सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको खातामा एक हजार
तनहुँ । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको बैंक खाता खोलिदिने भएको छ । आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना हुने सबै छात्राका नाममा गाउँपालिकाले न्यूनतम १ हजार मौज्दात भएको बैंक खाता खोल्न लागेको हो । सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्दै गुणस्तर शिक्षाका लागि गाउँपालिकाले यस किसिमको अभियान अघि बढाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । गाउँपालिकाले सामुदायिक विद्यालयमा छात्राको आकर्षण बढाउनका लागि छात्रा बचत खाता सञ्चालन कार्यक्रम ल्याउन लागिएको गाउँपालिका अध्यक्ष चुमानले जानकारी दिए । ‘शैक्षिक सत्र २०८१ बाट गाउँपालिकाले यो कार्यक्रम लागू गरिनेछ,’ उनले भने, ‘विशेष गरेर छात्राहरुको वर्तमान र भविष्यका लागि सहयोग पुर्याउने लक्ष्यअनुरूप यस किसिमको योजना ल्याइएको हो ।’ उक्त कार्यक्रमले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नाका साथै छात्रामा सानैदेखि बचत गर्ने बानीको समेत विकास हुने विश्वास लिइएको उनले बताए । विद्यालयमा सञ्चालित शिक्षासँग उत्पादन कार्यक्रमबाट विद्यार्थीले गरेको आम्दानीलाई बचतमा जोड्ने लक्ष्य राखिएको छ । कार्यक्रमका लागि सुरुआती चरणमा करिब २५ लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा ३५ सामुदायिक विद्यालय छन् । उक्त विद्यालयमा करिब दुई हजार बढी छात्रा अध्ययन छन् । यसैगरी, गाउँपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीका आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकको हालै बसेको बैठकले सामुदायिक विद्यालयको शिक्षा सुधारको अभियानमा साथ दिन सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने निर्णय गरिएको हो । गाउँपालिकाका अनुसार आगामी शैक्षिक सत्रदेखि आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक सुधारअन्तर्गत गाउँपालिकाका सबै जनप्रतिनिधिका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरिएकामा यस वर्ष सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई अनिवार्य भर्ना गर्नुपर्ने निर्णय गरिएको हो । सामुदायिक विद्यालयमा लगानी गरे अनुरूपको प्रतिफल प्राप्त नभएकाले सुधारका लागि दबाब दिने उद्देश्यअनुरूप सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको अध्यक्ष चुमानले बताए । शैक्षिक गुणस्तर वृद्धि गर्न र सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाउनका यस निर्णयले थप सहयोग पुग्ने विश्वास गरिएको उनले जानकारी दिए । गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुुणस्तर वृद्विका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायत छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने, विद्यालयमा गाडीको व्यवस्था, सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको स्वास्थ्य बीमा, कर छुटका काम गर्दै आएको छ ।
