साझाका २० बस थपिए, विद्युतीय बस सञ्चालनका लागि प्रदेश र स्थानीय सरकारसँग सम्झौता

काठमाडौं । साझा यातायातले ल्याएका नयाँ २० वटा बसहरु आजदेखि सञ्चालन हुन थालेका छन् । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल, काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र साझा यातायाताका अध्यक्ष कनकमणी दिक्षितले नयाँ बस सञ्चालनको उद्घाटन गरेका हुन् । आजदेखि सञ्चालनमा आएका युरो ४ का बसहरु उपत्यकाका विभिन्न रुटहरुमा सञ्चालन हुने छन् । साझाले आजबाट साझा कार्डपनि प्रयोगमा ल्याएको छ । जसबाट यात्रुले सेवा प्रयोग गरेका भाडा तिर्न सक्नेछन् । नयाँ २० वटा बस मध्ये ६ वटा बस नयाँ बसपार्क, बालाजुचोक, बनस्थिली, स्वयम्भु, कलंकी, त्रिपुरेश्वर, रत्नपार्क, नयाँबानेश्वर, कोटेश्वर, जडिबुटी पेप्सीकोला, पुरानो ठिमी, भक्तपुर व्यासी–कमलविनायक, च्यामासिङ, जगाती हुँदै सुर्यविनायक रुट हुँदै गुड्ने छन् । ती बाहेक ६ वटा बस नयाँ बसपार्कदेखि माथि उल्लेखित रुट हुँदै जडिबुटीबाट कौशलटार, राधेराधे, कटुङ्जे, चोक, सूर्यबिनायक, च्यामासिङ, कमलविनायक रुटमा सञ्चालन हुने छन् । ८ वटा बस नयाँ बसपार्क, बसुन्धारा, नारायणगोपाल चोक, चण्डोल, सुकेधारा, चाबहिल, गौशाला, एयरपोर्ट सिनामंगल, नयाँ बानेश्वर, थापाथली, कुपण्डोल, जावलाखेल, लगनखेलमा सञ्चालन हुने छन् ।  २० वटा नयाँ बस सहित अब साझाको बसको संख्या ७१ पुगेको छ । यसैबीच, आजै साझा सहकारीले निकट भविश्यमा सञ्चालन गर्ने विद्युतीय बसका लागि ३ नम्बर प्रदेश सरकार, काठमाडौं  महानगरपालिका र ललितपुर महानगरपालिकाले शेयर हालेको छ । प्रदेश सरकारले ३० करोड, ललितपुर महानगरपालिकाले २ करोड ५० लाख चेक साझालाई हस्तान्तरण गरेको छ भने काठमाडौं महानगरपालिकाले १० करोड रुपैयाँ साझामा लगानी गर्ने भएको हो । साझा सहकारीले पनि विद्युतिय बस सञ्चालन गर्न २ करोड ५० लगानी गर्ने भएको छ । आजै ३ नम्बर प्रदेश सरकार, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र साझा यातायातबीच सझौता भएको छ । साझाले चाँडैनै विद्युतिय सब सञ्चालनमा ल्याउने जानकारी दिएको छ । कार्यक्रममा ३ नम्बर प्रदेश सरकार मुख्यमन्त्री डोरमणी पौडेलले साझा बसमा घाटा भएपनि जनताको सेवा र सुविधालाई मध्यनजर गर्दै प्रदेश सरकारले लगानी गरेको बताए । देशमा नै उत्पादित उर्जाबाट विद्युतीय बस सञ्चालन गर्दा देशको व्यापार घाटा पनि कम र प्रदुषण कम हुने बताए । कार्यक्रममा ललितपुर महानगर पालिकाका मेयर चिरीबाबु महर्जनले भने– ‘ जनप्रतिनिधिहरुले केही गरेनन् भन्ने जनगुनासो थियो । हामीले आजबाट राम्रो कामको सुरुवात गरेका छौं ।’  

