भरतपुर अस्पतालले बिमाको एक अर्ब प्राप्त गर्न बाँकी
चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत् प्राप्त गर्नुपर्ने रकम एक अर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्षको साउनदेखि हालसम्मको भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमै समस्या हुन थालेको हो । सङ्घीय सरकार मातहतको यस अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामी उपचार गराउन आउनेको सङ्ख्या उल्लेख्य हुने गर्दछ । अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम इञ्चार्ज लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षको ९० करोड रुपैयाँ भुक्तानी हुन बाँकी थियो । यस आर्थिक वर्षको साउनको मात्रै १० करोड रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ । गत आर्थिक वर्षमा चार लाख ४१ हजार ३०८ वटा फाइल दाबीका लागि पेस गरिएको छ । अस्पतालमा आउने ७० प्रतिशत बिरामी बिमाका हुने गर्दछन् । गत आर्थिक वर्षमा अस्पतालले अघिल्लो आर्थिक वर्षको ५५ करोड ५१ लाख ४४ हजार रुपैयाँ प्राप्त गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले बिमामार्फत् पाउनु पर्ने रकम निकासा नहुँदा कर्मचारीलाई तलब दिन कठिन भएको बताए । उनले भने, 'साउनको तलब बल्ल खुवाइयो, भदौको तलब खुवाउन सक्ने अवस्था छैन ।' अस्पतालका नियमित कामसमेत प्रभावित भएको भन्दै उहाँले बन्दै गरेको ट्रमा सेन्टर बजेटकै अभावमा रोकिएको बताए ।
१० सूचकमा शिखर र सलिकोमा को तगडा ?
काठमाडौं । शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । ती दुई कम्पनीबीच विभिन्न १० सूचकमा तुलना गर्दा अधिकांश सूचकमा सलिको अगाडि देखिएको छ । यी दुई बीमा कम्पनीका विभिन्न सूचकहरूलाई लिएर गरिएको तुलनात्मक विश्लेषण कुल बीमाशुल्क आर्जन : गत आव २०८१/८२ मा कुल बीमा शुल्क आर्जनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) तगडा देखिएको छ । गत आवमा सलिकोले ५ अर्ब ७६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्सले ५ अर्ब ७० करोड २६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । खुद बीमाशुल्क आर्जन : गत आवमा खुद बीमा शुल्क आर्जनमा पनि सलिकोले शिखरलाई उछिनेको छ । गत आवमा सलिकोले २ अर्ब ११ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने शिखर इन्स्योरेन्सले १ अर्ब ७१ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कुल आम्दानी : गत आवको चौंथो त्रैमाससम्ममा कुल आम्दानी संकलनमा सलिको अगाडि देखिएको छ । सलिकोको गत आवमा ३ अर्ब ११ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ भने शिखर इन्स्योरेन्सले २ अर्ब ७३ करोड २ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । खुद नाफा : गत आवमा खुद नाफामा भने शिखर तगडा देखिएको छ । शिखर इन्स्योरेन्सले गत आवमा ४५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने सलिकोले ४० करोड ३२ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । सेयर क्यापिटल : शिखर इन्स्योरेन्सको गत आवमा सेयर क्यापिटल २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ रहेको छ भने सलिकोको शेयर क्यापिटल २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटी : शिखर इन्स्योरेन्सको अन्य इक्विटीमा ६० करोड ६६ लाख रुपैयाँ रहेको छ भने सलिकोको अन्य इक्विटीमा ५० करोड २२ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ : गत आवमा रिटेन्ड अर्निङमा सलिको अगाडि रहेको छ । सलिकोको रिटेन्ड अर्निङमा ३६ करोड ६५ लाख रुपैयाँ रहेको छ भने शिखर इन्स्योरेन्सको रिटेन्ड अर्निङमा २१ करोड १७ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी : शिखर इन्स्योरेन्सको प्रति शेयर आम्दानी १५.४९ रुपैयाँ रहेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १५.३७ रुपैयाँ छ । महाविपत्ति कोष : गत आवको चौथो त्रैमाससम्म्ममा सलिकोको महाविपत्ति कोषमा २२ करोड ९३ लाख रुपैयाँ रहेको छ भने शिखर इन्स्योरेन्सको महाविपत्ति कोषमा १६ करोड ७ लाख रुपैयाँ रहेको छ ।
मेटलाइफको पर्सा, कावासोती र दमौलीमा तीन नयाँ एजेन्सी अफिस
काठमाडौं । मेटलाइफले गत हप्तामा पर्सा, कावासोती र दमौलीमा तीन नयाँ एजेन्सी अफिस खोलेको छ । जसले हजारौं घरपरिवारलाई विश्वासिलो वित्तीय परामर्श र बीमा सेवामा अझ सजिलो पहुँच उपलब्ध गराउने कम्पनीको विश्वास छ । मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले पर्सा, कावासोती र दमौलीमा एजेन्सी अफिस खोल्नु केवल सञ्जाल विस्तार मात्र नभई बीमा सुरक्षालाई आम मानिसहरूको दैनिक जीवनमा नजिक ल्याउने संकल्प रहेको बताए । जीवन बीमा वित्तीय सुरक्षाका लागि झन् आवश्यक बन्दै गएको बेला मेटलाइफ नेपालले परिवार र व्यवसायहरूलाई थप सुरक्षा सहज बनाउन विभिन्न कदमहरू चालिरहेको छ । नयाँ अफिसहरूले बीमा सेवा मात्र प्रदान गर्ने छैनन्, यसले स्थानीय रोजगारका अवसर पनि सिर्जना गर्ने कम्पनीले जनाएको छ । संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालन भइरहेको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउँदै आइरहेको छ ।