लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा, परीक्षाको तयारी तीव्र
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले यस वर्ष अगामी चैत १५ देखि २७ गतेसम्म एसइई सञ्चालन गर्दैछ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बोर्डले चैत १५ देखि २७ गतेसम्म नियमित तथा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको जानकारी दिँदै कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने र नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार सार्वजनिक हुने बताए । उनले यस वर्ष परीक्षामा सहभागी हुने विद्यार्थीले प्रत्येक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अर्थात् १०० पूर्णाङ्क रहेका विषयमा ३५ अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको जानकारी दिए । उनका अनुसार अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको जनाउँदै ३५ प्रतिशतभन्दा कम ल्याए ननग्रेडेड आउने र विद्यार्थी फेल हुनेछन् । निर्देशिका अनुसार विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याएमा उसको नतिजामा अवर्गीकृत (ननग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिकाले गरेको छ । यस्तो अवस्थामा तीन पटकसम्म दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । यस वर्षको एसइईमा नियमित र ग्रेडवृद्धितर्फ चार लाख ८९ हजार परीक्षार्थी परीक्षामा सहभागी हुने एसइई परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । बोर्डले कक्षा ११ र १२ मा यसअघि नै ग्रेडिङ प्रणाली लागू गरिसकेको छ । परीक्षाको तयारी बोर्डले तीव्र रूपमा गरेको छ । परीक्षाका लागि आवश्यक पर्ने उत्तर पुस्तिका छपाई, प्रश्नपत्र छपाइदेखि अन्य सामग्रीको तयारी, परीक्षा केन्द्र निर्धारणको तयारी सुरु गरेको बोर्डले जनाएको छ । रासस
चिसो बढेपछि उपत्यकाका विद्यालय बन्द
ढोरपाटन । अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनका छ विद्यालय बन्द गरिएका हुन् भने एउटा विद्यालय घुम्ती पढाइका लागि बेँसी झारिएको छ । ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले गत पुस १५ गतेबाट बन्द गरिएका विद्यालय आगामी फागुन १ गतेबाट मात्रै सञ्चालन हुने जानकारी दिए । ती छ विद्यालयमा करिब तीन सय विद्यार्थी अध्ययनरत रहेका जनाइएको छ । उनले भने, ‘ढोरपाटन उपत्यका क्षेत्रका छवटा विद्यालय बन्द छन्, अब फागुन लागेपछि मात्रै खुल्छन्, एउटा जनवादी आधारभूत विद्यालय भने बोबाङ झरेको छ, पहिलेदेखि नै घुम्ती विद्यालय हो, यो बर्खामा ढोरपाटन, हिउँदमा बोबाङबाट पढाइ हुन्छ, यहाँका स्थानीय पनि हिउँद–बर्खा छुट्टाछुट्टै ठाउँमा बस्ने हुँदा विद्यालय पनि सोहीअनुसार सञ्चालन भएको छ ।’ सिद्धबराह प्राथमिक विद्यालय छेन्तुङका शिक्षक प्रेमबहादुर विकले यो याममा ढोरपाटनमा पठनपाठन गर्न नसकिने हुँदा विद्यालय बन्द गर्नुपरेको जानकारी दिए । यहाँका विद्यालयमा अधिकांश सानो उमेरका बालबालिका अध्ययन गर्ने हुँदा उनीहरूलाई चिसोबाट बचाउनका विद्यालय बन्द गर्नुको विकल्प नभएको उनले बताए । ठाउँ चिसो र त्यसमाथि सिमेन्टका भवनमा बसेर अध्ययन गर्दा बालबालिका बिरामी हुने गरेको उनको भनाइ छ । ‘यहाँ हिउँदमा पनि पढाइ सञ्चालन गर्न सरकारले कुनै विकल्प दिनुपर्छ, हिटर अथवा अन्य कुनै न्यायो प्रदान गर्ने सामग्री व्यवस्थापन गर्नुपर्ने हुन्छ भने धेरैजसो बालबालिका सामान्य परिवारका छन्, उनीहरूलाई न्यानो कपडा र जुत्ताको व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘त्यो नभएसम्म हिउँदको दुई महिना पठनपाठनमा निकै समस्या हुन्छ, बर्खामा भने बिदा नगरी पढाउँछौँ ।’ रासस
सरकारी विद्यालयको पूर्वाधार निर्माणमा सहयोग गर्दै माछापुच्छ्रे बैंक
काठमाडौं । माछापुच्छ्रे बैंकले सरकारी विद्यालयहरुको पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको हो । बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न.पा.वडा नं.१५, माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी न.पा.वडा नं.०६, बडेहाँ स्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न सहयोग गर्ने भएको छ । बैंकले यी दुबै विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । त्यसैगरी, बैंकले बाग्मती प्रदेशको काठमाडौं महानगर पालिका वडा नं. ४ लम्टङ्गीन स्थित पञ्चकन्या आधारभुत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको छ । विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त दुई सरकारी विद्यालयहरुको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गर्ने निर्णय गरेको हो । २८९ जना विद्यार्थी एंव १८ जना शिक्षक÷कर्मचारी कार्यरत त्रिभुवन जन माध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएको छ । र, खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाईप जलेर आपूर्ति बन्द हुने लगायतका समस्या भोगिरहेको छ । त्यस्तै, १८०० भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक/कर्मचारी कार्यरत शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था नाजुक रहेको हुँदा विद्यार्थी एंव शिक्षकहरुले समस्या भोगिरहेका बैंकले जानकारी गराएको छ ।