कसरी स्वीकार्ने सुनलाई निक्षेपमाः भारतमा गहना होइन पगालेको सुन राखे ब्याज पाइन्छ
काठमाडौं । अन्य देशमा सुनलाई निक्षेपको रुपमा स्वीकार गर्ने गरिएपनि नेपालमा भने अभ्यास अत्यन्त नौलो र नयाँ हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सुनलाई निक्षेपको रुपमा स्वीकार्न गर्ने नीतिगत व्यवस्था गर्ने उल्लेख गरिएको छ । यसअघि बजेटले यसलाई सम्बोधन गरेको थियो । बैंकहरूले सुनलाई निक्षेपको रुपमा स्वीकार्न राष्ट्र बैंकले कस्तो मोडालिटी बनाउला त्यो भने हेर्न वाँकी नै छ । यतिसम्मकी कस्तो सुन निक्षेपको रुपमा राख्दा आम ग्राहकले ब्याज पाउँछन् यस विषयमा सरोकारवालाहरूसँग छलफल गरेर कार्यविधि बनाउने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । गहना राख्ने कि गहनालाई पगालेर गुणस्तर चेकजाँच गरी प्रमाणिकरण गरिएको सुनको मूल्य समायोजन गरी निक्षेपको रुपमा राख्ने यस विषयलाई कार्यविधिले स्पष्टता पार्ने उनले बताए । भारतमा गहना होइन, गहनालाई गालेर सुनलाई टेष्टिङ गरी मूल्य समायोजन गरी जनताबाट बैंकले निक्षेपको रुपमा सुन राख्ने गरेको छ,’ उनले भने ‘ उक्त सुन बैंकमा राखे वापत ग्राहकले ब्याज पाउँछन् भने ग्राहकले सुन लिन चाहेको बेला सुन नै या पैसा जुन उपयुक्त लाग्छ सोही लिन सक्छन् ।’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने ‘सुन राखेर व्याज पाउने विषयमा राष्ट्र बैंकले विदेशमा भईरहेको कार्य विधिलाई राम्रोसँग बुझेर त्यसै अनुरुप नेपालमा नीति नियम बनाउनस पर्ने बताए । ‘नेपालको सन्दर्भमा यो विषय नितान्त नयाँ र फरक भएपनि राष्ट्र बैंकले बनाएको नीतिगत व्यवस्थाअनुरुप अगाडी बढ्ने हो,’ उनले भने ‘विदेशमा भएका अभ्यासलाई राष्ट्र बैंकले फनो गर्दा राम्रो हुन्छ ।’ राष्ट्र बैंकले सुनलाई निक्षेपको रुपमा स्वीकार्ने व्यवस्था ल्याएपनि कार्यविधि बनेको छैन,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ट सदस्य तेजरत्न शाक्यले भने उनले भने ‘सुन बैंकमा राख्दा ग्राहकले के कति प्रतिशत ब्याज पाउँछन् ।’ कसरी सुन राख्दा रिक्स कम हुन्छ । यसका व्यवहारिक र नीतिगत व्यवस्था नहुँदा अन्योलता छ । यद्यपि सुनलाई मूल्यमा रुपान्तर गरेर बैंकमा राख्दा कम रिक्स हुन्छ । मूल्य समायोजन गरेर नै बैंकहरूले सुनलाई निक्षेपको रुपमा स्वीकार गर्नुपर्छ ।
नमोबुद्ध नगरपालिकाद्वारा मापदण्डविपरीतका आठ इँटा उद्योग हटाउन निर्देशन
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालन हुँदै आएका इँटा उद्योग तत्काल हटाउन निर्देशन दिएको छ । नपाले गत बुधबार भकुण्डे क्षेत्रमा अवस्थित आठ इँटा उद्योग सञ्चालकलाई नपा र उद्योगीबीच विगतमा भएको सहमति कार्यान्वयन गर्न पत्रमार्फत निर्देशन दिएको हो । गत माघ महिनामा जिल्ला समन्वय समितिका पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच असार मसान्तभित्र काभे्रपलाञ्चोकको