मितेरी डेभलपमेन्ट बैंकले खोल्यो मजर्रमा जाने ढोका, सेयरधनीलाई १२.१७ करोड रुपैयाँ नगद

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक मर्जरमा जाने भएको छ । बैंक सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने निर्णय गरेको हो ।  मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न बैंकले मंसिर ६ गते बिहान ११ बजे धरान, सुनसरीमा २०औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अवलम्बन गरी कार्य अघि बढाउन संचालक समिति तथा यस अन्तर्गतको मर्जर समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै, मर्जर प्रक्रियामा चल अचल सम्पति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको करसहित १० प्रतिशतका दरले १२ करोड १७ लाख १० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।  यस्तै, गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको १ लाख रुपैयाँभन्दा बढिको खर्च अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।  सभाले गत आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।  लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक २३ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । 

हिमालयनबाट बाहिरियो हबिब बैंक, अब नेशनल लाइफ सबैभन्दा ठूलो सेयरधनी

काठमाडौं । बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.२२ अंक बढेर २ हजार ६००३८ विन्दुमा पुग्यो । दिनभरिको उतारचढाव पछि सेयर कारोबार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँ बराबर भयो । आज दिनभर ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार कित्ता सेयर किनबेच हुँदा हिमालयन बैंकको संस्थापक सेयर सबैभन्दा धेरै कारोबार भएको नेप्सेले जनाएको छ । आज हिमालयन बैंकको १ करोड ४० लाख ६ हजार २३० कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेका अनुसार बैंकको उक्त सेयर ब्रोकर नम्बर ४८ अर्थात् त्रिशक्ति सेक्युरिटिज पब्लिकबाट बिक्री भएको छ भने ब्रोकर नम्बर ३४ अर्थात् भिजन सेक्युरिटिजबाट खरिद गरिएको छ । उक्त सेयर हिमालयन बैंकका सबैभन्दा ठूलो संस्थापक सेयरधनी पाकिस्तानको हबिब बैंक लिमिटेडले बिक्री गरेको हो । हबिबले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर हिमालयन बैंकबाट बाहिरिन लागेको हो ।  हबिब बैंकले हिमालयन बैंकमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर बिक्रीमा राखेको थियो । बैंकको उक्त सम्पूर्ण संस्थापक सेयर नेशनल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता ११८.८८ रुपैयाँमा खरिद गरेको हो । यस मूल्यका आधारमा नेशनल लाइफले उक्त सेयर ३ अर्ब ३३ करोड १ लाख १९ हजार ६९९ रुपैयाँमा खरिद गरेको हो । तर, नेप्सेमा भने बैंकको संस्थापक सेयर प्रतिकित्ता १३१ रुपैयाँमा कारोबार भएको देखिन्छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार होम पेज (गृहपृष्ठ)मा देखिएको सेयर मूल्य १३१ रुपैयाँ रेगुलर ट्रेड भएपनि वास्तविक मूल्य भने फ्लोरसिटमा देखिन्छ ।  ‘होमपेजमा देखिएको १३१ रुपैयाँ रेगुलेर ट्रेड हो । हिमालयन बैंकको सेयर खरिद बिक्री नेगोसिएट विण्डोबाट भएको हो । फ्लोरसिटमा भने खरिदबिक्री प्रतिकित्ता ११८.८८ रुपैयाँमै भएको छ,’ उनले भने, ‘यस्तो सेयर खरिद बिक्रीलाई नेगोसिएट भनिन्छ । किनभने बाहिर नै सेयर मूल्य तय भएर नेप्सेमा कारोबार देखाएको मात्रै हो । यसले दुविधा भएपनि आगामी दिनमा यस्तो सुधार गरिनेछ ।’  साथै हबिबले बिक्रीमा राखेको सेयरमध्ये बिहीबार ५० प्रतिशत मात्रै कारोबारमा आएको छ । बाँकी रहेको ५० प्रतिशत सेयर आइतबार मात्रै कारोबारमा आउने नेशनल लाइफ स्रोतले जनाएको छ ।  ‘आज ५० प्रतिशत मात्रै सेयर कारोबार भयो । कारोबारको डिजिजका कारण बाँकी रहेको ५० प्रतिशत अर्थात् १ करोड ४० लाख ६ हजार २२३ कित्ता सेयर आइतबार मात्रै कारोबारमा आउनेछ,’ कम्पनी स्रोतले भन्यो । हबिबले तिर्याे १३ करोड २२ लाख रुपैयाँ कर हबिबले हिमालयन बैंकको संस्थापक सेयर नेशनल लाइफलाई बिक्री गर्दा १३ करोड २२ लाख १८ हजार रुपैयाँ कर सरकारलाई तिर्नु परेको छ । हबिबले पुँजीगत लाभकर २५ प्रतिशतका दरले उक्त कर सरकारलाई बुझाउनु परेको हो । बैंकले बिक्रीमा राखेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयरको मूल्य अंकित मूल्य १ सय रुपैयाँ कायम हुनेछ । तर, बैंकले अंकित मूल्य १ सय रुपैयाँमा १८.८८ रुपैयाँ थप गरेर बिक्री गरेको हुँदा सो आम्दानीमा २५ प्रतिशत पुँजीगत लाभ कर तिर्नु पर्ने हुन्छ ।  ‘बिक्री गर्ने संस्थाले २५ प्रतिशत कर तिर्नुपर्छ । नेप्सेमा कारोबार भएपछि सिस्टमबाट टीडीएस बापत १० प्रतिशत काट्छ भने १५ प्रतिशत रकम कर कार्यालयमा बिक्री गर्ने ब्रोकर कम्पनीले संस्था (हबिब) को नाममा जम्मा गर्नुपर्छ,’ एक ब्रोकर व्यवसायीले भने, ‘११८.८८ रुपैयाँमा खरिद बिक्री भएपनि १८.८८ रुपैयाँमा मात्रै २५ प्रतिशतका दरले कर तिर्नुपर्ने हुन्छ ।’

