सार्वजनिक गर्नु अघिनै लिक भयो रोयल इन्फिल्डको नयाँ भर्जनको तस्वीर, थपिनेछन् यस्ता विशेषता

काठमाडाैं । रोयल इन्फिल्डले आफ्नो बेस्ट सेलिङ्ग मोडेल ‘क्लासिक ३५०’ को २०२० संस्करणलाई छिट्टै नै बजारमा ल्याउने भएको छ । कम्पनीले आधिकारीक रुपमा सो मोटरसाइकललाई प्रदर्शन गर्नु अघिनै यसका केहि तस्विर विभिन्न श्रोतहरुबाट बाहिरिएका छन् । तस्विर हेरेपछि सो मोटरसाइकलको केहि फिचरहरुका वारेमा सहजै अनुमान भने लगाउन सकिएको छ । कम्पनीले आफ्नो सर्वाधिक रुचाइएको मोडेल क्लासिक ३५० को डिजाइनलाई २०२० संस्करणमा पनि यथावत नै राखेको देख्न सकिन्छ । तर ग्राहक माझ यसको लोकप्रियता थप बढाउनकालागि सो मोडेलका केहि पक्षहरुमा भने परिमार्जन गरेको छ । पहिलो अपग्रेडको रुपमा क्लासिक ३५० मा दिइएको थप कलर अप्शनहरुलाई लिन सकिन्छ । त्यसैगरी, पहिले स्पोक व्हिल्स दिइएको क्लासिक ३५० मा अहिले अलोए व्हिल समावेश भएको देख्न सकिन्छ । अलोए व्हिलले बाइकलाई आकर्षक देख्न मद्दत पुर्याएको त छ नै, साथै यसले गर्दा बाइकको ह्याण्डलिङ्ग, स्टेयरिङ्ग र कर्नरिङ्गमा पनि सुधार आउनेछ । अर्को परिमार्जनको रुपमा यस बाइकमा कार्बुरेटरको साटो इलेक्ट्रोनिक फ्युल इन्जेक्शन सिस्टम समावेश गरिएको छ । बाइकले माइलेज बढि दिनु, माइलेजमा एकरुपता आउनु, भाइब्रेशनमा कमी आउनु, चिसोको वेला बाइक स्टार्ट गर्दा सहज हुनु लगायत फ्युल इन्जेक्शनको फाइदाहरु हुन् । त्यसैगरी, यस मोडेलमा बीएस६ प्रदुषण मापदण्ड अनुरुपको इञ्जिन पनि समावेश गरिएको छ । बीएस६ इञ्जिनले कम प्रदुषण उत्पन्न गरेर वातावरणमा हुने असरलाई धेरै हदसम्म कम गर्दछ । यस्ता अपग्रेड पश्चात् २०२० क्लासिक ३५० पहिलेको संस्करणभन्दा केहि महँगो पक्कै हुनेछ । भारतीय बजारमा २०२० क्लासिक ३५० को मूल्य पहिलेभन्दा १२ हजार रुपैयाँको हाराहारीमा बढ्ने अनुमान गरिएको छ । सो मोडेलमा डुअल डिस्क, डुअल च्यानल एबीएस जस्ता विशेषताहरु यथावतनै रहेका छन् । रोयल इन्फिल्डले नयाँ क्लासिक ३५० मा पहिले जतिनै क्षमता भएको इञ्जिन राख्ने भएतापनि यसले प्रदान गर्ने पावर र टर्कमा केहि थपघट हुने सम्भावना भने प्रवल रहेको छ । हाल बिक्री भइरहेका क्लासिक ३५० मा ३४६ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १९.८ बीएचपीको पावर र २८ एनएमको टर्क उत्पादन गर्दछ ।

सुजुकीको ‘विन्टर फ्रि सर्भिस क्याम्प’ पुस २३ देखि २५ गतेसम्म

काठमाडौं । सीजी मोटोकर्पले पुस २३ देखि २५ गतेसम्म । ‘विन्टर फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउने भएका छन् । साथै, सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निःशुल्क कार वासको सुविधाका साथै एसडीटी डायग्नोसिसमा ५० प्रतिशत पाउने छन् । यस अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस्, इन्जिन आयल, एसोसरिज र ह्विल एलाइनमेन्टमा १० प्रतिशत छुट पाउने छन् । सुजुकीको विन्टर फ्रि सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ३९ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

नाडा प्रतिनिधि मण्डल र भन्सार विभागका महानिर्देशकबीच छलफल, व्यवसायीहरुलाई फेयर ट्रेडको अनुकरण गर्न सुझाव

काठमाडौं । नेपाल अटोमोबाईल डिलर एसोसिएशन (नाडा) को प्रतिनिधि मण्डल तथा भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच छलफल भएको छ । आइतबार नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको १० सदसीय नाडा प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक सुमन दाहालसंग भेटी फेयर ट्रेड लगायत नेपालको भन्सार प्रशासन, भन्सार मूल्याङ्कन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याहरु बारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ । उक्त भेटघाटमा विभागका महानिर्देशक दाहालले आफना कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दे नयाँ केन्द्रीय कार्य समितिको सफलताको कामना गर्दै उपस्थित नाडाका पदाधिकारी तथा सदस्यहरुले भन्सार प्रशासन, भन्सार मूल्याङ्कन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याहरुबारे आ आफनो धारणा राखेका थिए । सो छलफलमा महानिर्देशक दाहालले व्यवसायीहरुले फेयर ट्रेडको अनुकरण गर्नुपर्ने र संस्थाले त्यसको लागि आवश्यक वातावरण तयार गरिदिनु पर्ने धारणा राखे । उनले पैठारी गर्ने कम्पनीहरु आफैले कर्मचारी राखी क्लियरेन्स एजेण्ट समेतको काम गर्न पाउने व्यवस्था गरिएको जानकारी दिदै नेपालको आधिकारिक एजेन्सीले मात्र पैठारी गर्न पाउनु पर्ने नाडाको सुझाव मननीय रहेको बताए । यसै क्रममा उनले विल अफ एक्सपोर्टको कागज नआइकन भन्सार क्लियरेन्स पनि हुन नसक्ने बताउदै भन्सार विभागको मुख्य जिम्मेवारी भनेको व्यापार सहजीकरण भएको र भन्सार विभागले अहिले झण्डै सतप्रतिशत आशिकुडा अनुसार कार्य गर्दे आएको बताए । त्यसैगरी,साफटा सुविधामा धेरै दुरुपयोग भएकोले यसमा सहकार्य गरेर अघि बढने बताउँदैनाडा जस्तो संस्था मार्फत काम गर्न सहज हुने भए पनि सरकारले संघसंस्थालाई वास्तविक रुपमा उपयोग गर्न नसकेको धारणा व्यक्त गरे । नाडासंग गरिएको समझदारीलाई आफना सवै सदस्यहरुमा पुर्याउनु पर्ने, व्यवसायको शुद्धीकरण आफैबाट शुरु गर्नु पर्ने, व्यवसाय गर्नेले भन्सार र कर सम्बन्धमा आवश्यक जानकारी राख्नु पर्ने धारणा राखे । छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल र कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।