बीमा प्राधिकरणको निर्देशकमा तिमल्सिना, सापकोटा, लामिछाने र अधिकारी बढुवा
काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशकमा ४ जना नियुक्त भएका छन् । प्राधिकरणको पदपूर्ति समितिले ४ जना उप निर्देशकलाई निर्देशकमा बढुवा नियुक्त गर्न सिफारिस गरेको हो । पदपूर्ति समितिको फागनु २ गतेको निर्णय अनुसार ध्रुब तिमल्सिना, कुन्दन सापकोटा, साम्भराज लामिछाने र निर्मल अधिकारी निर्देशक पदमा बढुवाका लागि सिफारिस भएका हुन् । प्राधिकरणका अनुसार ४ जना निर्देशक पदका लागि गत माघ १८ गते ९ जनाले दरखास्त पेस गरेका थिए । उम्मेदवारको कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिम वापत प्राप्त गरेको कूल अङ्कको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारलाई बढुवा नियुक्तिका लागि सिफारिस गरिएको हो । ४ जनाको बढुवा भएसंगै प्राधिकरणमा निर्देशकको संख्या ६ जना पुगेको छ ।
सलिको र इनड्राइभबीच सम्झौता, इनड्राइभ प्रयोगकर्तालाई ८ लाखसम्मको दुर्घटना बीमा
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ । उक्त बीमा योजनाले चालक र यात्रुहरूलाई अप्रत्याशित दुर्घटनाका घटनाहरूमा वित्तीय सुरक्षासहित सुरक्षित यात्रा सुनिश्चित गर्ने लक्ष्य राखेको छ । सम्झौतामा इनड्राइभ नेपालका कम्पनी प्रतिनिधि रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार दुर्घटनाबाट मृत्यु भएमा ८ लाख रूपैयाँ क्षतिपूर्ति हुनेछ भने पूर्ण स्थायी अशक्तता भएमा ८ लाख भुक्तानी हुनेछ। त्यस्तै औषधोपचार खर्चका लागि ८० हजारसम्म सहयोग हुनेछ भने नाबालिग यात्रुहरूको हकमा क्षतिपूर्ति रकमको ५० प्रतिशत भुक्तानी हुनेछ । यसैगरी नाबालिक यात्रुहरूको हकमा क्षतिपूर्ति रकमको ५० प्रतिशत खर्च पाउने गरी बीमालेखमा रक्षावरण गरिएको छ । साथै बीमितले बीमा गरेको रक्षावरण गरिएको क्षति भएमा सो वापतको रकम कम्पनीको दाबी विभागमार्फत दाबी गरि लिन सक्नेछन् । उक्त बीमालेख जारी गरिएबाट राइडर तथा इनड्राइभ प्रयोगकर्ताहरूले सरल र सहज रूपमा यात्रा गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।
यूनाइटेड अजोडबाट ५ जना संस्थापक बाहिरिँदै, सानिमा रिलायन्सको २ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । दुइटै बीमा कम्पनीका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । यूनाइटेड अजोड इन्स्योरेन्सका ५ जना संस्थापक सेयरधनीले ३ लाख ३३ हजार १८८ कित्ता सेयर बिक्रीमा राखेका छन् । जसमा प्रतिकित्ता १८० रुपैयाँका दरले सन्दीप खेतानले ९९ हजार ४११ कित्ता, जुली चाचानले ४९ हजार ७०५ कित्ता, माछापुच्छ्रे ब्रिक फ्याक्ट्री प्रालिले प्रतिकित्ता २०१ रुपैयाँमा ७६ हजार ८७८ कित्ता, महेन्द्र कुमार गोयलले प्रतिकित्ता १६३.९० रुपैयाँमा ८२ हजार ५९२ कित्ता, ज्योती कुमारी सरावगीले प्रतिकित्ता १६३.५० रुपैयाँमा २४ हजार ६०२ कित्ता सेयर बिक्रीमा राखेका हुन् । सानिमा रिलायन्स लाइफका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको २ लाख १३ हजार १९७ कित्ता सेयर बिक्रीमा राखेका छन् । दुइटै कम्पनीको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापकको आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने जनाएको छ ।