फाइनान्स कम्पनी र विकास बैंकको बजार प्रशस्त छ-झपट बोहरा
भपट बोहरा बैंकिङ क्षेत्रमा चिनिएको नाम हो । मालिका विकास बैंकको संस्थापक कार्यकारी अध्यक्ष बोहरा पछि साझा विकास बैंकको अध्यक्ष हुँदै सिनर्जी फाइनान्सको अध्यक्ष बन्नु भएको छ । समस्यामा रहेको यो फाइनान्स उहाँको नेतृत्वमा सुधार होला वा नहोला ? तर धेरैले सुधारको आश गरेका छन् । प्रस्तुत छ : विकास बैंक संघका पूर्व अध्यक्ष समेत रहेका बोहरासँग फाइनान्स सुधारका योजना के छन् भनेर गरिएको विकास वहस ।[divider] झपट बोहरा,अध्यक्ष, सिनर्जी फाइनान्स लिमिटेड मालिका विकास बैंकको अध्यक्ष छोडेर साझा विकास बैंकको अध्यक्ष हुनुभयो, फेरी सिनर्जी फाइनान्सको अध्यक्ष हुनुभएको छ, किन यसरी संस्था परिवर्तन गरिरहनु भएको ? मालिका विकास बैंक मेरै अगुवाईमा स्थापना भयो । पहिलो पटक राजधानी बाहिर विकास बैंक स्थापना गर्ने कामको नेतृत्व गरेँ र १२ वर्ष मालिका विकास बैंकको कार्यकारी अध्यक्ष भएर काम गरेँ । मालिकालाई एउटा उचाईमा पुर्याएपछि मैले छोडेँ । ग्रोमर मर्चेण्ट बैंकर लिमिटेड पनि मेरै अगुवाईमा स्थापना भएको हो । यो कम्पनी प्रभु ग्रुपले लियो । साझा विकास बैंक पनि मेरै अगुवाईमा स्थापना भएको हो । त्यो राम्रै रुपमा सञ्चालन भैरहेको छ । म करिब महिनादेखि सिनर्जी फाईनान्सको अध्यक्ष बनेको छु । तत्कालिन एल्पिक एभरेष्ट फाइनान्सको थोरै सेयर किनेको थिएँ । मर्जपछि सिनर्जी फाइनान्स बन्यो । अहिले यो फाइनान्स सुधारको चरणमा छ । यसलाई पनि सुरक्षित अवतरण गराउनु पर्नेछ । मैले मालिकाको प्रमुख कार्यकारी अधिकृतका रुपमा मात्रै जागिर खाएँ । अहिले म कर्मचारी होइन, प्रोफेसनल बैंकर र इन्टरप्रेनर हुँ । इन्टरप्रेनरका रुपमा कम्पनीहरुको स्थापना गरिरहेको छु । प्रत्येक मान्छेले आफू भित्र रहेको उद्यमशिलता देखाउन सक्नुपर्छ । एकै ठाउँमा बसिरह्यो भने उद्यमशिलता निष्क्रिय हुन्छ । ठाउँ परिवर्तन गर्दा अवसर र ज्ञान समेत हासिल गर्न सकिन्छ । अहिले उद्यमशिलता देखाउँदै अघि बढिरहेको छु । यसले मलाई र मैले नेतृत्व गर्ने दुबै संस्थालाई फाइदा पुगेको हुन्छ । समस्यामा गुज्रिरहेको सिनर्जी फाइनान्सलाई कसरी अघि बढाउनु हुन्छ ? राम्रा संस्थाहरुमा जो सुकैले नेतृत्व गर्न सक्छन् । त्यहाँ मेरो आवश्यकता पनि पर्दैन । जहाँ समस्या र चुनौति छन्, त्यहाँ गएर ती चुनौतिहरुको सामना गर्दै अघि बढाउनुमा छुट्टै आनन्द हुन्छ । सिनर्जीमा हामीले सुधारका प्रक्रिया अघि बढाईसकेका छौं । अप्ठेरापछि सहज परिस्थिति आउँछ नै । हामी विधिको शासन र नीति नियमको पालना गर्छाै । नीति नियमको सच्चा पालना गर्दै कर्जा असुली द्रुतगतिमा अघि बढेको छ । खराब कर्जाधारीहरु पनि सम्पर्कमा आईरहेका छन् । पुस मसान्तसम्ममा करिब एक करोडको सञ्चालन मुनाफा आर्जन गरिसकेका छौं । संस्थालाई दीर्घकालिन रुपमा दिगो बनाउन सञ्चालकदेखि सबै कर्मचारी लागिपरेका छन् । चालु आर्थिक वर्षको अन्तिमसम्ममा संस्थाको अवस्था कस्तो हुन्छ ? असार मसान्त भित्र सिनर्जी फाइनान्सलाई यहि पूँजी, यहि व्यवस्थापन र यहि कर्मचारी संरचनाले सक्षमरुपले सञ्चालन गर्न सक्ने अवस्थामा पुर्याउँछौं । त्यो हाम्रो वित्तिय विवरणले देखाउने छ । १२ करोड कर्जा असुली गरियो भने नाफामा २४ करोडले वृद्धि देखिन्छ । असार मसान्तसम्ममा संचित नोक्सानी आधा भन्दा बढि घटाईसक्छौं । खराब कर्जा ३४ प्रतिशतबाट घटाएर २० प्रतिशत भन्दा तल झार्छाै । असार मसान्तसम्ममा फाईनान्सलाई सञ्चालन मुनाफामा लैजान सकिन्छ । लगानीकर्ताले प्रतिफल पाएपछि साँचो अर्थमा संस्था सुधारिएको मानिन्छ, सेयरधनीले लाभांश कहिले पाउँछन् ? थुप्रै व्याज असुली गर्न बाँकी छ, भाका नाघेका कर्जा छन् । गैर बैंकिङ सम्पति पनि धेरै छ । तीनको असुलीपछि लाभांश दिन सकिन्छ । अर्थतन्त्र सुध्रिदै गयो र हामीले भने जस्तै भयो भने आगामी आर्थिक वर्षको नाफाबाट लगानीकर्ताले केहि न केहि लाभांश पाउँछन् । खराव भएका कर्जाहरुको धितो सुरक्षणको अवस्था कस्तो छ ? हामी शतप्रतिशत खराब कर्जा असुल्न सकिन्छ भन्नेमा विश्वस्त छैनौं । तर धेरै जसो कर्जा भने असुल्न सक्छौं । खराब ऋणीहरुसँगको अन्तरक्रियाबाट धेरै हदसम्म ऋण उठाउन सकिन्छ भन्ने देखिएको छ । हामीसँग ७५ देखि ८० करोडको स्थिर सम्पति छ । नेपालका फाइनान्स कम्पनीमध्ये राम्रो स्थिर सम्पति भएको कम्पनी हो सिनर्जी । ३० देखि ४० करोडको पोर्टफोलियो तलमाथी भएपनि फरक पर्दैन् । हामीसँग ब्याकअप राम्रो छ । स्थिर सम्पति धेरै छ । ऋणीको ब्याक अप पनि राम्रो छ । केहिका लागि राईट ब्याक गर्नुपर्छ । केहिलाई बैंकिङ कसुर लगाउन सकिन्छ । बहुसख्याक ऋणमा धितो राम्रो छ । हामीले नयाँ भ्यालुएटर नियुक्त गरेर कर्जा र धितोका पुनः मुल्यांकन गरिरहेका छौं । कुन ऋणी र धितोको अवस्था के हो भनेर हेरिरहेका छौं । कर्जा तीर्न नसक्ने ऋणीका लागि एउटा फण्ड बनाएर काम गर्दैछौं । अप्ठेरोमा परेको ऋणी र संस्थालाई नै पनि यसले सहयोग नै गर्छ । हिजो धितो लिँदा दुई लाख मूल्य निर्धारण गरिएको थियो भने अहिले सात लाख मूल्य निर्धारण हुन सक्छ । त्यसकारण सिनर्जी फाईनान्स नयाँ ढंगले अघि बढ्छ र आफ्नो पोजिसन सुधार गर्छ । त्यसका लागि हामीले सबै प्रक्रिया अघि बढाईसकेका छौं । छिट्टै सकारात्मक परिदृष्य देख्न सकिन्छ । डिपोजिटको साईज पनि घटेको छ, लेण्डिङ पनि घटेको छ, तपाईले योजना बनाएअनुसरा उपलब्धी हासिल कसरी हुन्छ ? हामीसँग लगानीका पर्याप्त अवसरहरु नभएर एग्रेसिभले डिपोजिट नलिएका हौं । कर्जाको कुरा गर्ने हो भने कमर्सियल बैंकले ६ देखि ७ प्रतिशतमा कर्जा उपलब्ध गराईरहेका छन् । हामी सस्तोमा निक्षेप लिएर सस्तोमै कर्जा प्रवाह गराउने योजनामा छौं । छिट्टै निक्षेपमा पनि बढाउने र कर्जा पनि बढाउने लक्ष्य छ । निक्षेपमा दिने ब्याजदर र कर्जामा लिने ब्याजदरको तादम्यता मिलाएर निक्षेप र कर्जाको आकार बढाउँछौं । गत असोज मसान्तमा एक अर्ब ८० करोड निक्षेप थियो अहिले १० करोड बढेर एक अर्ब ९० करोड पुगेको छ । अब कर्जाको प्रवाह पनि बढ्छ । सबै शाखालाई टार्गेट दिईसकेका छौं । मर्जमा जाने वा आफैं पूँजी पुर्याउने हो ? अहिले बाफिया ऐनको संसोधन प्रक्रिया अघि बढेको छ । त्यसले फाईनान्स कम्पनीहरुको उदेश्य के के राख्छ ? के थपिन्छ वा के घटाईन्छ ? फाइनान्सलाई सञ्चालन गर्न सक्ने अवस्था रहन्छ वा रहन्न भन्ने पनि हेर्छाै । नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी वृद्धिको नियमको अक्षरस पालना गर्नु हाम्रो दायित्व हो । सोही अनुरुप फाईनान्स कम्पनी नै रहँदै ८० करोड पुँजी पुर्याउने कि विकास बैंकसँग मर्जमा जाने कि वा बाणिज्य बैंकसँग मर्जर वा एक्विजिसनमा जाने भन्ने सबै विकल्प खुल्ला छन् । जहाँ सहज हुन्छ त्यही सहकार्य हुन्छ । अहिले नै यहि गर्ने भन्ने निष्कर्ष निकालि सकिएको छैन । हाम्रो पहिलो लक्ष्य भनेको संस्थाको आन्तरिक वित्तय अवस्था सुधार्नु हो । अवस्था सुध्रेपछि बाणिज्य बैंकले पनि राम्रो मूल्य दिन्छन् । त्यसरी मर्जमा गईयो भने सेयरको मूल्य बढि पनि पाईन्छ र कर्मचारीको व्यवस्थापन पनि सहज हुन्छ । प्रारम्भिक चरणमा केहि संस्थाहरुसँग छलफल पनि गरिरहेका छौं । उपयुक्त समयमा उपयुक्त निर्णय गर्नेछौं । यी त तत्कालिन कार्यक्रम भए, दीर्घकालिन योजना के छन् ? स्ट्याण्डर्ड चाटर्ड बैंकले नै पनि पूँजी वृद्धिको योजना बुझाउन सकिरहेको छैन । हामी त फाईनान्स कम्पनी हौं त्यो पनि नाजुक अवस्थामा पुगेको छ । केन्द्रीय बैंकले दिएको पूँजी वृद्धिको योजना अनुसार हामी अघि बढ्ने हो । त्यसका लागि सबै विकल्पहरु खुल्ला गरेका छौं । हाम्रो पहिलो प्राथमिकता भनेको कम्पनीको वित्तीय अवस्था सुधार गर्ने नै हो । विकास बैंक र फाइनान्स कम्पनीहरुलाई सर्भाइभ हुन मुस्किल