सांग्रिला डेभलपमेन्ट बैंकले मनायो २१ औं वार्षिकोत्सव, कर्मचारीलाई सम्मान

काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंकले २१ औं वार्षिकोत्सव मनाएको छ । बैंकले बिहीबार बालुवाटारस्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममार्फत मनाएको हो ।  कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको यात्रा सफल बनाउन साथ दिने सम्पूर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा बैंक अझ बलियो हुने विश्वास व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अहिलेसम्मको यात्रामा साथ दिने सबै सञ्चालक, कर्मचारी, ग्राहक, नियमनकारी निकाय तथा सेयरधनीलाई धन्यवाद दिए । उनले बैंकको सम्बन्धलाई अझ प्रगाढ र आधुनिक सेवासहित सुमधुर बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे । वार्षिकोत्सवको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले 'न्यानोपन जोड्दै आफ्नोपन' अभियानको घोषणा गरेको छ । यस अभियान अन्तर्गत लिड फर नेपाल संस्थासँगको सहकार्यमा बैंकका १० वटा क्लस्टरमार्फत न्यानो कपडा संकलन गरी इलामका बाढीपहिरो प्रभावित नागरिकलाई प्रदान गरिने छ । बैंकले आफ्नै तर्फबाट ज्याकेट लगायतका कपडासमेत उपलब्ध गराउनेछ । साथै, वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए । बैंकमा सेवाको ५, १० र १५ वर्ष पूरा गरेका २० जना कर्मचारीलाई सम्मान गरिएको थियो । बैंकको सेवाप्रवाह हाल १०९ शाखा र ३० एटीएममार्फत भइरहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा उत्कृष्ट अभ्यास पालना गर्दै बैंकले आगामी दिनमा सेवाको विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।