अफरोड रुट पहिचान गर्न ‘जिप क्लब नेपाल’ काे स्थापना
काठमाडौं । नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई प्रोत्साहित गर्न नेपाली जिपप्रेमीहरुले ‘जिप क्लप नेपाल’ नामको सामाजिक समुदाय स्थापना गरेका छन् । काठमाडौंमा आयोजना गरिएको ‘जिपर्स मिटिङ २०२१’मा जिपका उत्साहीहरुले जिप क्लब नेपालको स्थापना गरेका हुन् । जिपप्रेमी सदस्यहरुले अफरोडिङबारे जानकारी आदनप्रदान गर्ने र नयाँ ट्रेल र अफरोड रुट पहिचान गर्नेछन् । ‘जिप एसयुभीबारे अझ धेरै थाहा पाउन र यसको वास्तविक क्षमताको अनुभव गर्न हामी आउटडोर इभेन्टहरु आयोजना गर्नेछौं,’ जिप कम्पास ट्रेलहकधनी कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. सौरभ कृष्ण मल्लले भने । त्यसैगरी, क्लबका अर्का सदस्य तथा एनसेलमा कार्यरत् सुदिप देवकोटाले जिप क्लबले अफरोड ड्राइभिङबारे ट्रेनिङ दिने, ट्रेलहरुको आयोजना गर्नुका साथै अन्य सामुदायिक क्रियाकलापहरु गर्ने बताउनु भयो । ‘जिप क्लबले अफरोडिङबारे सिकाउने, सोसियल र एडभेन्चरस क्रियाकलाप गर्ने र पारिवारिक जमघटलाई प्रोत्साहित गर्नेछ,’ उनले भने । नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफका सिइओ अनिश लामिछानेले जिप क्लबले नेपाली बजारमा जिपको ‘ब्रान्ड इमेज’ र ‘ओनरसिप एक्सपिरियन्स’लाई बलियो बनाउने बताए । अन्तर्राष्ट्रिय स्तरमा जिप क्लबहरुको सुरुवात जिपको उपस्थिति सडकमा देखिएदेखि नै भएको थियो । दोस्रो विश्वयुद्धमा प्रयोग भएका जिपको क्षमताबाट प्रभावित पूर्वसैनिकले आफूले प्रयोग गरेका जिपलाई लिएर भेटघाट गर्ने र ट्रेलमा जाने थालेपछि जिप क्लब अस्तित्वमा आएको थियो । अहिले संसारमा हजारौं जिप क्लबहरु संचालनमा छन् ।
डडेल्धुरा र दिपायलमा महिन्द्राको थ्रीएस शोरुम स्थापना
काठमाडौं । अग्निग्रुपले डडेल्धुरामा महिन्द्राका गाडीहरुको नयाँबिक्री, सेवा र पार्टपुर्जा सहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो । महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त उक्त शोरुम डडेल्धुराको किर्तिपुरमा अग्नीग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगर उपप्रमुखश्री संगीता भण्डारीले शनिबार संयुक्त रुपमा उद्घाटन गरेका थिए । डडेल्धुरा र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँचउपलब्ध गराई लाभप्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार उक्त शोरुमबाट महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअपसहितका सबै उत्पादनहरू उपलब्ध हुनेछन् । सोहीदिन अग्निग्रुपले डोटीस्थित दिपायलमा रहेको दक्षिणकाली मोटर कोर्पमा पनि थ्रिएस सेटपमै महिन्द्राका नयाँ शोरुम र सर्भिस सेन्टरको समुद्घाटन गरेको थियो ।
हेटौंडा र बर्दिबासमा नयाँ डिलर राख्दै ह्वाईट लोटस
फाइल फाेटाे काठमाडौं । दुई पांग्रे विद्युतीय सवारी साधनको बिक्री वितरण गर्दै आएको ह्वाईट लोटस मोटर्सले २ स्थानमा डिलर विस्तार गर्ने भएको छ । कम्पनीले हेटौंडाको बाग भैरव ई मोटर्स र बर्दिबासको श्रेष्ठ इन्टरप्राइजेजमा नयाँ डिलर राख्न लागेको हो । कम्पनीले २ स्थानका नयाँ डिलर सोमबारदेखि सञ्चालनमा ल्याईने जनाएको छ । कम्पनीले यसअघि देशका १६ ठाउँमा आफ्नो डिलर नेटवर्क स्थापना गरिसकेको छ । देशभर विद्युतीय सवारी साधनको संख्या बढाउनु पर्छ भन्ने योजनाका साथ व्यवसाय सुरु गरेको सो कम्पनीले भारतीय ब्राण्ड ‘प्योर ईभी’ को विद्युतीय स्कुटर नेपाल भित्र्याएर बिक्री गर्दै आएको छ । कम्पनीले गत वर्षदेखि भारतीय ब्राण्डका विद्युतीय स्कुटर नेपाल भित्र्याएको हो । नेपाल भित्रिएको १ वर्षको अवधिमा ४ सयभन्दा बढी विद्युतीय स्कुटरको बिक्री भैसकेको कम्पनीले जनाएको छ ।