जस्तै देखिएको छ, कसरी अघि बढ्ने ? कतिपय विकास बैंकको सेयर मूल्य बाणिज्य बैंकको भन्दा बढी छ । डिपोजिट ग्रोथ र खराब कर्जा पनि बाणिज्य बैंकको भन्दा राम्रो देखिन्छ । ऐन कानुनले विकास बैंक र फाइनान्स कम्पनीलाई प्रशस्तै ठाउँ दिएको छ । त्यसको सदुपयोग गर्न सक्ने क्षमतामा भर पर्छ । उदेश्य, क्षेत्र र योजना साथ अघि बढियो भने खासै समस्या छ जस्तो मलाई लाग्दैन । क, ख, ग र घको वर्गिरकण हट्ने भन्ने सुनिएको छ । यद्यपी आफ्नो उदेश्य अनुसार अघि बढ्ने कुरामा समस्या नहोला । बणिज्य बैंक र विकास बैंक तथा फाईनान्स कम्पनीको ब्याजदरमा दुई गुणको अन्तर छ, यति ठूलो ब्याजदरको अन्तरलाई चिर्दै कसरी प्रतिष्पर्धा गर्ने ? घ वर्गका वित्तिय संस्थाले २० देखि २२ प्रतिशतमा कर्जा लगानी गरिरहेका छन् । सहकारीहरुले २४ देखि २८ प्रतिशतमा कर्जा लगानी गरिरहेका छन् । फाईनान्सले १२ देखि १८ प्रतिशतमा लगानी गरिरहेका छन् । विकास बैंकले १० देखि १४ प्रतिशतमा लगानी गरिरहेका छन् भने बाणिज्य बैंकहरुले ६ देखि १० प्रतिशतमा ऋण लगानी गरिरहेका छन् । सहकारी, फाइनान्स, विकास बैंक र बाणिज्य बैंकका आ आफ्नै प्रकारका उपभोक्ता छन् । सबैको आफ्नै बजार छ । बाणिज्य बैंक नभएको ठाउँमा विकास बैंक र फाइनान्सले बजार खोज्ने हो । कम लागतमा निक्षेप ल्याएर कम ब्याजदरमै ऋण लगानी गर्ने हो । वित्त कम्पनी र विकास बैंक तथा फाईनान्सले महंगो लागतमा निक्षेप संकलन गर्ने भएकाले ऋणको ब्याजदर पनि बढि नै हुन्छ । सबैको आफ्नै क्षेत्र र बजार छ । आत्तिनु पर्ने अवस्था छैन । तत्कालै नयाँ लगानी केमा गर्दै हुनुहुन्छ ? जीन्दगीको दुर्भाग्य भनौं, सात बर्षदेखि इन्स्योरेन्स कम्पनी पाईप लाईनमा थियो । ग्रोमर यति धेरै अघि बढि सक्यो तर इन्स्योरेन्स कम्पनी ल्याउन सकिएको छैन । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटिड (जिआईसी नेपाल) नाम थियो त्यसको । तर अहिलेसम्म पनि लाइसेन्स पाउन सकिरहेको छैन् । रेगुलेटरी बडिको आफ्नै नीतिले होला सायद लाईसेन्स पाईएन । ५० वर्षको उमेर पुग्यो । धनगढीमा बाख्रा पालन सुरु गरिसकेको छु । त्यसलाई व्यवसायीक रुपले अघि बढाउने भन्दा पनि कृषि प्रधान मुलुकको गरिमा जोगाउन भनेर मात्रै बाख्रा पालन सुरु गरेको हुँ । ८० भन्दा बढि बाख्रा छन् । बेचेर पैसा कमाउने भन्दा पनि सोख हो मेरो । बच्चामा स्कुल विदा हुँदा बाख्रा चराउन जान्थे । त्यसकै सम्झनामा बाख्रा पालेको हुँ । त्यसबाट आत्म सन्तुष्ठि मिल्छ । अब १५ वर्षजति सक्रिय जीवन बाँकी होला । अब सामाजिक काम तिर लाग्छु होला । अब दिन दुःखीको सेवा गर्ने सोच बनाएको छु ।
तीन वर्षमा माछापुच्छ्रे बैंकको विजनेशन तीन गुणाले, नाफा २० गुणाले बढ्यो
तुलसीराम गौतम, प्रमुख कार्यकारी अधिकृत, माछापुच्छ्रे बैंक लिमिटेड गत पुस मसान्तसम्ममा माछापुच्छ्रे बैंकको वित्तीय अवस्था कस्तो रह्यो ? चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक भईसकेको छैन । त्यसकारण मैले अहिले नै तपाईलाई भन्न सक्दिन । तर हामीले सोचेभन्दा राम्रो भएको छ । गत त्रैमासमा निक्षेप वृद्धि उल्लेख्य भएको छैन तर कर्जा लगानी तीन अर्बले वृद्धि भएको छ । पुरानाकर्जा असुलीमा राम्रो प्रगति भएको छ र नाफा पनि सोचेभन्दा राम्रोसँग भएको छ । तराई बन्द, नाकाबन्दीले अर्थतन्त्रमा नराम्रो असर परेको छ । उद्योग, व्यापार तथा सेवाका क्षेत्रहरु सबैलाई नोक्सान पुगेको छ । भूकम्पको असर पनि बाँकी छ । यस्तो प्रतिकूल अवस्थामा पनि कर्जा असुली राम्रो रह्यो र बैंकको नाफामा वृद्धि नै देखियो । हाम्रो मात्र होइन, पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्ने सबै बैंकको नाफा बढेको देखिन्छ । देशको आर्थिक अवस्था नाजुक छ तर बैंकको व्यापार र नाफा ‘सोचेभन्दा राम्रो भयो’ भन्नुहुन्छ, कसरी यस्तो भयो ? यसअघि एउटा बैंकको सीईओले पत्रिकामा दिनु भएको अन्तरवार्तामा पनि छापिएको छ कि तराई बन्द, नाकाबन्दीको असर बैंकमा सबैभन्दा पछि देखिने छ । पहिला यातायातमा देखियो, पछि उद्योगमा देखियो, त्यसपछि व्यापारमा देखियो, चैत मसान्त वा असार मसान्तसम्ममा त्यसको असर बैंकमा देखिन सक्छ । यस्तो असर ठूला कर्जामा देखिन सक्छ । घर कर्जा, सवारी कर्जा, अन्य साना कर्जाको भुक्तानीमा समस्या नआउला । किनभने हाम्रो समाजमा सकेसम्म बैंकबाट कर्जा नलिने, लिए पनि समयमा नै तिर्नुपर्छ भन्ने सोच छ । आफूसँग पैसा नभए आफन्त, साथीसर्कलसँग सापटी लिएर पनि बैंकको कर्जा तिर्ने अभ्यास छ । त्यसैले साना कर्जा समस्या आउला जस्तो मलाई लाग्दैन । तेस्रो, सबै क्षेत्र ध्वस्त भएको छैन । भूकम्पले ४/५ वटा जिल्लामा बढी असर गरेको छ । तराई बन्दले पनि तराईका ४/५ वटा जिल्लालाई बढी प्रभावित गर्यो । त्यसैले बैंकिङ क्षेत्रलाई धेरै असर नपर्न पनि सक्छ । ठूला व्यवसायीबाट पुस मसान्तमा कस्तो रेस्पोन्स आयो ? केही जिल्लामा नाकाबन्दको असर पर्यो । त्योभन्दा धेरै जिल्लामा लोडसेडिङको असर छ । तैपनि सिफ्ट गरेर उद्योग चलाएका छन् । ठूला व्यवसायीहरुले पनि पुस मसान्तमा व्याज किस्ता बुझाएका छन् । विगतमा नियमित कर्जाको किस्ता र व्याज बुझाउँदै आएका ऋणिले पुस मसान्तसम्ममा किस्ता र व्याज भुक्तानी गर्न नसके पनि उनीहरुलाई कारवाही नगर्न र उठ्न नसकेको व्याजलाई क्यापटलाईजेशन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यस निर्देशनका आधारमा बैंकहरुले कागजी नाफा मात्र देखाएका त होइनन् ? राष्ट्र बैंकले मुलतः दुई वटा सुविधा दिएको छ । पुस मसान्तसम्ममा आउनुपर्ने किस्ता र व्याज माघ मसान्तसम्ममा आयो भने पनि त्यसलाई पुस मसान्तसम्मको नाफामा देखिाउन पाइन्छ । दोस्रो, टर्म लोनको अवधि एक वर्षसम्म बढाउन सकिन्छ । यसबाट अन्ततः ऋणिलाई केही राहात मिलेको छ । ध्यान दिनुपर्ने विषय यो पनि छ कि राष्ट्र बैंकको सर्कुलर पुस मसान्तको कार्यालय समय सकिएपछि आयो । त्यतिबेलासम्म क्षमता भएका ग्राहकले बैंकमा पैसा बुझाई सकेका थिए । त्यसैले राष्ट्र बैंकको सर्कुलरले बैंकको नाफामा धेरै असर परेको छ भन्ने मलाई लाग्दैन । बैंकले गरेको नाफा कागजी नाफा मात्र हो कि भनेर शंका गर्नु पर्दैन । बैकिङ क्षेत्रमा कुनै समय यस्तो अभ्यास थियो कि व्याज पाक्यो कि नाफामा गणना हुन्थ्यो । तर अहिले खातामा नगद जम्मा नभएसम्म नाफा आम्दानी देखाउन पाईदैन । जति नाफा देखिएको छ, त्यो वास्तविक हो । यसमा शंका गर्नु पर्दैन । राष्ट्र बैंकको सर्कुलरले पछिल्लो समयमा नियमित किस्ता र व्याज नआएका केही कर्जाहरुमा तत्काल प्रोभिजन गर्नु नपर्ने व्यवस्था गरेको छ । हुनसक्छ केही कर्जामा प्रोभिजन गर्नु नपर्दा नाफामा असर गरेन । कहिले राजनीतिक संक्रमणको नाममा, कहिले भूकम्पको नाममा, कहिले नाकाबन्दीको नाममा राष्ट्र बैंकले पटक पटक ऋणिहरुलाई कर्जा भुक्तानी गर्न समय थप्दै आएको छ । यसले बैकिङ प्रणालीमा, बैकिङ प्रणालीप्रतिको विश्वसनियतामा असर गर्दैन ? व्याज भुक्तानी गर्ने समय एक महिना वृद्धि गर्दैमा, कर्जा भुक्तानी गर्ने अवधि एक वर्ष वृद्धि गर्दैमा कुनै समस्या हुँदैन । तर वारम्बार समस्या देखिनु आफैमा नराम्रो हो । व्याज भुक्तानी गर्ने समय पनि छ महिना/एक वर्ष बढाउनु पर्ने अवस्था आयो भने समस्या हुन्छ । असारको व्याज साउनमा, पुसको व्याज माघमा बुझाउँदैमा कुनै समस्या भने हुँदैन । भूकम्पले ७ खर्ब नोक्सान भयो, नाकाबन्दीले ८ खर्ब नोक्सान भयो, आर्थिक वृद्धिदर ऋणात्मक हुने जोखिम बढ्यो भन्ने रिपोर्टहरु आईरहेका छन् । तपाईको कुरा सुन्दा यस्तो लाग्छ कि बैकिङ क्षेत्र सुरक्षीत छ, बैंकहरुको नाफा वृद्धि भइराखेको छ । के बैकिङ क्षेत्र अर्थतन्त्र भन्दा अलग्गैको टापु हो ? अर्थतन्त्रको तुलनामा बैकिङ क्षेत्रको ग्रोथ राम्रो देखिनुको कारण के पनि हो भने बैंकमा