जोखिम विश्लेषणसहित व्यवसायमा आक्रामक भएका छौं : सन्चित बज्राचार्य

सन्चित बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत-प्रभु इन्स्योरेन्स लिमिटेड अर्थतन्त्र खराब हुँदा पनि गत वर्ष ४ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि भएको थियो । यस वर्ष सरकारले ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा १३ प्रतिशतको कर्जा वृद्धि गर्ने लक्ष्य लिएको छ । कर्जा विस्तार हुँदा बीमा क्षेत्रको व्यवसाय स्वाभाविक रूपमा वृद्धि हुन्छ । यी सबैलाई आधार मानेर हेर्दा चालु आर्थिक वर्षमा बीमा व्यवसाय विस्तार उच्च दरमा हुने देखिन्छ । यद्यपि बीमा कम्पनीहरूको गत आर्थिक वर्षको व्यवसाय वृद्धि ३ प्रतिशतमा सीमित रह्यो । यस वर्ष व्यवसाय वृद्धि कस्तो होला ? बीमा क्षेत्रमा पुर्नबीमाको सट्टामा बीमा पुल कल्चर किन उदायो ? बीमा शुल्क सरकारले तोक्ने कि बजारलाई निर्धारण गर्न दिने ? बीमित र बीमकबीच सधैं आरोप प्रत्यारोप किन ? बीमा क्षेत्रको करिब दुई दशक र लामो समय प्रभु इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्लाेका संचित बज्राचार्यसँग विकासन्युजका लागि रामकृष्ण पौडेल र सीआर भण्डारीले गरेको विकास बहस यस अंकमा । चालु आर्थिक वर्षमा बीमा व्यवसाय विस्तार कुन दरमा हुन सक्छ ? अहिलेसम्म बीमा बजार घटेको छैन, बढ्दो क्रममा नै छ । यसलाई पनि राम्रो पक्ष मान्न सकिन्छ । तर, विश्व अर्थतन्त्रमा बीमाको जति ठूलो भूमिका छ, त्योअनुसार नेपालमा छैन । बीमा क्षेत्रको वृद्धि जुन दरमा हुनुपर्ने हो, त्यो भएको देखिँदैन । गत वर्ष बीमा कम्पनीहरूको नाफा ५२ प्रतिशतसम्म बढेको देखिन्छ । तर ४ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुँदा बीमा कम्पनीहरूको व्यवसाय वृद्धि ३ प्रतिशत मात्र छ । किन यस्तो रह्यो ? अर्थतन्त्र सन्तोषजनक रूपमा सुधार नहुँदा बीमा क्षेत्रको अवस्था पनि त्यस्तै रह्यो । जबकि बीमा क्षेत्र अगाडि बढ्नु पर्ने थियो । मान्छे जोखिममा परिरहेका हुन्छन् । जस्तै, सडक वा हवाई यातायातको क्षेत्रमा धेरै दुर्घटना भएका उदाहरण छन् । भूकम्प, बाढी, पहिरो, डुबान, आगलागीजस्ता आपतविपतका घटनाहरू बारम्बार हुने गर्दछन् । यसबाट धेरै धनजनको क्षति भएको भनिन्छ । यस्ता जोखिमको आर्थिक सुरक्षा बीमाबाट गर्ने हो । जनधनको क्षति पुग्ने दुर्घटना वृद्धि हुँदा पनि बीमा गर्ने अभ्यास किन बढेन ? बीमा नगर्नु अज्ञानता नै हो । बीमा क्षेत्रको व्यवसाय वृद्धिका लागि प्राथमिक तहदेखि नै बीमा शिक्षामा जोड दिनुपर्छ, बीमा जागरणको कार्यक्रम आम मानिसमा पुग्ने गरी सञ्चालन गर्नुपर्छ भन्ने मेरो भनाइ हो । यद्यपि बीमाबारे राम्रो ज्ञान भएकाहरूले पनि बीमालाई महत्त्व दिएका छैनन् । यी विषयमा धेरै लामो उत्तर खोज्नु पर्दैन । बीमा नगर्नु अज्ञानता नै हो । बीमा क्षेत्रको व्यवसाय वृद्धिका लागि प्राथमिक तहदेखि नै बीमा शिक्षामा जोड दिनुपर्छ, बीमा जागरणको कार्यक्रम आम मानिसमा पुग्ने गरी सञ्चालन गर्नुपर्छ भन्ने मेरो भनाइ हो । यद्यपी बीमाबारे राम्रो ज्ञान भएकाहरूले पनि बीमालाई महत्त्व दिएका छैनन् । कुनै काम गर्दा लगानी गर्न आफूसँग पैसा भएन, हामी अरूसँग पैसा सापटी गरेर, ऋण गरेर पनि लगानी गर्छौं । त्यो लगानीबाट कति नाफा हुन्छ भनेर पहिला नै प्रक्षेपण पनि गर्छौं । कसरी मार्केटिङ गर्ने, कसरी व्यवसाय वृद्धि गर्ने, कसरी नाफा बढाउने भनेर योजना बनाउँछौं । तर त्यसको सुरक्षा गर्ने वा बीमा गर्ने पाटोमा मानिसहरूले ध्यान कम दिएको पाइन्छ । सरकारले योजनावद्ध विकासका क्रममा धेरै काम गरेको हुन्छ । तर बीमाको कुरा बिर्सेको हुन्छ । त्यहाँ क्षतिको विषय हामीले बिर्सिन्छौं । नाफा र नोक्सान मात्र हेरिन्छ । त्यो नोक्सानलाई न्यूनीकरण वा नोक्सानी हुन नदिने पाटो भनेको बीमा हो । नाफामूलकबाहेक विकास निर्माणका कार्य गर्दा त्यसबाट हुने क्षतिबाट जोगाउनुपर्छ भन्ने विषयको ज्ञान हामीमा भएन । अहिले पनि धेरै जना बीमा भनेपछि ‘ह्या’ भनेर पन्छिन खोज्छन् । चुरोटले स्वास्थलाई हानि गर्छ भन्छन् तर खाइरहेका हुन्छन् । जंक फूडले बेफाइदा गर्छ भन्छन् तर खाइरहेका हुन्छन् । त्यस्तै, बीमा गर्नुपर्छ भन्ने सबैलाई थाहा छ तर बीमा गर्दैनन्, हो ? यस्तो पनि देखिन्छ । तर, कसैले पनि आफू डुब्छु, बिग्रिन्छु भनेर सोंच्दैन । बीमामा अर्को पाटो हुन सक्छ । जस्तो प्राकृतिक विपत्ति वा दुर्घट्ना हुन्छ नै भनेर कसैले सोंचेको हुँदैन । हुनसक्छ भन्ने आँकलन मात्र हो । ध्यान दिनुपर्ने केमा छ भने पछिल्लो समय दुर्घटना बढिरहेका छन् । कतिसम्म भने पानी नै नपरेको ठाउँमा सुख्खा पहिलो जान थालेको छ । अनुमान नै नगरेको समथर जमिन भासिने क्रम बढेको छ । अनुमान नै नगरेको बजारमा क्षेत्रमा बाढी पसेर ठूलो नोक्सान गरेको छ । भवितव्य कति खेर हुन सक्छ, थाहा हुँदैन । त्यसैले बीमाको महत्त्व र आवश्यकता पनि बढेर गएको छ । बजारको विकास माग र आपूर्तिकाे आधारमा हुन्छ । कतिपय सन्दर्भमा माग कम हुँदा पनि आपूर्तिपक्ष बलियो हुँदा बजारको विकास राम्रो हुने गरेको छ । नेपालमा बीमाको इतिहास पनि लामो भइसक्यो । बीमा कम्पनीको संख्या पनि धेरै छ । सञ्जाल (नेटवर्क), कम्पनीहरूको पुँजी, व्यावसायिकता, दक्ष जनशक्तिका संलग्नता लगायतमा धेरै पक्षमा विगत १०/१५ वर्षअघिको तुलना गर्दा बीमा क्षेत्र धेरै विकसित भइसकेको छ । तरपनि सेवालाई बलियो वा गुणस्तरीय बनाउन नसक्दा अपेक्षाकृत नतिजा नआएको हो कि ? बीमा क्षेत्रमा मागभन्दा आपूर्ति धेरै छ । कम्पनी पनि धेरै छन् । बीमकबीचको प्रतिस्पर्धा धेरै नै छ । बीमितलाई सेवा दिन बीमकको दौडधूप धेरै नै छ । आपूर्तिपक्ष कमजोर भयो भन्न मिल्दैन । बजारमा बीमाको माग सिर्जना हुनेगरी बीमा कम्पनीहरूले नवीनतम सोंच र अभ्यास गर्न नसकेका हुन् कि ? तपाईंले भन्नु भएको कुरा सही हो । तर, बीमा क्षेत्रमा मैले जे बिक्री गरिरहेको छु, त्यो मेरो लागि होइन । यो त ठ्याक्कै क्लाइन्टको लागि हो । तर, क्लाइन्टले बुझिदिनु भएन । बीमालाई क्षतिको क्षतिपूर्ति दिने माध्यम हो भनेर बुझ्नु भएन । जहिले पनि बीमालाई हेर्ने नजर नकारात्मक मात्रै भइदियो । तथ्यांक हेर्दा बीमा कम्पनीहरूले ठूलो रकम बीमा दाबी भुक्तानी गरेका छन् । तर, सर्वसाधारणले बीमा कम्पनीले दाबी भुक्तानी दिँदैनन्, दुःख दिन्छन्, सेवामूलक भएनन् । कम्पनीहरू आफूले कसरी पैसा कमाउने भन्नेमा केन्द्रित भएको सर्वसाधारणको आरोप छ नि ? यी बजारमा मान्छेहरूले गरिरहने कुरा हुन् । तर, वास्तविकता त्यो होइन । कुनै कालखण्डमा कहाँ के भयो भन्नेतर्फ हामी लाग्नु हुँदैन । १ सय वटा काममा २ वटा काम बिग्रियो भनेर ९८ वटा कामलाई गाली गर्नु हुँदैन । हालसम्म