पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छन् । सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका लागि रकम विनियोजन गर्दै आएकोमा परिवर्तन नभएका पुस्तक पुनः प्रयोग गर्न सकिए उत्पादन र वितरणमा लाग्ने रकम बचत भई छात्रवृत्तिमा लगाउन सकिने उनको भनाइ छ । मन्त्रीको सचिवालयका अनुसार कतिपय सामुदायिक विद्यालयको कक्षामै पुगेर पुस्तक पुनः प्रयोगबारे मन्त्रीले बुझाउने कार्यक्रम तय भएको जनाइएको छ ।
४९ देशका विद्यार्थीलाई नेपाली भाषा सिकाउने पण्डित
काठमाडौं । बझाङमा जन्मे । उतै लेखपढ गरे । कक्षा १० मा हुने टेस्ट परीक्षामा फेल हुँदा पढाइ छोडेर भारत लागे । पढ्ने इच्छा भएकालाई कहाँ बाध्यताले रोक्दो रहेछ र उनी भारतमा काम गर्दै पढे । तीन वर्षपछि काठमाडौं हेर्न आएका उनी अहिलेसम्म काठमाडौंमै छन् । उनी अर्थात् प्राध्यापक धनप्रसाद पण्डित । उनी ४० वर्षदेखि नेपाली शिक्षा क्षेत्रमा काम गरिरहेका छन् । पेशा शिक्षण तर उनको यात्रा भाषा सिकाउने शिक्षकबाट सुरु भयो । जेलभित्र विदेशीलाई नेपाली भाषा सिकाउन सुरु गरेका उनले अहिलेसम्म ४९ देशका नागरिकलाई नेपाली भाषा सिकाएका छन् । उनी अहिले पनि काठमाडौं विश्व विद्यालयमा विदेशीलाई नेपाली भाषा सिकाउनमा व्यस्त छन् । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमा ३४ वर्षदेखि अध्ययपन गराउँदै आएका उनले ८ वर्षसम्म काठमाडौंका दुइटा क्याम्पसको प्रमुखको रूपमा काम गरिसकेका छन् । विभिन्न आरोह अवरोहको सामना गर्दै बझाङदेखि भारत हुँदै काठमाडौंमा पुगेर शिक्षण पेशामा जमेका छन् । उनको घर बझाङ हो । उनी कक्षा १० सम्म बझाङमै पढे । तर, कक्षा १० मा हुने टेस्ट परीक्षामा फेल भएपछि उनी पढाइ छोडेर भारत लागे । उनी भारतको अहमदावाद गए । त्यहाँ उनले पण्डितको कामको काम सुरु गरे । कहिले मन्दिरमा लाग्ने पुजा, कहिले घरमा हुने विवाह बर्तबन्ध, त कहिले महायज्ञमा उनको काम हुन्थ्यो । यसरी काम गर्दा उनी महिनामा तीन सय रुपैयाँ कमाउँथे । एकातिर पढाइ खर्च अर्कोतिर, बस्न खान उनले त्यही पैसा पु¥याउनु पथ्र्यो । धनप्रसादले भारतको अहमदाबादमा तीन वर्ष काम गर्दै पढे । त्यसपछि उनलाई काठमाडौं आउन मन लाग्यो । उनलाई भारतको मुम्बई, अहमदावादभन्दा काठमाडौं राम्रो होला लाग्थ्यो । किनकि बझाङबाट जति सहज भारत जान थियो उती काठमाडौँ आउन थिएन । उनी भारतबाट एक्लै काठमाडौं आए । भारत हुँदै काठमाडौं उनी बनारसबाट बिरगञ्ज हुँदै सिबभज्याङको बाटो भएर काठमाडौं आए । त्यो बेला काठमाडौं आइपुग्न एक साता बढी बढी लाग्यो । उनीसँग अर्को साथी कोही थिएन । काठमाडौँमा आफन्त त थिए तर को कहाँ बस्छन् भन्ने थाहा थिएन । शरिरमा कुर्ता सुरुवाल हातमा टीनको बाकस, मनमा अनेक डर बोक्दै उनी काठमाडांै आए । काठमाडौं पुगुञ्जेल शरीरका लुगा सबै फोहोर भइसकेका थिए । उनी काठमाडौंको नारायणहिटी राजदरबार नजिक झरे । वरिपरी पर्खाल त्यसैमाथि काँडेतार बेरेको र आर्मी बसेको देख्दा उनलाई चिडियाखाना यही हो जस्तो लाग्यो । उनले कौतुहलताका साथ आर्मीलाई यो चिडियाखाना हो ? भन्दै सोधे । उनी त्यो क्षण स्मरण गर्दै भन्छन्, ‘आर्मीले त ठूला आँखा तरेर मलाई हे¥यो, मलाई घेरबार देख्दा यहाँ बाघ होला जस्तो लागेको थियो, पाँच दिनपछि थाहा पाएँ, त्यो त राजा बस्ने दरवार पो रहेछ ।’ पहिलो पटक काठमाडौं आउँदाका यस्ता अनेक किस्सा उनीसँग छन् । काठमाडौं आइपुगेपछि उनलाई कहाँ बस्ने पत्तो थिएन । अध्यारो हुँदै गयो उनी बासको खोजीमा लागे । साथमा पैसा पनि थियो । उनले खिचापोखरी नजिक एउटा होटेल भेटाए । त्यो रात त्यहीँ बसे । उनलाई मामाको छोरा काठमाडौँ छन्, ल क्याम्पसमा पढदैछन् भन्ने थाहा थियो । उनी भोलिपल्ट क्याम्पस खोज्दै गए । ठ्याक्कै क्याम्पसको गेटमै मामाको छोरालाई देखे । तर, उनले नदेखे जस्तै ग¥यो । ‘उ क्याम्पसमा चिटिक्क परेर गएको थियो,म एक एक सातादेखिको फोहोर कुर्ता सुरुवालमा थिएँ, मलाई फोहोरी देखेर होला उ बोलेन,’ उनी भन्छन्, ‘म पनि गेटमै बसेँ बाहिर निस्केको बेला दाई भन्दै बोलाई हाले,ँ दाईले साथीले नदेख्ने गरी मलाई ट्याक्सीमा राखेर आफ्नो कोठा लग्यो ।’ उनका फुपूका छोरा पनि काठमाडौं मै बस्थे । उनको भेट मामाको छोरासँग भएपछि उनी दाईसँग बस्न थाले । ५/६ महिना दाईसँग बसेपछि उनी प्रर्दशनीमार्गमा रहेको संस्कृत विद्यालयमा भर्ना भए । त्यहाँ छात्रावासको पनि व्यस्था थियो । त्यसपछि उनी छात्रावासमै बसे । जेलमा बसेर विदेशीलाई सिकाउँदा काँग्रेसले २०४२ सालमा बहुदलिय व्यवस्थाका लागि सत्याग्रह सुरु गरेको थियो । उनी त्यो बेला विद्यार्थी थिए । काँग्रेसले सुरु गरेको सत्याग्रहमा अवरुद्ध हुँदै सडकमा बसे । ‘सत्याग्रह सबैका लागि, सबै सत्यग्रहका लागि’ भन्दै सडकमा सुतेपछि प्रहरीले पक्राउ गरेर लग्यो । सरकारको नियमको उल्लंघन गरेको भन्दै उनलाई ९ महिना जेलमा राख्यो । उनी बसेको जेलमा विदेशीहरूपनि थिए । विभिन्न मुद्दामा पक्राउ परेका विदेशीलाई उनले नेपाली भाषा सिकाउन लागे । संस्कृत लिएर पढेका उनले राजनीतिशास्त्र लिएर एमए पास गरे । तर, जेल राखिसकेको मान्छेलाई आयोगमा नाम निकाले पनि अन्र्राष्ट्रिय तत्व भन्ने ट्याग लागेको हुन्थ्यो । जागिर पाउन समस्या थियो । तर, बाँच्नलाई काम गर्नेपथ्र्यो । त्यसपछि उनले भाषा शिक्षकको रूपमा काम गरे । धनप्रसादले सन् १९८६ देखि अमेरिकी पिस्करलाई पूर्णकालीन रुपमा भाषा सिकाउन सुरु गरेका थिए । त्रिविमा प्रवेश गर्नुभन्दा पहिले उनी विदेशीलाई नेपाली भाषा सिकाउने काम गर्थे । स्वदेश विदेशमा लिएको तालिमको अवसरले विदेशीलाई भाषा सिकाउने ४० वर्ष अनुभव अहिले पनि जारी राखेको उनले बताए । ‘मेरो शिक्षण पेशाको सुरुवात विदेशीलाई नेपाली भाषा सिकाउनेबाट सुरु भएको थियो,’ उनी भन्छन्, ‘म अहिलेपनि भाषा सिकाइरहेको छु, ज्ञान दिने र लिने काम कहिल्यै सकिँदैन ।’ उनले अमेरिकन पिस्कोर, ब्रिटीस भोलेन्टर, डेनिस भोलेन्टर,स्विस भोलेन्टर, लगायत विभिन्न एमबीसीमा काम गर्नेहरूलाई भाषा सिकाए । कोरियन भोलेन्टरलाई पढाउन तीन महिना कोरिया पनि गए । उनी विदेशीलाई भाषा सिकाउँदा भाषामात्र नभई नेपालको संस्कृति, परम्परा, नेपालको रहनसहन पनि सिकाउने गरेको बताउँछन् । राजनीतिले गिजोलेको शिक्षा क्षेत्र त्रिभुवन विश्वविद्यालयमा ३४ वर्ष पढाएर सेवा निवृत्त भएका धनप्रसाद नेपालको शैक्षिक अवस्था जरजर रहेको बताउँछन् । यसको पछाडिको कारण राजनीतिक रहेको उनको दाबी छ । नेपालका राजनीतिक दलले विश्वविद्यालयबाट निःशुल्क रुपमा कार्यकर्ता प्राप्त गर्छन् । विश्वविद्यालयमा भर्ना हुने तर, पढाइतिर ध्यान नदिने संस्थाको रुपमा विश्वविद्यालय चिनिएको छ । नेपालमा करिब १७ वटा विश्वविद्यालय छन् । तर, कुनैपनि विश्वविद्यालय राम्रोसँग विश्वविद्यालय जसरी नचलेको उनको भनाइ छ । विश्वविद्यालय भनेको ज्ञान आर्जन गर्ने, नया-नयाँ अनुसन्धान गर्ने, त्यसको प्रयोग गर्ने, देश र विश्वको हितको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने संस्था हो । यो चल्न पहिले स्वतन्त्र हुनुपर्छ । तर, यहाँ राजनीतिबाट जकडिएका छन् । विश्वविद्यालयको नियुक्तिदेखि नियन्त्रणसम्म सरकारले हस्तक्षेप गर्ने गरेको उनको अनुभव छ । यहाँ उपयुक्त बहस चर्चा, अनुसन्धान तथा अध्ययन हुनुपर्छ । ‘अहिले सेमेस्टर प्रणाली हुँदा पनि विद्यार्थी छैनन्,’ उनी भन्छन्,‘ प्राविधिक विषय बाहेक अन्य विषयमा विद्यार्थी, वर्षमा चार/पाँच लाख मान्छे मार्केटको रोजगारीका लागि तयार पार्छौं । तर, ३० हजारले पनि रोजगारी पाउँदैन ।’ नेपालबाट पढेर गएको विद्यार्थीहरू अमेरिका, अस्ट्रेलियामा गएर अब्बल दर्जामा गएर राम्रो गरेका छन् । तर, नेपालमा राम्रो वातावरण छैन । ‘स्कुलमा राम्रो शिक्षा भएपनि राम्रो शिक्षक छैनन्,’ उनी भन्छन्, ‘कतिपय ठाउँमा शिक्षक छन्, विद्यार्थी छैनन्, कतिपय ठाउँमा विद्यार्थी छैनन्, कतिपय ठाउँमा झोलामा छ । ’ कुनैपनि देशलाई अगाडि बढाउन शिक्षा पहिलो माध्यम हो । तर, नेपालमा राम्रो शिक्षा नै छैन । काठमाडौंमा पनि अहिले थुप्रै निजी कलेज मर्जरमा गएका छन् । विद्यार्थी नहुँदा त्रिविबाट मान्यता लिएका तीन सय कलेज अहिले छैनन् । उनी धेरैजसो कलेज होडबाजीमा स्थापना गर्दा यस्तो अवस्था आएको बताउँछन् । ८ वर्ष क्याम्पस प्रमुख धनप्रसाद ३४ वर्ष त्रिविमा रहेर शिक्षण पेशामा रहँदा ८ वर्ष क्याम्पस प्रमुखको रुपमा काम गरे । उनी सन् १९९९ मा विश्व भाषा क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भए । त्यो बेला माओवादी द्धन्द्ध चलेको थियो । माओबादी चन्दा उठाउन आउँथे । दिनहुँ चन्दा माग्ने र नदिए कारवाही गर्ने चेतावनी दिन्थे । अर्कोतिर कलेजमा रहेको विभिन्न संघसंगठनमा आवद्ध विद्यार्थीको थ्रेट हुन्थ्यो । उनी विश्वभाषा क्याम्पस प्रमुख हुँदा विदेशी विद्यार्थीको शुल्क बढाएर साढे २ करोडको भवन निर्माण गरे । महिनाको ६०/७० हजार रुपैयाँ भाडा दिने गरी एउटा भवन साझा पुस्तक भण्डारणलाई दिए । त्यो बेला अरूलाई दिँदा विद्यार्थीले पैसा उठाएर खान्थे । ४ वर्ष क्याम्पस प्रमुख भइसकेपछि फेरि दोस्रो कार्यकालका लागि उनलाई पत्र आयो । तर, उनले अस्वीकार गरे । ‘विभिन्न संघ संगठनको डर त्रास एकातिर, कसरी भौतिक संरचना बनाउने, शिक्षक कसरी खोज्ने, विद्यार्थीलाई कसरी राम्रो