निक्षेप राख्ने, बैंकबाट कर्जा लिएर व्यवसाय गर्ने अभ्यासको विकास हुँदै गएको छ । अझै पनि ग्रामिण क्षेत्रमा अझै बैंकिङ पहुँच कम छ । ग्रामिण क्षेत्रमा शाखा खोल्ने क्रम बढेको छ । बैंकमा खाता खोल्ने, बैंकमा निक्षेप राख्ने क्रम बढ्दो छ । आर्थिक वृद्धि रोकिए पनि घरमा राख्ने पैसा बैंकमा आउने क्रम बढेको छ । हिजो कर्जा नलिई व्यवसाय गर्नेहरु अहिले बैंकबाट कर्जा लिएर व्यवसाय गर्न थालेका छन् । यिनै कारण हुन् कि बैंकका आर्थिक वृद्धिदर कम हुँदा पनि बैंकिङ क्षेत्रको विस्तार उच्चदरमा भएको छ । आज (बुधबारसम्म) जति बैंकहरुले पुस मसान्तको रिपोर्ट सार्वजनिक गरे, उनीहरुको नाफा बढेको नै देखियो । धेरै बैंकको रिपोर्ट आउन बाँकी छ । चैतमा के हुन्छ भन्न सकिदैन । पुर्ननिर्माणमा सरकारले विनियोजन गरेको बजेट खर्च भयो भने एक खर्ब रुपैयाँ बजारमा आउँछ । अर्थतन्त्रलाई गति दिन त्यसले धेरै मद्दत गर्छ । निश्चित समय ५ लाख घर बन्दैछन् । सिमेन्ट, रड, गिठ्ठी, काठ लगायन निर्माण सामाग्रीको कारोबार बढ्छ । निर्माणकर्मी तथा श्रमिकहरुले राम्रो आम्दानी गर्नेछन् । त्यसको गुणात्मक असरले आर्थिक गतिविधि धेरै बढ्छ । त्यसैले बैकिङ क्षेत्रको विस्तारमा अझै पनि जारी हुन्छ भन्ने मलाई लाग्छ । यतिबेला कुन कुन क्षेत्रबाट कर्जा असुलीमा समस्या छ ? भूकम्प आएपछि सबै दैनिक पत्रिकामा घरहरु ध्वस्त भएको खवर छापिए । ढेड दर्जन टिभी च्यानलले भूकम्पले ध्वस्त भएको संरचना मात्र देखाए । तर वास्तवमा हेर्ने हो भने सबै घर ध्यवस्त भएका थिएनन् । तपाई यहि बैंकको कौशीमा गएर लाजिम्पाट काठमाडौं ठूलो भाग देख्न सक्नुहुन्छ र सबै घर सामान्य देख्न सक्नुहुन्छ । मेरो भनाई के हो भने भूकम्प र नाकाबन्दीले ठूलो क्षति भएको छ, तर क्षति नभएको क्षेत्र पनि धेरै छन् । टिभी र पत्रपत्रिका मात्र हेर्नेले सबै घर ध्वस्त भएको अनुमान गरे । त्यसको असर पर्यटन क्षेत्रमा पर्छ । विदेशी पर्यटकमा आधारित होटल र पर्यटन सेवाको क्षेत्र यतिबेला मारमा परेको छ । अरु क्षेत्रमा पनि असर परेको छ, तर थेग्नै नसक्ने अवस्था छैन । माछापुच्छ्रे र जनता बैंकबीच मर्जर प्रक्रिया कहाँ पुग्यो ? राष्ट्र बैंकबाट एलओआई पाएका छौं । आईटी र एक्काउन्ट मर्जतर्फ धेरै काम भईरहेको छ । मर्जरका व्यवस्थापकीय काम निरन्तर चलिरहेको छ । मर्जपछिको बैंकको अवस्था कस्तो हुन्छ ? मर्जपछि नाम माछापुच्छे« बैंक नै हुन्छ । मर्जपछि बैंकको निक्षेप करिव ६६ अर्ब रुपैयाँ हुन्छ, कर्जा करिव ५६ अर्ब रुपैयाँ हुन्छ । शाखा ९२ वटा हुन्छ । १०० भन्दा बढी एटीएम हुन्छ । कर्मचारी एक हजारभन्दा हुन्छ । यति ठूलो बैंक कसरी चलाउने योजना बनाउनु भएको छ ? एकदमै नयाँ र ठूलो काम होइन । विगत तीन वर्षमा माछापुच्छ्रे बैंकको विजनेशन तीन गुणाले बढ्यो । नाफा १८/२० गुणाले बढ्यो । शाखा र कर्मचारी थोरै वृद्धि भएको छ । ठूलो भएकै कारण तीन वर्षपहिले भन्दा अहिले यो बैंक चलाउन कुनै कठिन भएको छैन । मर्जपछि बैंक ठूलो भएकै कारण चलाउन कठिन हुन्छ जस्तो मलाई लाग्दैन । मर्जपछि शाखा संख्या घट्दैन । शाखा स्तरका कर्मचारी व्यवस्थापनमा कुनै समस्या आउँदैन । केन्द्रीय कार्यलयमा भने जनशक्ति व्यवस्थापन गर्न थप मिहेनत जरुरी छ । विभागीय प्रमुखहरुमा रिएडजस्टमेन्ट गर्नुपर्ने हुन्छ । त्यसमा सिनियरिटी, प्रोफाइल हेरेर रिएडजस्टमेन्ट हुन्छ । मर्ज पूर्व एउटा विभागमा ५ जना थिए भने मर्जपछि ७ जना चाहिन्छ नै । थप तीन जनालाई के गर्ने भन्ने प्रश्न उठ्छ । बढीमा २० जना कर्मचारी रिएडजस्टमेन्ट गर्नु पर्ने हुन्छ । ठूलो बैंक भईसकेपछि क्षेत्रीय कार्यालयको अवधारणमा पनि जानुपर्ने हुनसक्छ । हाल गर्दै आएको बाहेक नयाँ काम गर्न नयाँ विभागको आवश्यकता पनि पर्नसक्छ । मर्जपछि माछापुच्छ्रे बैंक कतिऔ स्थानमा हुन्छ ? विजनेशको हिसावले माछापुच्छ्रे अहिले एक्लै आठौ ठूलो बैंकमा पर्छ । मर्जपछि पक्कै पनि हामी पाँचौ वा छैटौमा पर्न सक्छौं । तर स्थिति तरल छ । अहिले ११ औ र १२ औं नम्बरमा रहेका बैंक मर्ज भए भने हामीभन्दा ठूलो हुन सक्छन् ।
