एसबीआई बैंकको सिन्धुली शाखामा ३ करोड ११ लाख लुटपाट, सुरक्षागार्डमाथि खुकुरी प्रहार

काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखामा मंगलबार (हिजो) साँझ लुटपाट भएको छ । बैंकका एक उच्च अधिकारीका अनुसार साँझ करिब साढे ६ बजेतिर एक समूहले बैंक शाखामा प्रवेश गरी लुटपाट गरेको हो । लुटपाटमा संलग्न समूहले ठूलो रकम लुटेको प्रारम्भिक जानकारी आएको बैंकका उच्च अधिकारीले बताए । उनका अनुसार प्रारम्भिक विवरणअनुसार करिब ३ करोड ११ लाख रुपैयाँ लुटिएको छ । यद्यपि लुटेराले लुटपाटकै क्रममा १ करोड ८० लाख रुपैयाँ फालेको र उक्त रकम फेला परिसकेको उनको भनाइ छ । घटनापछि मंगलबार राति नै बैंकको केन्द्रीय कार्यालयबाट बागमती प्रदेशका प्रमुख सुशील श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको र बिहान करिब ४ बजे त्यहाँ पुगिसकेको उनले बताए । घटनाको यथार्थ विवरण संकलन तथा औपचारिक रिपोर्टिङको प्रक्रिया जारी रहेको उनको भनाइ छ । लुटपाटमा प्रयोग गरिएको गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बैंकका उच्च अधिकारीले बताए । लुटपाटका क्रममा बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरिएको छ । गार्ड घाइते भए पनि अवस्था गम्भीर नभएको उनले बताए । बैंकका अन्य कर्मचारीलाई भने कुनै शारीरिक क्षति नभएको उनले बताए । लुटेराले केहीबेर कर्मचारीहरूलाई नियन्त्रणमा लिएर कोठाभित्र डोरीले बाँधेर राखेको भए पनि हाल सबै कर्मचारी सुरक्षित रहेको जानकारी प्राप्त भएको उनको भनाइ छ ।  घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान तथा चेकजाँच भइरहेको उनले बताए । 

माछापुच्छ्रे बैंक र टेनपेबीच सम्झौता भएपछि चिनियाँ पर्यटकलाई नेपालमा डिजिटल भुक्तानी सहज

काठमाडाैं । नेपालमा भित्रिने चिनियाँँ पर्यटकका लागि डिजिटल भुक्तानी सेवा सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले टेनपे पेमेन्टसँग सम्झाैता गरेको छ ।  टेनपे पेमेन्ट चीनमा ह्वीच्याट पे सञ्चालन गर्ने ठूलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो ।  उक्त सम्झौतापश्चात माछापुच्छ्रे बैंकले ह्वीच्याट पेको माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्नेछ । जसअन्तर्गत चिनियाँ पर्यटकहरूले नेपालमा चिनियाँ मुद्रा सीएनवाई प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् भने नेपाली व्यापारीहरूले सोझै नेपाली रुपैयाँमा रकम प्राप्त गर्नेछन् ।  यसरी चिनियाँँ पर्यटकले प्रत्यक्ष रुपमा कारोबार गर्न सक्ने हुँदा पर्यटन, खुद्रा व्यापार तथा सेवा क्षेत्रमा सहज र सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।  यो सम्झौताले डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंकका विभिन्न रणनीतिक पहलहरूमा पनि टेवा पुर्याउने विश्वास बैंकले लिएको छ । साथै उक्त सम्झौताले वित्तीय डिजिटल समावेशीकरण, नगद–रहित अर्थतन्त्र र भुक्तानी पूर्वाधारको आधुनिकीकरणमा समेत उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

कालो धनको चलखेल बढ्दै, शङ्कास्पद कारोबार साढे ९ हजार नाघ्यो

काठमाडौं । नेपालमा शङ्कास्पद वित्तीय कारोबार तथा गतिविधि उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा शङ्कास्पद कारोबार ३० प्रतिशतले वृद्धि भई ९ हजार ५६५ वटा पुगेका छन् । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा गोएएमएल प्रणाली मार्फत वित्तीय सूचना सङ्कलन उल्लेख्य रूपमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा गोएएमएलमा आबद्ध सूचक संस्थाहरूको सङ्ख्या १ हजार ६३९ रहेकोमा आव २०८१/८२ मा ३ हजार ४९७ पुगेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा गोएएमएल प्रणालीमार्फत वित्तीय सूचना सङ्कलन उल्लेखनीय रूपमा विस्तार भएको छ । आर्थिक वर्ष २०८०/८१ मा गोएएमएलमा आबद्ध सूचक संस्थाको सङ्ख्या १ हजार ६३९ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा उक्त सङ्ख्या बढेर ३ हजार ४९७ पुगेको छ । राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी कार्यमा हुने वित्तीय लगानी निवारण तथा आमविनाशका हातहतियारको निर्माण तथा विस्तारमा हुने वित्तीय लगानी रोकथामका लागि गरिएका नीतिगत र सञ्चालनगत कार्य तथा कार्यक्रमको विस्तृत विवरण समेटिएको छ । प्रतिवेदनमा इकाईमा प्राप्त भएका प्रतिवेदनहरूको विश्लेषण, ती तथ्याङ्कको सम्बन्धित निकायमा सम्प्रेषण, आन्तरिक तथा अन्तर्राष्ट्रिय समन्वयको अवस्था र आगामी रणनीतिक प्राथमिकतासमेत उल्लेख गरिएको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष इकाईले सूचनाको सुरक्षा, गोपनीयता तथा प्रयोगसम्बन्धी मार्गदर्शन तयार गर्नुका साथै गोएएमएल प्रणालीको जारी तथा अद्यावधिक, शङ्कास्पद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन अद्यावधिक गर्ने कार्य सम्पन्न गरेको छ । साथै, वर्षभरि नै सूचक संस्था, नियामकीय निकाय, कानुन कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थाहरूका लागि लक्षित क्षमता विकास, अभिमुखीकरण तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको राष्ट्र बैंकले जनाएको छ । प्राप्त प्रतिवेदनहरूको विश्लेषण पनि अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशतले वृद्धि भएको छ । विश्लेषणपश्चात् वित्तीय जानकारी इकाईले ९४५ वटा एसटीआरएस तथा एसएआरएसमा आधारित वित्तीय जानकारी प्रतिवेदन नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायहरूमा सम्प्रेषण गरेको जनाएको छ । यसबाट वित्तीय अपराधको पहिचान, अनुसन्धान तथा अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको राष्ट्र बैंकको विश्वास छ । गत वर्ष इकाईले विभिन्न विदेशी वित्तीय जानकारी इकाईसँग ६४ वटा सूचना आदान–प्रदान गरेको छ । यसले सीमापार वित्तीय कारोबारबाट उत्पन्न हुने जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी तथा नयाँ प्रकृतिका अपराध प्रवृत्तिविरुद्ध अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ र विस्तार गर्न सहयोग पुगेको राष्ट्र बैंकले जनाएको छ । साथै, एशिया प्यासिफिक ग्रुप (एपीजी) ले सन् २०२३ मा गरेको पारस्परिक मूल्याङ्कनपछि नेपाल ग्रे–लिस्टमा परेपछि वित्तीय जानकारी इकाईमार्फत भएका समन्वयात्मक प्रयासहरूलाई समेत प्रतिवेदनमा समेटिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।