दाबीको सन्दर्भमा त्यस्तो भएको छैन । किनभने अहिले सबै मानिस सामाजिक सञ्जालमा छन्, मिडियाहरू छन्, नियमनकारी निकाय छन् । प्रविधिले यतिधेरै फड्को मारेको छ, सबै प्रमाण केन्द्रीय कार्यालयमा बसेर जुटाउन सकिन्छ । त्यसैले अहिले दाबी भुक्तानीमा समस्या रहँदैन । निश्चित विषयमा प्रक्रियागत रूपमा अघि बढ्नुपर्ने हुन्छ । कतिपय विषयमा शर्तहरू पनि राखिएका हुन्छन् । जस्तो- सवारी दुर्घटना भएकै हो । दुर्घटना भएर क्षति पुर्‍याएकै हो । तर, मापसे गरेर सवारी चलाएको छ भने दाबी पाउँदैन । यस्ता विषयमा कम्पनीको तर्फबाट पनि हेर्नुपर्छ । दाबी भुक्तानी पनि नियमसंगत गर्नुपर्ने हुन्छ । बीमा बजारमा खराब अभ्यासहरू के-के छन् ? नियत खराब राखेर बीमा गर्ने र कम्पनीबाट फाइदा लिन खोज्ने अभ्यास कस्ता हुन्छन् ? फेक क्लेम दुई तरिकाबाट हुने गर्दछ । एउटा हुँदै नभएको घटना सिर्जना गरेर  अनि अर्को भएको घटनालाई पनि क्षतिभन्दा धेरै दाबी गरेर । बजारमा फेक क्लेम नै धेरै आउने गरेका छन् । फेक क्लेम दुई तरिकाबाट हुने गर्दछ । एउटा हुँदै नभएको घटना सिर्जना गरेर अनि अर्काे भएको घटनालाई पनि क्षतिभन्दा धेरै दाबी गरेर । कम्पनीले त्यसको मूल्याङ्कन गर्छ । तर, बीमा सर्भेयरका रिपोर्टमा मागअनुसार दाबी आउँदैन । किनभने सबै प्रमाण जुटाउँदा दाबी निर्धारण कम हुन आउँछ । त्यसपछि माग अनुसारको दाबी नभएपछि बीमा कम्पनीले भुक्तानी दिएन भनेर गलत प्रचार गर्छन् । बीमा कम्पनीले बीमा पोलिसीमा भएको शर्तहरू र प्रक्रियाहरू पूरा गरेर भएको वास्तविक क्षतिको आधारमा दाबी भुक्तानी गर्ने हो । बीमितले जति माग गरेको छ, त्यति नै भुक्तानी भएन भनेर आलोचना गर्नु गलत हो । क्षतिको मूल्याङ्कन गर्दा लिने आधार मूल्यको अभाव र पारदर्शिताको अभावले पनि बीमक र बीमितबीच मतभेद बढेको हो ? क्षतिको वास्तविक मूल्य कति हो भनेर पहिचान गर्न बीमा सर्भेयरलाई पनि गाह्रो परेको हो ? बीमा कम्पनीमा पनि विभिन्न उपसमिति छन् । सर्भेयरबाट रिपोर्ट आएपछि दाबीको चित्त बुझेन भने त्यहाँ पनि हेरिन्छ । घटनाको भिडियो क्लिप्स लिएर अनुसन्धान गरिन्छ । त्यो भिडियो के-के विषय समावेश गरेको छ, त्यही सामानको बजार मूल्य कति छ भनेर हामीले बुझ्छौं । मूल्य केही फरक पर्ला । जस्तो- एउटा पसलमा ५ प्रतिशत बढी भन्ला, अर्को पसलमा ५ प्रतिशत कम भन्ला । मूल्य पनि फरक-फरक हुन सक्छ । किनभने बजारमा एकरूपता छैन । तपाईं हामी पनि कुनै सामान किन्न गयो भने मूल्यमा आकाश-पाताल फरक परेको देखिन्छ । सबैले आधिकारिक डिलरबाटै हाल्दैनन् । त्यो अवस्थाले पनि फरक पर्न सक्छ । किनभने मूल्यमा एकरूपता छैन । बीमाको जोखिममा कस्तो किसिमको परिवर्तन आइरहेको छ ? बीमित पक्षबाट आउने दाबी विश्लेषण गर्दा कुन क्षेत्र बढी सुरक्षित हो, कुन क्षेत्र बढी जोखिमपूर्ण बन्दै गएको देखिन्छ ? निर्जीवन बीमा भन्नेबित्तिकै जोखिम स्वतः हुन्छ । जोखिम भएर नै बीमा गरिने हो । त्यो जोखिमको कुनै रूप छैन । हामी यहाँ बसिरहेका छौं, एक्कासि प्राकृतिक विपत्ति आएर यो सिलिङ नै खस्न सक्छ । जबकि हामीले बनाउँदा मजबुत र गुणस्तरीय बनाएको हुन्छौं । तर, कहाँनेर गुणस्तरहीन हुन्छ भन्ने थाहा नै हुँदैन । त्यसैले यो क्षेत्रको ठ्याक्कै परिभाषित गर्न सकिँदैन । जस्तो- कसैको गाडी वर्षौंसम्म दुर्घटना हुँदैन, कसैको किनेको दिन नै दुर्घटनामा पर्छ । काठमाडौंमा चट्याङ्‍को जोखिम कम भएको सुनिन्छ तर अरू क्षेत्रमा उच्च जोखिम छ भनिन्छ । कुनै ब्राण्डको सवारी धेरै दुर्घटना भएको सुनिन्छ भने कुनै ब्राण्डको सवारी कम दुर्घटना भएको सुनिन्छ । बाइक चोरीका घटना पनि कुनै कम्पनीका बढी र कुनै कम्पनीका कम छन् । समग्रमा सवारी, एभियसन, कृषि, मोटर, फायर, पूर्वाधार, जलविद्युत बीमामध्ये कुन क्षेत्रमा बढी वा कम दावी हुने गरेको छ ? प्रविधिले कतिपय जोखिमलाई न्यूनीकरण गरेको छ । जस्तो चट्याङ्‌को सन्दर्भमा विगत हेरिकन निश्चित क्षेत्रमा न्यूनीकरण भएको छ, किनभने अर्थिङ गरिएको हुन्छ । घरमा अर्थिङ गर्नाले जोखिम कम हुन्छ भनिन्छ । तर, कहिलेकाहीं अर्थिङ गरेकै घरमा चट्याङ् परेको पनि छ । यसरी अन्य प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्ने उपायहरू अपनाइएको छ । कुनै सवारीसाधन बढी क्षति हुने गरेको तथ्याङ्कले देखाएको छ । त्यसको लागि बीमा कम्पनीले निश्चित दर निर्धारण गरेर सुरक्षित गरिएको हुन्छ । बिग्रेका वस्तुको बीमा गर्ने होइन । नेपालमा हवाई दुर्घटना भयो भने हवाई बीमाको दर बढ्छ नै । किनभने जोखिम बढी भयो नि त । त्यो क्षेत्रको रकम पनि ठूलो भोलुममा हुन्छ । त्यो कम्पनीलाई मात्रै बढ्ने होइन । नेपाली बजारमै त्यसको दर बढ्छ । त्यसैले डुब्न कोही पनि चाहँदैन । किनभने जोखिम मोलेपछि त्यो हामीले बेहोर्नुपर्छ । त्यो जोखिम बेहोर्नका लागि त्यसको दर पनि बढ्छ । पेट्रोल पम्पसँगै भएका घरहरू, खोला नजिक भएका घरहरूको बीमा दर बढी हुन्छ । जोखिम मूल्याङ्कन, निर्धारण त्यसैगरी गरिएको हुन्छ । बाढी-पहिरो वा जलवायु परिवर्तनको विषय संसारभर नै आइरहेको छ । त्यसको प्रभाव बीमा क्षेत्रमा कस्तो परेको छ ? जलवायु परिवर्तनले बीमा क्षेत्रमा ठूलो प्रभाव पारेको छ । कहीं ताल फुटेको विषय आइरहेको छ । काठमाडौंमै पनि घर डुबानमा पर्ने क्रम बढेको छ । मौसम परिवर्तनले किसानलाई बढी असर गर्न थालेको छ । कृषि, बाली तथा पशुपंक्षी बीमामा दावी बढेको छ । कुनै समय प्रकोपहरूको लहरै आएर क्षति हुने गरेको छ भने कुनै समय क्षति नै नहुने अवस्था छ । बाली तथा पशुको बीमा गरिएको हुन्छ । त्यसको दाबी भुक्तानी पनि हुन्छ । तर, जमिनमा पनि ठूलो क्षति गरेको हुन्छ । जमिनको किन बीमा हुँदैन ? जमिनलाई फेरि खेतीयोग्य बनाउन बीमा किन नगर्ने ? घरको बीमा हुन्छ, जग्गाको बीमा हुँदैन । जमिनमा क्षति हुन्छ । त्यसैले बालीको बीमा गरिएको हो । जग्गाको स्ट्रक्चर बिग्रिन्छ । तर, जग्गा बगाएर त्यो ठाउँमा जग्गा नहुने भन्ने हुँदैन । तर, खेती रहेको समथर जमिन कटान गरेर ठूलो क्षति गरेको हुन्छ । त्यसलाई पुन: खेतीयोग्य जमिनमा ल्याउन ठूलो लागत लाग्छ । त्यो लागत कम गर्न बीमा पोलिसी किन विकास हुन सकेन ? त्योबेलामा उसको क्षति कहाँनेर भएको छ भनेर बुझ्नुपर्छ । यदि उर्वर भूमिमा बाली लगाइएको थियो र नोक्सान भएको हो भने बालीको दाबी पाउँछ । तर, कटान भएको क्षेत्र निश्चित समयपछि पुन: आफ्नै संरचनामा फर्किन्छ । त्यसको लागि ठूलो लागत लाग्दैन । फेरि त्यहाँ संरचना बनाउनुपरेपछि बीमा हुन्छ । त्यतिकै छोड्नु भएको छ भने खुला ठाउँको बीमा हुँदैन । त्यसको कुनै आधार छैन । मर्जरपछि कम्पनी ठूला भएर बजारमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, अस्वस्थ प्रतिस्पर्धा हट्छ भनिन्थ्यो । नीति निर्माण गर्ने निकायले र स्टेक होल्डरहरूले यही विचारमा सहमति जनाएका थिए । तर, अहिले पनि अस्वस्थ प्रतिस्पर्धा छ भन्ने सुनिन्छ । मर्जरपछि पनि झन् खराब स्थिति बनेको हो ? तपाईंले भन्नु भएको विषय बजारमा सुनिएको विषय हो । म एक जनाले लुकाएर लुक्ने वा देखाएर देखिने भन्ने होइन । जहाँपनि शतप्रतिशत ठीक भन्ने हुँदैन । यदाकदा यो सुनिएको विषय हो । यदि यो साँच्चै भइरहेको छ भने त्यसको प्रभाव कति पर्छ भनेर मैले भनिरहनु पर्दैन । बजारमा ट्यारिफ र नन ट्यारिफ दुवै प्रकारको बीमा अभ्यास छ । तपाईंहरूलाई कुन अभ्यास सही लाग्छ ? हेर्दाखेरि ट्यारिफ भएको पक्का हो । किनभने ट्यारिफ काट्न नै मिल्दैन । तर, त्यो भन्दैमा ननट्यारिक नराम्रो होइन । ननट्यारिफ भएपछि खुला प्रतिस्पर्धा हुन्छ । तर, मैले एउटा दर निर्धारण गरें भने भोलिका दिनमा त्यो क्षेत्रमा नपुग्न पनि सक्छु । किनभने त्यहाँ उसले दर घटाउन पनि सक्ने भयो । ट्यारिफ बीमा सुरक्षित नै हो । खुला बजार अर्थतन्त्रमा बीमा शुल्क सरकारले नै निर्धारण गर्नु कति उपयुक्त हो ? खुला छाड्दा के बिग्रिन्छ ? जान्दाजान्दै वा बुझ्दाबुझ्दै पनि प्रतिस्पर्धाको हिसाबले जोखिम बढी हुन सक्छ । प्रतिस्पर्धाको लाभ जनतालाई पनि दिनु पर्दैन ? ट्यारिफको निर्धारण पनि जोखिम विश्लेषण गरेर गरिएको हुन्छ । सबै विषय आफूमा मात्रै निहीत हुँदैन । अहिलेका सबै मेकानिज्म अपनाएर दर निर्धारण गरिएको हुन्छ । कहिलेकाहीं प्रतिस्पर्धा हुँदा मान्छे त्योभन्दा तल नचुकोस् भनेर न्यूनतम दर निर्धारण गरिएको हो । तर, ट्यारिफमा तोकिएको दरभन्दा माथि पनि जान सकिन्छ । बीमा कम्पनी र पुनर्बीमा कम्पनी बीचको सम्बन्ध सहज अवस्थामा छ कि जटिल बन्दै गएको छ ? बीमा शुल्क दरका कारण अहिले जटिल बन्दै गएको छ । कतिपय पोर्टफोलियोमा अप्ठ्याराे परिस्थिति बनेको छ । कसैले बीमा गर्नका लागि प्रपोज गर्छ । तर, पुनर्बीमासँग नबुझी बीमा गर्न सकिँदैन । कम्पनी पनि सुरक्षित हुनुपर्छ । दाबी परेको बेलामा क्षतिपूर्ति दिन सक्ने अवस्था हुनुपर्छ, नभए जटिलता जन्माउँछ । कसैले व्यवसाय ल्यायो भन्दैमा जोखिम विश्लेषण नगरी लिन हुँदैन । जोखिम विश्लेषणको आधारमा ट्यारिफ निर्धारण हुने हो । द्वन्द्वकालमा बीमा पुल भनेर एउटा अभ्यास सुरु भयो । पछि म्यादी बीमामा पनि बीमा पुलको अभ्यास भयो । जलविद्युत बीमा, मोटर बीमामा पनि पुल बनाउने भनेर सुनिन्छ । बीमा पुलको अभ्यासमा किन रमाइरहेका हुन् बीमा कम्पनीहरू ? यी सबैमा बीमा पुल होइन । तर, जोखिम मूल्याङ्कनको आधारमा जलविद्युतमा आजको दिनमा ट्यारिफ भएपनि त्यो दरमा गर्न नसकिने अवस्था आयो । यसले सबैलाई असहज बनाएको छ । त्यसैले पुलमा जाँदा राम्रो हुन्छ कि भन्ने हो । बीमितले बीमा गर्न पायो भने बीमकले लिन पाउँछ, राम्रो दर रेटमा । सबै मोटरमा बीमा पुल होइन । थर्ड पार्टीको सन्दर्भमा मात्रै बीमा पुल हो । किनभने त्यही व्यवसायको लागि झुम्मिन जाँदा अस्वस्थ प्रतिस्पर्धा भयो । त्यसलाई व्यवस्थित गर्न पुलको अवधारणा आएको हो । त्यसले राम्रो नतिजा दिइरहेको छ। नेपालभित्र पुनर्बीमा नहुँदाको अवस्थामा विदेशीहरूले पनि हिंसात्मक द्वन्द्वको बीमा हुँदैन भनेपछि नेपालको सम्पत्ति, जीउधनको पुनर्बीमा गर्न आनाकानी गरेपछि बीमा पुलको जन्म भएको थियो । अहिले त्यस्तो द्वन्द्व पनि छैन । अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीले व्यवसाय स्वीकार नगर्ने वातावरण पनि छैन । तैपनि बीमा पुल हामीले चरणवद्ध रूपमा ब्यूँताइरहेका छौं । नेपालमा दुईवटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । पुनर्बीमाको विकल्पको रूपमा उदाएको हो बीमा पुल ? एभियसन, जलविद्युतमा बीमा कम्पनीले चाहेर पनि बीमा गर्न नसक्ने अवस्था आयो । किनभने हामीले जसलाई जोखिम हस्तान्तरण गर्छौं, उसले त्यो जोखिम लिन मानेन । अर्थात् पुनर्बीमा कम्पनीहरूले जोखिम लिन मानेनन् । किनभने यी व्यवसायमा जोखिम बढी छ । संसारमा कसैले पनि नाफा पनि हेर्छ, बीमा समाजसेवा मात्रै होइन । त्यसैले कसैले जोखिम लिन मानेन भन्दैमा हामीले पेसा नै छोड्नु भएन । त्यस्तै क्षेत्रका लागि पुलमा जाँदा सहज भयो । आफ्नो जोखिम न्यूनीकरण भयो, बीमितले बीमा गर्न पायो । त्यसैले पुलको अवधारणा आएको हो । हवाईजहाज दुर्घटना भयो भने त्यसको दर बढ्दै जान्छ । अब दर बढ्यो भन्दैमा हवाईजहाज नै नउडाउने भन्न त मिल्दैन । बीमा नभई बीमन उडाउने विषय पनि हुँदैन । एभियसनमा पुलको अवधारणा आइरहेको छ भन्ने सुनेको हो । जलविद्युतमा विभिन्न किसिमको चरणको छलफल भएको सुनिन्छ । तर, म त्यसमा प्रत्यक्ष रूपमा संलग्न छैन । सेयर लगानीकर्ताले बुझेर नै लगानी गरेको हुन्छ । वित्तीय विवरणको आधारमा प्रभु इन्स्योरेन्सको सेयर मूल्य धेरै होइन । अझै बढी नै हुनुपर्ने हो । प्रभु इन्स्योरेन्सको आगामी योजना के छन् ? पुँजी वृद्धिको विषय के भईरहेको छ ? पुँजी वृद्धिका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौं । त्यसमा शिरोधार्य गरेर काम गरेको हो । प्रक्रियामा जाँदा अन्य पक्षबाट ढिलाइ भएको हो । प्रक्रियामा जाँदा कहिलेकाहीं ढिलोचाँडो हुन्छ । साथै कम्पनीले बीमालाई विस्तार गर्न चेतनामूलक काम गरिरहेको छ । प्रचार गर्न र योजना ल्याउन मात्रै हामीले काम गर्दैनौं । संसारभरि बीमाको प्रडक्ट एउटै हो । कार्य गर्ने शैली फरक हुनसक्छ । हामीले प्रभु इन्स्योरेन्सको प्रडक्टलाई जनमानसमा पुर्‍याएर बीमा गर्नेको दर बढाउने हो र त्यसमा सम्बन्धित सबैको साथ सहयोगको आवश्यक पर्छ । दोस्रो बजारमा प्रभु इन्स्योरेन्सको सेयर मूल्य १ हजार रुपैयाँको हाराहारीमा छ । १ हजार रुपैयाँ हालेर प्रभु इन्स्योरेन्सको सेयर किन खरिद गर्ने ? लगानीकर्ताले कस्तो किसिमको प्रतिफल पाउनेछन् ? निश्चय पनि प्रभु इन्स्योरेन्सका लगानीकर्ताले राम्रो प्रतिफल पाउँछन् । त्यसको आधार भनेको हामीले त्रैमासिक प्रकाशित गर्ने वित्तीय विवरण हो । सेयर मूल्य बजारले निर्धारण गर्छ । किनभने लगानीकर्ताहरूले धेरै अध्ययन तथा विश्लेषण गरेका हुन्छन् । संधै हचुवाको भरमा हुन्छ भन्ने मात्रै नबुझ्दा हुन्छ । लगानीकर्ताको अपेक्षाले पनि मूल्य निर्धारण गर्छ । सेयर लगानीकर्ताले बुझेर नै लगानी गरेको हुन्छ । वित्तीय विवरणको आधारमा प्रभु इन्स्योरेन्सको सेयर मूल्य धेरै होइन । अझै बढी नै हुनुपर्ने हो । बीमा कम्पनीको रिपोटका आधारमा त्यो औसत नै हो । त्रैमासिक वित्तीय विवरण अध्ययन गर्दा कति कमाएको छ, कुन क्षेत्रबाट कुन पोर्टफोलियोबाट कमाएको छ, कति दाबी परेका छन् र हाम्रो कार्यशैली के छ ? एक वर्षको मात्रै कार्यशैली मात्रै हेरेर हुँदैन, विगतको कार्यशैली पनि हेर्नुपर्छ । हामी आक्रामक हिसाबले काम गरिरहेका छौं । तर, आक्रामक भन्ने बित्तिकै नचाहिने काम गर्दैंनौं । हामीले जति व्यवसाय गरेका छौं, त्यो व्यवसाय निश्चय नै जोखिम विश्लेषण गरेर नै गरेका छौं । दाबी नआउने व्यवसाय नै हामी गर्छाैं भन्ने पनि होइन । दाबीको भर नै हुँदैन । तर, त्यसको विगत हेरेर विश्लेषण गरेर व्यवसाय गरेका छौं । कम्पनीको वृद्धि स्मुथ रूपमा भइरहेको छ । विगत १० वर्षको अवधिमा लाभांश नदिएको वर्ष नै छैन । एनएफआरएस लागू भएपछि एक वर्ष लाभांश दिन सकेनौं । त्यसमा हाम्रो कारण छैन । लाभांश दिन नसकेर पनि होइन । त्यो वर्षबाहेक हामीले निरन्तर लाभांश दिइरहेका छौं । लाभांशको दर पनि कम्पनीको समान छ । त्यस आधारमा राम्रो नै गरेको छ ।

