चाहना राख्नुभयो ? म इक्यानमा २०१८ देखि २०२० सम्म अध्यक्ष बनेको थिएँ । मैले त्यतिबेला यस्ता गैरनाफामुलक संस्थाहरुमा प्रत्येक २÷२ वर्षमा अधिवेशन र प्रत्येक वर्षमा साधारणसभा हुनुपर्ने ट्रेन सेट गरेको थिएँ । त्यसपछि पनि साथीहरुको तर्फबाट मलाई अध्यक्षको लागि पुनः आउनुपर्यो भनेर माग आएको थियो, तर मैले निवर्तमान अध्यक्ष र अगाडिको अध्यक्षले आउने इच्छा गरेपछि छाडेँ । मैले त्यतिबेला तीनचारवटा विषयहरुलाई निरन्तर उठाएको थिएँ । एउटा नेपालमा विदेशी लगानी भित्रनुहुँदैन भन्ने मुद्दा उठाएको थिएँ । त्यो अहिले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ । त्यसलाई टुंगोमा पुर्याउनुपर्नेछ । अहिले महामारीको पनि कारण हुनसक्छ, तर, बल्ल साढे तिनवर्षमा साधारणसभा भइरहेको छ । बेथितिहरुलाई चिर्नुपर्छ, अब फरक ढंगले लैजानुपर्छ, इक्यान हिजो भन्दा आज ठूलो भएको छ, यसलाई नेता संगठनको रुपमा विकास गर्नुपर्छ भनेर १२ जना सल्लाहकार, पूर्व अध्यक्ष र सबै शाखाका अध्यक्षहरुले तपाईं अब फेरि नेतृत्वमा नआई भएन, कम्तिमा यो इक्यानलाई भाइब्रेन्ट बनाइदिनुपर्यो, विदेशी लगानीलाई रोक्दिनुपर्यो र एयरटेक कम्पनीहरुलाई रोक्नपर्यो भनेर आग्रह गर्नुभएको छ । त्यस्तै, इक्यानको एउटा घर होस्, जहाँ बसेर विभिन्न अनुसन्धानको कामहरु गर्न सकिन्छ । १०/१५ वर्ष अगाडिदेखि इक्यानको आफ्नै घर होस भनेर जुन सपना त्यो त्यसलाई निरन्तरता दिनुपर्छ । नेता संगठन भनिसकेपछि हामीलाई गभर्न गर्ने शिक्षा मन्त्रालयसँग नेटवर्किङमा बस्नुपर्ने, निर्देशिकाले पुगेन अब ऐनमा नै यो विषयलाई समावेश गरेर लैजानपर्ने र समय–समयमा मन्त्री सचिवहरु परिवर्तन हुँदा व्यवसायीहरुले दुःख पाउनुपर्ने जुन समस्या छ, त्यसलाई अन्त्य गरेर लैजानपर्ने र यसलाई प्रतिष्ठित व्यवसायको रुपमा स्थापित गर्नको लागि मैले उम्मेदवारी दिएको हुँ । पछिल्लो समयमा शैक्षिक परामर्श व्यवसायीहरुको बीचमा कस्ता समस्याहरु विकास भइरहेका छन्, जसको समाधानको पहल आगामी नेतृत्वले गर्छ ? माथि नै मैले भनेका विषयहरु नै शैक्षिक परामर्श व्यवसायीहरुका समस्या हुन् र अबको नेतृत्वले यी सबै समस्याहरुलाई हल गरेर लैजाने विषयमा नेतृत्व गर्छ । खासगरी शैक्षिक परामर्श व्यवसायीहरु अपारदर्शी भए र कतिपय सन्दर्भमा म्यानपावर व्यवसायी जस्ता पनि भए भन्ने आरोप छ । इक्यानको भूमिका पनि पुगेन नी ? म अध्यक्ष हुँदा तत्कालीन कार्यसमितिले शिक्षा मन्त्रालयसँग नजिक रहेर समन्वय गर्ने, शिक्षा मन्त्रालय भनेको नियमन गर्ने निकाय हो, नियम बनाउँदाखेरी हामी स्टेकहोल्डरहरुलाई सोध्दै नसोधी बनाउने र अनि कार्यान्वयन गर भन्दा सम्भव छैन । स्टेकहोल्डरसँग बसेर एकीकृत योजना बनायो भने त्यसलाई कार्यान्वयन गर्न इक्यान तयार छ । यदि हामी आँफैसँग पनि त्यस्ता केही फोहोरमैला रहेछन भने त्यसलाई क्लिन गरेर शिक्षा जस्तो क्षेत्रमा काम गर्ने प्रतिष्ठित संस्थाको रुपमा अगाडि बढोस भन्ने चाहना छ । त्यसको लागि आगामी नेतृत्वले कदम चाल्न पनि तयार छ । अहिलेसम्मको अवस्थामा इक्यानको आगामी नेतृत्वका लागि चार जनाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । यी प्रतिस्पर्धीहरुको बीचमा तपाईंको बिजयीको आधार के छ ? मैले माथि भनेका विषयहरु, मैले मेरो २० महिने २० दिनको कार्यकालमा गरेका कामहरु मेरो इनिसियसन र निर्णय लिने क्षमता नै मेरो बिजयीका आधारहरु हुन् । अर्को भनेको मेरो कार्यकालमा एकसय ७३ वटा इतिहासमा नै धेरै सदस्यता थप भएको थियो । यसपटक मैले तीनसयवट थप गर्ने योजना बनाएको छु । सो सँगै यो क्षेत्रमा भएका समस्याहरु र त्यसको समाधानको उपायहरुमा मैले विगतको कार्यकालमा जे गरेँ त्यसको निरन्तरता नै मेरो जित्ने आधार हो ।

शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण रहेको बताएका छन् । पब्लिक युथ क्याम्पसको ३३औँ वार्षिकोत्सव समारोहमा मन्त्री डा. महतले भने, ‘पब्लिक क्याम्पस महत्व बढेकाले नै यसको सङ्ख्या देशैभरि बढ्दै गएको छ ।’ पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसको आर्थिक दायित्व विस्तार हुने क्रमले एक हदले रोकेको जानकारी दिँदै मन्त्री डा. महतले भने, ‘पब्लिक क्याम्पसमा सर्वसाधारणको पनि योगदान रहन्छ । जुन वर्ग समूहबाट पब्लिक क्याम्पस पढ्न आउँछन्, ती क्याम्पसमा खर्चको व्यवस्थापनमा समुदायको पनि सहभागिता आर्थिक दायित्व कम गर्न मद्दत पुगेको छ ।’ स्थानीय तहमा साधनस्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने गरेको उनको भनाइ छ । उनले भने, ‘पब्लिक क्याम्पसमा विद्यार्थीलाई आकर्षित गर्ने सबभन्दा ठूलो चुनौती छ, यो समस्या त्रिभुवन विश्वविद्यालय, पब्लिक क्याम्पस र निजी क्याम्पसले भोगिरहेका छन् । विदेश गएर पढ्ने संस्कृति अत्यन्त धेरे छ ।’ मन्त्री डा. महतले भने,  ‘बाहिर जाँदैमा सबै कुरा विद्यार्थीको पक्षमा हुन्छ भन्ने छैन । आर्थिक दायित्व थप त छँदैछ । अरु कोणबाट पनि उत्कृष्ट हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । तर पनि पढ्न बाहिर जानुपर्छ भन्ने मानसिकता हाम्रो समाजमा व्यप्त छ । यसलाई ‘रिर्भस’ गर्नुपर्ने आजको आवश्यकता छ ।’ मानिसले आफ्नो क्षमता, योग्यता, प्रतिभा, सिर्जना र सम्भावनाको सम्पूर्णरुपमा प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा आफूहरुले विश्वास गर्ने उनको भनाइ छ ।