७० प्रतिशत विद्यार्थी हराउँछन् ब्याचलरमा
काठमाडौं । कैलालीका रवीन केसी काठमाडौंको शंकरदेव कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययन गर्दैछन् । प्लसटु धनगढीमै पढेर आएका उनी अस्ट्रेलिया पढ्न जाने तयारीमा थिए । त्यसको लागि मिहिनेत पनि गरे । तर, सफल भएनन् । पटक–पटक मिहिनेत गर्दा पनि नाम ननिस्केपछि उनी कलेज भर्ना भए । अहिले उनी बीबीएस दोस्रो समेस्टरमा अध्ययनरत छन् । तर, उनको विदेश पढ्न जाने भोक भने अझै मरेको छैन । बरु उनी अहिले जाने देश नै परिवर्तन गरेर जापनिज् भाषा सिकिरहेका छन् । बिहान कलेज, साँझ जापानिज भाषा सिक्ने सेड्युलमा उनको दैनिकी काठमाडौंमा चलिरहेको छ । ‘बाआमासँगको सल्लाहमा नै भाषा र कलेज दुवै पढिरहेको छु,’ उनी भन्छन्, ‘हेरौँ तयारी गरिरहेको छु, नाम निस्क्यो भने बाहिरै जानुपर्छ नभए यतै पढ्नुपर्ला ।’ रवीन विदेश पढ्न जाने धोकोसहित निकै मिहिनेत गरिरहेका छन् । उनले नेपाली कलेजलाई विकल्पको रूपमा लिएका छन् । ‘मेरो लक्ष्य भनेकै पढ्न जाने हो,’ उनले थपे, ‘मैले कलेजको पढाइलाई भन्दा भाषालाई प्राथमिकता दिरहेको छु ।’ अब उनी जुनदिन नाम निकालेर भिसा लाग्छ त्यो दिन कलेजको पढाइ छाडेर उड्ने तयारीमा छन् । रवीनका धेरैजसो साथी प्लसटु पढेर विदेश गएका छन् । उनीहरूले आफू पढेर घरमा समेत पैसा पठाउँदा उनलाई पनि पढ्दै, कमाउँदै गर्ने रहर लागेको छ । उनी भन्छन्, ‘यहाँ पढ्न बुवाआमासँग पैसा माग्नुपर्छ, त्यहाँ कमसेकम आफैं कमाएर त पढ्न मिल्छ, त्यसैले पनि जान लागेको हुँ ।’ रवीनजस्तै धेरै विद्यार्थीले अहिले नेपाली कलेजलाई विकल्पको रूपमा लिएका छन् । सकेसम्म विदेशका लागि तयारी गर्ने त्यति गर्दा पनि भएन भनेमात्र नेपालमै भर्ना हुने विद्यार्थीको संख्या धेरै रहेको छ । जसका कारण नेपालका कलेजमा भर्ना भएका विद्यार्थी चौथो समेस्टरसम्म पुग्दैनन् । ब्याचलर्स तहमा विद्यार्थी नपाइरहेका कलेजलाई भर्ना भएका विद्यार्थी पनि कलेज नआउँदा थप पीर परेको छ । कलेजमा भर्ना भएका अधिकांश विद्यार्थी अहिले यसै गरिरहेका छन् । काठमाडौंको ज्ञानेश्वरमा रहेको आईएसटी कलेजकी प्रधानाध्यापक सम्झना बस्न्यात आफ्नै कलेजमा भर्ना भएका विद्यार्थी पनि बाहिर जाने तयारी गरिरहेको बताउँछिन् । उनले आफ्नै कलेजका विद्यार्थीको उदाहरण दिदै भनिन्, ‘मैले पढाउने एक जना विद्यार्थीलाई किन यस्तो गरेको भनेर सोध्दा ‘यहाँ पढेर के हुन्छ र ? सबै बाहिर नै गएको छन् भन्ने जवाफ आयो’, अहिले धेरै विद्यार्थीहरू अरुको देखासिकीमा नै विदेश पढ्न जान थालेका छन् ।’ टीकापुरका हेमराज रावल अहिले काठमाडौंको भीएस निकेतनमा बीबीए छैटौं समेस्टरमा पढ्छन् । टीकापुरबाट आईएसी पास गरेर काठमाडौं आएका उनी सुरुमा कलेज भर्ना हुन नै तयार थिएनन् । सँगैका साथीहरू सबै विदेश पढ्न जाँदा उनले पनि विदेश जाने ढिपी कसे । तर, उनका बुबा केशर रावललाई भने छोरालाई बाहिर पढ्न पठाउन मन थिएन । पढाइमा राम्रो छोरो यतै केही गरोस् भन्ने उनकोे चाहना थियो । ‘मैले यही पढोस् केही गरोस् भन्ने चाहेका हो,’ केशर भन्छन्, ‘अहिले यही पढिरहेको छ तर विदेश जान्छु भन्न अहिलेसम्म छाडेको छैन ।’ अरू साथीहरू बाहिर गएको देख्दा उनका छोरा हेमराज कलेजमा भर्ना हुनै मानेन् । उनले नेपालमै पढ्नुपर्छ भनेर सम्झाउँदा उनी बल्ल यही पढ्न तयार भए । तर, हेमराजलाई भने मन परिरहेको छैन । ‘विदेश जाने लहरो यस्तो बढ्यो कि केटाकेटीलाई यही पढभन्दा पनि मान्दैनन्’ केशर भन्छन्, ‘पढ्न त अहिले यहीँ पढिरहेको छ तर, उसले अझै जिद्दी गरिरहेको छ कि म बाहिरै जान्छु अब के गर्छ थाहा छैन ।’ अहिले केशरको जस्तै चिन्ता अन्य अभिभावकमा पनि छ । विद्यार्थीमा रवीन र हेमराजजस्तै बाहिर जान मरिहत्ते गर्ने धेरै विद्यार्थी छन् । यस्ता विद्यार्थी बाहिर जान असफल भएमात्र नेपालमा पढ्न विवश हुन्छन् । जसोतसो कलेजमा भर्ना भइहाले पनि बाहिर जाने उनीहरूको प्रयास जारी रहन्छ । भर्ना भएका विद्यार्थी घट्दै नेपालका कलेजले अहिले विद्यार्थी नपाउनुको समस्या जगजहोर नै छ । त्यसमाथि भर्ना भएका विद्यार्थीहरू पनि कोर्स नसकिन्जेलसम्म कति रहन्छन् भन्ने पीर छ । काठमाडौंको बुद्धनगरमा रहेको कादम्बरी मेमोरियल कलेजमा पनि यस्तै समस्या छ । क्याम्पस प्रमुख प्रदिप्ता कादम्बरी प्रथम वर्ष भर्ना भएका मध्ये २५ देखि ३० जना विद्यार्थी चौथो समेस्टरसम्म पुग्दा रहन्छन् कि रहदैनन् भन्ने अवस्था रहेको बताउँछिन् । कादम्बरी कलेजमा विगत ४ वर्षदेखि विद्यार्थीको संख्या घट्दै आएको छ । पहिले जम्मा सिट संख्या ३० हुँदा २५ देखि २८ जना विद्यार्थी हुन्थे । भने अहिले ४० सिट संख्यामा १२ देखि १५ जनामात्र विद्यार्थी भर्ना हुने गरेका छन् । तिनीहरूमध्ये पनि कतिपय बाहिर जाने तयारीमा छन् । ‘दुई/तीन वटा कक्षामा त अझ ६ जना विद्यार्थी छन,’ उनी भन्छिन्, ‘तीमध्ये पनि कतिले बीचमै छोड्छन् थाहा छैन ।’ मास्टर्समा भने अहिले कोटा फुल नै छ । तर, त्यहाँ पनि ड्रप्टआउट हुने संख्या धेरै छ । क्याम्पस प्रमुख प्रदिप्ता अब विश्वविद्यालयले यो विषयमा सोच्नुपर्ने बेला आएको बताउँछिन् । आईएसटी कलेमा पनि ‘ड्रपआउट’ हुने विद्यार्थी संख्या बढी छ । टुरिज्म र होटेल मेनेजम्यान्टमा गरी अहिले चार सय जना विद्यार्थी छन्, ती मध्ये सबै तीन वर्षसम्म रहन्छन् भन्ने ठेगान छैन । कादम्बरी मेमोरियल कलेजमा पनि अहिले करिब एक सयजना विद्यार्थी छन् । यो संख्या सबै कोर्स पूरा हुन्जेलसम्म रहन्छ भन्ने एकीन छैन । काठमाडौंको बागबजारमा रहेको काठमाडौं मोडल कलेजमा पनि विद्यार्थी बीचमै ड्रपआउट हुने सख्या बढ्दो छ । विद्यालयका प्रिन्सिपल सुरेन्द्र सुवेदी पहिलो वर्षमा भर्ना भएकामध्ये करिब ५० प्रतिशत विद्यार्थी चौथो वर्षसम्म कलेजमा भेट्न गाह्रो हुने अवस्था आएको बताउँछन् । काठमाडौंको शंकरदेव कलेजमा स्नातक तह पहिलो वर्ष भर्ना भएका सबै संकायमा अहिले विद्यार्थी घटेका छन् । पहिलो वर्ष भर्ना भएका दुई हजार तीन सय ३० विद्यार्थीमध्ये हाल चौथो वर्षमा पुग्दा करिब आठ सय विद्यार्थीमात्र छन् । पछिल्लो तीन–चार वर्षयता ‘ड्रपआउट’ हुने विद्यार्थीको संख्या बढ्दै गइरहेको छ । सानेपामा रहेको क्याम्पियन कलेजमा पनि विद्यार्थी बीचमै पढाइ छोड्नेक्रम बढेको छ । कलेका प्रिन्सिपल अनामिका श्रीवास्तवका अनुसार प्रथम वर्षमा भर्ना भएका ४० प्रतिशत बढी विद्यार्थी चौथो वर्षसम्म पुग्दा ड्रटआउट हुन्छन् । ड्रपआउट किन ? नेपाली विद्यार्थीले नेपालका कलेजलाई दोस्रो प्राथमिकतामा राखेको विज्ञहरू स्वीर्काछन् । उनीहरू नेपालको शैक्षिक प्रणालीलाई मात्र होइन नेपालको राजनीतिक प्रणालीमाथि पनि यसको दोष थुपार्छन । नेपालमा कक्षा १ मा भर्ना हुने विद्यार्थी कक्षा १२ को परिक्षा दिँदासम्म ८० प्रतिशत बीचमै हराउने गरेका छन् । तर, दुःखको कुरा उनीहरूको खोजी अहिलेसम्म कसैले नगरेको शिक्षाविद् डा. विष्णु कार्की बताउँछन् । बाँकी रहेका २० प्रतिशत उच्च शिक्षामा पुग्छन् । उनीहरूमध्ये पनि प्लसटु पास गरिसकेपछि नेपालमा बस्न चाहने थोरैमात्र छन् । प्लसटु पास गरेर पनि ब्याचलर्समा भर्ना भएका करिब ५० प्रतिशत बढी विद्यार्थी ड्रपआउ हुने गरेको पाइन्छ । कति विद्यार्थी उच्च शिक्षा पढ्दै गर्दा ड्रपआउट भए भन्ने एकीन तथ्यांक नभए पनि डरलाग्दो अवस्था रहेको कार्की बताउँछन् । शिक्षाविद् डाक्टर विद्यानाथ कोइराला विद्यार्थीको चाहना अहिलेको व्यवस्थाले नबुझिदिँदा पनि विद्यार्थी हराउन थालेको बताउँछन् । यसो हुनुमा पनि विद्यार्थीको बाध्यता रहेको उनी बताउँछन् । सर्टिफिकेट हैन, सीप खोज्छन् विद्यार्थी अहिले प्रत्येक कुरामा मान्छेले उद्देश्य खोज्न थालेका छन् । हिजोको जस्तो पढ्नका लागि पढ्ने भन्ने मानसिकता अब छैन । अब पढ्नका लागि विद्यालय नै जानुपर्छ भन्ने अवस्था पनि रहेन । अहिले स्कुल–कलेज नगएर पनि शिक्षा हासिल गर्न सकिन्छ । अहिले विद्यार्थीले पनि म केका लागि पढ्ने भन्ने सोच बनाउन थालेको शिक्षाका जानकारहरू बताउँछन् । नेपाल गरिब तथा विकाशील देश हो । यस्तो देशका नागरिकको चाहना थोरै पढेर तुरुन्त जागिर पाइयोस भन्ने हो । ‘हिजो सबैका पहुँच शिक्षामा थिएन, हुनेहरूको पनि पढ्ने सार्टिफिकेट लिने र जागिर खाने मात्र थियोे,’ शिक्षाविद् डाक्टर विष्णु भन्छनु, ‘तर, अहिले त्यस्तो छैन, जति विद्यार्थीको संख्या बढेको छ त्यसअनुसार जागिर पाउने ठाउँ छैन, यहाँ ठूलो ग्याप छ ।’ डा.कार्कीका अनुसार अहिले बिजनेस इन्ड्रस्ट्रिजतिर काम गर्नेहरूका लागि ठूलो क्वालिफिकेसन खोजी गरिँदैन । यसमा सीप, क्षमता भएको मान्छे खोजिन्छ । अहिले जुन लेबर अथवा माइग्रेसन ट्रेन छ यसले पनि ठूलो हदसम्म यसलाई समेटेको उनी बताउँछन् । ‘मान्छेलाई सर्टिफिकेट चाहिएको छैन,’ उनी भन्छिन्,‘उसलाई जुन हदसम्म बाहिर जानका लागि सर्टिफिकेट अनिवार्य छ त्यहाँसम्म मात्र उनीहरूले पढ्न खोजेका हुन् ।’ यस्ता छन् अब परिवर्तन गरिनुपर्ने विषय अहिले जति विद्यार्थी पढ्ने नाममा बाहिर जान्छन् ति सबै पढ्दैनन् । कोही काम गर्दै पढ्दै गर्छन् भने कोही काममात्र गर्छन् । यो अवस्थाले अब नेपालको शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ भनेको हो । डा.