टिकटक खुलेपछि युवाले राेजगारी पाउँछन्, ३ अर्ब राजस्व उठ्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । जनताको निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएको छ ।देशका विद्यमान समस्याहरू समाधान गरेर विकास गर्ने र सुशासनको अनुभूति गराई जनतामा आशा जगाउने उद्देश्यले गठन भएको वर्तमान सरकारले राजनीतिक स्थायित्व र आर्थिक विकासलाई गति प्रदान गर्ने मूलभूत उद्देश्य लिएर अघि बढेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ बताउँछन् । लामो राजनीतिक पृष्ठभूमिसहित मुख्यमन्त्री र विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभवबाट खारिनुभएका मन्त्री गुरुङ सूचना प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाएर आमनागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय रूपमा सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउँछन् । मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगलाई व्यवस्थित गर्न नीतिगत एवं विभिन्न कार्यक्रमको कार्यान्वयनमा मन्त्री गुरुङले जोड दिएका छन् । सरकार गठन भएको डेढ महिनाको अवधिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले मन्त्रालयमा सय दिने कार्ययोजना बनाएर डिजिटल विकासमा सक्रिय रूपमा काम गर्दै आएका छन् । प्रस्तुत छ, सूचना विकास र प्रविधिको क्षेत्रसँग सम्बन्धित जिज्ञासाबारे मन्त्री गुरुङसँग गरिएको कुराकानी : वर्तमान सरकार गठन भएको डेढ महिना पूरा भएको छ, सरकारको गति कस्तो छ ? हामी सरकारमा आएपछि जनता धेरै आशावादी भएका छन् । तुरुन्तै परिणाममुखी कार्य देख्न चाहन्छ्न्, जुन स्वाभाविक पनि छ । तर, आन्तरिक कार्यसम्पादन हेर्ने हो भने स्थिति त्यस्तो छैन । किनभने यसअघि भत्किएका, बिग्रिएका र लथालिङ्ग भएका धेरै कुराहरूलाई सुधार गर्दै विकासको गति समाउनुपर्ने भएको छ । यसलाई अझ यसरी बुझौँ, हामी अहिले आफ्नो मेसिनरीलाई ठीक गरेर मात्रै विकासको गति अगाडि बढाउनेतर्फ लाग्दैछौँ । सरकारको मुख्य प्राथमिकता के–कस्ता रहेका छन् ? जनतासँग जोडिएका सबै जिम्मेवारी पूरा गर्नुपर्ने यो सरकारको दायित्व छ । यति मात्रै होइन, राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताको मुद्दा विगतमा जति ओझेल परेका थिए, त्यसलाई सुधारेर एउटा सन्तुलित परराष्ट्र नीतिको सिद्धान्त अवलम्बन गर्नुपर्ने हाम्रो पहिलो प्राथमिकतामा रहेको छ । परराष्ट्र नीतिअन्तर्गत दुवै छिमेकी मुलुकहरूसँग र अरू हाम्रा सहयोगी मुलुकहरूसँगको सम्बन्धलाई सन्तुलित, व्यवस्थित र मर्यादित बनाउने काम हामीले सुरु गरिसकेका छौँ । त्यसको पहिलो संकेतका रूपमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणलाई लिएका छौँ । परराष्ट्रमन्त्री राणाको भारत भ्रमणले अहिलेसम्म नेपाल र भारतको सम्बन्धलाई अलिकता ट्र्याकमा ल्याउने काम गरेको छ । सम्भवतः भारतको प्रधानमन्त्रीको पनि नेपाल भ्रमण र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको कुरा पनि तय हुन्छ भन्ने लाग्छ । यसले सरकारका कूटनीतिक पक्षमा विस्तारै गति लिन थालेको देखिन्छ । नयाँ सरकार गठनपछि देखिने गरी केही काम गर्न सकेको उदाहरण छन् कि ? थुप्रै छ नि । म उदाहरणको रूपमै भन्न सक्छु, एकदमै थिलोथिलो बनेको, झन्डै आर्थिक संकटको डिलमा पुगेको अर्थतन्त्रलाई अलिकति तन्दुरुस्त बनाउने काम गरिरहेका छौँ । अहिले राजस्व विस्तारै बढ्न थालेको छ । मूल्यवृद्धि नियन्त्रणमा आउन थालेको छ । आयात–निर्यातको असन्तुलनको विषय त ‘ओभरनाइट’मै व्यवस्थित हुन सम्भव छैन तर अर्थतन्त्रको जे समस्या छ त्यसलाई विस्तारै सही गतिमा ल्याउने सरकारको अर्को प्राथमिकता हो । यसको परिणाम आउन भने समय लाग्छ । तेस्रो कुरा यो पुँजीगत खर्च गर्न नसक्नु, राष्ट्रिय गौरवका योजना समयमै सम्पन्न गर्न नसक्नु, छरिएर रहेको बजेटलाई एकीकृत गरेर बहुप्रतिष्ठित योजनामा लगाउन नसक्नुलगायत विषयलाई गम्भीर रुपमा लिएका छौँ । लामो समयदेखि अवरुद्ध भएर बसिरहेको विकास निर्माणका कामलाई गति दिने कार्य सरकारको प्राथमिकता छ । कुनै राष्ट्रिय योजना जहाँको त्यहीँ अधुरो अवस्थामा छन् । कतिपय योजना १५/१७ वर्षदेखि अलपत्र छन् । यस्ता योजनाहरूलाई गति दिनुपर्छ भन्ने पक्षमा छौँ । छरिएर रहेका बजेट व्यवस्थापन गर्ने, बग्रेल्ती रहेका बुहप्रतिष्ठित योजनाहरुको प्राथमिकताका आधारमा छनोट गरेर सम्पन्न गर्नेतर्फ हामी केन्द्रित हुन्छौँ । उत्तर–दक्षिण करिडोरको निर्माण, पूर्व–पश्चिम मदन भण्डारी राजमार्गजस्ता महत्वपूर्ण राजमार्ग निर्माणको धिमा गतिलाई तीव्र बनाउनु छ । करिब साढे तीन वर्षको सरकारको कार्यकालमा ढिलो भइरहेका विकासका काम सम्पन्न गर्ने र अर्को चुनावमा नयाँ ढङ्गले जानुपर्छ भन्नेमा छौं। चौथो प्राथमिकतामा शान्ति सुव्यवस्थालाई अलि भरपर्दो बनाउनुपर्ने छ । म सुरक्षित छु भन्ने भाव जनतामा ल्याउने स्थिति निर्माण गर्न सरकार लागेको छ । सुशासन कायम गर्ने कुरामा पनि हामी उत्तिकै चिन्तित छौँ । लामो समयदेखि प्रहरीका ऐन आउन सकेको छैन, संघीय निजामती ऐन आएको छैन । नीति कार्यान्वयन गर्ने अंगहरू यिनै हुन् । यी अंगहरूलाई व्यवस्थित गर्ने तयारीमा छौँ । हामी लक्ष्यउन्मुख भएर काम गर्दैछौँ । तपाईं सरकारको प्रवक्ता पनि हुनुहुन्छ, सरकारको न्यूनतम् साझा कार्यक्रम अझै सार्वजनिक हुन सकेको छैन । यस सम्बन्धमा के भइरहेको छ ? सरकारको साझा नीति कार्यक्रम भन्नाले हाम्रो सातबुँदे सहमति मूल साझा नीति हो । समय अभावले नयाँ नीति कार्यक्रम र बजेट ल्याउने सरकारको स्थिति छैन । यही नीति कार्यक्रम र बजेटलाई व्यवस्थित गर्ने र परिणाममुखी बनाउने ढंगले अघि बढ्छौँ । नयाँ नीति कार्यक्रम र बजेट ल्याउँदा समय लाग्ने र त्यसले काम गर्ने समय नहुने भएकाले त्यतातिर जान आवश्यक देखेनौँ । विगतमा लामो समय अड्किएको शान्ति प्रक्रियाको महत्वपूर्ण हिस्साका रुपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसद्ले हालै पारित गरेको छ र राष्ट्रपतिबाट पनि प्रमाणीकरण भएको छ । यसले शान्ति प्रक्रियालाई कसरी निष्कर्षमा पुर्‍याउँछ भन्ने लाग्छ ? विस्तृत शान्ति सम्झौता भएको यति लामो अवधिसम्म पनि सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमा ल्याउन फलामको चिउरा चपाए जस्तै कठिन रहेको थियो । नेकपा (माओवादी) का अध्यक्ष नै प्रधानमन्त्री हुँदासमेत उहाँले यो विषयलाई टुंगोमा पुर्याउन सक्नु भएन । हामी सरकारमा आएपछि जनतामा एकखाले विश्वास भयो र विधेयक स्वीकृत गर्न सफल भयौँ । विधेयक संसदबाट पारित भई राष्ट्रपतिबाट पनि प्रमाणीकरण भइसकेको छ । अब कार्यान्वयनमा जाने कुरा मात्रै हो । सङ्क्रमणकालीन आयोग बनाएपछि त्यसमा कस्ता मान्छे राख्छौँ भन्ने अबको महत्वपूर्ण विषय हो । हामी समझदारीमै राम्रा मान्छे राख्छौँ । त्यही आयोगले काम गर्छ । टिआरसी विधेयक पास हुनु सरकारको महत्वपूर्ण उपलब्धि हो । यसले यो सरकारको आयु लामो छ भन्ने संकेत गर्छ । बिहानीले दिउँसोको झल्को दिन्छ भने जस्तै शान्ति प्रक्रियाअन्तर्गत लामो समयदेखि संकटमा परेको सङ्क्रमणकालीन न्यायसम्बन्धीको विधेयक पारित गराउन सफल र सक्षम यो सरकारले नै अब मुलुकको भाग्य र भविष्य निर्माण गर्छ भन्ने संकेत गरेको छ । नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थालाई कसरी हेर्नु हुन्छ ? नेपालको सञ्चार क्षेत्र अरु मुलुकको दाँजोमा राख्दा कमजोर देखिँदैन । तर, अझै मर्यादित हुन सकेको भने छैन । यो क्षेत्रले जे मागेको छ, त्यो माग पूरा हुन सकेको छैन । अन्तर्राष्ट्रिय आमसञ्चारको अवस्थालाई यहाँको परिस्थितिसँग ठ्याक्कै मेल खाँदैन । सार्क क्षेत्रमै नेपालको प्रेस सबैभन्दा धेरै स्वतन्त्र छ । खुला समाजमा हुनुपर्ने पत्रकारिता भरपुर भए पनि नीतिगत हिसाबले व्यवस्थित नभएको देख्छु । हालै मलेसिया, सिङ्गापुरजस्ता विकसित मुलुकका पत्रकारिताको अवस्था प्रत्यक्ष नियाल्ने अवसर पाएको थिएँ । त्यहाँ सीमित मिडिया छन् । हाम्रो समाज बहुलवादी खुलापनमा विश्वास गर्ने भएकाले प्रेस स्वतन्त्रताको हिसाबले कमजोर छ भन्न मिल्दैन । संरचनागत सुधार र नीति व्यवस्थापन भने गर्नुपर्ने छ । कुनै पनि स्वतन्त्रता निश्चित सीमाभित्रै हुन्छ र राज्यभित्रै हुन्छ । यद्यपि नेपालमा त्यस्तो किसिमको नियन्त्रित लोकतन्त्र छैन । तर, यसको नियमन, मर्यादित गर्न भने जरुरी छ । त्यो पनि राज्यले नियन्त्रण गर्ने होइन, सरोकारवालाहरूकै सल्लाह र सुझावका आधारमा मिडियालाई मर्यादित र व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक ल्याउँदैछौँ । प्रेस स्वतन्त्रता नियन्त्रित होइन, व्यवस्थित बनाउन सरकार तयार छ । सञ्चारसँग सम्बन्धित केही विधेयकहरु संसदमा विचाराधीन छन् । ती विधेयकहरू यसै अधिवेशनबाट पारित गराउन सम्भव होला ? मन्त्रालयको कामको चापले गर्दा समय पाएको छैन । सार्वजनिक सेवा प्रसारण विधेयक अन्तिम अवस्थामा पुगेको छ । राष्ट्रियसभाबाट पारित भएर उक्त विधेयकको प्रतिवेदन प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको छ । अर्को आमसञ्चार विधेयक छ, गोरखापत्र ऐन, राससको ऐनलगायत पुराना ऐन संशोधन गर्नुपर्ने छ । यो एक वर्षभित्र सबै पुराना ऐन संशोधन गर्ने र केही नयाँ ऐन बनाउने योजनामा छौँ । सामाजिक सञ्जाललाई मर्यादित, व्यवस्थित, स्वायत्त र स्वतन्त्र बनाएर लैजानमा हामी तत्पर छौँ । संसदमा सञ्चार क्षेत्रसँग सम्बन्धित कुनै नयाँ विधेयकलाई पनि लैजाने तयारी पनि छ कि ? सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विधेयक बनाउँदैछौँ । छलफलका क्रममा छ । त्यस्तै छलफलकै क्रममा रहेको मिडिया विधेयक पास हुन भने केही समय लाग्न सक्छ । आमसञ्चार विधेयक पनि हामी ल्याउँदैछौँ । दूरसञ्चार विधेयक संशोधन गर्नुपर्ने छ । अर्थ मन्त्रालयले खर्च व्यवस्थापन गर्नका लागि दूरसञ्चार तथा सूचना प्रविधि (साइबर क्राइम) विधेयक गाभ्ने सुझाव दिएको छ । यो विधेयक अरुभन्दा बृहत् पनि छ । यो वर्ष हुलाकदेखि लिएर सञ्चारसँग जोडिएका सबै कानुन बन्दैछन् । तसर्थ यो वर्ष चाहिँ मन्त्रालयले कानुन तथा नीति निर्माण गर्ने वर्ष मानेर काम गरिरहेको छ । अघिल्लो सरकारले सामाजिक सद्भावमा प्रतिकूल प्रभाव पारेको भन्दै टिकटकलाई प्रतिबन्ध लगाएको थियो । तर, वर्तमान सरकारले त्यो प्रतिबन्ध खुला गरेको छ, यसमा मन्त्रीज्यूको भनाइ के छ ? सामाजिक सद्भाव खल्बलाएको भन्दै एउटा घटनाले गर्दा अघिल्ल्लो सरकारले टिकटक बन्द गरेको रहेछ । बन्द गरेकै दिनदेखि टिकटक सञ्चालन गर्ने कम्पनीबाट खोल्नुपर्छ भन्दै थुप्रै निवेदन आएका रहेछन् । ती निवदेन यत्तिकै थाती राखिएको रहेछ । म आएपछि त्यसलाई बुझ्ने प्रयास गरेको छु । फेसबुक, इन्स्ट्राग्राम, टिकटकलगायत थुप्रै सामाजिक सञ्जालबाट हजारौँको सङ्ख्यामा युवाले रोजगार पाएका छन् । टिकटक बन्द हुँदा अलिकति भने पनि प्राप्त गरिरहेको अर्थोपार्जन खोसिँदै गएपछि युवामा निराशा आउनु स्वाभाविकै हो । मैले यसमा के रहेछ भनेर दूरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्षलाई सोध्दा टिकटक चलायो भने राज्यलाई करिब ३ अर्ब राजस्व बढ्छ, भन्नुभयो । पहिले नै सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी निर्देशिका बनेको रहेछ । त्यो निर्देशिकाको दफा ३ मा टिकटक प्रयोगकर्ता वा संस्था दर्ता हुनुपर्छ भन्ने रहेछ । दर्ता गरेपछि निर्देशिकाको दफा ६ मा उल्लेख भएअनुसार ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्छ । यी दुई शर्त पूरा भएपछि टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने भनिएको छ । यसका साथै टिकटक सञ्चालक कम्पनीका प्र्रतिनिधिलाई नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नु भनेर प्रस्ताव गरेको छु । हाम्रा यी सबै प्रस्तावमा उहाँहरू सकारात्मक हुनुहुन्छ । आधारभूत र माध्यमिक विद्यालयबाट डिजिटल साक्षर अभियानमा टिकटकले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै, सामाजिक दूरभावना फैलाउने खालका ‘कन्टेन’भित्र रहेका शब्द, वाक्यहरूको अङ्ग्रेजी, नेपालीसहित नेपालभित्र बोलिने अन्य भाषामा ‘फिल्टरेशन’ र ‘मोडरेशन’ गर्नुपर्छ भनेका छौं । यी सबै शर्तहरु पूरा गर्ने शर्तमा हामीले टिकटक खोल्ने निर्णय गरेका हौँ । यी शर्तहरु अरु सामाजिक सञ्जालको हकमा पनि लागू हुन्छ । टिकटकलगायत विभिन्न सामाजिक सञ्जाललाई व्यवस्थितगरी सञ्चालन गर्न सकिएमा हजारौँ युवाले रोजगारी पाउने र राज्यलाई पनि करोडौँ राजस्व प्राप्त हुने देखिन्छ । यहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सूचना प्रविधि क्षेत्रको