प्रभु इन्स्योरेन्सले नाफाबाट पुँजी बढाउँदै लैजान्छ-सन्चित बज्राचार्य
सन्चित बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत, प्रभु इन्स्योरेन्स लिमिटेड प्रभु इन्स्योरेन्स लिमिटेडले माघ १ देखि लागु हुनेगरी कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा सन्चित बज्राचार्य नियुक्त गरेको छ । बज्राचार्यले विगत ११ महिनादेखि सोही कम्पनीमा कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै आउनु भएको थियो । उहाँ विगत आठ वर्षदेखि सोही कम्पनीमा आवद्ध हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट एमबीए, आईक्याटबाट एकाउण्ट टेक्निसियन डिग्री गर्नुभएका बज्राचार्यले सरकारी, गैरसरकारी संस्थाहरुमा काम गर्दै ४० वर्षको उमेरमा बीमा कम्पनीको व्यवस्थापकीय नेतृत्व समाल्नु भएको छ । उहाँको कार्य योजना के छ ? प्रस्तुत छ उहाँसँग गरिएको विकास वहस । [divider] प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएको छ, नयाँ योजना के छन् ? कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको मुख्य जिम्मेवारी भएको कम्पनीको व्यवसाय विस्तार गर्ने हो । सेवा सुविधालाई छिटोछरितो बनाउनु पर्यो । सेवाको गुणस्तर वृद्धि हुनुपर्यो । कम्पनीको कम्प्लाईन्स पार्ट राम्रो हुनुपर्यो । कमी कमजोरी सुधार गर्दै जानुपर्यो । र, लगानीकर्तालाई अधिकतम प्रतिफल दिन प्रयास गर्नुपर्यो । त्यसबाहेक सर्वसाधारणमा बीमाको महत्व बुझाउने, बीमा गर्ने संस्कारमा वृद्धि ल्याउने, बीमा क्षेत्रमा स्वच्छ प्रतिस्प्रर्धाको अभ्यास गर्ने मेरो योजना छन् । प्रभु इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था कस्तो छ ? कम्पनीको वित्तीय अवस्था राम्रो छ । असोज मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक भईसकेको छ । पुस मसान्तसम्मको वित्तीय विवरण तयार भईरकेको छैन । यद्यमी व्यापार विस्तार र नाफा निरन्तर वृद्धि गर्न सफल भईरहेको छौं । नाकाबन्दी, तराई बन्दको असर बीमा क्षेत्रमा कस्तो परेको छ ? गत बैशाखमा भूकम्पले धेरै जनधनको क्षति भयो । बीमा कम्पनीहरुलाई त्यसको प्रत्यक्ष नकारात्मक असर पर्यो । चालु आर्थिक वर्षको शुरुमा बीमा गर्ने क्रम बढ्दै थियो । फेरी नाकाबन्दी, तराई बन्दले यो क्षेत्र सुस्ताएको छ । यद्यपी चालु अर्थिक वर्षको पुस मसान्तसम्मको व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी नै भएको छ । भूकम्पपछि बीमा गर्नेको क्रम बढेको हो ? विनासकारी भूकम्पले झण्डै ९ हजार मासिनको ज्यान गयो । करिव ७ खर्ब बराबरको आर्थिक नोक्सानी भयो । एउटै प्राकृतिक विपत्तिले यतिधेरै जनधनको क्षति पुर्याएको संम्भवत नेपालको इतिकासमा सबैभन्दा ठूलो घट्ना हुनुपर्छ । यो साह्रै दुःखद क्षण हो । यस घट्नाले हामी सबैलाई पाठ सिकाएको छ । बीमा कम्पनीहरुको लागि पनि महत्वपूर्ण सिकाई भएको छ । सर्वसाधारणमा व्यक्तिको, सम्पत्तिको बीमा गर्नु पर्ने रहेछ भन्ने सन्देश गएको छ । तर मलाई आश्चर्य के लागि रहेको छ अझै सर्वसाधारणले स्वतस्फूर्त बीमा गर्ने तत्परता देखाएको छैनन् । बीमा बजारको विस्तार उत्साप्रद भने छैन । एक करोड रुपैयाँ लगानी गरेर घर बनाउनेले बैंकबाट ५० लाख रुपैयाँ कर्जा लिएको छ भने ५० लाख रुपैयाँको मात्र बीमा गरेको र क्षति भएपछि बीमा कम्पनीले अण्डर इन्स्योरेन्सको नाममा १५ लाख रुपैयाँ पनि भुक्तानी नगरेको समस्या देखियो । भूकम्पपछि अण्डर इन्स्योरेन्स गर्ने अभ्यास रोकियो कि जारी छ ? वास्तवमा अग्नि बीमा र भूकम्प बीमा बैंकमा निर्भर हुनगयो । त्यसको परिणाम अण्डर भ्यालुमा बीमा गरिए । भूकम्पपछि घर भत्केकाहरुले नविकरण गर्ने कुरा भएन । तर