रिकन्डिसन व्यवसायी संघद्वारा ९२ हजार सहयोग

काठमाडौं । सेकेन्ड ह्यान्ड मोटरसाइकल तथा स्कुटरको कारोबार गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल रिकन्डिसन व्यवसायी संघले राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको छ । ‘दुई पाङ्ग्रे सवारीसाधनबाट हुने जोखिम न्यूनीकरण तथा यातायात व्यवस्था सुदृढिकरण’ विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दुवै हात गुमाएकी किशोरी मेघा घिमिरेलाई संघले सहयोग रकम हस्तान्तरण गरेको हो । संघका अध्यक्ष बीएन पाठकले सभापतित्व गरेको कार्यक्रममा प्रमुख अतिथि काठमाण्डौ महानगरपालिका वडा नं ७ का अध्यक्ष शुद्धकुमार डंगोल र विशेष अथितिहरु यातायात व्यवस्था कार्यालय गुर्जुधाराका शाखा अधिकृत रामचन्द्र दाहाल, प्रहरी नायव उपरिक्षकद्वय राजेन्द्र पोखरेल र प्रदीपकुमार भट्टराई, संघका महासचिव दिनेश महत लगायत स्थानीय निकायका अन्य पदाधिकारी र संघका सल्लाहकार रहेका थिए । संघमा आवद्ध १ सय ४० भन्दा बढी रिकन्डिसन व्यवसायीहरुले अन्तरक्रियामा सक्रिय सहभागिता जनाएका थिए । उनीहरुले रिकन्डिसन व्यवसायमा देखिएका समस्याको उचित समाधनका लागि पहल गरिदिन सरोकारवाला निकायका प्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा बोल्दै संघका अध्यक्ष पाठकले रिकिन्डसन व्यवसाय राज्यको एक महत्वपूर्ण अंग भएर पनि उपेक्षामा पारिएको गुनासो व्यक्त गरे । साथै उनले देशभर रहेका रिकन्डिसन व्यवसायी एक ढिक्का भई संगठित रुपमा आफ्नो आवाज सरोकारवाला निकाय समक्ष राख्नु पर्ने धारणा व्यक्त गरे । अन्तरक्रियामा वोल्ने अधिकांश व्यवसायीहरुले हाल यो व्यवसायमा देखिएका समस्या र तिनको उचित समाधानका लागि स्थानीय तह, प्रहरी र यातायात व्यवस्था कार्यालयले खेल्नुपर्ने भूमिका लगायत विविध विषयका बारेमा आ–आफ्नो जिज्ञाशा व्यक्त गरेका थिए । उनीहरुको जिज्ञासा जायज भएको र समाधानका लागि आफूहरुले सक्दो पहल थाल्ने कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रतिनिधिहरुले बताएका थिए । कार्यक्रमको अन्त्यमा दुवै हात गुमाएकी किशोरी मेघा घिमिरेलाई सहयोग स्वरुप ९२ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

