कात्तिक ११ गतेदेखि साविक सिभिल बैंकका चेकबाट भुक्तानी नहुने

काठमाडौं । कात्तिक ११ गतेदेखि साविक सिभिल बैंकले जारी गरेका चेकबाट भुक्तानी नहुने भएको छ । हिमालयन बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सफ्टवेयर टी२४ रिलिज आर२३मा स्तरोन्नति हुने भएकाले साविक सिभिल बैंक र सो बैंकसँग मर्ज तथा प्राप्ति गरेका बैंकले जारी गरेको चेकबाट भुक्तानी नहुने जनाएको हो ।  बैंकका अनुसार कोर बैंकिङ सफ्टवेयर कात्तिक ११ गतेदेखि टी२४ रिलिज आर२३मा स्तरोन्नति हुने भएको हुँदा उक्त मिति पश्चात् हिलमायन बैंकले प्राप्ति गरेको साविक सिभिल बैंक लगायत साविक सिभिल बैंकमा मर्ज भएका र प्राप्ति गरेका साविक वित्तीय संस्थाहरूले जारी गरेको कुनै पनि चेकहरूबाट भुक्तानी हुनेछैन,’ हिमालयन बैंकले भनेको छ ।  साविक सिभिल बैंक तथा बैंकले प्राप्ति गरेको र मर्ज भएको वित्तीय संस्थाका ग्राहकहरुले आफ्नो खाता रहेको शाखामा सम्पर्क गरी नयाँ चेक बुक लिन बैंकले आग्रह गरेको छ ।  साथै, कोर बैंकिङ सफ्टवेयर टी२४ रिलिज आर२३मा स्तरोन्नति गर्ने प्रकृयामा बैंकबाट प्रदान गरिने बैंकिङ्ग सेवाहरु कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्म उपलब्ध नहुने बैंकले जनाएको छ । यद्यपि सो अवधिमा एटीएम तथा डेबिट तथा क्रेडिट कार्ड सेवा भने सुचारु रहनेछ ।

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज ३१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  त्यसैले आजसम्म  नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले कात्तिक १५ गते बिहान १० बजे पोखरा कास्कीमा बस्ने १९औँ वार्षिक साधारण सभा डाकेकाे छ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँको १३.५३ प्रतिशतका दरले ९५ करोड ३४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजसहितका लागि ४.६७ प्रतिशतका दरले ३२ करोड ९० लाख ९२ हजार रुपैयाँ नगद गरी कुल १८.२० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।  पुँजी वृद्धि पश्चात् नेपाल राष्ट्र बैकले तोकेको प्रावधान अनुसार वाणिज्य बैंकमा स्तरोन्नति र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनका लागि प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।  यस्तै, सभाले सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकको सेवा सुविधा पुनरावलोकन गर्नेछ । बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिनेछ ।  यस्तै, बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । 

लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले डाक्यो कात्तिक २६ गते १९औँ वार्षिक साधारण सभा

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले कात्तिक २६ गते बिहान १० बजे प्रज्ञा भवन कमलादी काठमाडौंमा १९ औँ वार्षिक साधारण सभा बोलाएको हो ।  बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको करसहित ८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।  सभाले प्रबन्धपत्र तथा नियमावली व्यवसायीक उद्देश्यहरू थप वा संशोधन गर्ने र नियामकबाट थप केही निर्देशन आएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।  यस्तै, सञ्चालक समितिको गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त र ग्लोबल आइएमई सेक्युरिटिजको आव २०८१/८२ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण र चालु आव २०८२/८३ को लागि लेखापरीक्षण नियक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ ।  लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।