बजाजको इलेक्ट्रिक स्कुटर ‘चेतक’ भारतमा सार्वजनिक, नेपाल आइपुग्दा कति पर्ला मूल्य ?
काठमाडाैं । भारतीय टू व्हिलर्स कम्पनी बजाजले आफ्नो पहिलो इलेक्ट्रिक वाहन ‘चेतक’ लाई सुरुवाती मूल्य १ लाख रुपैयाँ तोक्दै भारतमा आज लञ्च गरेको छ । चेतक स्कुटर ‘अरबेन’ र ‘प्रिमियम’ गरी दुई अलग भेरियन्टहरुमा उपलब्ध रहेको छ जसमध्ये टप भेरियन्ट प्रिमियमको मूल्य भारतीय बजारका लागि १ लाख १५ हजार रुपैयाँ तोकिएको छ । प्रिमियम भेरियन्ट थप मेटालिक कलर अप्शन र फ्रन्ट डिस्क ब्रेकमा उपलब्ध रहेको छ भने अरबेन भेरियन्टमा चाहिँ मेटालिक कलर अप्शन उपलब्ध छैन र त्यसैगरी अगाडिको चक्कामा ड्रम ब्रेकको प्रयोग भएको छ । ब्याट्री र मोटर चाहिँ दुवैमा उहि समावेश छन् । यस्ता छन् विशेषता चेतकमा ३ किलोवाटआवरको लिथियम–आयन ब्याट्री समावेश छ जसलाई फुल चार्ज हुन ५ घण्टाको समय लाग्छ भने ८० प्रतिशत चार्ज हुन साढे तीन घण्टा र २५ प्रतिशत चार्ज हुन १ घण्टाको समय लाग्दछ । बजाजको दावी अनुसार यो ब्याट्रीको आयु ७० हजार किलोमिटर रहेको छ अर्थात् स्कुटरले ७० हजार किलोमिटरसम्मको यात्रा गर्दा सम्म यो ब्याट्री सकुशल नै रहिरहन्छ । यस स्कुटरले ४.०८ किलोवाट (५.४७ एचपी) को उच्चतम पावर र १६ एनएमको उच्चतम टर्क उत्पादन गर्दछ । चेतकमा ‘इको’ र ‘स्पोर्ट’ गरी दुई राइडिङ्ग मोडहरु दिइएका छन् । यस स्कुटरले इको मोडमा ९५ किलोमिटरको माइलेज प्रदान गर्दछ भने स्पोर्ट मोडमा चाहिँ ८५ किलोमिटरको माइलेज प्रदान गर्छ । चालकले एक्कासी एक्सलेरेटर दबाएर गती लिने वेलामा स्कुटरमा ‘किक डाउन मोड’ चालु हुन्छ जसले गर्दा स्कुटर एकछिनको लागि इको मोडबाट स्पोर्ट मोडमा प्रवेश गर्दछ र स्वतः फेरी इको मोडमै सिफ्ट हुन्छ । बजाजका अनुसार ओभरटेक गर्दा स्कुटरलाई बढी गतीको आवश्यकता भएको हुनाले यो फंक्शन समावेश गरिएको हो । चालकको सहजतालाई मध्यनजर गरेर बजाजले यस स्कुटरमा रिभर्स गियरको फिचर पनि समावेश गरेको छ जसले चालकलाई साँघुरो पार्किङ्गस्थलहरुमा मद्दत पुर्याउँछ । त्यसैगरी, यस स्कुटरमा स्मार्टफोन कनेक्टिभिटीको सिस्टम पनि समावेश छ जसमार्फत् स्कुटरको लोकेशन, चार्जको मात्रा, बाँकि रहेको रेञ्ज लगायतको जानकारी पाउन सकिन्छ । यसका साथै कसैले स्कुटरमा छेडछाड लगायत कुनैपनि किसिमको शंकास्पद गतिविधि गरेमा पनि चालकले आफ्नो स्मार्टफोन मार्फत् जानकारी पाउन सक्नेछन् । नेपाल आइपुग्दा कति पर्ला मूल्य ? बजाजको नेपालका लागि आधिकारीक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले चेतकको नेपाल लञ्च र सम्भावित मूल्यका वारे केहिपनि उल्लेख गरेको भने छैन । भारतमा १ लाख रुपैयाँ पर्ने मोटरसाइकल अथवा स्कुटर नेपाल आइपुग्दा त्यसको मूल्य सवा तीन लाखको हाराहारी पर्न जान्छ । यो तथ्यका साथै इलेक्ट्रिक वाहनमा नेपाल सरकारले दिएको उल्लेखनीय भन्सार छुटलाई समेत आधार मान्ने हो भने चेतकको नेपाली बजार मूल्य साढे २ लाख देखि ३ लाख रुपैयाँको बीचमा कायम हुन सक्छ ।
नेपाली ‘यात्री’ भर्सेज भारतीय ‘रिभोल्ट’, दुई इलेक्ट्रिक बाइकमध्ये कसको पल्ला भारी ?