काठमाडौँको कोरिडोर-अण्डरपासः जाम घटाउने उत्तम विकल्प

काठमाडौँ । केही महिना अघिसम्म काठमाडौँको मैतीदेवी–पुरानो बानेश्वर जोड्ने धाबी खोलामाथिको साँघुरो पुलमा दैनिक नै गाडी जाम हुँदा यात्रुलाई उदेक लाग्थ्यो । उक्त बाटो जाम हुने वित्तिकै छ तिरबाट आएका गाडी एकैचोटी रोकिन्थे । सामान्य अवस्थामा समेत यहाँ सडक जाम हुनु नौलो कुरा थिएन । बिदाको दिन बाहेक प्रायः बिहान ९ः०० देखि ११ः०० र साँझ ४ः०० देखि ६ः०० बजेको बीचमा अत्यधिक जाम हुन्थ्यो । गाडीको लाइन मैतिदेवी चोकदेखि पुरानो बानेश्वरसम्मै पुग्थ्यो । यहाँको असर काठमाडौँको मुख्य सडकसम्म आइपुग्थ्यो तर केही महीना भयो, यहाँ यात्रुले यति ठूलो सास्ती खेप्नु परेको छैन । प्रायः उक्त सडक प्रयोग गर्नुहुने शेखरचन्द्र राईलाई सो सडकमा ठूलो जामको समस्याले पिरोलेको छैन । “अहिले धेरै सहज भएको छ, बाँकी कोरिडोर र अण्डरपास खोल्न सके उपत्यकाको जाम धेरै घट्छ”, राईले भन्नुभयो । यसरी जाम कम हुनुको मुख्य कारण हो कोरिडोर र अण्डरपास ९पुल मुनीको सडक० सञ्चालन । धाबीखोला कोरिडोरको मैतीदेवी क्षेत्रको पुलमुनीको सडक सञ्चालन भएपछि भने यहाँको जाम हटेको छ । बानेश्वर पट्टीको अण्डरपास अझै खुल्न नसक्दा केही जाम बाँकी नै छ । सोही खोलाको रातो पुल, कालोपुल र भत्केको पुलमुनीका सडकसमेत सञ्चालनमा आएपछि भने साना सवारी साधान उक्त कोरिडोर हुँदै सहज रुपमा जान थालेका छन् । सबै क्षेत्र खुलाएर अण्डरपास गर्न सके जाम कम गर्न महत्वपूर्ण विकल्प हुने छ कोरिडोर । उपत्यकाका विभिन्न क्षेत्रका कोरिडोर सञ्चालनमा आएपछि भित्री सडक मात्रै होइन काठमार्डौँका मुख्य मार्गमा समेत जामको समस्या कम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तराज पन्तले बताए । महाशाखाकै अगुवाइमा अण्डरपास गर्ने र कोरिडोर खुलाउने काम भएको हो । सामान्य काम गर्दा पनि महत्वपूर्ण उपलब्धि हुन्छ भन्ने उदाहरण ट्राफिक प्रहरीले पेश गरेको छ । ठेक्कापट्टातर्फ लाग्दा प्रशासनिक झन्झटलगायतका कारणले कुनै काम शुरु गर्न नै दुई÷तीन महीना लाग्ने तितो यथार्थ छ । यसलाई चिर्दै प्रहरीले स्थानीय तह तथा निजी कम्पनीको सहयोग लिएर तीन महीनाको अवधिमा उक्त काम गरेको हो । कतिपय बोलपत्र नै गर्नुपर्ने जस्ता काम समेत प्रहरीको अगुवाइमा विभिन्न सङ्घ संस्थाको सहयोगमा भएको छ । इच्छाशक्ति भयो भने काम गर्न सकिन्छ भन्ने यो दरिलो प्रमाण हो । “रुख उखेल्नु पर्ने ठाउँमा पनि उखेल्यौँ, माटो, ढुङ्गा, गिटी हटाउने र थप्ने ठाउँमा पनि खटियौँ, महानगर, वडा कार्यालय, निजी कम्पनीको सहयोग लिग्यौँ, कतिले व्यक्तिगत रुपमा डोजरसमेत सहयोग गर्नुभयो, त्यसैले यो प्रगति हासिल भयो”, उक्त अभियानको अगुवाइ गर्नुहुने महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ शाहले अनुभव सुनाए । उनका अनुसार तीन महिने अभियानमा धेरै क्षेत्रका अण्डरपास र कोरिडोर खोलिएका र आगामी दिनमा बाँकी कामलाई अगाडि बढाइने छ । “ठेक्का पट्टाले समस्या होला भनेर ट्राफिकको दृष्टिकोणले बढी दबाब देखेपछि ठेक्काबिनै काम गर्न सकिन्छ भनेर लागेका हौँ” उनले भने । कहाँ कहाँ खोलियो कोरिडोर ? ट्राफिक प्रहरीले २०७५ चैत २१ बाट सञ्चालन गरेको तीन महीने कार्ययोजनाको मुख्य लक्ष्य कोरिडोर सञ्चालन गर्ने थियो । उक्त अभियानमा दैनिक ३०० ट्राफिक प्रहरी खटिने गरेका महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार अहिलेसम्म विष्णुमति कोरिडोरको बसपार्कदेखि भ्याली कोल्ड स्टोर्ससम्मको सडक सञ्चालन भएको छ । यहाँको अतिक्रमण समेत हटाएर बसपार्क पुलको अण्डरपाससमेत खोलिएको छ । धोबिखोला कोरिडोरको गोपिकृष्ण पुलदेखि अनामनगर सडकको सेतोपुलको पारी (पुरानो बानेश्वर पट्टि) बाहेक सबै अण्डरपास सञ्चालन भएका छन् । बालकुमारी कोरिडोरको नरेफाँट–शङ्खमुल सडकको केही क्षेत्र खोलिएको छ । आगामी योजना भने विष्णुमति कोरिडोरको भ्याली स्टोर्सदेखि बल्खुसम्म, बालकुमारीका अन्य बाँकी क्षेत्रमा काम गर्ने योजना प्रहरीको छ । अण्डरपासका कारण कतिपय ठाउँमा ट्राफिक बसेर सवारी पास गर्नुपर्ने र पालो गरेर जानुपर्ने अवस्था नरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले बताए । “अब हामीले त्यो क्षेत्रमा पिच गर्नका लागि सम्बन्धी कार्यालयलाई अनुरोध गरेका छौंँ, त्यसपछि अझै सहज हुने छ” उनले भने । उपत्यकामा झण्डै १२ लाख सवारी सञ्चालन हुन्छन् । अधिकांश निजी सवारी गुड्छन् । ट्राफिक जाम, धुलो, धुँवा प्रदूषण उपत्यकाको मुख्य समस्या हो । मापसे, तीव्र गति, चालकको लापरवाही, लेन मिच्ने, जथाभावी रोक्ने, हर्न बजाउने समस्या उपत्यकामा कायमै छ । पछिल्लो समय कारवाहीमा केही कडाइ गरेपनि पर्याप्त हुनसकेको छैन । लापरवाही बढ्दो छ । चिल्ला सडकमा हुने तीव्रगतिका कारण जीवन क्षति हुँदै आएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पहिलो कुरा हामी आफैँले आफैँलाई नियन्त्रण गर्नु जरुरी रहेकाले ढिलो हिंड्ने र छिटो पुग्नुपर्ने मानिसको बानीका कारण जामलाई जटिलता बनाएको बताए । उनले मानवीय रुपमा नभइ अब प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्नतर्फ लाग्नुपर्ने आवश्यकता औंल्याए । रासस