सगरमाथा इन्स्योरेन्सको एकैदिन थप ९ वटा शाखा सञ्चालनमा
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले एकैदिन थप ९ वटा शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले बिहीबार(आज)देखि ६ वटा शाखा तथा ३ वटा उपशाखा गरी सो मात्राको कार्यालयबाट ग्राहकलाई बीमा सुविधा दिने भएको छ । कम्पनीले आजबाट सिमरा लगायत सुनसरीको धरान, पोखराको लेखनाथ, रुपन्देहीको मनिग्राम, सल्यानको श्रीनगर र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको हो । त्यसैगरी कम्पनीले चितवनको टांढी, पाल्पाको तानसेन र रुकुमको मुसिकोटमा उपशाखा कार्यालयहरु एकसाथ संचालनमा ल्याएको हो । कम्पनीले बीमा सेवाको पहुँचलाई देशका ग्रामिण क्षेत्रसम्म पुर्याउने उद्देश्यका आफ्नो सेवालाई विस्तार गरेको हो । कम्पनीका सञ्चालक पद्म ज्योतितथा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रले बारा जिल्लाको सिमरास्थित नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले उक्त स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याई निर्जिवन बीमा सेवाको क्षेत्रमा कम्पनीको व्यवसाय विस्तार गर्न कम्पनी सक्षम भएको जानकारी दिएका छन् ।
सनराइज बैंक र शिखर इन्स्योरेन्सबीच स्वास्थ्य बीमा सेवा दिने सम्झौता, बैंकका बचतकर्तालाई डबल सुरक्षा
काठमाडौं । सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकका बचत खाताका ग्राहकहरुलाई स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्न सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा शिखर इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख रुपैयाँ वा बचत खातामा रहने वार्षिक औषत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी दाबी गर्न पाइनेछ । बैंकले आफ्नो स्थापनाकाल देखि नै आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिनेछ । अब यस सम्झौता पश्चात सनराइज बैंकका बचत खाताका ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउनेछन् । यो सम्झौतासँगै बैंकका बचत खाताका ग्राहकहरुले दुर्घटना साथै स्वास्थ्य दुबै बीमा सुविधाहरु पाउने भएका छन् ।
प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्न बोर्डमा दियो आवेदन
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३१ करोड ६६ लाख ८७ हजार रुपैयाँ बराबरको ३१ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद निष्कासन गर्न लागेको जानकारी दिएको छ । आउदो असारसम्म निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीले चुक्तापुँजी बढाएर १ अर्ब रुपैयाँ पुरउने पर्नेछ ।