७ महिनामा जीवन बीमा कम्पनीहरूको व्यापार १ खर्ब ११ अर्बमाथि, कसको व्यापार कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउन–माघ) सम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ११ अर्ब रुपैयाँ बराबरको व्यवसाय आर्जन गर्न सफल भएका छन् । मंगलबार (आज) नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ७ महिनामा १४ जीवन बीमा कम्पनीहरूले १ करोड १५ लाख १३ हजार बीमालेख जारी गरेर १ खर्ब ११ अर्ब ५ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो आवको यही अवधिमा बीमा कम्पनीहरुले ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बराबरको व्यापार भित्र्याएका थिए । अघिल्लो आवको तुलनामा चालु आवको सात महिनामा बीमा कम्पनीहरूको व्यापार १६.४३ प्रतिशतले वृद्धि भएको छ । माघसम्ममा सर्वाधिक व्यापार भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योेरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले सो अवधिमा २९ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १३.८१ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा नेपाल लाइफले २६ अर्ब ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेशनल लाइफले गत आवको माघसम्ममा ११ अर्ब २३ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा चालु आवको सोही अवधिमा १३ अर्ब ३१ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १८.४६ प्रतिशतले बढेको छ । तेस्रो धेरै व्यापार लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले १२ अर्ब ३ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.७७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले ७ महिनामा ११ अर्ब १७ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । माघसम्ममा हिमालयन लाइफले १० अर्ब ४३ करोड ६९ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ६१ करोड १६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ६ अर्ब ६६ करोड १७ लाख रुपैयाँ, एसियन लाइफले ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ ,सिटिजन लाइफले ४ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब २७ करोड ८० लाख रुपैयाँ, आइएमई लाइफले ३ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ, मेट लाइफले ३ अर्ब ७१ करोड ९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब २५ करोड ५२ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा हिमालयन लाइफको ५.४२ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार ९३.८९ प्रतिशत, सूर्यज्योति लाइफले ११.९२ प्रतिशत, एसियन लाइफको ९.५३ प्रतिशत, सिटिजन लाइफको १८.९५ प्रतिशत, सानिमा रिलायन्सको १२.२९ प्रशित, आईएमई लाइफको ३३ प्रतिशत, मेट लाइफको. ९.९५, रिलायबल नेपालको २४.९३ प्रतिशत, प्रभु महालक्ष्मीकोे १३.८६ प्रतिशत र सन नेपाल लाइफको ४.६२ प्रतिशतले व्यापार वृद्धि भएको छ ।
एशियन लाईफ इन्स्योरेन्सको १०.५२ प्रतिशत लाभांश पारित
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अठारौं वार्षिक साधारण सभा फागुन ११ गते सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष दीपक कुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुमोदन गरेको छ । सभाले आर्थिक वर्ष २०८१/०८२ सम्मको सञ्चित नाफाबाट कम्पनीको चुक्ता पुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । यसअन्तर्गत चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने २५ करोड ५७ हजार ९६० रुपैयाँ ३५ पैसा बराबरको बोनस सेयर र ५.५२६३ प्रतिशतका दरले हुन आउने २७ करोड ६३ लाख ७९ हजार ८५० रुपैयाँ ९१ पैसा (करसहित) नगद लाभांश वितरण गरिनेछ । यसैगरी, आर्थिक वर्ष २०८१/०८२ (एनएफआरएस बमोजिम) असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, सो अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी पारित गरिएको छ । साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ । साथै, साधारण सभाको निर्णय कार्यान्वयनका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र सम्बन्धित निकायबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत अनुमोदन गरिएको कम्पनीले जनाएको छ ।
माघसम्ममा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय २७ अर्बमाथि, अग्रस्थानमा शिखर र सलिको
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउन–माघ)सम्ममा निर्जीवन बीमा कम्पनीहरूले २७ अर्बभन्दा बढी व्यवसाय आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ७ महिनाको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले १६ लाख ५६ हजार ३३६ बीमालेख जारी गरेर २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जुन गत आवको तुलनामा १३.४५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा बीमा कम्पनीहरूले १६ लाख २१ हजार ६७९ वटा बीमालेख जारी गरेर २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । बीमा कम्पनीहरूले माघ महिनामा मात्रै २ लाख ३६ हजार ७८८ बीमालेख जारी गरेर ३ अर्ब ८६ करोड २१ लाख रुपैयाँको व्यवसाय आर्जन गरेका छन् । सर्वाधिक व्यापार भित्र्याउनेमा शिखर अगाडि चालु आवको माघसम्ममा सर्वाधिक व्यापार शिखर इन्स्योरेन्सले भित्र्याएको छ । चालु आर्थिक वर्षको माघसम्म शिखर इन्स्योरेन्सले ३ अर्ब ३२ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष माघसम्म कम्पनीले ३ अर्ब १३ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ६.०२ प्रतिशतले वृद्धि भएको छ । दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकोले माघसम्ममा २ अर्ब ९८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.७७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीले अघिल्लो आवको माघसम्ममा १ अर्ब ९२ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा चालु आवको सोही अवधिमा २ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यवसाय ४७.७४ प्रतिशतले बढेको छ । त्यस्तै, माघसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ५१ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत आवको यही अवधिमा कम्पनीले २ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ संकलन गरेको थियो । गत आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यवसाय २.७६ प्रतिशतले वृद्धि भएको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ३८ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत आवको यही अवधिमा कम्पनीले २ अर्ब २ करोड ६८ लाख रुपैयाँ संकलन गरेको थियो । गत आवको तुलनामा कम्पनीको व्यवसाय १७.४५ प्रतिशतले वृद्धि भएको छ । ७ महिनाको अवधिमा एनएलजी इन्स्योरेन्सले २ अर्ब १८ करोड ८३ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब १५ करोड १५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७५ करोड ७३ रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ६० करोड १४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ३४ करोड ४१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ७ करोड ८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ८९ करोड २४ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ७९ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा एनएलजीको ३४.९५ प्रतिशत, नेको इन्स्योरेन्सको १०.३२, युनाइटेड अजोडको २५.३९ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको १०.६४ प्रतिशत,सानिमा जीआईसीको १५.६० प्रतिशत, नेपाल इन्स्योरेन्सको ६.७२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.८८ प्रतिशत र नेसनल इन्स्योरेन्सको १५.३१ प्रतिशत व्यवसाय वृद्धि भएको छ । राष्ट्रिय बीमा कम्पनीको भने ५.१२ प्रतिशतले व्यापार घटेको छ ।