कार्कीको विचारमा अब दुइटा कुरा परिवर्तन गर्नुपर्छ । एउटा त्रिभुवन विश्वविद्यालयमा भएका पुराना काम नलाग्ने पाठ्यक्रम छन् ति सबै हाटाएर अहिले विश्वबजार र नेपाली बजारमा चलेका पाठ्यक्रम राख्नुपर्यो । अर्को विद्यार्थी नभएका फ्याकल्टी, नचलेका कलेज डिपार्टमेन्ट बन्द गर्नुपर्ने उनी बताउँछन् । कतिपय डिपार्टमेन्टमा विद्यार्थीभन्दा बढी प्रोफेसर छन् यसले गर्दा विद्यार्थी र शिक्षकको अनुपात पनि मिल्ने र खर्च पनि कम हुने उनकाे भनाइ छ । कार्कीका अनुसार नेपालमा पढ्दै काम गर्न पाउने वातावरण नहुँदा पनि विद्यार्थी विकल्प खोजिरहेका छन् । मैले ब्याचलर्समा पढ्यो भने मैले काम गर्ने ठाउँ कहाँ हो ? विद्यार्थीले अब पहिले यसको जवाफ खोजेर मात्र पढ्ने गरेको उनी बताउँछन् । ‘अबको शिक्षा म कहाँ आउ, पढ, पैसा तिर सर्टिफेकेट लिएर जाउ यो होइन,’ उनी थप्छन्, ‘मान्छेले पढ्दा पढ्दै काम गर्दागर्दै सिकेको शिक्षा ठूलो हो, कुनै विश्वविद्यालयबाट मास्टर्स गरेर विद्यार्थीले शिक्षा सिक्छन् त्योभन्दा धेरै ठूलो काम गर्दा सिकेको शिक्षा हो, त्यसैले विद्यार्थीले प्ढदै काम गर्न पाउनुपर्छ ।’ कुनै पनि संघसस्थामा काम गर्न जाँदा कम्तीमा यति वर्षको अनुभव अनिवार्य भनेको हुन्छ । जसले काम गर्ने अवसर नै पाएको हुँदैन उसले कहाँबाट अनुभव गर्छ ? नेपालको शिक्षाले शिक्षा दिएको तर अनुभाव नदिएको शिक्षाविद्हरू बताउँछन् । अब के गर्ने ? डा. कार्कीका अनुसार अब नेपालका युनिभर्सिटीले सरकारसँग मिलेर थुप्रै रोजगारका अवसर खोज्नुपर्छ । कर्पोरेटहरूसँ साझेदार गर्नुपर्छ । विदेशका धेरैजसो कलेजले शिक्षामात्र दिँदैन, काम पनि दिन्छन् । विश्वविद्यालय शिक्षासँगै उत्पादन गर्ने ठाउँ पनि हो । कतिपय युनिभर्सिटीले आफ्नै कलेजभित्र इन्ड्रस्टिज, संरचना, थुप्रै व्यवसाय चलाएर बसेका छन् । उनीहरू अब कलेजमा विद्यार्थी कम हुँदै जाने भन्दै त्यसका लागि तयार हुनुपर्छ । अब कलेजमा आइराख्नुपर्ने फेस टु फेस शिक्षा लिनुपर्ने कुरा संसारबाट नै हराउँदैछ । यसका लागि नेपालका विश्वविद्यालय तयार रहनुपर्ने डा. कार्कीको भनाइ छ । उनका अनुसार यसका लागि पूरा प्रणाली हुनुपर्यो । तर, अहिले नेपालका विश्वविद्यालय आशिंक प्रणालीमा छन् । ‘यहाँ शैक्षिक प्रवचन (एकेडेमिक डिसकोर्स ) बाहेक काम भएन,’ उनी भन्छन, ‘यसमा प्रोडक्सन, सर्भिसेज, गरेर कुल प्रणाली (टोटल सिस्टम) बनाउनुपर्यो, यसो हुँदा विद्यार्थी र देश दुवैका लागि राम्रो हुन्छ ।’
ब्रिलियन्ट एजुकेशनको नयाँ शाखा चितवनको शहिद चोकमा
काठमाडौं । ‘ब्रिलियन्ट एजुकेशन’ ले आफ्नो नयाँ शाखा चितवनको शहिद चोकमा संचालनमा ल्याएको छ । काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालय रहेको ब्रिलियन्टले यसअघि बुटवल, इटहरी, धरान, झापा, हेटौडा र सुर्खेतमा शाखा सञ्चालन गरी शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको निर्देशक कल्पना बस्नेतले जानकारी दिइन् । २० वर्षदेखि परामर्श सेवा दिँदै आएको ब्रिलियन्टले अमेरिका, अष्ट्रेलिया, क्यानडा, जर्मन, यूके लगायतका लागि परामर्श सेवा दिँदै आएको छ ।