नमोबुद्ध नपा क्षेत्रमा सञ्चालित आठ इँटा उद्योग हटाउने आठ बुँदे सहमति भएको थियो । सोही सहमति कार्यान्वयन गर्न इँटा उद्योगीलाई पत्राचार गरी हटाउन निर्देशन दिइएको नपाप्रमुख टङ्कप्रसाद शर्माले बताए । उनले भने, “असार मसान्तसम्ममा सहमति कार्यान्वयन नभएपछि तत्काल हटाउन पत्राचार गरेका हौँ, उनीहरुले अटेर गरे भने हामीहरु आफैँ इँटाभट्टा हटाउनेछौँ ।” यसअघि नपाले गत चालू आर्थिक वर्षका लागि इँटा उद्योगको नवीकरण रोकेको थियो । कार्यालयले गत कात्तिकमा सार्वसाधारणमा समेत सूचित गर्दै विगत केही वर्षदेखि इँटा उद्योगका लागि जमिन ‘लिज’मा दिँदै आएकालाई आफ्नो जमिन नदिन आग्रह गरेको थियो । सो पछि गत साल माघमा जिसस पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच गत असार मसान्तभित्र नमोबुद्ध नपा क्षेत्रमा सञ्चालित आठ इँटा उद्योग हटाउने सहमति गरिएको हो । त्यसताका नमोबुद्ध नपास्थित ३१ सङ्घसंस्थाले भकुण्डेमा रहेका इँटा उद्योग सञ्चालनमा रोक लगाउन नपा कार्यालयमा निवेदनसमेत दिएका थिए । तर, उद्योगीले नपाको आग्रह स्थानीयको मागको अवज्ञा गर्दै इँटा उद्योग सञ्चालन गर्दै आएका थिए । जिल्लामा सञ्चालित २० इँटा उद्योगमध्ये नमोबुद्ध नपाको भकुण्डेमा मात्रै आठ इँटा उद्योग बजार र बस्ती नजिकै सञ्चालित छन् । ती उद्योगले वर्षाका कारण एक महिनादेखि इँटा उत्पादन बन्द गरेका छन् । विसं २०७५ वैशाखमा वातावरण विभाग र नमोबुद्ध नपाको संयुक्त अध्ययन अनुगमन टोलीले भकुण्डेमा सञ्चालित इँटा उद्योग मापदण्डविपरीत भएको निष्कर्ष निकालेको थियो । टोलीले इँटा उद्योगबाट निस्कने धुवाँ–धुलोका कारण मावन, घरपालुवा जनावर, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा असर परेको जनाएको हो । नपाप्रमुख शर्माले भने, “त्यतिबेला अनुगमनपछि इँटा उद्योग दर्ता तथा नवीकरणमा रोक लगाउने निर्णय गरेका थियौँ, उद्योगीले नपाको आग्रहलाई अवज्ञा गर्दै दबावपूर्ण तरिकाले सञ्चालन गर्दै आएका थिए ।” भकुण्डेस्थित भैरवकुण्ड इँटा उद्योगका सञ्चालक केदार आचार्यले सम्झौताअनुसार आफूले उद्योग हटाउने बताए । “नपाबाट उद्योग हटाउने पत्र आएको छ, सोहीअनुसार हटाउनेतर्फ लाग्छौँ ।” उनले उद्योगको भट्टामा अझै लाखौँको सङ्ख्यामा इँटा रहेकाले हटाउन केही महिना लाग्ने बताएका हुन् । इँटा उद्योग सङ्घका जिल्ला अध्यक्ष जितेन्द्र खयमलीले उद्योग हटाउने निर्णयमा पुनर्विचार गर्न नपासँग पुनः आग्रह गरेको बताउँछन् । “हामी इँटा उद्योगलाई वातावरणमैत्री बनाउने विषयमा पनि छलफल गर्दैछौँ, नपालाई एकपटक पुनर्विचार गर्न आग्रह गरेका छौँ ।” उनले सहमति गर्दा उद्योग बन्द नगर्न आग्रह गरे पनि नपाले उद्योग बन्द गर्न गरेको निर्णयलाई कार्यान्वयन गर्न गरिएको आग्रहअनुसार सम्झौतापत्रमा हस्ताक्षर गरेको बताएका छन् । सम्झौतापत्रमा असार मसान्तभित्र उत्पादित इँटा प्रचलित वातावरणीय