नेपाल इन्स्योरेन्स कम्पनीको चैत २३ गते बुक क्लोज, शतप्रतिशत हकप्रद निष्कासन गर्दै
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आगामी चैत २३ गते बुक क्लोज हुने भएको छ । कम्पनीले सर्वसाधारणलाई शतप्रतिशत(१००) हकप्रद निष्कासन गर्नको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीले १ः१ को अनुपात अर्थात ३० करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बोर्डको अनुमति अनुसार इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँ बराबरको ३० लाख १९ हजार कित्ता सेयर जारी गर्न लागेको हो । चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । आउँदो असारसम्म कम्पनीलाई चुक्तापूँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउन नियामक बीमा समितिले निर्देशन दिएको छ ।
प्रतिकित्ता १७४० गुमाएका एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले प्रमोटर सेयर किन्नुपर्ने, यस्तो आयो पुँजी वृद्धि योजना
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका सबै सेयरधनीले प्रमोटर सेयर किन्नु पर्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार पुँजी संरचनामा संस्थापक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत बनाउन कम्पनीले विद्यमान सबै सेयरधनीका लागि संस्थापक हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । त्यसपछि कम्पनीले दुई चरणमा हकप्रद सेयर निष्काशन गर्ने छ । पहिलो चरणमा साधारण सेयरधनीलाई १ बराबर १ दशमलव शुन्य ५ प्रतिशतको अनुपातमा प्रमोटर हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त सेयर निष्काशनपछि यस कम्पनीका ५१ प्रतिशत प्रमोटर ४९ प्रतिशत साधारण सेयर हुनेछ । दोस्रो चरणमा कम्पनीले १ बराबर ३ अनुपातमा फेरी हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १५ लाख रुपैयाँ छ । १० प्रतिशत बोनस सेयर, १ः०५ र १ः ३ अनुपातको हकप्रद सेयर निष्काशन पछि कम्पनीको सेयर पुँजी एक अर्ब १२ करोड रुपैयाँ हुने छ । कम्पनीको यसअघि साधारणसभाले पास गरेको ६०० प्रतिशत हकप्रद सेयर सम्बन्धि निर्णय भने खारेज हुने कम्पनीले जनाएको छ । सञ्चालक समितिले गरेका यी निणर्यलाई पारित गर्न कम्पनीले आउदो बैशाख १० गते २३ औं वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि कम्पनीले आगामी चैत २६ गते बुक क्लोज गर्दै छ । ६०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भनेपछि कम्पनीको सेयर प्रतिकित्ता २ हजार ९३० रूपैयाँमा काराेबार भएकाे थियाे । चैत ७ गते यस कम्पनीको सेयर ११९२ रुपैयाँमा कारोबार भएको छ । प्रतिकित्ता १७४० रुपैयाँसम्म गुमाएको यस कम्पनीका सेयरधनीले अब प्रमोटर सेयर किनेर चित्त बुझउनु पर्नेछ ।
सेञ्चुरी कमर्सियल बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किसोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।