विकासमा कस्ता चुनौती देख्नुभएको छ ? सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र यसअन्तर्गत रहेका अधिकांश निकायमा ठोस नीतिको समस्या रहेछ । पुराना ऐन, नियमअनुसार चलेका रहेका छन्, तिनमा संशोधन गर्नु पहिलो चुनौती छ । त्यसअनुसार नियमावली पनि संशोधन हुनुपर्छ । धेरै ठाउँका संरचना र संस्थाहरू भद्दा प्रकृतिका छन् । तेस्रो गतिशील खालको जनशक्तिको पनि अभाव देखिन्छ । पुराना जनशक्तिबाट नतिजामुखी प्रतिफल आउन कठिन छ । क्षमता अभिवृद्धि र समयसापेक्ष परिवर्तन गर्न जरुरी छ । त्यसैले काममा परिणाम आउँदैन । बजेटमा पनि त्यति महत्व दिएका रहेनछौँ । आमसञ्चार क्षेत्रलाई व्यवस्थापन गर्नु अर्को चुनौती छ । हिजो राज्यको सेवाका लागि मात्रै संस्था खोलिएका थिए । अब निजी क्षेत्र आएपछि हामी राज्यमै केन्द्रित भएर चल्नु हुँदैन । सरकारकोतर्फबाट जनतालाई सूचनाको हक दिँदै व्यवसाय पनि गर्नुपर्छ । राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्रजस्ता सरकारी सञ्चारमाध्यमलाई आत्मनिर्भर बनाउन जोड दिनुछ । डिजिटल नेपाल फेमवर्कलगायत सञ्चार क्षेत्रसँग सम्बन्धित अन्य गौरवका आयोजनाको कार्यान्वयनमा के–कस्ता गृहकार्यहरू भइरहेका छन् ? डिजिटल नेपाल फ्रेमवर्क अपुरो छ । त्यसकारण यसलाई हामी पुनरावलोकन गर्दैछौँ । कामभन्दा पनि नाराबाजीमै रमाइरहेको अवस्था रहेछ । सही अर्थमा डिजिटल नेपाल बनाउँदा कमसेकम सात सय ५३ स्थानीय तह, वडा, प्रदेश कार्यालय, जिल्ला कार्यालय वा सबै सरकारी र अर्धसरकारी कार्यालय मात्रै डिजिटलाइज गर्न सकियो भने पनि नेपाल डिजिटलाइज भयो भन्ने आधार सिर्जना हुन सक्छ । निश्चित समय तोकेर मूल्यांकन गरेर डिजिटल नेपालसम्बन्धी नीति नै बनाएर काम सुरु गुर्नपर्ने देखिन्छ । नेपालमा सूचना प्रविधिको विकासको सम्भावना उच्च छ भनिन्छ, नेपाललाई ‘आइसिटी हब’ का रुपमा विकसित गर्ने सम्भावना कत्तिको देख्नुहुन्छ ? मेटा, टिकटक, स्टारलिङ्कजस्ता डिजिटल प्लेटर्फमका प्रतिनिधिहरूले छलफलमा सार्क क्षेत्रमा नेपाल सूचना प्रविधिका हिसाबले अगाडि बढ्दै गएको मूल्यांकन गरेका थिए । भारतपछि त नेपालमा नै अनलाइन मिडिया, प्रेसको गतिविधि धेरै उच्च रहेछ । नेपाललाई सूचना प्रविधिको केन्द्र बनाउन सकिने प्रशस्त सम्भावना छ । हामी आफ्नै स्याटलाइट बनाउँदैछौँ । सुशासन कायम गर्ने, गरिबी निवारण गर्न, रोजगारी सिर्जना गर्ने सबै क्षेत्रमा सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेल्छ । यति महत्वपूर्ण विषयलाई अभियानका रूपमा थालनी गर्न मन्त्रालय तयारीमा जुटेको छ । रासस

टाउको र ढाड दु्ख्ने समस्याबाट कसरी मुक्त हुने ? न्यूरो सजर्न डा. काफ्लेसँगको कुराकानी

विराटनगरको कञ्चनबारीमा अवस्थित नोबेल मेडिकल कलेज पूर्वी नेपालको प्रतिष्ठित स्वास्थ्य संस्था हो । बिरामीलाई गुणस्तरीय सेवा दिँदै आएको यो अस्पतालमा दैनिक सयौं बिरामी उपचारका लागि आउने गर्छन् । तीमध्ये धेरैजसो बिरामी टाउको र ढाड दुख्ने समस्या लिएर आउँछन् । पूर्वी नेपालमा मात्र होइन अहिले देशभरि टाउको दुख्ने र नसा च्यापिएको समस्या भएर अस्पताल आउने बिरामीको संख्या बढ्दो छ । न्यूरोको समस्या के हो ? यसको उपचार नेपालमै सम्भव छ वा छैन ? यी र यस्तै विषयमा पूर्वी नेपालमा रहेर करिब एक दशकदेखि न्यूरो सर्जनका रूपमा काम गरिरहेका र विद्यार्थीलाई पनि अध्यापन गराउँदै आएका नोबेल मेडिकल कलेजका न्यूरो सर्जरी विभाग प्रमुख तथा सहप्राध्यापक डा. प्रकाश काफ्लेसँग विकासन्युजका लागि इन्द्रसरा खड्काले कुराकानी गरेकी छन् । पछिल्लो समय न्यूरोसम्बन्धी समस्याका बिरामीहरू बढेको भन्ने सुनिन्छ, न्यूरोसम्बन्धी समस्या के हो ? न्यूरोसम्बन्धी समस्या भन्नाले मष्तिष्क (ब्रेन)र स्पाइनल कर्ड (ढाड) को समस्या हो । न्यूरो सर्जरीमा ब्रेन र स्पाइन (मेरुदण्ड) पर्दछ । न्युरोसर्जन डाक्टरको ट्रेनिङ सुरु भएदेखि नै यो विषयमा अध्ययन गराइन्छ । त्यो दिनदेखि नै यि विषयमा तालिम लिएर त्यससम्बन्धी समस्याका बारेमातालिम दिन्छ । ब्रेन र स्पाइनमा के के रोगहरूको उपचार पर्छ ? भर्खर जन्मिने बच्चादेखि वयस्क, वृद्धलाई न्युरो सम्बन्धी समस्या हुन सक्छ । बच्चाहरूमा मष्तिष्कमा पनि जम्ने, मासुको डल्ला पलाउने जन्मजात ढाडको पछि मासुको फोका हुनेदेखि लिएर,ब्रेनमा टिभी हुने,इन्फेक्सन हुने, रगतको नसा सम्बन्धी समस्या , छारे रोग , Movements disorders (शरीर काप्ने रोग), र ब्रेनमा ट्युमर हुने हुन्छ भने बयष्क र बृद्धमा ब्रेनको नसा फुलेर फुट्ने रोग प्राय Brain Aneurysm , Arteriovenous Malformation(AVM), ब्रेन ट्युमर र अन्य धेरै रोगहुन्छ भने स्नायुसम्बन्धी रोगको कुरा गर्दा ढाडको नसा च्यापिएका स्पाइनमा स्पाइनको ट्युमर, स्पाइनल इन्जुरी, नसामा ट्युमर पलाएको हुन्छ, ढाडमा पनि नलीहरूको समस्या हुन्छ । उमेर बढ्दै गइसकेपछि डिजेनेरेटिभ स्पाइनल हुन्छ, त्यस्ता समस्या पनि हामी हल गछौँ । यसका लागि विभिन्न तरिका छन् । पौराणिक तरिकाबाट खोलेरभन्दा पनि अहिले नयाँ प्रविधिको विकाससँगै दुरविनबाट गरिने अप्रेसन छन् । जुन हामीले अहिले यो सेवा दिरखेका छौँ । काठमाडौं बाहिर सायद थोरै संस्था मा मात्र यो प्रविधि उपलब्ध छ । कुनै संस्थामा सामान छ म्यानपावर (जनशक्ति) छैन, कसैमा जनशत्ति छ सामान छैन । हाम्रो अस्पतालमा सामान र जनशत्तिदुवै छ । दुरविनबाट ढाडको नसा च्यापिएको समस्यादेखि लिएर , ब्रेनको धेरै खाले रोग जस्तै दिमागमा पानी जमेको, रगत जमेको र ब्रेनकै नसा पनि च्यापिएको ब्रेन ट्युमरको पनि अप्रेसन गरिन्छ । अहिले नोबेल अस्पतालमा यस्ता बिरामी कात्तिको आउँछन् ? हाम्रो अस्पतालको न्युरो सर्जरी ओपीडिमा दिनमा ४०देखि ६० जना जति बिरामी आउँछन् । त्यसको आधा जति बिरामी डाढ दुख्यो, टाउको दुख्यो भनेर आएका हुन्छन् । हामी के कारणले भइरहेको छ भन्ने कारण पत्ता लगाउँछौँ । सबै टाउको दुखेका बिरामीलाई ब्रेन ट्युमर हुँदैन । हामी सामान्य टाउको दुख्नेबित्तिकै गुगलमा सर्च गर्छौँ । त्यहाँ सबैभन्दा पहिले ब्रेन ट्युमर भनेर देखाउँछ । त्यसैले धेरै गुगल गर्नु हुँदैन । किनकि थाह नभएको कुरालाई गुगलले अनावश्यक देखाइदिन्छ र मान्छे झन आत्तिन्छन् । टाउको दुख्ने धेरै कारण कध्ये एउटा मानिसक तनाब, उच्चरक्तचाप देखि आँखा, पिनास, दाँतलगायत सयौं कारणले टाउको दुख्छ । यस्तै, टाउको ब्रेन ट्युमर, ब्रेनको नसा फुटेको या पानी जमेको कारणले पनि दुखेको हुन सक्छ । टाउको दुखाइ भनेको रोगको लक्ष्ण हो कारण होइन । कारण पत्ता लगाउन जाँच गर्न आवश्यक पर्छ । ब्रेन ट्यमुरको लक्षण कस्तो हुन्छ ? यसमा टाउको दुखाइको समय हुन्छ । तपाईंलाई बिहान, राति या दिनभरि टाउको दुख्छ यसलाई विचार