स्याङ्जामा नौ उम्मेदवारले खोले बैंक खाता
वालिङ । आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका नौ उम्मेदवारले मात्रै हालसम्म बैंक खाता खोलेका छन् । स्याङ्जाको दुईवटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका राजनीतिक दल तथा स्वतन्त्र २४ उम्मेदवारमध्ये हालसम्म नौ जना उम्मेदवारले मात्रै बैंक खाता खोलेका हुन् । जिल्ला निर्वाचन कार्यालयबाट २४ जनामध्ये १७ जनाले बैंक खाता खोल्ने सिफारिस लगेको भए पनि हालसम्म नौ जनाले मात्रै बैंक खाता खोलेको जानकारी निर्वाचन कार्यालयमा प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाले जानकारी दिए । निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले लिएको आर्थिक सहायता र तोकिएको खर्चको सीमाभित्र रहेर खर्च गर्नुपर्ने नियमको कार्यान्वयन गर्नका लागि उम्मेदवारले छुट्टै बैंक खाता खोली सोही मार्फत आम्दानी खर्च बुझाउनुपर्ने भएको उनले बताए । निर्वाचनका बेला हुने खर्चलाई पारदर्शी बनाउनाका साथै घुमाउरो पाराले अनियन्त्रित रूपमा हुने खर्चलाई निर्वाचनले तोकेको सीमाभित्र ल्याउनका लागि उम्मेदवारको छुट्टै बैंक खाता खोल्न भनिएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख एवम् आर्थिक कारोबार आचारसंहिता अनुगमन अधिकृत थमनारायण अर्यालले बताए । 'यस पटकको निर्वाचनमा २४ उम्मेदवार रहेका र तीमध्ये १७ जनाले बैंक खाता खोल्नका लागि सिफारिस लिएर गइसक्नुभएको छ,' अर्यालले भने, 'उम्मेदवार तथा दलहरूलाई बैंक खाता चाँडोे खोल्न ताकेता गरिरहेका छौँ, बैंक खाता खोल्नका लागि सहजीकरण भइरहेको छ ।' उम्मेदवारहरूले नगद २५ हजारभन्दा धेरै रकमको कारोबार बैंकको चेकमार्फत गर्नुपर्ने छ । सहयोगदाताले दिएको सहयोग र उम्मेदवारले गरेको खर्च सबै बैंकमार्फत गर्नका लागि जानकारी गराएर सोही अनुसार भएनभएको गोप्य तरिकाले अनुगमन भइरहेको अर्यालले जानकारी दिए । स्याङ्जाका दुईवटै निर्वाचन क्षेत्रमा अहिलेसम्म उम्मेदवारले गरेको खर्चका विषयमा कुनै पनि उजुरी आएको छैन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा न्यूनतम रु २५ लाखदेखि अधिकतम रु ३३ लाखसम्म उम्मेदवारले खर्च गर्न पाउने प्रावधान रहेको छ । स्याङ्जाका दुईवटा निर्वाचन क्षेत्रमा रहेका उम्मेदवारहरूलाई छुट्टाछुट्टै खर्चको सीमा निर्धारण गरिएको छ । स्याङ्जा क्षेत्र नं १ का उम्मेदवारहरूले अधिकतम रु ३१ लाख र क्षेत्र नं २ का उम्मेदवारहरूले अधिकतम रु २९ लाखसम्म खर्च गर्न पाउनेगरी सीमा निर्धारण भएको अर्यालले जानकारी दिए । उम्मेदवारले तोकेको खर्चको सीमाभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने हुन्छ । निर्वाचन सकिएपछि उक्त खाता निर्वाचन आयोगले बन्द गरिदिने छ ।
यस्तो छ सोमबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ २५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०३ पैसा र बिक्रीदर २१ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९१ पैसा र बिक्रीदर २३ रुपैयाँ ०१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीबीच सम्झौता, स्वास्थ्य सेवामा ५० प्रतिशतसम्म छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रालिबीच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारका सदस्यहरूले भक्तपुर नगरपालिका–९, राधेराधेमा रहेको सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीबाट प्रदान गरिने विभिन्न स्वास्थ्य परीक्षण सेवामा विशेष छुट पाउने भएका छन् । सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूले प्याथोलोजी ल्याबका विभिन्न सेवामा डिजिटल कारोबारमार्फत भुक्तानी गर्दा बिल रकममा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ । सम्झौता पत्रमा फागुन ८ गते नेपाल बैंक लिमिटेडका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रालिका तर्फबाट ल्याव निर्देशक वेदप्रकाश मिश्रले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरू सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा लिन सक्ने बैंकले जनाएको छ । बैंकले सेवाग्राहीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले यस्तो सहकार्य गरिएको उल्लेख गरेको छ ।