नक्सालको भाटभटेनीमा बीमा गरिएकोभन्दा बढी क्षति, साढे २६ करोड रुपैयाँ ‘एडभान्स’
काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शनमा नक्साल स्थित भाटभटेनीमा पुगेको क्षतिको शिखर इन्स्योरेन्समा ६६ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । शिखर इन्स्योरेन्सबाट सर्भेका लागि खटिएका सर्भेयर सूर्यप्रसाद जोशीका अनुसार सामानको मात्रै ६० करोड रुपैयाँ दाबी परेको छ । साथै, कम्पनीमा भवनको मात्रै ६ करोड रुपैयाँको दाबी परेको उनले बताए । उनका अनुसार बीमा दाबी परेको रकमको शिखर इन्स्योरेन्सले भाटभटेनीलाई ‘एडभान्स’ स्वरूप साढे २६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । सर्भेयर सूर्यप्रसाद जोशीका अनुसार कम्पनीले भवनको सरसफाइ, पुनर्निर्माणमा राहत होस् भनेर परेको दाबीमध्ये २५ करोड रुपैयाँ र भवनमा परेको दाबी रकममध्ये डेढ करोड भुक्तानी गरेको हो । आन्दोलनको कारण क्षतिग्रस्त नक्सालको भाटभटेनीको क्षति मूल्यांकनका लागि शिखर इन्स्योरेन्सले सर्भेयर जोशी र नेपाल पुनर्बीमाको तर्फबाट जगन्नाथ गौतमलाई खटाइएको छ । भवन पूर्ण रुपले जलेर क्षति पुगेको हुँदा अहिले सर्भे जारी रहेको र यति नै भनेर क्षतिको मूल्यांकन भइ नसकेको उनले बताए । उनका अनुसार अहिले खरिद गरेको सामानको बिल कलेक्सन भइरहेको र सबै बिल प्राप्त भएपछि मात्रै कति क्षति पुगेको भन्न सकिनेछ । ‘हामीले हेर्ने भनेको खरिद गरेको सामानको बिल हो, जुन कलेक्सन भइरहेको छ, उहाँहरूबाट सबै बिल प्राप्त भएपछि कति क्षति पुग्यो भन्न सकिने छ,' उनले भने । भवन पूर्ण रुपमा जलेर नष्ट भएको हुँदा बीमा गरेकोभन्दा बढी क्षतिको रकम आउन सक्ने जोशीको भनाई छ । क्षति रकम बढी आएपनि बीमा गरेको जति मात्रै भुक्तानी गर्ने कम्पनीको दायित्व भएको उनले बताए । उनले भने, ‘क्षति पुगेको सामानको हकमा चाडपर्व नजिकैको समयमा घटना भएको हुँदा बीमा गरेको भन्दा बढी छ भन्ने उहाँहरूको दाबी छ । तैपनि बीमा गरेअनुसार दाबी हुन्छ ।’ नक्सालमा रहेको भाटभटेनीमा अहिले भवन भत्काउने र सरसफाइको काम सुरु भएको छ । यस्तै देशभरका विभिन्न ठाउँमा क्षति पुगेको भवनमा कुनैमा पुनर्निर्माण भई सञ्चालनमा आइसकेको छ भने कुनै पुनर्निर्माणकै क्रममा रहेको छ । जेनजी प्रदर्शनका क्रममा देशभर भाटभटेनी सुपरमार्केटको १२ वटा स्टोर पूर्ण रुपमा क्षति पुगेको थियो । बाँकी ९ वटा आउटलेटमा भने लुटपाट र तोडफोड र आगजनी भएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपक कुमार धूत नियुक्त
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डिसिईओ) मा मा दीपक कुमार धूत नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज २८ मा बसेको ४२ औँ बैठकले धूतलाई डिसीईओ पदमा नियुक्त गरेको हो । निवर्तमान नायव प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ उमेर हदका कारण कम्पनीको सेवाबाट निवृत्त भएपछि कम्पनीले नायब महाप्रबन्धकको रुपमा कार्यरत दीपक कुमार धूतलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको जनाएको छ । ३० वर्षदेखि नेपालको निर्जीवन बीमा क्षेत्रमा कार्यरत धूत, इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डियाको फेलो मेम्बर रहेका छन् । इन्धिरा गान्धी नेशनल ओपन युनिभर्सिटीबाट बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । साथै उनले यूएनडीपीबाट इन्क्यूलिसिभ इन्स्योरेन्स सम्बन्धी अन्तराष्ट्रिय प्रशिक्षकको उपाधि समेत प्राप्त गरेका छन् ।
