नेपाल उद्योग परिसंघ र विश्वविद्यालयका उपकुलपतिबीच छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघले शैक्षिक क्षेत्रका विषयमा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुसँग छलफल गरेको छ । परिसंघको शिक्षा परिषद्को संयोजनमा आज शुक्रबार पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजु कुमार थपलिया, लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्ण बज्राचार्य र मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुव कुमार गौतमसँग अबको शिक्षाको प्रणाली तथा संयन्त्र कस्ता हुनुपर्ने, विश्वविद्यालय र उद्योगबीच सहकार्यको सम्भावना र बजार केन्द्रित शैक्षिक कार्यक्रमलगायतका विषयमा छलफल भएको हो । छलफलमा परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले उद्योगको आवश्यकता अनुरुप प्रयोगात्मक शिक्षा प्रणाली आवश्यक रहेको भन्दै यसका लागि परिसंघ विश्वविद्यालयहरुसँग समन्वय, सहकार्य गर्न तयार रहेको बताए । लुम्विनि विश्वविद्यालयका उपकुलपति बज्राचार्यले नेपालमा शिक्षाको गुणस्तर बृद्धी गर्न आवश्यक रहेको भन्दै पाठ्यक्रम बजार आवश्यकता अनुसारको बनाउन जरुरी रहेको बताए । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति थपलियाले नेपालले सञ्चालन गरिरहेका प्रोग्राममा पुर्नविचार गर्नुपर्ने बताए । शिक्षामा नयाँपनको आवश्यकता रहेको भन्दै पूर्वाञ्चल विश्वविद्यालयमा आर्टिफिसियल इन्टलिजेन्समा स्नातकतहको पाठ्यक्रम सञ्चालनमा ल्याईएको जानकारी गराए । मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति गौतमले विदेशी विद्यार्थीहरुलाई नेपालमा आर्कषित गर्न विश्वविद्यालयहरु र्याङकिङमा केन्द्रित हुनुपर्ने बताए । विद्यार्थिहरुले र्याङकिङमा हेरेर विश्वविद्यालय छनौट गर्ने भएकाले विश्वविद्यालयको र्याङकिङ बृद्धी गर्नुपर्ने आवश्यकता रहेको बताए । छलफलमा नेपाल उद्योग परिसंघ शिक्षा परिषद्का सभापति द्धिराज शर्मालगायत सहभागी थिए ।

विद्यार्थी नै नभएको विद्यालयमा चार शिक्षक

ढोरपाटन । सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी । त्यही झाडी छेउमा दुई जीर्ण भवन छन् । खिया लागेका जस्ताले छाएको छानो । मक्किएका झ्याल ढोका । लेखिएको भित्ते लेखन र झ्यालमा अड्याएर राखिएको झन्डामा यहाँ पुग्ने हरेकको नजर ठक्क रोकिन्छ । भित्तामा राष्ट्रिय गान, राष्ट्रिय जनावर गाई, झन्डालगायत चित्र कोरिएको छ । यो जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछमा रहेको सर्वोदय प्राथमिक विद्यालय हो । विसं २०१२ मा स्थापना भएको यस विद्यालयमा अघिल्लो वर्षसम्म आठ विद्यार्थी थिए । अहिले एकजना पनि विद्यार्थी छैनन् । विद्यालयमा विद्यार्थी नभए पनि चार शिक्षक दैनिक आउँछन् । दुई स्थायी र बाल विकास सहजकर्तासहित दुई अस्थायी शिक्षक यस विद्यालयमा कार्यरत छन् । विद्यार्थी नभएपछि शिक्षकलाई दिन कटाउनै मुस्किल हुन्छ । गाउँ बसाइँसराइले रित्तिँदै गएपछि विद्यार्थीको सङ्ख्या शून्य भएको हो । केही वर्षअगाडिसम्म यस गाउँमा ८८ घर थिए । हाल ३३ घर मात्रै छन् । ती घरमा पनि बूढापाका मात्रै छन् । सेवा, सुविधा र विलासिताको खोजीमा सहर बजार भार्नेको लर्को लागेपछि विद्यालय बन्द हुनाका साथै गाउँ नै सुनसान बनेको छ । विद्यालयमा चिटिक्क परेका कक्षाकोठा छन् । शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन बनाइएको सामग्रीले विद्यार्थी पर्खिरहेका छन् । विद्यालयमा विद्यार्थीको चहलपहल हुनुपर्ने हो । दैनिक पठनपाठन हुनुपर्ने हो । विद्यार्थी नभए पनि विद्यालय सुनसान बनेको छ । डेस्क बेञ्चदेखि सबै किसिमका सुविधा छन् । विद्यार्थीविहीन विद्यालयमा शिक्षकले भने नियमित तलब खाइरहेका छन् । बागलुङका विभिन्न स्थानीय तहले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन, तह मिलान तथा स्थगन गरिरहेका छन् भने जैमिनी नगरपालिकाले अहिलेसम्म गरेको छैन । यस विद्यालयका प्रधानाध्यापक लेखनाथ शर्माले विद्यार्थी नहुँदा दिन बिताउनै गाह्रो हुने गरेको बताए । गाउँमा वृद्धवृद्धाबाहेक अरू नभएको हुँदा विद्यालय रित्तिएको उनको भनाइ छ । अझै आफूहरुले शिक्षाको गुणस्तर बढाएर छिमेकी गाउँबाट र बोर्डिङ पढ्ने विद्यार्थीलाई ल्याउन सकिन्छ कि भनेर प्रयास गरेको प्रधानाध्यापक शर्मा बताउँछन् । शर्माले भने, ‘एक दशक अगाडिसम्म झन्डै एक सय कुरिया (घर परिवार) रहेको गाउँमा अहिले घटेर निकै थोरै छन्, दिनदिनै बसाइँसराइ गरे तराई झर्ने गर्दा गाउँमा बूढापाका मान्छे मात्रै छन्, बालबालिका छैनन्, बालबालिका हुँदै नभएपछि विद्यालय रित्तिने अवस्था आयो, अझै पनि छिमेकी गाउँबाट विद्यार्थीलाई लिएर पढाउन सकिन्छ भनेर प्रयास गरिरहेका छौँ, विद्यार्थी नहुँदा हामी शिक्षकलाई पनि दिनभरि यत्तिकै बस्दा गाह्रो भएको छ ।’ विद्यालय नजिकैकी स्थानीय हिरा पौडेलले दकश अगाडिसम्म यस विद्यालयमा विद्यार्थीको चापले गर्दा डेस्क, बेञ्च नपुगेर भुइँमै बसेर पढ्ने गरेको बताए । अहिले विद्यालयमा धेरै सेवासुविधा हुँदा पनि पढ्ने बालबालिका कोही नभएको उनको भनाइ छ । विद्यालय स्थापित गर्नका लागि गाउँलेले ठूलो योगदान पुर्याएको भन्दै अहिले विद्यार्थी नभएर रित्तो हुँदा दुःख लागेको पौडेलले बताए । यहाँका अधिकांश चितवन, गैँडाकोटा, नवलपरासीलगायत ठाउँमा बसाइँसराइ गरेर गएपछि अचेल गाउँमा बालबालिका भेट्टाउनै मुस्किल पर्ने उनको भनाइ छ । पहिलेको तुलनामा अहिले विद्यालयको अवस्था निकै फेरिएको पौडेल बताउँछन् । ‘हाम्रो छोराछोरीले पढ्ने बेला एउटा कुर्चीसमेत हुँदैनथ्यो, केटाकेटी भुइँमै धुुलोमै बसेर पढ्थे, अहिले कोही पनि भुइँमा बस्न पर्दैन, बस्ने ठाउँ पनि कति राम्रो बनाएका छन्, नजिकै चर्पी, धारा बनेका छन् तर त्यो सुविधा लिने कोही छैन’, पौडेलले भने, ‘यो अवस्था देख्दा निकै वैराग लाग्छ, यो ठाउँ पहिला कस्तो रमाइलो थियो, जताततै मान्छे भेटिन्थेँ, केटाकेटी भेटिन्थेँ, अहिले त न ठूला मान्छे भेटिन्छन्, न बालबालिका, गाउँमा भएका अलिअलि पनि बजार झर्ने सुरसार गर्दै छन् ।’ जैमिनीका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन, तह मिलान र स्थगन गर्नका लागि सूचना जारी गरेको र वडा शिक्षा समितिले अध्ययन गरिरहेको बताए । यही जेठ १२ गतेसम्म कुन कुन विद्यालय समायोजन गर्ने, कुन कुन विद्यालयको तह घटाउने र स्थगन गर्ने भन्ने विषयमा वडा शिक्षा समितिले प्रतिवेद बुझाउने तथा सोहीअनुसार नगरपालिकाले काम गर्ने उनको भनाइ छ । नगर शिक्षा अधिकारी आचार्यले भने, ‘नगरपालिकाले १० वटै वडाका विद्यालयको अवस्था बुझ्ने र तह मिलान, समायोजन तथा स्थगन गर्ने विषयमा हामीहरु गम्भीर छौँ, वडा शिक्षा समितिमार्फत सबै वडाका विद्यालयका बारेमा अध्ययन गरिराख्नु भएको छ, यही जेठ दोस्रो साता उहाँहरुले प्रतिवेद ल्याउनुहुन्छ र सोही अनुसार नगरपालिकाले विद्यालय समायोजन गर्ने, तह घटाउने अथवा अरू के गर्ने भन्ने विषय निक्र्यौल हुन्छ ।’ रासस

