ऋणी बढे, ऋण बढेन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा ऋणीहरूको संख्या २० लाख नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मङसिरसम्म बैंक तथा वित्तीय संस्थाहरूमा ऋण खाता संख्या २० लाख १२ हजार ९९४ पुगेको हो । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.४० प्रतिशत अर्थात् ८४ हजार ८८४ ले बढी हो । गत आर्थिक वर्ष २०८१/८२ को मङसिरसम्म ऋण खाता संख्या १९ लाख २८ हजार ११० रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको तथ्याङ्कअनुसार पछिल्लो एक वर्षमा वाणिज्य बैंक र वित्त कम्पनीहरूमा ऋण खाता संख्या बढेको छ भने विकास बैंकहरूमा भने ऋण खाता घटेको देखिन्छ । वाणिज्य बैंकहरूमा ऋण खाता संख्या ४.०१ प्रतिशत अर्थात् ६४ हजार ४४१ ले बढेर १६ लाख ६९ हजार ८९४ पुगेको छ । गत वर्षको मङसिरमा वाणिज्य बैंकहरूमा १६ लाख ५ हजार ४५३ ऋण खाता सञ्चालनमा थिए । यस्तै, वित्त कम्पनीहरूमा ऋण खाता संख्या उल्लेखनीय रूपमा बढेको छ । चालु आवको मङसिरसम्म वित्त कम्पनीहरूमा ऋण खाता संख्या ७६.१४ प्रतिशत अर्थात् ३३ हजार ४१० ले बढेर ७७ हजार २८५ पुगेको छ । गत वर्षको सोही अवधिमा वित्त कम्पनीहरूमा ऋण खाता संख्या ४३ हजार ८७५ मात्रै थियो । तर, विकास बैंकहरूमा भने ऋण खाता संख्या घटेको छ । गत वर्षको मङसिरमा २ लाख ७८ हजार ७८२ ऋण खाता रहेकोमा चालु आवको मङसिरमा घटेर २ लाख ६५ हजार ८१५ मा झरेको छ । यो ४.६५ प्रतिशत अर्थात् १२ हजार ९६७ ले घटेको हो । समग्रमा ऋण खाता संख्या बढेको देखिए पनि कर्जा रकमको वृद्धि भने सुस्त देखिएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको मङ्सिरसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशत अर्थात् १ खर्ब २ अर्ब २४ करोड रुपैयाँ मात्रै बढेको छ । जबकि गत वर्षको सोही अवधिमा निजी क्षेत्रमा ३.५ प्रतिशत अर्थात् १ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । एभरेष्ट बैंकका नायब महाप्रबन्धक (डीजीएम) केशवराज पौडेलका अनुसार ऋणी संख्या बढ्नुको मुख्य कारण साना कर्जाको विस्तार हो । ‘घर, कार तथा साना कर्जाको माग बढेको छ । हाल ब्याजदर सस्तो भएकाले पनि रिटेल कर्जा बढेको देखिन्छ । तर ठूला उद्योगतर्फ ठूलो कर्जा गएको छैन,’ उनले भने । माछापुच्छ्रे बैंकका डीजीएम सुभाष जमरकट्टेलका अनुसार कर्जा प्रवाह अझै सुस्त रहेको छ । तर, एउटै ग्राहकले अन्य कुनै प्रयोजनका लागि कर्जा लिँदा नयाँ खाता खोल्नुपर्ने भएकाले ऋण खाता संख्या बढेको हुन सक्ने पौडेलको भनाइ छ ।   ‘नयाँ ठूला परियोजनाको माग छैन । रिटेल र एसएमई कर्जा सामान्य रूपमा गइरहेको छ । साथै एउटै ग्राहकले फरक प्रयोजनका लागि नयाँ लोन एकाउन्ट खोल्दा पनि ऋण खाता संख्या बढेको देखिन सक्छ,’ उनले भने । एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) अर्जुनराज खनिया बैंक तथा वित्तीय संस्थाहरूमा ऋण खाता संख्या बढ्दै गए पनि वास्तविक रूपमा नयाँ ऋणीको संख्या भने उल्लेखनीय रूपमा नबढेको बताउँछन् । उनका अनुसार एउटै व्यक्तिले फरक–फरक प्रयोजनका लागि धेरै लोन लिँदा ऋण खाता संख्या बढेको देखिन्छ, तर यसलाई नयाँ ऋणी थपिएको रूपमा बुझ्न नहुने स्पष्ट पारे ।  ‘एउटै व्यक्तिले पहिला दुई वटा लोन लिएको थियो भने अहिले अर्को एउटा थपिँदा तीनवटा लोन एकाउन्ट हुन्छन् । तर ऋणी त एउटै हो । त्यसैले लोन एकाउन्ट बढ्नु र ऋणी संख्या बढ्नु फरक कुरा हो,’ उनले भने ।  खनियाले हालको आर्थिक अवस्था र कर्जा मागको प्रवृत्तिले धेरै नयाँ ऋणी थपिएको संकेत नगर्ने बताए । उनका अनुसार कर्जा रकममा देखिएको केही वृद्धि पनि ब्याज क्यापिटलाइजेसनका कारण भएको हो । हाल करिब ५६ खर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमध्ये ठूलो अंश ब्याज पुँजीकरणमार्फत जोडिएको उनको भनाइ छ ।  ‘अर्थतन्त्रको अवस्था हेर्दा ऋणी धेरै बढेको जस्तो देखिँदैन । हाइड्रोपावर, ठूला पूर्वाधार आयोजना, ओभरड्राफ्ट सुविधा तथा पुनर्संरचना (रिस्ट्रक्चरिङ) गरिएका कर्जामा सञ्चालनमा नआउँदासम्म ब्याज क्यापिटलाइज हुने प्रचलन छ,’ उनले भने, ‘हाइड्रो आयोजनाले सञ्चालनमा नआउँदासम्म ब्याज तिर्दैनन्, त्यो ब्याज ऋणमै जोडिन्छ । ओभरड्राफ्ट र रिस्ट्रक्चरिङ कर्जामा पनि यही अभ्यास हुन्छ । यी सबै कारणले कर्जा रकम र लोन एकाउन्ट संख्या बढेजस्तो देखिए पनि वास्तविक रूपमा नयाँ कर्जा विस्तार र नयाँ ऋणीको संख्या भने सीमित नै रहेको देखिन्छ ।’ ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिल ढकालका अनुसार विकास बैंकहरूले माइक्रोफाइनान्स कर्जा दिन बन्द गरी सेटलमेन्टतर्फ गएपछि साना ऋणीको संख्या घटेको हो । उनका अनुसार ऋणी संख्या घटेको भनिए पनि त्यसको प्रभाव ठूला ऋणीमा भने देखिएको छैन ।  ‘सानासाना माइक्रोफाइनान्स ऋणी घटेका हुन्, ठूला ऋणीमा भने खासै ठूलो मूभमेन्ट छैन,’ ढकालले भने । माइक्रोफाइनान्सका ग्राहकहरू सेटलमेन्टमा गएपछि ऋणी संख्या घटेको तथ्य स्पष्ट भएको उनले बताए । ढकालका अनुसार ऋणी संख्या घट्नुको कारणबारे डेभलपमेन्ट बैंकर्स एशोसिएसनमा समेत छलफल गरिएको थियो । उक्त छलफलबाट पनि ऋणी संख्या घट्नुको मुख्य कारण ठूला कर्जाग्राही नभई साना माइक्रोफाइनान्स ऋणी नै रहेको निष्कर्ष निकालिएको उनले जानकारी दिए । उनका अनुसार ऋणीको संख्या बढ्नुलाई आर्थिक गतिविधि विस्तार र अर्थतन्त्र चलायमान भएको संकेतका रूपमा लिने गरिन्छ । ऋण लिएर उद्यम र व्यवसाय सञ्चालन गर्नु सकारात्मक मानिए पनि हाल विकास बैंकहरूको तथ्याङ्कले साना ऋणी घटेको अवस्था देखाएको उनको भनाइ छ । 