मापदण्डभित्र रही व्यवस्थापन गरी उद्योगको भौतिक संरचना हटाइने, नपासँग समन्वय गरी अन्य क्षेत्रमा प्रचलित कानून, वातावरणीय मापदण्ड, नवीनतम् वातावरणमैत्री प्रविधिअनुरूप उपयुक्त विकल्प खोजी व्यवसाय सञ्चालन गर्ने, तोकिएको समय सीमाभित्र इँटा उद्योग नहटाए नपा आफैँले हटाउने र सोको लागेको खर्च उद्योगीले नै व्यहोर्नुपर्ने, हाल उत्पादित इँटा नगरका भूकम्पपीडितका लागि सम्बन्धित वडाको सिफारिसमा व्यवसायीले तोकेको मूल्यभन्दा प्रतिगोटा रु तीन छुट दिनुपर्नेलगायत उल्लेख गरिएको छ । साथै, उल्लेखित बुँदा सम्झौतापत्रमा करारबमोजिम र उल्लेखित नभएका विषय प्रचलित मुलुकी देवानी (संहिता) ऐन, २०७४ र प्रचलित नेपाल कानूनबमोजिम हुने सम्झौतापत्रमा उल्लेख छ । “सम्झौता कसैको जित र हार नभई समृद्धिको नाराभित्रै पारिएकाले यसबाट नगरको समग्र विकासमा थप सहयोग पुग्नेछ”, नगरप्रमुख शर्माले भने । औद्योगिक सञ्चालन ऐन, २०५९ अनुसार मानव बस्ती, विद्यालय, र वन क्षेत्रभन्दा ५०० मिटर टाढा इँटा उद्योग सञ्चालन गर्न पाइने प्रावधान छ भने उद्योग मन्त्रालयको कार्यविधि, २०७२ अनुसार घनाबस्तीबाट एक किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्नेछ । काभे्रपलाञ्चोकको पाँचखाल नपामा सात, नमोबुद्ध नपास्थित भकुण्डेमा आठ, पनौतीस्थित शङ्खुमा एक, बनेपामा एक, मण्डनदेउपुरमा दुई, धुलिखेलमा एक इँटा उद्योग छन् । कानूनी प्रावधानअनुसार जिल्लामा रहेका इँटा उद्योगमा मापदण्ड पुगेका छैनन् । रासस
निसान माेटरले १० हजार कर्मचारी हटाउने, कम्पनीकाे नाफामा ९० प्रतिशत गिरावट
टोकियो । जापानी कार निर्माता निसानले १० हजारभन्दा बढी कामदार हटाउने निर्णय गरेको छ । निसानले गत मे महिनामा पनि चार हजार ८०० कामदार हटाउने निर्णय गरेको थियो । निसानमा विश्वभर एक लाख ३९ हजार कामदार र कर्मचारी कार्यरत छन् । कम्पनीका पूर्व प्रमुख कार्लोस घोउनको गिरफ्तारी र संयुक्तराज्य अमेरिका तथा युरोपमा कारको बिक्री घटेपछि कम्पनीमा समस्या उत्पन्न भएको छ । निसानका एक जना प्रवक्ताले कर्मचारी कटौतीका बारेमा सोधिएको प्रश्नमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरे । जापानको निक्की दैनिकले बुधबार प्रकाशन गरेको समाचारमा अमेरिकामा कारको बिक्रीमा भएको मन्दीका कारण निसानको संचालन नाफामा पहिलो चौमासिक अवधिमा करिब ९० प्रतिशत कमी रहेको उल्लेख छ । यही विवरण बिहीबार कम्पनीले सार्वजनिक गर्न लागेको पनि निक्कीले लेखेको छ । निसानको पछिल्लो समय फ्रान्सेली साझेदार कार निर्माता कम्पनी रेनल्टसँग पनि विवाद चुलिएको छ । रेनल्टको जापानी कार निर्माता निसानमा करिब ४३ प्रतिशत शेयर लगानी छ । निसानको कर्मचारी कटौती योजनाले दक्षिण अमेरिका समेतका अरु केही क्षेत्रमा स्थापित कारखानामा असर पर्नेछ । खासगरी ज्यादै कम नाफा भइरहेका क्षेत्रका कारखाना बन्द हुनेछन् । रासस