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण, अङ्ग्रेजी माध्यममा पढाइने

कीर्तिपुर । वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् ।  देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थी भरिभराउ छन् । विद्यार्थी नभएका अन्यत्रका सरकारी विद्यालयको तुलनामा यहाँ ठीक उल्टो छ । शिक्षाको महत्व बुझेका र हुनेखाने वर्गका अभिभावकले समेत आफ्ना छोराछोरी यही विद्यालयमा पढाएका छन् । प्रायः सबै शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीकाहरुको बालबालिका यही विद्यालयमा पढछन् । विद्यालयले गुणस्तरीय शिक्षाका लागि दश वर्षदेखि  गरेको निरन्तर मेहेनतको प्रतिफल हो यो । यही मेहतनले  विसं २०७५ यता विद्यालयले राम्रो नतिजा ल्याएको छ । पठनपाठन नियमित गर्ने नभई कमजोर विद्यार्थीका लागि वर्षैभरि अतिरिक्त कक्षा चलाइएको छ । साना कक्षाहरुमा दुईजना शिक्षक खटाएर विशेष कक्षा सञ्चालन गरिएको छ । त्यतिमात्र नभई अधिकांश सामुदायिक विद्यालयमा देखिने सरसफाइ र अव्यवस्थाको समस्या यस विद्यालयमा छैन । अभिभावकको चाहनाअनुरुप क्रमशः अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिएको विद्यालयले जनाएको छ । विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गरेपछि स्थानीयले बिस्तारै आफ्ना छोराछोरी पढाउन मात्र थालेनन्, भौतिक संरचनाको विकासमा समेत सहयोग गर्न थाले । स्थानीय समुदायकै सहयोगमा विद्यालयले जग्गा किन्यो र त्यसलाई घेराबारा लगाइयो । प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठका अनुसार एउटा कक्षामा सरदर ३५ जना राखेर पठनपाठन गराइन्छ । सबै कक्षामा विद्यार्थी भरिएका छन् । कक्षा ९ र १० मा एक–एकवटा ‘सेक्सन’  थप्नुपरेको छ । ‘एक शैक्षिकसत्रमा जम्मा ७५ जना नयाँ भर्ना लिन सकिने अवस्था थियो तर आवेदन दुई सय ५० जनाको पर्यो । कक्षा कोठामा धेरै हुने भएकाले एक सयजना विद्यार्थीलाई भर्ना लिइयो, बाँकीलाई भर्ना गर्न सकिएन’, प्रधानाध्यापक श्रेष्ठले भने। भर्ना हुन चाहने सबै विद्यार्थीलाई विद्यालयमा कक्षा कोठा पुग्दैन । अहिलेको चारवटा भवनमा ३२ वटा कक्षाकोठा छन् जसमध्ये २५ वटा कोठामा कक्षा सञ्चालन गरिएको छ ।  नयाँ भवन बनाउने साधन स्रोत तत्काल जुटेको छैन । विद्यालयले खरिद गरेको एक रोपनी पाँच आना क्षेत्रफलमा संरचना बनिसकेको छ । त्यसबाहेकका थप जमिन विद्यालयसँग छैन । विद्यालयसँगै जोडिएको १५ रोपनी पर्ती जमिनलाई खेलमैदानका रुपमा प्रयोग गरिएको छ तर त्यहाँ विद्यालयले स्थायी संरचना बनाउन पाउँदैन । विद्यालयको समस्याबारे दक्षिणकाली नगरपालिका जानकार छ । त्यसप्रति नगरपालिका सकारात्मक रहेको र स्रोत साधन छिट्टै उपलब्ध हुने अपेक्षा गरिएको प्रधानाध्यापक श्रेष्ठले बताए । शिक्षाको गुणस्तरकै कारण विद्यार्थीको आकर्षण धेरै भए पनि विद्यालयले थप भर्ना गर्न नसक्ने जानकारीसहितको पत्र नगरपालिकालाई पठाएको छ । रासस