गर्नुपर्छ । प्रायः बिहान उठ्दा टाउको दुख्नु अलि खतरनाक हुन सक्छ । त्यसबाहेक अरुबेला पनि एकदमै टाउको दुख्ने, सिटामोल खादा पनि दुखिरहन्छ भने पनि सचेतनाको घण्टी हुन सक्छ । यसको लागि आफै चेक जाँच गर्नुपर्छ । यसका लागि सिटीस्क्यान, एमआरईलगायत अरु जाँच गर्न सकिन्छ । तर, सबैलाई टाउको दुख्नेबित्तिकै एमआरआई, सिटीस्क्यान गराउनै पर्छ भन्ने छैन । हामी आफू चढ्ने गाडी, मोटरसाइकललाई त समय समयमा सर्भिसिङ गराउँछौँ भने आफ्नो शरीरलाई कत्तिको जाँच गराइरहेका छौँ त यो पनि सोच्नुपर्छ । नियमित जाँच गर्न एकमदम आवश्यक छ । ब्लड प्रेसर, सुगर, शरीरमा बोसोको मात्र कति छ, म स्वस्थ छु कि छैन, मेरो तौल अनावश्यक रूपमा बढेको छ कि छैन यस्ता कुरामा ध्यान दिनुपर्छ । ब्रेनमा समस्या आयो भने शरीरका अन्य भागमा कस्तो असर पर्छ ? ब्रेन भनेको शरीरका सबै ठाउँ कन्ट्रोल गर्ने ठाउँ हो । हामीले औँला चलाउँछौ हाम्रो ब्रेनमा सिग्नल जान्छ, हात अथवा कुनै ठाउँमा चिमोट्दा दुख्यो भन्ने फिल ब्रेनकै कारण हुन्छ भन्ने हामीलाई थाह हुन्छ । ब्रेनको कुन भागमा समस्या छ त्यही अनुसारको समस्या देखापर्छ । म एउटा उदाहरणका लागि जस्तो आँखाको नसा भनेको ब्रेनको आफ्नै भाग हो । ब्रेनको त्यो भागमा चोट लाग्यो भने तपाईं अन्धो हुन सक्नुहुन्छ । त्यो भाग कतैबाट थिच्चियो भने हामी त्यसलाई ब्रेनमा पिट्युटरी ट्युमर भन्छौँ जुन दिमागको मध्य भागमा हुन्छ, आँखाको जुन नसा छ त्यो नसाको बीचमा हुन्छ त्यसले गर्दा आँखा छेउछाउमा नदेखिने हुन सक्छ । कहिलेकाहीँ दिमागमा पानीको भाग बढ्यो त्यसले गर्दा पनि समस्या हुन्छ ।’ ब्रनेको अगाडिको भागमा केही समस्या आयो भने तपाईं क्याल्कुलेसन गर्न नसक्ने, मानव चेतनशील प्राणीजस्तो हुन नसक्ने, असामान्य रूप देखाउने हुन्छ । दिमागको देब्रेपट्टीको भागमा चोट लाग्यो स्मरणशक्ति हराउने, दिमागको पछाडिको भागमा चोट लाग्दा वस्तु नदेख्ने, देखे पनि ठम्मयाउन नसक्ने हुन्छ । दिमागको पछाडीपट्टी हामी सानो दिमाग पनि भन्छाैं, त्यसमा समस्या आयो भने हिँड्न नसकिने हुन्छ । दाहिने भागले दिमागले देब्रे भागलाईको कन्टोल गर्छ भने देब्रेले दाहिने भागलाई कन्ट्रोल गर्छ । कतिपय बिरामीसँग कुरा गर्दा समस्या दाहिनेतिर हुन्छ । उहाँहरू देब्रेतिर समस्या देखाउनुहुन्छ । त्यसले बुझाउन पनि गाह्राे हुन्छ । कसैको ट्युमर पलायो भने कान नसुन्ने, महिनावारी नियमित नहुनेसममको समस्या हुन्छ । यो थाहा पाउने भनेको जाँचबाट मात्र हो ? हो, जाँच गरिसकेपछि मात्र यो समस्या के हो भन्ने थाहा हुन्छ । त्यसैले तपाईंलाई भइरहेको भन्दा केही फरक समस्या आयो भने चिकित्सकीय सल्लाह लिनैपर्छ । सोही सल्लाहअनुसार जाँच गर्दा के भयो भन्ने थाहा हुन्छ । टाउको जस्तै ढाड दुखेको समस्या पनि धेरैलाई भएको सुन्छौं, यो के कारणले हुन्छ ? यो समस्या धेरै जसो मांशपेशीका कारणले हुने गर्दछ करिब ९० प्रतिशत बिरामीको ढाड दुख्ने मांशपेशीका कारण हुन्छ । १० प्रतिशत कारण नसा च्यापिएर तथा अरु कुनै असमान्य कारणले । कहिलेकाँही महिलाहरूमा पाठेघरको समस्याका कारण पनि ढाड दुख्ने हुन्छ । कसैलाई उमेर ढल्कदै जाँदा हड्डी खिइएर गए समस्या हुन्छ भने बाथरोगका कारण पनि ढाड दुख्छ । नसा च्यापियो भने ढाडको तल्लो भाग दुख्यो भने खुट्टा चलाउन नसकिने, प्यारालाईसिस हुने, पैतला नउठ्ने जस्ता समस्या हुन्छ । यसलाई अप्रेसन गर्नुपर्ने अवस्था छ कि छैन भनेर एमआरआई गरेपछि थाह हुन्छ । तर, जनमानसमा एउटा भ्रम के छ भने ढाडको अप्रेसन गर्दा प्यारालाइसिस हुन्छ भन्ने भ्रम छ । कस्तो अवस्थामा प्यारालाइसिस हुन्छ भने ढाडको नसाबाटै ट्युमर आएको छ अथवा यसका कारण अस्पताल आउनुभन्दा अगाडि नै प्यारालाइसिस भएको छ भने यो निको नहुन सक्छ । कतिपय प्यारालाइसिस भएर आएकाहरू पनि निको भएर जान्छन् । अप्रेसन गर्नुपर्ने भए पनि औषधि खाएर बस्छौँ भन्नेहरू धेरै हुन्छन् । आजभोलि दिनभरि कार्यालयमा बसेर काम गर्दा पनि यो समस्या आउँछ भन्ने सुनिन्छ नि ? ढाड दुख्नु, नसा च्यापिनु दुई, तीन कारण हुन्छन् । त्यसमध्ये बसेर काम गर्दा पनि हो । किनकि हामी बस्दा कसरी बस्ने भन्ने धेरैलाई थाहा छैन र थाहा भएकाहरू पनि बस्दैनन् । हामी बस्दा ढाड सोझो बनाएर बस्नुपर्छ । त्यसका लागि छुट्टै कुर्सी पनि पाइन्छ । अर्को कुरा चाहिनेभन्दा बढी एक्ससाइज गर्दा पनि समस्या हुन्छ । कतिपय व्यक्ति चाहिने भन्दा बढी व्यायम गर्नुहुन्छ यो राम्रो होइन । हामीले व्यायम गर्दा आफ्नो वेट स्टक्चर हेरेर व्यायम गर्नुपर्छ । जिममा जाँदा पनि ध्यान पुर्याउनुपर्छ । यस्ता समस्या हाम्रो खानपान, जीवनशैली वा अहिलेको प्रतिकुल मौसमका कारण पनि हुन्छ कि ? खानेकुराले पनि अहिले विभिन्न किसिमका समस्याहरू देखा पर्न थालेका छन् । पोलेको खानेकुरा, स्न्याक्स फुड खाँदा ब्रेनमात्र होइन अरु भागमा पनि यसको असर पर्छ । चुरोट, अल्कोहलजस्ता खानेकुराले पनि ब्रेनमा प्रेसर बढाउने, ट्युमर हुने जोखिम हुन्छ । अनावश्यक तौल बढ्छ, तौल बढ्दा सुगर हुने सम्भावना हुन्छ । सुगर हुँदा एउटा समस्या हुनेबित्तिकै अर्को जोखिम बढ्छ । यो सबैको जड भनेको खानपिन हो । ‘स्वस्थ मष्तिष्क, स्वस्थ्य जिन्दगी’ बनाउन खानाले पनि धेरै भूमिका खेल्छ । अहिले तपाईं कहाँ आउने बिरामी कुन उमेर समूहका बिरामी आउनुहुन्छ ? ब्रेन ट्युमरको समस्या जुनसुकै उमेरकालाई पनि हुन सक्छ । तर, ब्रेन ट्युमर प्रायः ३० देखि ४० भन्दा माथिको उमेर समूहमा हुन्छ भने नसा खिइएको, हड्डी च्यापिएकाे ५० वर्षभन्दा माथिकामा देखिन्छ । योभन्दा मुनिको उमेर समूहमा देखिँदैन भन्ने होइन, खासगरी ५० भन्दा माथिकाहरू समस्या ल्याएर आउँछन् । अब उपचारको कुरा गरौँ, यी सबै समस्याको उपचार नेपालमा कत्तिको सम्भव छ ? म ढुक्कका साथ भन्न सक्छु । नेपालमा ब्रेन र स्पाइनसम्बन्धी सबैखाले उपचार गर्न सकिन्छ ।   