शिक्षा दिने भन्ने तनाव अर्कोतिर, यस्ता चुनौतीसँग जुध्न गाह्रो हुँदो रहेछ, उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘क्याम्पसमा बस्दा कतिखेर को आएर थर्काउने हो भन्ने थाहा हुँदैन, क्याम्पस सञ्चालनमा विद्यार्थी संगठनको ठूलो दुश्प्रभाव रहन्छ । ’ उनी यस्ता विद्यार्थीलाई राजनीतिक दलको ठूलो साथ हुने बताउँछन् । उनका अनुसार क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनको राज चल्छ । उनीहरूले जे गरेपनि करवाही हुँदैन । उनी जबसम्म विश्वविद्यालय, क्याम्पसमा विद्यार्थीले राजनीति गर्छन, तबसम्म गुणस्तरीय शिक्षा नहुने बताउँछन् । विश्वभाषा क्याम्पसपछि उनी पद्मकन्या क्याम्पसको प्रमुख भए । उनले व्यक्तिगत डोनर खोजेर भवन निर्माण गरे । उनी विश्वका २९ बढी देश गइसकेका छन् । कहिले भाषा सिकाउन त कहिले विद्यार्थीलाई लिएर विभिन्न देश पुगेका छन् । यति देश घुम्दा उतै बस्न मन लागेन भन्ने प्रश्नमा उनले भने, ‘मैले कहिल्यै त्यस्तो सोचिनँ ।’ उनी जति देश घुमे पनि नेपाल जस्तो सुन्दर देश कहीँ पनि नभएको बताउँछन् । उनले नेपाली भाषा सिकाएका धेरै विदेशी नेपालमै काम गरिरहेका छन् । कति आफ्नो देश फर्किसके । उनीहरू बेलाबेला धनप्रसादलाई आफ्नो देश आउन आग्रह गर्छन् । उनी आफ्नो जिल्लाको लागि केही नगरे पनि देशका लागि केही गरेको बताउँछन् । धनप्रसादको परिवार अहिले सुकेधारमा बस्छ । उनका चारजना छोराछोरी छन् । सबै नेपालमे बसेर काम गरिरहेका छन् । उनी भन्छन्, ‘जे गर्ने हो, स्वदेशमै गर्ने हो ।’
राइटपाथको एजुकेसन कन्क्लेभमा विद्यार्थीको घुइँचो
काठमाडौं । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ को पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । शनिबार संस्थाको पुतलीसडक स्थित प्रधान कार्यालयमा आयोजित पहिलो कार्यक्रम दुई हजार भन्दा बढी विद्यार्थीहरूको प्रत्यक्ष सहभागितामा सम्पन्न भएको हो । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई विभिन्न आकर्षक अफरहरू सहित संस्थाले कन्क्लेभ आयोजना गरेको थियो । बिहान १० बजे देखि लागेको विद्यार्थीहरूको भिड साँझ समापन गर्दा सम्म उत्तिकै मात्रामा देखिएको थियो । कन्क्लेभमा सहभागी विद्यार्थीहरूले विदेश अध्ययन सम्बन्धी विज्ञहरूबाट महत्त्वपूर्ण ज्ञान हासिल गरेका छन् । अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाका २० भन्दा बढी विश्वविद्यालयहरूका प्रतिनिधिलाई एउटै छानामुनि राखेर राइटपाथले ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ आयोजना गरेको हो । कार्यक्रममा सहभागी भएका प्रत्येक विद्यार्थीले राइटपाथ बाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यस्तै विदेश अध्ययन आवेदन शुल्कमा शत प्रतिशत सम्मको अफर दिइएको छ भने फ्रि मुभी टिकेट समेत प्रदान गरिएको छ । यसका साथै सहभागी विद्यार्थीहरूले अमेरिका लक्षित २५ हजारसम्मको छात्रवृत्ति अफरदेखि ६ हजार लाग्ने आइएल्टिएस जम्मा २०८१ रुपैयाँमै गर्न पाउने सुविधा पनि सहभागीहरूले प्राप्त गरेका छन् राइटपाथकी