बैंक तथा वित्तीय संस्थामा आक्रमण भए कडा कदम चालिन्छ : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालैका दिनमा बैंक तथा वित्तीय संस्था तथा त्यहाँ कार्यरत कर्मचारीलाई लक्षित गरी भएका विभिन्न घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाविरुद्ध हुने गैरव्यावसायिक र उच्छृङ्खल गतिविधिले वित्तीय सेवा प्रवाहमा गम्भीर असर पार्ने चेतावनी दिएको छ । नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाको संयुक्त प्रयासका कारण सबै स्थानीय तहसम्म बैंकिङ सेवा विस्तार भई सर्वसाधारणलाई निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा भत्तालगायतका वित्तीय सेवा सहज रूपमा उपलब्ध हुँदै आएको राष्ट्र बैंकले जनाएको छ। 'बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र यस बैंकको निर्देशनको अधिनमा रही कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जा सम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य हो,' मंगलबार बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सर्वसाधारणबाट संकलित निक्षेपको सुरक्षा सुनिश्चित गर्न ऋणीले लिएको कर्जा समयमै भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ। यद्यपि, कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा कठिनाइ भएमा राष्ट्र बैंकले समय–समयमा कर्जा पुनरसंरचना तथा पुनर्तालिकीकरणजस्ता व्यवस्था गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। बैंकिङ कारोबारसम्बन्धी कुनै गुनासो भएमा सम्बन्धित बैंक तथा नेपाल राष्ट्र बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेको जनाउँदै ग्राहकलाई मर्का परेको महसुस भएमा कानुनी र संस्थागत माध्यमबाट समाधान खोज्न आग्रह गरिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीविरुद्ध हुने गैरजिम्मेवार व्यवहार तथा उच्छृङ्खल गतिविधि नियन्त्रण नभए वित्तीय साधन परिचालनमा कठिनाइ आउने भन्दै यस्ता क्रियाकलापमा संलग्न नहुन सबैलाई सचेत गराएको छ । साथै, यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिँदै वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको मनोबल उच्च राखी कार्य गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने

काठमाडौं । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी)बाट प्राप्त हुने करिब रु १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।     सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहाको लहान नगरपालिकाको १–१५–१० विघा जग्गा तथा सोमा बनेको भवनसमेत रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालका नाममा हस्तान्तरण गर्दा लाग्ने लाभकर छुट दिने निर्णय गरेको छ । बैठकले यही पुस १२ देखि १४ गतेसम्म काठमाडौंमा सञ्चालन हुने नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको नवौँ बैठकमा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिको संयोजकत्वको प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि कृषि तथा पशुपछी विकास मन्त्रालयअन्तर्गत सञ्चालित सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाको लागि अधिकृतस्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । बैठकले युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ ।      यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, वंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका दुईजना महासेनानीको सहायक रथी र एकजना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने तथा छ जना उपरथी र सातजना महासेनानीको सरूवा गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवम्  नेपाल सरकारका प्रवक्ता खरेलले जानकारी दिए । 

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा

पोखरा । नबिल बैंकले पोखरा शाखामा छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सीईओ आदर्श बजगाईंले एक कार्यक्रमकाबीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप काठमाडौं उपत्यका बाहिर पहिलोपटक लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, बौद्ध र कौशलटार शाखाहरुबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।  लाउञ्ज उद्घाटन गर्दै डेपुटी सीईओ बजगाईंले भने, 'ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौं । यसबाट हाम्रा ग्राहकले व्यक्तिगत तथा सहजरुपमा उच्चस्तरीय बैंकिङ सेवा अनुभव गर्न पाउने छन् ।'  नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकले रिलेसनसिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, सहज बैंंकिङ लाउञ्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिनसक्ने जनाइएको छ ।  नबिल प्रायोरिटी बैंकिङसम्बन्धी थप जानकारीका लागि बैंकको वेबसाइटमा लगइन तथा ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क गर्न सकिनेछ ।