त्यो अनुसारको उपकरण र चिकित्सक नेपालमा छन् । यही समस्याका लागि विदेशिनु पर्देन । नेपाली आमाबाकै छोराछोरीबाट उपचार लिन सक्नुहुन्छ । हुन सक्छ कुनै अस्पतालसँग सबै व्यवस्था नहुन पनि सक्छ । तर, हामीलाई हाम्रो बिरामी उपचारमा कुनै औषधी वा उपकरण केही आवश्यक भयो भने विदेशी संस्थासँग पनि सहयोग मागेर उपचार गछौँ । काम गर्दै जाँदा देशभित्र मात्र हाेइन विभिन्न देशका संस्था चिकित्सकहरूसँगको सहकार्य पनि हामी गर्छौं । नेपाल भित्रै न्यूरो सर्जरी नेपालमै सम्भव छ । कतिपय अवस्थामा नोबेलमै नसकिने भयो अथवा बाहिर रेफर गर्नुपर्यो भने के गर्नुहुन्छ ? बिरामीको ज्यानलाई खतरामा राखेर हामीले काम गर्दैनौँ । यदि त्यो उपचार हाम्रोमा सम्भव छैन भने बाहिरबाट टोली बोलाउँछौँ , त्यसबाट पनि सम्भव भएन भने हामीसँग नभएको टेक्नोलोजी अरुसँग छ भने त्यही रिफर गर्छौैँ । हामीकहाँ आएको बिरामी हामीसँग दक्षता छैन अथवा उपकरण छैन भने बिरामीलाई हामी कहाँ राख्दा पनि राख्दैनौँ र यसरी राख्न पनि पाइँदैन । यो रोग लाग्यो भने यसको उपचारका लागि कति खर्च लाग्छ ? न्यूरो जर्सरी भनेको नयाँ नयाँ प्रविधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्छ । यसका लागि केही महँगो पर्न जान्छ । त्यो भनेर उपचार नै गर्न नसकिने भन्ने होइन । तर, अन्य देशमा गरिने उपचार भन्दा नेपालमा धेरै सस्तो पर्छ । कुनै पनि उपचार दिल्ली , सिंगापुरभन्दा नेपालमा धेरै सस्तो छ । तर, हाम्रो देशमा अवस्था अनुसार महँगो देखिन्छ । कतिपय बिरामी अस्पतालमा पैसा तिर्न नसकेरै आत्महत्या गर्नुपरेको घटना पनि हामीले देख्दै, सुन्दै आएका छौँ । तपाईंले काम गर्दै जाँदा यस्तो अवस्था कत्तिको देख्नुभयो ? कुनै पनि बिरामी अस्पतालमा उपचार गर्न आयो तर आर्थिक अभावका कारण उपचार गर्न नपाएर फर्किने अवस्था हामी सकेसम्म हुन दिदैनौँ । यसका लागि सबैभन्दा पहिले बिरामीलाई हामी रोगको बारेमा भन्छौँ । अनि बिरामीको अवस्था हेर्छौँ । बिरामीको आर्थिक अवस्था बुझेर कस्तो खालको उपचार दिनुपर्ने हुन्छ भन्ने कुरा हामीले अध्ययनकै क्रममा बुझेका हुन्छौँ । लास्ट स्टेजमा पुगेको बिरामी छ जसको उपचार गर्दा पनि लामो समय बाँच्ने अवस्था छैन भने यसमा धेरै भार असपतालले उठाउँदैन । तर, त्यही बिरामी पहिलो स्टेजमा छ, उपचार गर्दा लामो समय बाँच्ने छ, आर्थिक अवस्था न्यून छ भने अस्पताल प्रशासनमा कुरा गरेर हामी उपचार गर्छौं । यसरी धेरैजनाको ज्यान पनि जोगाएका छौँ । तर, कतिपय कुरामा आफूसँग छैन भनेजस्तो गर, म पैसा मिनाह गरिदिन्छु भन्ने केही बिचौलिय पनि सक्रिय हुन्छन् । यस्तो अवस्थामा हामी अध्ययन गरेर मात्र उपचार प्रक्रिया थाल्छौँ । नेपालमा धेरै जसो बिरामी निको नहुने अवस्थामा अस्पताल आइपुग्छन् । तपाईं कहाँ आउने बिरामी कस्तो अवस्थामा अस्पताल आइपुग्छन् ? अस्पतालमा आइपुग्ने अधिकांश व्यक्ति अन्तिम अवस्थामा आइपुग्छन् । कतिपय लामो समयदेखि औषधी खाएर बसेको, कतिपय समस्या भएको केही समयमै अस्पताल आइपुग्छन् । सबै स्टेजका बिरामीहरू आउँछन् । नोबेल अस्पतालमा सबै उपकरण पर्याप्त छन् हो ? उपकरणमा हरेक कुराहरू नयाँ थपिदै जाँन्छन् । आइफोनकै कुरा गरौँ ४ देखि अहिले १६ सम्म पुगेको छ । यसमा पनि यस्तै हो । कहिल्यै पर्याप्त भन्ने हुँदैन । दिनहुँ नयाँ नयाँ प्रविधि भित्रिरहन्छन् । प्रविधिमा नयाँ नयाँ कुराको विकास हुँदै जान्छ । जति नयाँ प्रविधि आयो त्यो आवश्यक पर्छ त्यसैले हाम्रो अस्पतालमा अब कुनै पनि प्रविधि आवश्यक छैन भन्ने अवस्था छैन । अब मान्छेको काम एआईले गर्न थाल्यो । डाक्टरको काम पनि गर्न थालेपछि एआईले अब डाक्टरको जागिर खान्छ भन्ने कुरा पनि बजारमा सुनिन्छ । के भन्नुहुन्छ ? यस्तो कहिल्यै हुँदैन । एआई बनाउने भनेको मान्छे हो । यसले धेरैजनाले गर्ने काम उसले सजिलै गरिदिन्छ । अहिले रोबटिक सर्जरी पनि भइरहेका छन् । तर, मान्छेको काम कुनै पनि प्रविधिले गर्न सक्दैन । एआई हाम्रो रिप्लेसमेन्ट होइन, सहयात्री हो । यसलाई हामीले राम्ररी चलाउनुपर्छ । एआई अहिले सबै फिल्डमा आवश्यक छ । यसले डाक्टरलाई सहयोग गर्ने हो तर, जागिर खोस्दैन । किन कि यो मान्छे जस्तो भरपर्दो कुरा होइन । अघि सुरुमै दुरविनबाट अप्रेसन गर्ने कुरा गर्नुभएको थियो यो कसरी गरिन्छ ? मेडिकल भाषामा दुरविन भनेको उउटा सानो इन्डोस्कप लाइट सिस्टम हो । त्यसलाई सानो प्वाल बनाएर मान्छेको दिमागभित्र छिराइन्छ । अथवा ढाडको नसा च्यापिएको छ भने त्यो ठाउँमा छिराइन्छ र त्यसमा सानो चिरा लगाएर औजारलाई भित्र पठाएर त्यो अप्रेसन गर्ने ठाउँलाई ठूलो बनाएर हेर्ने प्रविधि हो । हामीले सुनिरहेका हुन्छौँ, पित्त थैलिको दुरविनले अप्रेसन गरेको हामीले दिमागको अप्रेसन पनि दुरविनबाट सम्भव छ । तपाईं उपचार मात्र होइन अध्यापन पनि गराउँदै आउनुभएको छ । दुवै काम एकसाथ कसरी गर्दै आउनुभएको छ ? उपचार मात्र गर्नका लागि आफूलाई चाहिने चिजमात्र जाने हुन्छ । म एउटा रोगको विशेषज्ञ हो भने मलाई त्यतिमात्र जाने भयो । यति हुँदा राम्रो उपचार गर्न सकिन्छ । तर, विद्यार्थीलाई पढाउँदैछु भने उसको जिज्ञासा धेरै हुन सक्छ । म कक्षाकोठामा जाँदा विद्यार्थीलाई आफूले जानेभन्दा बढी कुरा दिएर जाने गरी तयारी गर्नुपर्छ यो चुनौती हो । तर, मलाई रमाइलो लाग्छ । मैले पढाएका विद्यार्थी अहिले राम्रा डाक्टर बनेका छन्, कोही पीएचडी पढ्दै हुनुहुन्छ, कोही अध्ययन गर्दै हुनुहुन्छ । नोबेल मेडिकल कलेजमा सामान्य टेक्निकल पार्टदेखि स्वास्थ्यसम्बन्धी विशेषज्ञाता सम्म पढाइ हुन्छ । न्यूरोलोजी, न्यूरोसर्जरीको पढाइ हुन्छ । उपचारको साथसाथै देशलाई भोलिका दिनमा चाहिने दक्ष जनशक्ति पनि उत्पादन गरिरहेका छौँ । काम गर्दा मजा चाहिँ पढाउन लाग्छ कि चिरफार गर्न ? दुईटै काम गर्न मजा आउँछ । मलाई ५१ प्रतिशत अप्रेसन गर्न मन लाग्छ भने ५० प्रतिशत अध्ययापन गर्न मन लाग्छ । मैले जानेका सिपहरू भोलिका पुस्तालाई हस्तान्त्रण गर्नुपर्यो, किनकि अबको केही वर्षपछि म अप्रेसन गर्न सक्दिनँ भनेपछि आफूले सिकेको ज्ञान अरूलाई दिनुपर्यो र देशलाई चाहिने म्यानपावर तयार पार्नुपर्यो । एक दिनमा कति अप्रेसन गर्नुपर्छ ? हामी महिनामा कम्तीमा ७० देखि ८० वटा अप्रेसन गर्छौ । दिनमा दुई-तीन, कहिले पाँचसम्म पनि अप्रेसन गर्नुपर्ने हुन्छ । अहिलेसम्म कतिको अप्रेसन गर्नुभयो ? म चिरफार गर्न लागेको करिब एक दशक भयो । अहिलेसम्म कतिको अप्रेसन गरेँ, उपचार गरे भन्ने जोडेर राखेको छैन । तर, १ वर्षमा पाँच सय भन्दा बढी अप्रेसन गर्छु । काम गर्दै जाँदा सबैभन्दा धेरै खुसी कतिखेर हुनुहुन्छ ? सबैभन्दा ठूलो खुरी र उपलब्धि भनेको बिरामीको ओठमा हाँसो देख्दा आउँछ । अर्धचेत अवस्थामा अस्पताल आएका बिरामी अर्को पटक फ्लोअप गर्न आउँदा हिँडेर आउनुहुन्छ । नसा च्यापिएका बिरामी अस्पताल आउँदा डर, रोग भोग, शोकमा आएका हुन्छन तर अप्रेसनपछि खुसी भएर जानुहुन्छ यो देख्दा आफूलाई पनि खुसी लाग्छ । अन्त्यमा केही भन्नुहुन्छ ? हाम्रो स्वास्थ्य महत्वपूर्ण हो । यसको बेलाबेला जाँच गरिरहनुपर्छ । सुँगर, प्रेसर कन्ट्रोल गर्नुहोस् । स्मोकिङ, अल्कोहल नपिउनुस् र खानेकुरामा पनि सचेत रहनुस् । चाहिनेभन्दा बढी तनाव नलिनुहोस् । तनाव सबैभन्दा बढी हानिकारक हुन्छ । अर्को कुरा परिवारसँग धेरै समय बिताउनुहोस् । किनकि सपरिवार एकै ठाउँ हुँदा तनाव हुँदैन । यति गर्दा पनि केही समस्या देखिहाल्यो भने अहिले नेपालमा सबै रोगको उपचार सम्भव छ । न्यूरो सर्जरीसम्बन्धी उपचारको लागि विदेशिनुपर्ने अवस्था छैन ।