टिभिएसको फुल चार्जमा ७५ किलोमिटर माइलेज दिने इलेक्ट्रिक स्कुटर सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडाैं । टिभिएसले ‘आइक्यूव’ नामक इलेक्ट्रिक स्कुटरलाई सार्वजनिक गरेको छ । भारतिय बजारमा १ लाख १५ हजार रुपैयाँ तोकिएको सो स्कुटर टिभिएसको पहिलो इलेक्ट्रिक उत्पादन बन्न पुगेको छ । केहि दिन अघिमात्र कम्पनीले आफ्नो सामाजिक सञ्जाल पेजबाट टिजर मार्फत् यस स्कुटरको एक झलक देखाएको थियो । यस स्कुटरमा फुल–एलईडी लाइटिङ्ग, फुल-डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, टिभिएसको स्मार्टकनेक्ट टेक्नोलोजी लगायतका मोडर्न फिचरहरु समावेश गरिएको छ । स्मार्टकनेक्ट टेक्नोलोजी मार्फत् चालकले आफ्नो स्मार्टफोनलाई स्कुटरको इन्स्ट्रुमेन्ट क्लष्टरमा कनेक्ट गर्न सक्दछ । त्यसैगरी आइक्यूवमा लोकेशन देखाउनमा मद्दत पुर्याउने जियो-फेन्सिङ्ग, नेभिगेसन एसिस्ट, ओभर-स्पिड अलर्ट, लास्ट पार्क लोकेशन र इन्कमिङ्ग कल तथा म्यासेज अलर्ट्स देखिने डिस्प्ले लगायतका विशेषता पनि समावेश छन् । आइक्यूवको डिस्प्लेमा राम्रो भिजिविलिटीका लागि रात र दिनमा आफैं एड्जस्ट हुने गरेर लाइटिङ्ग मिलाइएको छ । आइक्यूवमा ४.४ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ जसले स्कुटरलाई ७८ केएमपीएचको उच्चतम् गति प्रदान गर्न सक्दछ । त्यसैगरी यसमा रहेको २.२५ किलोवाटआवर लिथियम-आयन ब्याट्रीले फुल चार्जमा ७५ किलोमिटरको यात्रा तय गर्न सक्दछ । टिभिएसले यस स्कुटरको खरिदमा ५ एम्पियरको एउटा चार्जर पनि प्रदान गर्नेछ जसमार्फत् यस स्कुटरलाई चार्ज गर्न सकिन्छ । आइक्यूवमा इकोनोमी र पावर गरी दुइओटा राइडिङ्ग मोडहरु प्रदान गरिएको छ । अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक जडित यस स्कुटरमा सस्पेन्सनको काम टेलिस्कपिक फर्क र डुअल शक एब्जर्बर्सले गर्दछन् । बजाजले पनि आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ‘चेतक’ लाई केहि दिन अघि भारतमा सार्वजनिक गरेको थियो जसको मूल्य पनि १ लाख १५ हजार रुपैयाँ नै तोकिएको थियो । हाल आइक्यूव चेतकको एउटा कडा प्रतिष्पर्धीको रुपमा रहेको छ ।
१५ वर्ष पुराना तीन पाङ्ग्रे सवारी साधन विस्थापन हुने
भारत । वायु प्रदूषण न्यून गर्ने उद्देश्यले भारतको पञ्जाब राज्यमा १५ वर्षभन्दा पुराना तीन पाङ्ग्रे सवारी साधन विस्थापन गरिने भएको छ । राज्य सरकारको वातावरण तथा जलवायू विभागको प्रस्तावमा नयाँ विद्युतीय वा सिएनजी सञ्चालित तीन पाङ्ग्रे सवारी साधनलाई अनुमति दिइने छ । तन्दरुस्त पञ्जाब अभियान अन्तर्गत सञ्चालित यस कार्यक्रमबाट लाखौं प्रभावित हुनेछन् । अभियानका निर्देशक के एस पन्नुले विद्युतीय सवारीको प्रयोगले राज्यको वायू प्रदूषण नियन्त्रणमा निकै सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । पञ्जाबमा हाल लाखौंको संख्यामा पेट्रोलबाट सञ्चालन हुने तीन पाङ्ग्रे सवारी साधन गुडिरहेका छन् ।
भन्सार दिवसमा नाडाले गर्यो करसम्बन्धी प्रशिक्षण कार्यक्रम
काठमाडौं । अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) ले ६८औं भन्सार दिवसको अवसरमा भिसिटिएस सम्बन्धि प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम बिहीबार होटेल याक एण्ड यति दरबारमार्गमा सम्पन्न भएको हो । नाडाका अध्यक्ष कृष्ण दुलालले भन्सार कर तथा भिसिटिएस सम्बन्धी विस्तृत जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम संचालन गरेको बताए । उनले सातवटै प्रदेशमा संस्थागत सदस्यहरु मार्फत प्रशिक्षण कार्यक्रम अघि बढाइने बताउँदै सन्दर्भ मूल्य हटाएर व्यवसायीले स्वघोषणा गरिएको मूल्य कायम हुनुपर्ने बताएका छन् । भन्सार विभागका महानिर्देशक सुमन दाहालले काठमाडौंमा १३ वटा कर कार्यालय भए पनि एउटा मात्रै भन्सार कार्यालय भएको बताउँदै भन्सारसँग नागरिकको साक्षात्कार हुन नसकेको उल्लेख गरे । साथै, भन्सारका गतिविधि, कामहरुका विषयमा जानकारी दिन प्रशिक्षण कार्यक्रमले सहयोग गर्ने दाहालले बताए ।