काठमाडौंमा मेट्रो रेल सपनाः लगानी नहुँदा अधुरै
काठमाडौं ३, पुस । राजधानीमा मेट्रो रेल गुडाउने सम्भाव्यता अध्ययन सकिएको चार वर्ष पूरा भइसके पनि लगानी अझै जुट्न सकेको छैन । सम्भाव्यता अध्ययन सकिएलगत्तै सरकारले लगानी बोर्डमा लगानी खोज्न प्रतिवेदन बुझाएको थियो । तर, मेट्रो रेल सञ्चालन गर्न चाहिने लगानी जुटाउन बोर्ड असफल भएको छ । रेल विभागले कोरियन कम्पनीको सहकार्यमा रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको थियो । बोर्डका कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले रेल सञ्चालनका लागि लगानी खोज्न नसकिएको स्वीकार गरे । ‘राजधानीमा रेल सञ्चालनको सम्भाव्यता अध्ययन चार वर्षअघि नै सकिएको हो । त्यससम्बन्धी प्रतिवेदन बोर्डमा आएपछि लगानी खोज्नुपर्ने हो, तर सकिएन,’ उनले भने, ‘यस्तो किन भयो बुझ्न सकिएको छैन ।’ रेल सञ्चालन गर्न विभागले लगानी जुटाउन नसकेपछि सरकारले लगानी बोर्डलाई जिम्मा दिएको थियो । लगानी बोर्डले रेलवे मार्ग निर्माणको डिटेल प्रोजेक्ट रिपोर्ट ९डिपिआर० तयार गर्न मेट्रो नेपाल प्रालिलाई ठेक्का दिएको थियो । तर, सो ठेकेदार कम्पनीको कार्यविधि चित्त बुझ्दो नभएपछि बोर्डले प्रालिसँगको सबै सम्झौता रद्द गरेको थियो । बोर्डले प्रालिलाई मेट्रो रेल निर्माणको डिपिआर तयारीका लागि टिओआर बनाउन २ फागुन ०६९ मै दिने निर्णय गरेको थियो । प्रालिको टिओआर चित्त बुझ्दो भए रेल निर्माणका लागि टेन्डर आह्वान गर्ने योजनामा बोर्ड थियो । तर, प्रालिले दुई वर्षसम्म पनि चित्त बुझ्दो टिओआर बुझाउन नसकेको बोर्डको दाबी छ । नयाँ पत्रिका दैनिकबाट ।
आजदेखि ट्राफिक नियममा थप कडाइ, पीक आवरमा देखिको चाप न्युनिकरण गर्न खोजिदै
काठमाडौं १, पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज शुक्रबारदेखि ट्राफिक व्यवस्थापनमा थप कडाइ गर्दैछ । यातायात व्यवस्था विभागको निर्णय अनुसार ट्राफिक व्यवस्थापन सम्बन्धी प्रवधानलाई कडाइका साथ लागू गर्न लागिएको हो। गत मंसिर दुईमा भएको निर्णय अनुसार सरोकारवालासँगको छलफल पछि आजदेखि नियम कडाइका साथ लागू हुन लागेको हो। नयाँ प्रावधान अनुसार आजदेखि मालबाहक सवारी साधन बिहान ९ देखि ११ तथा साँझ ४ देखि ६ बजेसम्म चक्रपथभित्र प्रवेश गर्न पाउने छैनन् । तर पानी र इन्धन बोक्ने सवारीलाई भने रोकतोक हुनेछैन । पिक आवरमा देखिएको अत्याधिक सवारी चापलाई व्यवस्थापन गर्न ट्राफिकले यो प्रावधान लागू गर्न लागेको हो । नयाँ प्रावधान अनुसार माइक्रोबसले सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् । साथै अनावश्यक सिट जोडिएको हुनुहुने छैन । त्यस्तै लामो दूरीका बसहरु अबदेखि बसपार्कबाटै छुट्नुपर्ने प्रावधान बनाइएको छ। यातायात व्यवस्था विभागले उपत्यकाका विद्यालय बसहरुलाई बिहान ९ बजेसम्म बिद्यालय पुगिसक्नुपर्ने र अपरान्ह चार बजे बिद्यार्थी छाडेर गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको थियो । तर त्यो निर्णय व्यवहारिक नभएको भन्दै बिद्यालयले बिरोध गरेपछि यसलाई तत्कालका लागि कार्यान्वयनमा ल्याइने छैन। तर विद्यालयसँग छलफल भइरहेको बिभागले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट ।
अब भक्तपुरवाट पनि सवारीको लाइसेन्स पाइने, पुष ३ गतेवाट काम सुरु हुने
काठमाडौं, २९ मंसिर। यातायात व्यवस्था विभागले भक्तपुरको सल्लाघारीबाट पनि सवारी चालक अनुमतिपत्र वितरण गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । त्यहाँबाट यहि पुुस ३ गतदेखि सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण काम गर्ने गरी कार्यालय खोल्न लागिएको विभागले जनाएको छ । कार्यालय स्थापनाका लागि घरभाडा सम्झौता गरी पुस ३ गतेबाट काम गुरु गर्न लागिएको विभागका प्रवक्ता टोकराज पाण्डेले बताए। विभागले चाबहिल र कलङ्कीमा भने केही समयपछि मात्र कार्यालय सुरु गर्ने उनको भनाई छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपत्यकाका अरु तीन ठाउँमा पनि कार्यालय खोलेर सवारी चालक अनुमति पत्र वितरणको काम व्यवस्थित बनाउन निर्देशन दिएका थिए । लाइसेन्सको काम एकान्तकुनाबाट मात्रै हुने भएकाले नयाँ लाइसेन्स बनाउनका लागि सेवाग्राही अघिल्लो दिन देखि नै लाइन लाग्नुपर्ने अवस्था छ ।