घरमा क्षति नभएका, कम क्षति भएका मानिसहरुले बीमा नविकरण गराउँदा पूर्ण भ्यालुको बीमा गराउन थालेका छन् । नयाँ बीमा गर्नेहरुले पनि फूल भ्यालुमा बीमा गर्न थालेका छन् । अब बीमा बजारको विस्तार कसरी होला ? विगतका वर्षहरुमा पनि बीमा बजारको विस्तार सामान्य गतिमा भईरहेको हो । चालु आर्थिक वर्षको वृद्धि पनि विगतमा भन्दा केही बढी छ । तर उच्चदरको वृद्धि भएन । नाकाबन्दी र तराई बन्द नभएको भए विस्तारको दर दोब्बर, तेब्बर हुने अनुमान गरिएको थियो । गत वर्ष १० प्रतिशतले व्यवसाय विस्तार गर्नेले यो वर्ष २०/३० प्रतिशतले विस्तार गर्न सक्थे । त्यो स्तरको वृद्धि देखिएको छैन । यद्यपी समय बाँकी छ । चालु आर्थिक वर्षको अझै पाँच महिना बाँकी छ । प्रभु इन्स्योरेन्समा भूकम्पको क्षतिबाफत कति दावी भएको थियो र कति भुक्तानी भयो ? संख्यात्मक रुपमा करिव ११ सय वटा दावी परेका थिए । यो दावीको करिव ७० प्रतिशत भुक्तानी गरिसकेका छौं । रकमका आधारमा ५० करोडभन्दा माथिको दावी हुने देखिन्छ । हामीले अहिलेसम्म ३२ करोड रुपैयाँ दावी भुक्तानी भएको छ । भूकम्प गएको नौ महिना वितिसक्यो । यो अवधिमा तपाईकै कम्पनीले दावी रकमको आधारमा करिव ४० प्रतिशत र संख्याको आधारमा ३० प्रतिशत भुक्तानी गर्न बाँकी देखियो, यति धेरै भूकम्प पीडित ग्राहकमाथि दावी भुक्तानी गर्न ढिला भएन ? यति ठूलो विपत्तीपछि पनि हामी निरन्तर काम गरिरहेका छौं । भूकम्प गएपछि बीमा कम्पनीहरु शनिवार, सार्वजनिक विदाको दिन समेत खुलेका छन् र हामीले एक दिन पनि आराम नगरि काम गरिरहेका छौं । सर्भेयरहरु खटिरहेका छन् । ठूलो रकमका बीमा दावी भएका केसहरुमा पुर्नबीमा कम्पनीबाट आएका सर्भेयरहरुले पनि अध्ययन गरिरहेका छन् । केही केसमा बीमितहरुले आवश्यक कागजपत्र पेश नगर्दा भुक्तानी ढिला भएको छ । केही केसहरु जटिल पनि छन् । त्यसैले ढिला हुन गएको हो । प्रक्रिया पुरा भएको दावीमा भुक्तानी रोकेका छैनौं । सर्भेयर प्रतिवेदन पनि तयार हुने हो र अनिवार्य पेश गर्नु पर्ने कागजपत्र ग्राहकले उपलब्ध गराउने हो भने कम्पनीले आगामी दुई महिनाभित्र सबै दावीको भुक्तानी गर्नेछौं । भूकम्पबाट बीमा क्षेत्रले के सिक्यो ? बीमा नगर्नेले केही पनि पाएका छैनन् । बीमा गर्ने सबैले क्षतिपूर्ति पाईरहेका छन् । फूल इन्स्योरेन्स गर्नेले सन्तोषजनक रकम पाएका छन्, अन्डर भ्यालुको बीमा गर्नेले कम पाएका छन् । त्यसकारण बीमा आफ्नै लागि रहेछ भन्ने सन्देश बीमितलाई गएको छ । बीमकले पनि ठूला विपत्ती आउन सक्छ, त्यस्तो वेलामा ग्राहकहरुलाई छिटो छरितो सेवा दिन सक्ने तयारी अवस्थामा बस्नु पर्ने रहेछ भन्ने सिकाई भएको छ । साथै, अग्नी र भूकम्प बीमामा बैकसँग मात्र निर्भर हुनु गल्ती भएछ भन्ने बजारको सिकाई छ । भूकम्प पछि पनि बीमा व्यवसाय विस्तार उल्लेख्य रुपमा वृद्धि नहुनुमा बीमा कम्पनीहरुको दिने सेवामा विविधता कमी, नविनताको कमी, बजारीकरणको लागि गरिएको कमजोर प्रयास दोषी होइन ? बीमा व्यवसाय विस्तार न्यूनस्तमा हुनुमा धेरै कारणहरु छन् । गरिबी मुख्य कारण हो । कुल ग्राहस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषिको छ । ६५ प्रतिशतभन्दा बढी मानिसहरु कृषि व्यवसायमा आश्रित छन् । उनीहरुलाई बीमा सेवा दिने प्रयास भरखरै शुरु भएको छ । गाउँस्तरमा बीमाको बारेमा जनचेतना फैलाउन सकिएको छैन । बाली तथा पशुपन्छी बीमाको प्रिमियममा सरकारले दिने अनुदान सहयोगबारे उचित जानकारी, बीमा गर्दा हुने लाभका बारेमा साधारण कृषक अझै बेखवर छन् । कृषकहरुले वृहत रुपमा बाली तथा पशुको बीमा गर्ने अभ्यास नहुँदासम्म बीमा कम्पनीहरुले पनि यो क्षेत्रबाट लाभ लिन सक्ने देखिदैन । यतिबेला बाली तथा पशुधनको बीमा गरेर कुनै पनि कम्पनीले नाफा कमाएका छन् भन्ने मलाई लाग्दैन । अहिले नाफा नभए पनि भविष्यमा राम्रो होला भन्ने आशामा बीमा कम्पनीहरुले यो