काठमाडौं । नेपालमै बनेको इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’लाई एक महिनाअघि नेपाली बजारमा सार्वजनिक गरिएको थियो । सार्वजनिक भएसँगै यो मोटरसाइकलले धेरैलाई प्रभावित बनाउन सफल भएको थियो । नेपालमा यो बाइक सार्वजनिक हुनुभन्दा लगभग ५ महिनाअघि मात्र भारतमा बनेको इलेक्ट्रिक मोटरसाइकल ‘रिभोल्ट आरभी ४००’ सार्वजनिक गरिएको थियो । यो बाइकले पनि बाक्लो संख्यामा प्रसंशक कमाउन सफल भएको थियो । भारतमा सार्वजनिक भएको सो बाइकलाई चाँडै नै नेपाल भित्र्याउने तयारी पनि चलिरहेको छ । यी दुवै मोटरसाइकल इलेक्ट्रिक भए तापनि यिनमा धेरै भिन्नता पाउन सकिन्छ । केही पक्षमा रिभोल्टले बाजी मारेको देखिन्छ भने केहीमा यात्रीले रिभोल्टलाई धेरै पछाडि पारिदिएको छ । लुक्स यात्री क्याफे रेसरको डिजाइनमा आधारित छ भने रिभोल्टमा हामी साधारण नेकेड बाइककै लुक्स पाउन सक्छौं । फ्युचरिस्टिक डिजाइन पाएको यात्रीको लुक्स अरु मोटरसाइकलभन्दा पृथक रहेको छ भने रिभोल्टलाई हेर्दा लाइट वेट मोटरसाइकलको झल्को आउँछ । ब्याट्री र मोटर यात्रीमा ६ किलोवाटआवरको लिथियम आयनको ब्याट्री समावेश छ भने रिभोल्टमा ३.२४ किलोवाटआवरको लिथियम आयनको ब्याट्री समावेश छ । मोटरतर्फ भने यात्रीमा ३० किलोवाटको मोटर जडान गरिएको छ भने रिभोल्टमा ३ किलोवाटको मोटर जडान गरिएको छ । पावर र टर्क यात्रीले ४० एचपीको पावर र १२० एनएमको टर्क उत्पादन गर्दछ भनी कम्पनीले दावी गरेको छ भने रिभोल्ट आरभि ४०० ले ६.७१ एचपीको पावर र १७० एनएमको टर्क उत्पादन गर्दछ भनेर रिभोल्ट मोटर्सले दावी गरेको छ । चार्जिङ्ग टाइम यात्रीमा समावेश ब्याट्रीलाई चार्ज गर्न केवल २ घण्टाको समय लाग्दछ भनेर कम्पनीले जनाएको छ । तर यो २ घण्टामा ब्याट्री १०० प्रतिशत नै चार्ज हुन्छ या सोभन्दा थोरै हुन्छ भन्ने वारे कम्पनीले प्रष्ट्याएको भने छैन । रिभोल्ट्स मोटर्सका अनुसार रिभोल्ट आरभि ४०० लाई ७५ प्रतिशत चार्ज गर्न ३ घण्टाको समय लाग्दछ र १०० प्रतिशत नै चार्ज गरिसक्न ४.५ घण्टा समय लाग्दछ । माइलेज र टपस्पिड यात्रीमा ‘सुस्ते’, ‘ठिक्क’ र ‘बबाल’ गरी ३ ओटा राइडिङ्ग मोडहरु रहेका छन् । सुस्ते मोडमा बाइक थोरै पावरमा विस्तारै चल्दछ र बढी माइलेज प्रदान गर्दछ । कम्पनीका अनुसार यो मोडमा चलाउँदा यात्रीले २ सय ३० किलोमिटरको रेञ्ज दिन्छ । रिभोल्ट आरभि ४०० मा चाहिँ ‘इको’, ‘नर्मल’ र ‘स्पोर्ट्स’ गरी ३ अलग राइडिङ्ग मोड दिइएका छन् । कम्पनीका अनुसार यो मोटरसाइकलले इको मोडमा १ सय ५० किलोमिटरको उच्चतम रेञ्ज प्रदान गर्दछ । यात्री मोटरसाइकल्सको दावीअनुसार यात्रीले बबाल मोडमा १ सय २० किलोमिटर प्रतिघण्टाको उच्चतम टपस्पिड हासिल गर्न सक्दछ । तर, रिभोल्ट आरभि ४०० ले भने स्पोर्ट्स मोडमा ८० किलोमिटर प्रतिघण्टाको उच्चतम टपस्पिड हासिल गर्न सक्दछ । अन्य यात्रीमा ७–इञ्च फुल एचडी टचस्क्रीन ड्यासबोर्ड दिइएको छ भने रिभोल्टमा चाहिँ नर्मल डिजिटल ड्यासबोर्ड दिइएको छ । त्यसैगरी यात्रीको बडी कार्बन फाइबरको