कुमारी बैंकको साढे १४ लाख कित्ता सेयर बिक्रीमा, क-कसले खरिद गर्न पाउँछन् ?

काठमाडौं । कुमारी बैंकको साढे १४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि प्रस्ताव गरेका हुन् । बैंकका अनुसार १४ लाख ६२ हजार ९३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य तोकी आवेदन दिनुपर्नेछ । यदि तोकिएको ३५ दिनभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड रहेको छ । इच्छुकले क्यापिटलको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

कामना सेवा विकास बैंकको नाफामा २३.३४ प्रतिशत उछाल, निक्षेप र कर्जा दुवै बढ्यो

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा ३९ करोड ४५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको ६ महिनामा बैंकले ३२ करोड २४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा बैंकको खुद नाफा २३.३४ प्रतिशत अर्थात ७ करोड २० लाख रुपैयाँ बढी हो ।  चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ११.१८ प्रतिशत बढेर १ अर्ब २१ करोड १४ लाख ६८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८ करोड ९५ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  साथै चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ९.१६ प्रतिशत बढेर १६ करोड ८६ लाख ५१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १०.८१ प्रतिशत बढेर १ अर्ब ४२ करोड ९६ लाख ८१ हजार रुपैयाँ, सञ्चालन नाफा २०.९० प्रतिशत बढेर ५६ करोड ७२ लाख ७६ हजार रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २९ करोड ५७ लाख ६६ हजार रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता १५.३२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ३७ करोड ५५ लाख ८४ हजार रुपैयाँ र लाभांश क्षमता २१.४० प्रतिशत थियो ।  दोस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी ३ अर्ब ८६ करोड १९ लाख ३० हजार रुपैयाँ, जगेडा कोष १ अर्ब ९४ करोड ६८ लाख ८ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँ र जगेडा कोष १ अर्ब ८३ करोड ९० लाख ३८ हजार रुपैयाँ थियो ।  चालु आवको पुससम्ममा बैंकको निक्षेप संकलन १.२५ प्रतिशत बढेर ६३ अर्ब ६२ करोड ४३ लाख २२ हजार रुपैयाँ र कर्जा प्रवाह ४.०७ प्रतिशत बढेर ५२ अर्ब १० करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ७ करोड ७४ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८.३७ रुपैयाँबाट बढेर २०.४३ रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १५८.०७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २२.१७ गुणा रहेको छ ।  चालु आवमा बैंकले खराब कर्जा (एनपीएल) घटाएको छ । गत वर्षको पुसमा ४.३५ प्रतिशत एनपीएल रहेकोमा चालु आवको पुसमा ४.१० प्रतिशतमा झारेको छ । यस्तै बैंकको खुद एनपीएल १.७२ प्रतिशतबाट झारेर ०.७७ प्रतिशतमा सीमित राखेको छ ।  बैंकका अनुसार दोस्रो त्रैमासमा आधार दर ७.७२ प्रतिशतबाट घटेर ६.१७ प्रतिशत, कस्ट अफ फण्ड ५.६५ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा सीमित राखेकाे छ ।