नगरबस सञ्चालन गर्ने तयारीमा उपमहानगरपालिका, करिब साढे तीन करोडमा सात बस खरिद

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ । करिब रु साढे तीन करोडमा सात बस खरिद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिएका छन् । उनका अनुसार, उपमहानगरपालिकाले ई–बिडिङमार्फत साना तीन बस रु एक करोड २९ लाख ७४ हजार ७०० र ठूला चार बस रु दुई करोड १५ लाख ७६ हजारमा खरिद गरेको हो । खरिद गरिएका बस एक महिनादेखि उपमहानगरपालिकामै थन्किएका छन् । उपमहानगरलाई अन्य नगर तथा गाउँपालिकासँग जोड्ने गरी महिलामैत्री बस सञ्चालन गरिने उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले कार्यविधि निर्माणसँगै चालक छनोट प्रक्रिया पनि अघि बढाएको छ । मङ्गलबार चालक छनोटका लागि प्रयोगात्मक परीक्षा लिइएको रिजालले जानकारी दिएका छन् । चालक छनोट प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय, यान्त्रिक कार्यालयको सहयोगमा प्रयोगात्मक परीक्षा (ट्रायल) लिइएको उनले बताए । यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्र लिएको भए पनि भर्ना प्रक्रियालाई पारदर्शी बनाउन पुनः ट्रायल लिइएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले उल्लेख गरे । अहिले नेपालगञ्जदेखि कोहलपुर, खजुरा, जानकी, डुडुवालगायतका स्थानीय तहमा सार्वजनिक बस सञ्चालन हुँदै आएका छन् । उपमहानगरपालिकाले पनि यही रुटमा बस सञ्चालनको तयारी गरेको छ । रासस

अशोक लेलैण्डका गाडी किन्दा आइसिएफसि फाइनान्सबाट ७० प्रतिशत कर्जा पाइने

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र आइसिएफसि फाइनान्स लिमिटेडबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले आइसिएफसि फाइनान्स लिमिटेडबिच सहज रुपमा ७० प्रतिशतसम्मको कर्जा सुविधापाउने भएका छन् । ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए ।

ढुवानी व्यवसाय सुचारु, समस्या समाधानको उपाय खोज्न कार्यदल गठन

काठमाडौँ । ढुवानी व्यवसायीहरुको आन्दोलन स्थगित भएको छ । ढुवानीमा भ्याट र मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली(भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली(भिसिटीएस)को विरोधमा उत्रिएका व्यवसायी आन्दोलन स्थगित भएको हो । ढुवानी व्यवसायीहरुले सरकारले ल्याएको नयाँ प्रावधानको विरोध गर्दै आ-आफ्ना सवारी थन्क्याएका थिए । मंगलबार ढुवानी व्यवसाय क्षेत्रमा देखिएका समस्याहरुका सम्बन्धमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको उपस्थितिमा बसेको बैठक समस्या समाधानतर्फ सकारात्मक भएपछि ढुवानी व्यवसाय सुचारु गरेको बैठकमा सहभागी व्यवसायी गोकर्ण पराजुलीले बताए । बैठकले ढुवानी व्यवसाय तथा यातायात क्षेत्रका सम्बन्धमा हाल देखिएको विविध समस्याहरुको अध्ययन गरी ३० दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ । कार्यविधि आफैं निर्धारण गरेर प्रतिवेदन बुझाउने कार्यदलका संयोजक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीले जनाएका छन् ।