साझाले शुरु गर्यो रात्रिकालीन बस सेवा

काठमाडौँ । साँझ ६-७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस शुरु गरेका हुन् । तीन रुटमा बस शुरु भएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार न्यूरोड गेटबाट नारायणगोपाल चोक हुँदै नयाँ बसपार्क, न्यूरोड गेटबाट त्रिपुरेश्वर हुँदै कलङ्की र न्यूरोड गेटबाट नै नयाँबानेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ बसपार्कसम्म गरेर तीन रुटमा अहिले बस शुरु भएको छ । बस विभिन्न स्थानको परिक्रमा गरेर पुनः न्यूरोड गेटमा नै फर्किरहेका छन् । यात्रुलाई रात्रिसेवाका बारेमा जानकारी नभएकाले अहिले यी बसमा यात्रु सङ्ख्या कम भएको उनले बताए । उनले भने, “यात्रुले जानकारी पाएपछि विस्तारै बढ्दै जानेछ ।” अहिले परीक्षणका रुपमा तीन वटा बसबाट शुरु गरिएकामा आगामी दिनमा रात्रिबस विस्तार गर्दै जाने संस्थाले जनाएको छ । संस्था गैरनाफामूलक भएकाले आगामी दिनमा यात्रुको सुविधाका लागि बस थप्ने र रुट अन्यत्र फैलाउने व्यवस्थापक पाण्डेयले बताए । उनले भने, “हामीले यात्रुको सुविधालाई ध्यान दिएर सेवा थप गरिरहेका छौँ ।” काठमाडौँ उपत्यकाका स्थानीय तहसँगको सहकार्य बढाउँदै गएको साझाले जनाएको छ । काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकालगायतले साझाको सेयर खरीद गरेको व्यवस्थापक पाण्डेयले बताए । उनका अनुसार संस्थाले प्रदेश नं ३ कामनपा र ललितपुर महानगरपालिकासँगको सहकार्यमा रु ४५ करोडमा विद्युतीय बस खरीद गर्ने भएको छ । विद्युतीय बस खरीदका लागि प्रदेश नं ३ सरकारबाट रु ३० करोड, काठमाडौँ महानगरपालिकाबाट रु १० करोड, ललितपुर महानगरपालिकाबाट दुई करोड ५० लाख र साझा आफैँले रु दुई करोड ५० लाख सेयर लगानी गरेर विद्युतीय बस खरीद गर्ने निर्णय भएको हो । विसं २०७० मा सेवा शुरु हुँदा पहिले नगर केन्द्रित साझाका बस अहिले काठमाडौँका ग्रामीण क्षेत्रसम्म विस्तार भइरहेको उनले बताए । उनले भने, “उपत्यकाका अझै धेरै पालिकाले साझासँग सहकार्य गर्न चाहेका छन् ।” अघिल्लो साता मात्रै काठमाडौँ महानगरपालिका र साझा यातायातसँगको सहकार्यमा ‘यूरो ४’ मापदण्डका २० नयाँ बस भित्र्याएको थियो । बस भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सञ्चालन भइरहेका छन् । यी बस भक्तपुरको नयाँ र पुरानो दुवै बाटो हुँदै परिक्रमा गर्ने गरी रुट अनुमति लिएर सञ्चालन भइरहेको संस्थाका प्रबन्धक पाण्डेयले बताए । नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्मको एउटा मार्ग र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्मको अर्को मार्गमा बस सञ्चालन शुरु भएको थियो । दुई दशक पहिलेसम्म सबैभन्दा भरपर्दो र विस्तार भएको सेवा प्रदायकका रुपमा साझा यातायात रहेको थियो । बीचमा केही वर्ष सेवा अवरुद्ध भएर पुनःसञ्चालनमा आएपछि साझाले यात्रुलाई सुविधा दिन विभिन्न कुराको शुरुआत गर्दै आएको छ । ठूला र आरामदायी सिट, टिकट, विद्युतीय कार्ड, अपाङ्गता र ज्यष्ठ नागरिकमैत्री बसको शुरुआत साझाले गरेको हो । विसं २०१६ मा स्थापित उक्त संस्थाको लामो समयसम्म सेवा अवरुद्ध भएपछि विसं २०७० मा सेवा पुनः शुरु भएको थियो । अहिले साझाका ७१ बस नियमित सञ्चालनमा छन् । यीमध्ये एउटा लो फ्लोर बस ९अपाङ्गता र ज्येष्ठ नागरिकका लक्षित बस० र चार उपत्यका बाहिर चल्ने सुविधासम्पन्न (डिलक्स) बस छन् भने बाँकी शहरी बस रहेका संस्थाले जनाएको छ । अहिलेसम्म पेट्रोलियम पदार्थबाट चल्ने बसहरु मात्रै भित्र्याइरहेको संस्थाले प्रदेश सरकार र स्थानीय सरकारसँगको सहकार्यमा विद्युतीय बससमेत खरीद र सञ्चालनको तयारीसमेत गरिरहेको छ । रासस