ब्राण्ड एम्बेसडर समेत रहेकी पुर्व मिस नेपाल अस्मि श्रेष्ठ तथा चर्चित गायिका अन्जु पन्तको उपस्थितिले कन्क्लेभको रौनकता अझै बढेको थियो । यी दुई प्रसिद्ध व्यक्तित्वहरु संग फोटो खिच्न सहभागी विद्यार्थीहरु झुम्मिएका थिए । अध्ययनका लागि क्यानडा जाने सोचमा रहेका एक विद्यार्थीले कन्क्लेभमा सहभागी भएर आफूले धेरै फाइदा लिएको प्रतिक्रिया दिए । उनले भने, ‘मैले क्यानडा अध्ययनका लागि आइएल्टिएस दिएर बसेको छु। आफ्नो सोच क्यानडा नै जाने भए पनि बजारमा सुनिएका विभिन्न कुराहरूले दुबिधा उत्पन्न भएको थियो । आज युनिभर्सिटीकै सररम्यामले गाइड गर्नु भएपछि धेरै कुरा बुझियो। अब थप रिसर्च गरेर प्रोसेसिङ गर्नेछु।’ आफूलाई कन्क्लेभ एकदमै लाभदायक भएको उनको भनाई थियो । अमेरिकाका विभिन्न विश्वविद्यालयहरू बारे रिसर्च गरिरहेकी अर्की एक विद्यार्थीले आफ्नो अनुसन्धानलाई सहयोग पुर्याएको भन्दै राइटपाथलाई धन्यवाद दिइन् । कुन ठाउँ जाने ?, कस्ता शैक्षिक संस्था छान्ने रु डकुमेन्ट बनाउँदा देखि अन्य आवेदन प्रक्रिया सम्मका आफ्ना जिज्ञासाहरू मेटिएको उनले बताइन् । उनले यस्ता शैक्षिक मेलाहरूले विद्यार्थीहरूलाई उत्प्रेरित गर्ने र भविष्यमा आउन सक्ने समस्याबाट बचाउने प्रतिक्रिया दिइन् । कन्क्लेभमा भेटिएका अन्य विद्यार्थीहरूले पनि आयोजकलाई सकारात्मक प्रतिक्रिया दिए । भर्खर प्लस टु को परीक्षा दिएका देखि भाषा परीक्षा तयारी गरिरहेका, त्यस्ता परीक्षामा आवश्यक अंक प्राप्त गरिसकेका देखि आफ्नो रुचि र क्षमता अनुसारको विषय पढाउने शैक्षिक संस्था छानिरहेका सम्मका विद्यार्थीहरू कन्क्लेभमा भाग लिन पुगेका थिए । सहभागी विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू पनि राइटपाथको एजुकेसन कन्क्लेभमा लागेको घुइँचो देखेर उत्साहित थिए। केही प्रतिनिधिहरूलाई आफू सँग परामर्श लिने विद्यार्थीहरूको चाप व्यवस्थापन गर्ने मुस्किल परेको थियो । ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ को पहिलो दिनको भव्य सफलता पछि प्रतिक्रिया दिँदै राइटपाथ करियर काउन्सिलिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप डिसीले सहभागी विद्यार्थीलाई धन्यवाद दिए । उनले अपेक्षा गरे भन्दा निकै राम्रो सहभागिता देखिएको भन्दै उपत्यका बाहिर गर्न लागिएका कार्यक्रमहरूमा पनि त्यस्तै सहभागिता रहने विश्वास व्यक्त गरे । गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा बोकेको राइटपाथले आफ्ना हरेक गतिविधिहरूमा विद्यार्थीको अधिकतम हितलाई केन्द्रमा राख्दै आएको हुँदा कार्यक्रम बाट विद्यार्थीले अधिकतम लाभ लिने उनको भनाई थियो । कन्क्लेभलाई देशका प्रमुख ७ सहरहरूमा पुर्याउने राइटपाथको तयारी छ । शनिबार काठमाडौंबाट सुरु भएको यो शैक्षिक मेला आगामी जेठ ८ गते ललितपुर शाखामा आएर समापन हुनेछ । यसबीचमा ३१ वैशाखमा धनकुटामा, ३ जेठमा हेटौँडामा, ४ जेठमा चितवनमा, ५ जेठमा बुटवलमा र ६ जेठमा दाङमा कन्क्लेभ सञ्चालन हुनेछ । यी प्रत्येक सहरका सहभागीहरूले माथि उल्लेखित अफरहरू प्राप्त गर्नेछन् ।