पार्ट्सहरुले बनाएको छ भने रिभोल्टमा धेरै ठाउँमा प्लाष्टिक जडित छ । यात्रीमा एबीएस समावेश छ भने रिभोल्टमा एबीएस समावेश गरिएको छैन । यात्रीले कुनैपनि प्रकारको साउण्ड उत्पन्न गर्दैन तर रिभोल्टमा भने स्पिकर मार्फत् पेट्रोल मोटरसाइकलले उत्पन्न गर्ने कृतिम साउण्ड समावेश गरिएको छ । मूल्य यात्री मोटरसाइकल्सले मूल्यको वारेमा हाल केही नखुलाए तापनि सो मोटरसाइकलको मूल्य नेपाली बजारमा ४ लाख रुपैयाँको हाराहारी पर्ने अनुमान गरिएको छ । रिभोल्ट ४०० आरभि भारतीय बजारमा १ लाख ३८ हजार रुपैयाँमा बिक्री वितरण भइरहेको छ भने नेपाली बजारमा आइसक्दा सो बाइकको मूल्य ३ लाख ५ हजार रुपैयाँको हाराहारी पर्ने अनुमान गरिएको छ ।
टाटा एच५ एसयूभीः सुरुवाती मूल्य साढे ५८ लाख, यस्ता विशेषताले बनायो चर्चित
काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले केहि महिना अघि नेपालमा लञ्च गरेको एच५ एसयूभी निकै नै चर्चामा रहेको छ । यसको सुरुवाती मूल्य नेपाली बजारमा ५८ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । नेपालमा टाटा एच५ को एक्सइ, एक्सएम, एक्सटि र एक्सजेड गरी ४ अलग भेरियन्टहरु उपलब्ध रहेका छन् । ठुलो बनावट र ठुलै क्याविन रहेको यस एसयूभीको अफरोडिङ्ग क्षमता गज्जबको रहेको छ । यस कारको फिचरहरुको रुपमा जेनोन एचआईडी प्रोजेक्टर हेडल्याम्प्स, १७-इञ्च अलोए व्हिल्स लोगो प्रोजेक्सन सहितको आउटसाइड रियर भ्यू मिरर्स, एलईडी टेल लाइट्स, ८.८-इञ्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ८-वे एडजस्टेवल ड्राइभर्स सिट, ७-इञ्च कलर टीएफटी डिस्प्ले भएको इस्ट्रुमेन्ट क्लष्टर, एम्प्लिफायर सहितका ९ ओटा जेबीएलको स्पिकर जस्ता विशेषताहरु समावेश छन् । सेफ्टी फिचरको रुपमा भने एच५ मा ६ ओटा एयरब्यागहरु, एबीएस सिस्टम, ईबीडी सिस्टम, रियर पार्किङ्ग सेन्सर, चाइल्ड सेफ्टी लक, हिल होल्ड कन्ट्रोल, रोल ओभर मिटिगेशन, कर्नरिङ्ग स्ट्याविलिटी कन्ट्रोल लगायत समावेश छन् । टाटा एच५ मा प्रयोग भएको इञ्जिन १९५६ सीसी ४ सिलिण्डर टर्बो चाज्र्ड डिजेल इञ्जिन हो जसले १४० पीएसको पावर र ३५० एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यस कारमा ६-स्पिड म्यानुअल गियरबक्स दिइएको छ भने कारले १५ केएमपीएलको माइलेज प्रदान गर्दछ । ५ सिटर यस एसयूभीको लम्वाई ४५९८ मिलिमिटर, चौडाई १८९४ मिलिमिटर र उचाई १७०६ मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ २०५ मिलिमिटर र बुट स्पेश ४२५ लिटरको रहेको छ । त्यसैगरी, ५० लिटरको फ्युल ट्याङ्क क्यापासिटी रहेको एच५ को अगाडिको चक्काहरुमा डिस्क र पछाडिको चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएको छ । हाल नेपाली बजारमा टाटा एच५ का ४ भेरियन्टहरु मध्ये एक्सइको मूल्य ५८ लाख ५५ हजार रुपैयाँ तोकिएको छ भने एक्सएमको मूल्य ६५ लाख ९९ हजार रुपैयाँ, एक्सटिको मूल्य ७० लाख ९९ हजार रुपैयाँ र एक्सजेडको मूल्य चाहिँ ७५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।