बीमा कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरणविरुद्ध सचेत रहन प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा एएमएल/सीएफटी कार्यान्वयन अधिकारीहरूका लागि आयोजित एएमएल/सीएफटी सम्बन्धी दक्षता अभिवृद्धि कार्यक्रम सोमबार काठमाडौंमा सम्पन्न भएको छ । दुई दिनसम्म भएको कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विद्यमान ऐन, नियम, प्राधिकरणबाट जारी भएका निर्देशिका एवम् निर्देशनहरू, सम्पत्ति शुद्धीकरण विरूद्ध एफएटीएफले तय गरेका मापदण्ड लगायत सम्पत्ति शुद्धीकरण विरूद्ध अवलम्बन गर्नुपर्ने उपायहरू लगायत समग्र विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो । कार्यक्रम समापन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूले सम्पत्ति शुद्धीकरण निवारणका लागि आन्तरिक रूपमा तालिमहरू आयोजना गरी शाखा तथा उपशाखा कार्यालयका कर्मचारीहरूलाई समेत सम्पत्ति शुद्धीकरण विरूद्ध जागरूक गराउनुपर्ने बताए । सम्पत्ति शुद्धीकरण विरुद्ध रोकथामका उपायहरू अवलम्बन गर्न बीमा कम्पनीहरू केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष ओझाले भने, 'बीमा कम्पनीहरूको जोखिमाङ्कन ठिक हुनुपर्छ, एउटाले जोखिम देख्ने अर्कोले नदेख्ने हुनसक्दैन, जोखिमलाई सबैले जोखिमनै देखे अस्वस्थ प्रतिस्पर्धा पनि हुँदैन, यसबाट दीर्घकालमा बीमा क्षेत्रलाई नै सहयोग पुग्छ ।' शङ्कास्पद जोखिम पहिचान भएमा त्यसका बारेमा शिघ्रतापूर्वक सम्बन्धित निकायलाई जानकारी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिँदै अध्यक्ष ओझाले भने, 'बीमा क्षेत्रमा अवैध रकम छिर्नबाट रोक्न तल्लो तहसम्म बाटै सकारात्मक प्रयास गरौं, कर्मचारीहरूलाई जोखिम पहिचान गर्न सक्षम बनाऔं, सम्पत्ति शुद्धीकरण विरूद्ध सामूहिक रूपले लागौं, यसबाट बीमा क्षेत्रलाई सुव्यवस्थित बनाउन सहयोग पुग्छ ।' त्यस अवसरमा अध्यक्ष ओझाले कार्यक्रमका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले कार्यक्रममा सिकेका ज्ञानलाई कार्यस्थलमा उपयोग गर्न सहभागीहरूलाई आग्रह गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरण, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघु जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका गरी ४७ जना एएमएल/सीएफटी कार्यान्वयन अधिकारीहरूको सहभागिता रहेको थियो ।
एनएलजी इन्स्योरेन्स र यूएनडीपीबीच समावेशी बीमा नवप्रवर्तन चुनौतीअन्तर्गत सम्झौता
काठमाडौं । एनएलजी इन्स्योरेन्सले समावेशी बीमा नवप्रवर्तन चुनौती (आईआईआईसी) अन्तर्गत संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालसँग औपचारिक सम्झौता गरेको छ । १३ वटा साधारण बीमा कम्पनीहरूमध्ये एनएलजी छनोट भएर नेपालमा पहिलो पटक ‘क्लाइमेट स्मार्ट प्लेटफर्म र इन्स्योरेन्स-रेजिलियन्ट आलुखेती’ कार्यक्रम तयार पार्ने र सञ्चालन गर्ने भएको हो । यस परियोजनामार्फत एनएलजीले भारतको वेदर रिस्क म्यानेजमेन्ट र नेपालको फर्स्ट च्वाइस फुड्स प्रालिसँग सहकार्य गर्दै जलवायु सहनशीलता निर्माण गर्ने र कृषकहरूको जीविकोपार्जनलाई सुरक्षित गर्ने लक्ष्य लिएको छ। कम्पनीका अनुसार यो बीमा र स्मार्ट प्लेटफर्मले मौसम जोखिमबाट हुने क्षति न्यूनीकरणमा सहयोग पुर्याउँदै आलु किसानहरूको उत्पादन सुरक्षित गर्नेछ ।
राष्ट्रिय जीवन बीमाले १० वर्षसम्म व्यतीत बीमालेखमा ५० प्रतिशत विलम्ब शुल्क छुट दिने
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले विलम्ब शुल्क छुट दिने भएको छ । कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान)का बीमितहरुको एक वर्ष वा सो भन्दा बढी अवधि व्यतीत भएका बीमा शुल्कमा लागेको विलम्ब शुल्कमा छुट दिने भएको हो । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकहरूलाई मध्यनजर गर्दै कम्पनीले १५ दिन अर्थात् असार २५ गतेसम्मका बीमालेख नवीकरण गरेमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको हो । कम्पनीका अनुसार १० वर्षभन्दा बढी व्यतीत भएका बीमालेख यस विलम्ब शुल्क योजनामा समावेश गरिने छैन । यस्तै, विलम्ब शुल्कमा छुटको सुविधा बीमा लेख अवधिमा एक पटक प्रदान गरिनेछ । एक वर्षदेखि १० वर्षसम्मका व्यतीत बीमालेखहरु यस योजनामा समावेश गरिने कम्पनीले जनाएको छ ।