नेशनल लाईफ इन्स्योरेन्सले आधारभूत सेयरधनीलाई हकप्रद रकम जम्मा गर्न भन्यो, कालो सुचीमा परेकाले नपाउने
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक तथा आधारभूत सेयरधनीलाई हकप्रद वापतको रकम जम्मा गर्न भनेको छ । कम्पनीले चुक्तापुँजीको १ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका सेयरधनलाई हकप्रद वापतको रकम ३५ दिनभित्र जम्मा गर्न भनेको हो । नेशनलले एनआईबीएल एस क्यापिटलको पुतलीसडक शाखामा रहेको खातामा हकप्रद सेयर वापतको रकम जम्मा गर्न भनेको हो । कालो सुचीमा परेका आधारभूत सेयरधनीले हकप्रद खरिद गर्न नपाउने कम्पनीले जनाएको छ । बोर्डले गत शुक्रबार चुक्तापूँजी बढाउन ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको होे । कम्पनीले ९९ करोड ३६ लाख रुपैयाँ बराबरको ९९ लाख ३६ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत निष्काशन गर्ने भएको छ ।हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ६६ करोड ४१ लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी २ अर्ब ६६ करोड रुपैयाँ नाघ्ने छ ।
थापा र शेर्पाले पाए २७ लाख बीमित रकम
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराइ बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा(युएइ) गएका जनकपुर अञ्चल धनुषा जिल्ला गोदार वडा नं.८ बस्ने शंकरकुमार खपाङगीको नेपालमा उपचारको क्रममा मृत्यु भएको थियो । त्यस्तै बाग्मती अञ्चल सिन्धुपाल्चोक जिल्ला गुम्वा वडा नं.८ घर भई बैदेशिक रोजगारको सिलसिलामा पोल्याण्ड गएकी श्रीमती रिता बुढाथोकी शेर्पाको बिदेशमा मत्यु भएकोको थियो । ती दुबै बीमितको आइबार कम्पनीमा दाबी दर्ता हुन आएकोमा मृतक बीमित शंकरकुमार खपाङ्गीको इच्छाएको व्यक्ति निजकी श्रीमती गंगाकुमारी थापालाई र मृतक बीमित रिता बुढाथोकी शेर्पाको इच्छाएको व्यक्ति निजको श्रीमान पासाङ शेर्पालाई दाबी पर्न आएकै दिन क्रमशं रु १३ लाख र रु १४ लाख रुपैयाँ दाबी रकम कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्यले एक समारोहबी च हस्तानतरण गरेका छन् ।
सानिमा लाईफ इन्स्योरेन्स र एनआरएनएबीच जीवन बीमा सम्झौता
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र गैर आवासीय नेपाली संघ(एनआरएनए)बीच जीवन बीमा सेवा सम्बन्धी संझौता भएको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशवराज केसी र एनआरएनएका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.हेमन्तकुमार दवाडीले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात इन्स्योरेन्सले एनआरएनएको विश्वभरका सदस्यहरुलाई सुलभ रुपमा आधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा उपलब्ध गराउने भएको छ । कार्यक्रममा इन्स्योरेन्सका सञ्चालक घनश्याम थापा, एनआरएनएका भाइस प्रिसिडेन्ट सपीलाराज भण्डारी, एनआरएन एनसीसी रसियाका प्याट्रोन खेमराज लामिछाने लगायतको उपस्थिती थियो ।