सानिमा बैंकको अध्यक्षमा पुनः पौडेल चयन, सञ्चालकमा पराजुली र कुम्पाख
काठमाडौं । सानिमा बैंकको सञ्चालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । कात्तिक २ गते सम्पन्न २१ औँ वार्षिक साधारण सभाबाट पौडेल सहित बलराम पराजुली र निशा कुम्पाख निर्विरोध निर्वाचित भएका थिए । साथै सोही दिन बसेको सञ्चालक समितिको बैठकले पौडेललाई पुनः अध्यक्षमा चयन गरिएकाे कम्पनी सचिव रूद्र प्रसाद बन्जराले जानकारी दिए । बन्जराका अनुसार साधारण सभाले एसएआर एसोसिएट्स चार्टर्ट एकाउन्टेन्टस्लाई चालु आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न वाह्य लेखापरीक्षकमा नियुक्त गरिएको छ ।
तरलता बढेपछि ९० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडौं । तिहार पछि पनि अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार ९० अर्ब निक्षेप तान्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ मंसिर २१ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।
नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ । गत असोज २ गतेदेखि बिक्री खुला गरेको बैंकको हकप्रद सेयरमा सेयरधनीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । बैंकले हाल कायम चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको १ सय प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । बैंकले २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर बिक्री पश्चात् बैंकको चुक्ता पुँजी ५२ करोड ४९ लाख ३५ हजार २ सय रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो । त्यसैले भदौ ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही, नवलपरासी शाखा र नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय, यज्ञपुरी, टाँडी, पर्सा र नारायणगढ शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।