क्षेत्रमा काम गरिरहेका छन् । बीमाबारेमा जनचेतना कमी ठूलो समस्या हो भनेर पहिचाहन भएको वर्षौ भयो, समाधानतर्फ प्रयास किन भएन ? बीमाको महत्व बुझाउने प्रयास सबैतिरबाट भएका छन् । सञ्चार माध्यमहरुले पनि बीमाको विषयलाई स्थान दिएका छन् । बीमा कम्पनीहरुले पनि आफ्ना सेवाबारे आमसञ्चारको माध्यमबाट लैजाने काम गरेको छन् । एजेन्टहरुले निकै मिहेनत गरिरहेका छन् । बीमा समितिले पनि प्रचार प्रसारको काम गरिरहेको छ । तर सबैले दिने सन्देश सहरी क्षेत्रमा सीमित छन् । ग्रामिण तहमा पुगेन । बीमा गर्नुपर्छ भन्ने जानकारी भएर पनि बीमा नगर्ने संस्कार अर्को ठूलो समस्या हो । सामाथ्र्य भएका, बीमाबारे जानकारी भएका मानिसहरु पनि बीमा गर्दैनन् । घर बनाउने बेलामा २ प्रतिशत व्याज बढी तिरेर ऋण लिन तयार हुने, व्याजमा वर्षमा लाख तिर्न तयार हुने मान्छे बीमा गर्दा वर्षमा हजार रुपैयाँ तिर्न तयार हुँदैन । यो पनि ठूलो समस्या हो । ५० लाख रुपैयाँ खर्च गरेर घर बनाउँदा बीमा शुल्क करिव ५ हजार रुपैयाँ लाग्छ । त्यो पनि तिर्न मानिस तयार हुँदैन । बुझाईमा नै समस्या भयो । बीमा कम्पनीहरुले पनि यसमा प्रो एक्टिभ रोल खेल्न नसकेका हुन् नि, होइन ? बीमा कम्पनीहरु सेवा बेच्न बसेका हुन् । उनीहरुको बढीभन्दा बढी मानिसलाई आफ्नो सेवा पुर्याउन चाहान्छन् । बीमा कम्पनीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नु छ । भएका ग्राहकले नछोडुन्, नयाँ ग्राहक ल्याउन सकियोस् भन्ने चाहाना सबै कम्पनीको हुन्छ । बीमा व्यवसाय एजेन्टबाट हुने भएकाले एजेन्टहरु घरदैलोमा पुगेका हुन्छन् । बीमा बुझेका मान्छे बीमा कम्पनीमा आएर बीमा गरिदिनुहोस् भन्छन्, नबुझेका मान्छेलाई बुझाउन गाह्रो छ । पछिल्लो समयमा फेक क्लेम बढेको भन्ने सुन्नमा आएको छ, बास्तविकता के हो ? प्रक्रिया पुरा गरेर, प्रमाण जुटाएर आएका दावीलाई फेक वा फर्ड क्लेम भनेर हामीले भन्न मिल्दैन । केही ग्राहकहरु घट्ना भएपछि पनि प्रक्रिया पुरा गर्न, आवश्यक कागजपत्र जुटाउन नसकिरहेको पाईन्छ । केही ग्राहकको नियत अलि खराव हुन्छ । हुँदै नभएको क्षतिमा दावी गर्ने गरेको पाइन्छ । तराई बन्दको क्रममा केही सवारीमा सवारी मालिकले आफैले आगो लगाएको खबर पनि आए । तर सबुत प्रमाण जुटाएर कसैले ल्याउँछ भने बीमा कम्पनीले त्यसलाई झुटो हो भनेर प्रमाणीत गर्न सक्दैन । प्रभु इन्स्योरेन्सका सेयरधनीले आगामी आर्थिक वर्षमा कस्तो प्रतिफल पाउँलान् ? बीमा कम्पनीले भविष्यमा दिने लाभांशबारे अनुमान गर्नु नै गलत हुन्छ । भविष्यमा के कस्तो घट्ना घट्छ, त्यसको असर बीमा कम्पनीलाई कति पर्छ भनेर अनुमान गर्न गाह्रो छ । कम्पनीको व्यस्थापनले पक्कै पनि व्यवसाय विस्तार गर्न चाहान्छ र नाफा वृद्धि गर्न चाहान्छ । यस कम्पनीले विगतका वर्षहरुमा पनि १०/१५ प्रतिशत लाभांश दिएको छ । विगतमा भन्दा बढी लाभांश दिने लक्ष्यका साथ काम गरिरहेका छौं । गत वर्ष भूकम्पले ठूलो क्षति पुर्यायो । त्यतिधेरै क्षति हुँदा पनि पुस मसान्तसम्म साधारणसभा गर्ने प्रभुसहित तीन वटै निर्जीवन बीमा कम्पनीले १२ प्रतिशतभन्दा बढी लाभांश दिए । यसको बीमा कम्पनीको सेयरमा लगानी गर्नु सुरक्षीत लगानी हो ? यो जटिल प्रश्न हो । निर्जीवन बीमा कम्पनीमा गरिएको लगानी उच्च जोखिमपूर्ण हुन्छ । गत वर्ष भूकम्पले सबैभन्दा बढी नोक्सान निर्जीवन कम्पनीमा पुर्याएको हो र पनि पुस मसान्तसम्म साधारणसभा गर्ने सबै कम्पनीले राम्रो डेविडेन्ट दिए । त्यसो भन्दैमा यो क्षेत्रमा जोखिम हुँदैन भन्ने होइन । बीमा कम्पनीहरुको सेयर मूल्य किन बढीरहेको छ ? तपाईले भनेजस्तै गत वर्ष ठूलो क्षति बेहोरेको अवस्थामा पनि बीमा कम्पनीहरुले लाभांश दिए, भविष्यामा किन नदेलान् भन्ने विश्वास लगानीकर्तामा पलाएको पनि होला । साथै पुँजी वृद्धिको लागि नयाँ ऐनमा प्रस्ताव गरिएकोले बोनस सेयर पाइन्छ भन्ने पनि हो ।