रोमाञ्चक यात्राका लागि तयार हुनुहुन्छ ? पल्सर डेयर भेन्चर ४ को रजिष्ट्रेसन खुल्ला

काठमाडौँ । बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर डेयर भेन्चर सिजन ४ लिएर आएको छ । पल्सर डेयर भेन्चर नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शो हो । पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ सिजन पूरा गरिसकेको छ जुन क्रमश २०१४, २०१५ र २०१७ मा सम्पन्न भएको थियो र पल्सर डेयर भेन्चर ४ का साथ अब अन्तर्राष्ट्रिय सिमाना पार गर्दै भयमुक्त तथा अलग प्रकारको एडभेन्चर महशुस गर्ने समय आएको छ । यसपटक पल्सर डेयर भेन्चरले पल्सर राइडरहरुलाई सबैभन्दा साहसिक रोडहरुको उचाई मापन गर्दै, अद्भूत अनुभव बटुल्ने बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य, लदाखमा लग्नेछ । यो पल्सर डेयर भेन्चर ४ अब विदेशमा आयोजना हुने भएको छ । यो रजिष्ट्रेसन सबैका लागि खुल्ला गरिएको छ र बजाज चालक बाहेकले पनि पल्सर डेयर भेन्चर ४ मा सहभागिता जनाउन सक्नेछन् । रेजिष्ट्रेसनको अवधि २३ जुलाई २०१९ अर्थात श्रावण ७ गतेसम्म मात्र रहेको छ । विदेशी भूभागमा जानुको रोमान्चक अनुभव बाहेक विजेताले १० लाख नगद पुरस्कार र नयाँ पल्सर एनएस २०० प्राप्त गर्नेछन् ।

ग्वार्कोमा खुल्यो सिप्रदीको ५१औँ सर्भिस सेन्टर

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्वार्कोमा आफ्नो ५१औँ सर्भिस सेन्टरको उद्घाटन गरेको छ । जयदेव ट्रेडिङ प्रालि सिप्रदीको ११औँ आधिकारिक सर्भिस सेन्टर हो । सिप्रदी कम्पनीजका चिफ अफरेटिङ अफिसर(सिओओ) राजेशप्रसाद गिरी तथा जयदेव प्रालिका संचालक जयप्रकाश चौधरीको उपस्थितिमा सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहालले उक्त सर्भिस सेन्टरको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै निर्देशक दाहालले भने–‘सन् १९८२ मा स्थापनाभएदेखि नै सिप्रदीले उत्कृष्ट सर्भिस सेन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्नमा प्रतिबद्ध रहदैँ आएको छ ।’ त्यसैगरी सिप्रदी कम्पनीजका चिफ अफरेटिङ अफिसर गिरीले सर्भिस सेन्टरबाट प्रदान गरिने सेवालाई ग्राहकको अधिकार भएकोमा जोड दिए ।