मेटलाइफ नेपाल ‘ग्रेट प्लेस टु वर्क’ सूचीमा सम्मानित

काठमाडौं । मेटलाइफ नेपालले विश्वस्तरको ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्र प्राप्त गर्दै उत्कृष्ट कार्यसंस्कृतिको मान्यता हासिल गरेको छ । कम्पनीले विश्वभरका ३३ वटा मेटलाइफ कार्यालयहरूसँगै यो उपाधि प्राप्त गर्दै कर्मचारीमैत्री संस्थाका रूपमा प्रमाणित गराएको हो । गत महिना सम्पन्न सर्वेक्षणमा विश्वभरका २४ हजार भन्दा बढी कर्मचारी सहभागी भएका थिए । उनीहरूले काम गर्ने वातावरण, विश्वास, समावेशीता, सम्मान र प्रेरणाको आधारमा मेटलाइफको मूल्याङ्कन गरेका थिए । नेपालस्थित मेटलाइफको प्रदर्शन ग्लोबल बेन्चमार्कभन्दा उच्च देखिएको थियो । यसले कम्पनीको समावेशी, सुरक्षित र प्रेरणादायक कार्यसंस्कृतिलाई झल्काउँछ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्छन्, 'यो मान्यता केवल एउटा उपलब्धि होइन, हामीले सँगै निर्माण गरेको संस्कृतिको प्रमाण हो । जब कर्मचारीहरूले आफूलाई विश्वास गरिएको, सम्मान गरिएको र सशक्त महसुस गर्छन्, उनीहरू आफ्नो उत्कृष्ट योगदान दिन सक्षम हुन्छन् ।' ‘ग्रेट प्लेस टु वर्क’ विश्वव्यापी रूपमा सर्वोत्तम कार्यस्थल चिन्ने मान्यता प्रणाली हो, जसले संस्थाको भित्री संस्कृति, नेतृत्व, पारदर्शिता र कर्मचारी सन्तुष्टिलाई आधार मानेर मूल्याङ्कन गर्दछ ।

राष्ट्रिय बीमामा सर्वसाधारणको १०.४६ प्रतिशत स्वामित्व बढाउने, नेपाल बैंकसँग लगानी साटासाट

