४ अर्ब ३ करोड प्रिमियम आर्जन गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स

काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्र दिनप्रतिदिन प्रतिस्पर्धी र चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा पनि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म वित्तीय सुदृढता र व्यावसायिक सफलता कायम राख्न उल्लेखनीय उपलब्धि हासिल गरेको छ । उक्त अवधिमा कम्पनीले ४ अर्ब ३ करोड रुपैयाँ बराबरको बीमा प्रिमियम आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोहोरो अंकको वृद्धि हासिल गर्दै प्रतिस्पर्धात्मक बजारमा पनि आफूलाई सफलतापूर्वक उभ्याएको देखिएको छ । कम्पनीले यो सफलता ग्राहकको विश्वास, उत्कृष्ट सञ्चालन व्यवस्थापन र कर्मचारीको मिहिनेतको प्रतिफलका रूपमा लिएको जनाएको छ । समीक्षा अवधिमा १ अर्ब ६५ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । छिटो, छरितो र पारदर्शी प्रणालीमार्फत दाबी फछ्र्यौट गर्दै ग्राहक सेवामा उत्कृष्टता कायम राख्ने प्रतिबद्धता कम्पनीले जनाएको छ । वार्षिक उपलब्धिपछि भिडियो सन्देशमार्फत सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले भनिन्, 'यो उपलब्धिले हामी सबैलाई नयाँ ऊर्जा, आशा र आत्मविश्वास प्रदान गरेको छ । यो उपलब्धि भविष्यका लागि बेञ्चमार्क बन्नेछ र हामी यसैको आधारमा अझ उचाइमा पुग्नेछौं ।' श्रेष्ठका अनुसार नयाँ आर्थिक वर्षमा ग्राहक सन्तुष्टि, सम्बन्ध सुदृढीकरण, साथै डिजिटाइजेसन र प्रविधिको आधुनिकीकरणमा प्राथमिकता दिनेछ। प्राकृतिक प्रकोपलगायतबाट भएको क्षतिको दाबीलाई उच्च प्राथमिकतामा राखिने उनले जानकारी दिइन् । वित्तीय चुनौती, प्राकृतिक प्रकोप, तथा बढ्दो दाबी भुक्तानी र सञ्चालन खर्चका बाबजुद कम्पनीले समयमै दाबी भुक्तानी गर्दै प्रति शेयर आम्दानीमा निरन्तर वृद्धि गर्न सफल भएको छ । यसरी सेयरधनीहरूलाई स्थिर प्रतिफल दिन सक्ने आत्मविश्वास व्यक्त गरेको छ । ग्राहकको विश्वास, सञ्चालन उत्कृष्टता र दूरदर्शी रणनीतिमार्फत देशकै उत्कृष्ट निर्जीवन बीमा कम्पनीहरूमा आफ्नो स्थान सुरक्षित राख्न सफल भएको छ । आगामी दिनमा बीमाको पहुँच तल्लो तहसम्म पुर्‍याउँदै, ग्राहककेन्द्रित सेवा विस्तार गर्ने लक्ष्यमा कम्पनी प्रतिबद्ध रहेको बताइएको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बेटर नेपाल संस्थालाई ५ लाख रुपैयाँ सहयोग