सिटिजन लाइफ इन्स्योरेन्स नवौँ वर्षमा प्रवेश, ५० भन्दा बढी सामाजिक गतिविधि सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्ष पुरा भएर नवौँ वर्षमा प्रवेश गरेको छ । जीवन बीमा सेवालाई हरेक नेपालीको पहुँचमा पुर्याउने उद्देश्यले स्थापना भएको सिटिजन लाइफ नवौँ वर्षमा प्रवेश गरेको हो । इन्स्योरेन्सले वार्षिकोत्सव देशभरका शाखा कार्यालयहरूमा विभिन्न सामाजिक उत्तरदायित्व गतिविधिहरूका साथ मनाउँदैछ छ । सिटिजन लाइफले यस वर्ष पनि वार्षिकोत्सवको अवसरमा स्थानीय समुदायसँग नजिकिएर सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गरेको छ । वार्षिकोत्सवको मुख्य विषयवस्तुका रूपमा कम्पनीले यस वर्ष 'विविधता र समावेशीकरण दिवस' मनाएको छ । यसअन्तर्गत सबै शाखा कार्यालयका कर्मचारीहरूले आफ्ना सांस्कृतिक पहिचान झल्काउने भेषभूषा र परम्परालाई प्रस्तुत गर्दै कार्यस्थलमा एकता, सद्भाव र परस्पर सम्मानको सन्देश प्रवाह गरेका छन् । यसले सिटिजन परिवारभित्रको सांस्कृतिक समृद्धि र सहअस्तित्वलाई अझ सुदृढ बनाएको कम्पनीले जनाएको छ । समाजप्रतिको उत्तरदायित्वलाई व्यवहारमा उतार्दै कम्पनीले यस वर्ष देशभर १६ स्थानमा रक्तदान कार्यक्रम, ६ स्थानमा बीमा सचेतना र्याली र घर–घरमा बीमा जानकारी अभियान, ३ स्थानमा सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रम, ११ स्थानमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण, १ स्थानमा निःशुल्क स्वास्थ्य शिविर, १० स्थानमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण, र ७ स्थानमा ३५० बिरुवा रोपण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, 'हाम्रो आठौं वार्षिकोत्सव केवल उत्सव होइन, समाजसँगको सम्बन्ध पुनः पुष्टि गर्ने अवसर हो । हामी विश्वास, विविधता र सामाजिक उत्तरदायित्वका माध्यमबाट बीमा सेवा विस्तार गर्दै सुरक्षित जीवन र समृद्ध भविष्यको लक्ष्यतर्फ दृढतापूर्वक अघि बढिरहेका छौँ ।' विगत आठ वर्षको यात्रामा सिटिजन लाइफले ग्राहकको विश्वास, साझेदारहरूको साथ र कर्मचारीहरूको समर्पणलाई आफ्नो सबलता मानेर बीमा सेवाको पहुँच विस्तार, डिजिटल सुधार र सामाजिक दायित्वका कार्यक्रमहरूलाई निरन्तर अघि बढाउँदै आएको छ। कम्पनीले आगामी दिनहरूमा पनि बीमा सचेतना, स्वास्थ्य, शिक्षा, वातावरण र समावेशी विकासका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सिटिजन लाइफले ग्राहक, व्यवसायिक साझेदार, सञ्चारकर्मी, सेयरधनी, सञ्चालक समिति, सद्भावना दूत, नियमनकारी निकाय र कर्मचारीहरू प्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ । कम्पनीले आगामी दिनहरूमा सेवालाई समयानुकूल परिमार्जन गर्दै थप उत्कृष्ट बनाउन, प्रचलित कानुन तथा नियमनको पालना गर्दै संस्थागत सुशासनका साथ व्यवसायिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता जनाएको छ । यस अवसरमा कम्पनीले दिपावली, नेपाल संवत् र छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपालीहरूका सुस्वास्थ्य, दीर्घायु र समृद्ध जीवनको शुभकामना पनि व्यक्त गरेको छ ।