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले पुँजी संरचनाका लागि नयाँ प्रस्ताव गरेको छ । कम्पनीले पुँजी संरचनाका लागि संस्थापक समूहको १०.४६ प्रतिशत स्वामित्व घटाइ सर्वसाधारणकाे बढाउने प्रस्ताव पेस गरेको हाे । कम्पनीमा हाल संस्थापक समूहको ८०.४६ प्रतिशत र सर्वसाधारण समूहको १९.५४ प्रतिशत सेयर स्वामित्व रहेको छ । नयाँ प्रस्तावअनुसार संस्थापक समूहको १०.४६ प्रतिशत स्वामित्व घटाइ ७० प्रतिशत र सर्वसाधारण समूहको १०.४६ प्रतिशत बढाइ ३० प्रतिशत सेयर स्वामित्व कायम गर्ने प्रस्ताव गरेकाे हाे । संस्थापक समूहतर्फ कम्पनीमा हाल नेपाल सरकारको ४७.५० प्रतिशत, कर्मचारी संचय कोषको २२ प्रतिशत र नेपाल बैँकको १०.९६ प्रतिशत सेयर लगानी छ । नयाँ प्रस्ताव अनुसार नेपाल सरकारको ४१.०३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १९.३७ प्रतिशत र नेपाल बैंकको ९.६० प्रतिशतमा झार्ने प्रस्ताव गरिएको छ । कम्पनीले विभिन्न पाँच कम्पनीमा सेयर लगानी गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार कम्पनीले नबिल बैंकमा २ करोड ६ लाख ३६ हजार ९८६ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा २ करोड २९ लाख ६७ हजार ७९६ कित्ता, नेपाल पुनर्बीमा कम्पनीमा ३७ लाख १७ हजार ३४० कित्ता, ग्लोबल आइएमई बैंकमा ५ लाख ९१ हजार ९४५ कित्ता र नेपाल बैंकमा २ लाख ९९ हजार ५३७ कित्ता सेयर रहेको छ । कम्पनीले नेपाल बैंकसँग लगानी साटासाट गरेको देखिन्छ । बैंकले कम्पनीमा लगानी गरेकाे छ भने कम्पनीले पनि बैंकमा लगानी गरेकाे देखिन्छ । साथै, कम्पनीले २०८२ असारसम्म बैंकको मुद्दती निक्षेपमा ६ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको छ ।  कम्पनीको अध्यक्ष दिनेश उपाध्याय रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवहरि श्रेष्ठ रहेका छन् । कम्पनीका अनुसार निर्जीवन बीमा व्यवसायबाट प्राप्त खुद बीमा शुल्क, पुनर्बीमा कमिसन र दीर्घकालीन तथा अल्पकालीन लगानीबाट प्राप्त प्रतिफल आर्थिक स्रोतका आधारहरू हुन् । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा कुल १ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको जनाएको छ ।  कम्पनीले २३ वटा शाखा कार्यालयमार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । कम्पनीमा १४७ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल ११४ जना स्थायी र बाह्य स्रोतका गरी कुल २१० जना कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । बीमा व्यवसाय अभिवृद्धिका लागि देशभर छरिएर रहेका २९६ क्रियाशील/सक्रिय अभिकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको कम्पनीले जनाएको छ । त्यस्तै, बीमा दाबी भुक्तानीमा सहजीकरणका लागि १९१ जना सर्भेयरहरूलाई कम्पनीमा आबद्ध गराएको छ । कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनीले संयुक्त रूपमा भोगचलन गरिरहेको रामशाह पथस्थित १५ रोपनीको जग्गा यथाशीघ्र आफ्नो नाममा ल्याई आफ्नो भवन निर्माण गर्ने लक्ष्य रहेको छ । यसबाहेक वीरगञ्जमा ६ कट्ठा जग्गा, धनगढीमा ६ कट्ठा १० धुर जग्गा र भैरहवाको ४ कट्ठा १० धुर जग्गामा कम्पनीको आफ्नै भवन रहेको छ । अधिकांश सेयर स्वामित्व सरकारकाे रहेकाे राष्ट्रिय बीमा कम्पनी आजदेखि १२ औं वर्षमा प्रवेश गरेको छ । विसं २०७१ साउन १८ गतेबाट व्यावसायिक कारोबार सञ्चालन गरेको कम्पनी ११ वर्ष पुरा गरी १२औँ वर्षमा प्रवेश गरेको हो । राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा व्यवसाय हेर्ने विभागलाई छुट्टै स्वतन्त्र निकायको रूपमा निर्जीवन बीमा व्यवसाय गर्ने गरी सरकारको निर्णय बमोजिम विसं २०७१ जेठ २८ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।  देशमा बीमा व्यवसाय सुरुवात गरी राष्ट्रिय पुँजी निर्माण तथा विदेशी मुद्राको व्ययभार कम गर्ने उद्देश्यले सरकारको लगानीमा विसं २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थानको स्थापना गरी सोही वर्षको फागुन ११ गतेदेखि निर्जीवन बीमा व्यवसायको कारोबार शुरु गरेको थियो । २०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन लागू भएपछि राष्ट्रिय बीमा संस्थानमा परिणत भई कारोबार सञ्चालन गर्दै आएको थियो ।  बीमा व्यवसायलाई व्यवस्थित गर्न बनेको बीमा ऐन २०४९ को दफा १२ मा जीवन बीमा तथा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका कम्पनीले जीवन बीमा तथा निर्जीवन बीमा व्यवसाय गर्ने अलग-अलग संस्थाका रूपमा कार्य गर्नुपर्ने व्यवस्था गरेपछि नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) बाट निर्जीवन बीमकको लाइसेन्स लिएर छुट्टै कम्पनीका रुपमा खडा भएको हो । लामो समयदेखि थाती रहेको लेखापरीक्षणलाई उच्च प्राथमिकतामा राखेर कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको लेखापरीक्षण सम्पन्न गरी विसं २०८२ असार २९ गते तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण कार्य सम्पन्न गरी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वार्षिक साधारण सभा गर्ने लक्ष्य कम्पनीले लिएको छ । साथै बाँकी आर्थिक वर्षहरूको लेखापरीक्षणको कार्य पनि यथाशीघ्र सम्पन्न गर्ने कम्पनीले जनाएको छ । 

प्रभु महालक्ष्मी लाइफको साढे २ करोडको सेयर बिक्रीमा, मूल्य २०३ रुपैयाँ

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साढे २ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको २ करोड ६४ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेका हुन् ।  कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूले १ लाख ३० हजार ४४२ कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता २०३ रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा कम्पनीको २ करोड ६४ लाख ७९ हजार ७२६ रुपैयाँको सेयर बिक्रीमा राखिएको हो । कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले खरिदका लागि आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।