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंको पिंगलास्थानमा रहेको बेटर नेपाल संस्थालाई विद्यालय सञ्चालनका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बेटर नेपालद्वारा सञ्चालित बाल सारथी कार्यक्रमले अनाथ तथा अति विपन्न वर्गका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । बुधवार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बेटर नेपालकी अध्यक्ष डा. माला खरेललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणपछि बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले विशुद्ध सामाजिक सेवामा क्रियाशील संस्थालाई सहयोग गर्न पाउँदा कम्पनी खुशी भएको बताउँदै भने, 'हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यकता अनुसार सहयोग गर्दै आएका छौं र यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौं ।' कार्यक्रममा अध्यक्ष डा. माला खरेलले अनाथ तथा अति विपन्न बालबालिकाको शिक्षाको जिम्मा लिँदा पनि त्यो निरन्तरता प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लगायतका सहयोगी संस्था र मनकारी व्यक्तिहरुको साथबिना सम्भव नहुने बताउँदै धन्यवाद व्यक्त गरिन् । सो कार्यक्रममा इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति सदस्य श्रीमती सम्झना अर्याल (अस्मिता सुमार्गी), सुसन शेरचन, भावना बलायर, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने, नायब महाप्रबन्धक सोनबहादुर मगर, ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरे, तथा बेटर नेपालका तर्फबाट कमला वली, आत्माराम पाण्डे लगायतको उपस्थिति थियो ।

मेटलाइफ इन्स्योरेन्स 'सोशल मिडिया इनिसिएटिभ अफ द इयर-नेपाल' बाट सम्मानित

काठमाडौं । मेटलाइफ नेपालले सिंगापुरमा गत साता आयोजित इन्स्योरेन्स एशिया अवार्ड २०२५ मा 'सोसल मिडिया इनीसिएटिभ अफ द इयर-नेपाल' उपाधि प्राप्त गरेको छ । यो सम्मान मेटलाइफ नेपालको वान बाई मेटलाइफ एपमार्फत 'हेल्थ रिस्क एसेस्मेन्ट' सुविधा प्रवर्द्धन गर्ने डिजिटल अभियानको उत्कृष्ट सफलताको कदर स्वरूप प्रदान गरिएको हो । कम्पनीका अनुसार पुरस्कृत अभियानले उपभोक्ताहरूलाई स्वास्थ्य निगरानीको महत्त्व बुझाउन र बिमितहरुले कसरी सक्रिय स्वास्थ्य व्यवस्थापनका साझेदार बन्न सक्छन् भन्ने सन्देश दिन केन्द्रित थियो ।  वान बाई मेटलाइफको हेल्थ रिस्क एसेस्मेन्ट सुविधाले प्रयोगकर्ताहरूलाई कुनै विशेष उपकरण बिना, केवल स्मार्टफोनको क्यामेराको प्रयोग गरेर रियल टाइममा आफ्नो स्वास्थ्य स्थिति जाँच गर्न सक्षम बनाउँछ । छोटो अनुहार स्क्यानमार्फत प्रयोगकर्ताहरूले आफ्नो स्वास्थ्यसम्बन्धी अन्तर्दृष्टि प्राप्त गर्न सक्छन्, जसले मेटलाइफको दैनिक जीवनमा रोकथाममुखी स्वास्थ्य सेवा पुर्याउने लक्ष्यलाई समर्थन गर्छ । पाँच हप्ते यो अभियानले उल्लेखनीय परिणामहरू हासिल गरेको थियो । १० हजार नयाँ एप रेजिस्ट्रेसन, थप इच्छुक ग्राहकहरु, र प्रयोगकर्ता संलग्नता तथा एप रोजाइका स्पष्ट प्रमाणहरू प्राप्त भए । यी उपलब्धिहरूले समावेशी र पहुँचयोग्य डिजिटल समाधानमार्फत वास्तविक अनुभव प्रदान गर्ने मेटलाइफ नेपालको प्रतिबद्धता झल्काउँछन् । 'यो सम्मानले हामीले मानिसहरूलाई अझ आत्मविश्वासपूर्ण भविष्य निर्माण गर्न सहयोग गर्ने उद्देश्यमा अडिग रहेको पुष्टि गर्छ । हामी हाम्रा ग्राहकहरूलाई स्वस्थ जीवनयापनमा सहयोग गर्न प्रतिवद्ध छौं । स्वास्थ्य सेवा र सुरक्षा केवल पहुँचयोग्य मात्र होइन, उनीहरूको डिजिटल जीवनशैलीमा सहज रूपमा समाहित हुने बनाउने हाम्रो लक्ष्य हो,' मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने ।