नैतिकता दिवसमा एसबिआई बैंकका कर्मचारीले कार्यस्थलमा पारदर्शिता कायम राख्ने प्रतिबद्धता

काठमाडौं । 'विश्व नैतिकता दिवस' को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले दैनिक कामकाजमा इमानदारी, पारदर्शिता र नैतिक मापदण्ड पालना गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेका छन् । बैंकका सम्पूर्ण कर्मचारीहरूले कार्यस्थलमा नैतिक व्यवहार र जवाफदेहितालाई प्रवर्द्धन गर्ने प्रतिज्ञा गरेका छन् । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले काठमाडौंस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कर्मचारीहरूलाई प्रतिज्ञा गराएका थिए । उक्त कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल र अन्य वरिष्ठ पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो । सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरूले पनि आ–आफ्ना कार्यालयमा प्रतिज्ञा लिएका थिए ।  

नेपाल बैंक र लिफ प्लसबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकलाई छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रालिबीच घरायसी प्रयोगका लागि पर्यावरणमैत्री वस्तु खरिदमा छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले लिफ प्लसले उत्पादन तथा बिक्री गर्दै आएको सुपारीको पातबाट निर्मित प्राकृतिक तथा वातावरणमैत्री घरायसी सामान जस्तै प्लेट, कचौरा, थाल, चम्चा लगायतका सामग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन् ।  ग्राहकहरूले यी सामग्रीहरू कम्पनीको वेबसाइट वा ह्वाट्सएप नम्बर ९८०१८७०२०८ र ९८०२३४४१७८ मार्फत अर्डर गर्न सक्नेछन् । खरिद रकमको भुक्तानी नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी गरेमा उक्त छुट लागू हुने बैंकले जनाएको छ । सम्झौता पत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लसका प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले असोज २७ गते हस्ताक्षर गरेका हुन् । यो साझेदारीले वातावरणमैत्री उत्पादनको प्रयोग प्रवर्द्धन गर्न तथा डिजिटल भुक्तानी प्रयोगलाई अझ सहज बनाउन सहयोग पुर्‍याउने अपेक्षा बैंकले व्यक्त गरेको छ ।

तरलता नियन्त्रण गर्न ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ३५ अर्ब निक्षेप खिच्दैछ । नेपाल राष्ट्र बैंककाअनुसार अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता कम गर्न निक्षेप खिच्न लागिएको हो ।  ब्याजदर अनलाइन बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ कात्तिक २ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  अहिले कुल निक्षेप ७३ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालिन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।