राष्ट्र बैंकलाई नाडा अध्यक्षको प्रश्नः सवारी साधनको खरिदमा लगाएको क्याप खोल्ने बेला भएन ?

काठमाडौं । नाडा अटोमोबाईल्स एशोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष कृष्ण प्रसाद दुलालले नेपाल राष्ट्र बैंकले सवारी साधन खरिदमा लगाएको ५० प्रतिशतको क्यापलाई पुनरावलोकन गर्ने समय आएको बताएका छन् । बुधबार नाडाको ४५औं वार्षिक साधारण सभामा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् । देश विकासिल राष्ट्रको सूचीमा गइसकेपछि पनि सवारी साधनको खरिदमा ५० प्रतिशतको सीमा तोक्नु देशका लागि नै दुर्भाग्य भएको उनको भनाई छ । उनले यो व्यवस्थाको पुनरावलोकनमा राष्ट्र बैंकले ध्यान दिनु पर्ने बताएका हुन् । ‘नेपाल राष्ट्र बैंकले सवारी साधनको खरिदमा ५० प्रतिशतको क्याप लगाएको छ, यस्तो बन्दीको अवस्थामा यो व्यवस्था कति न्यायोचित छ ? यसबारे पुनरावलोकन गर्ने समय आइसकेको छ, यस बारे राष्ट्र बैंकले सोच्नु पर्छ,’ उनले भने । नेपाल राष्ट्र बैंकले ४ वर्ष पहिले सवारीसाधनको आयात बढेकाे कारण नेपालको वित्तीय क्षेत्रमा तरलताको स्थिति आएकाे भन्दै सवारी साधनको खरिदमा ५० प्रतिशतको क्याप लगाएको थियो । अटो लोन एउटा बैंकले दिने र अर्को बैंकमा जम्मा हुने प्रकृतिको लोन भएको र एउटा ग्राहकको लागि सानो सानो रकम प्रवाह हुने भएकोले नै यसबाट तरलतामा नकारात्मक प्रभाव नपर्ने उनको भाई छ । यस्तै, उनले उपत्यकाको सडक जाम हुनुमा सडक विस्तार हुन नसक्नु, विस्तार भएको सडकले पूर्णता नपाउनु, ट्राफिक लाइटको उपयुक्त व्यवस्था नहुनु, ट्राफिकको संख्या कम हुनु, फ्लाइ ओभरको कमि हुनु, जनचेतनाको कमी हुनु र करीडोरको सडकले पूर्णता नपाउनु आदि मुख्य कारक तत्वहरु रहेको पनि बताएका छन् ।

सातै प्रदेशमा टिभिएसले रेडर बाइकलाई सप्तरंगमार्फत लञ्च गर्दै

काठमाडौं । सातै प्रदेशमा टिभिएस रेइडर सप्तरंग–३’ हुने भएको छ । गृष्मा ब्रोडकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ कार्यक्रमसँगै टिभिएसले नयाँ मोटरबाइक रेडरलाई सातै प्रदेशमा लञ्च गर्न लागेको हो । कम्पनीको अनुसार ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति’ भन्ने नाराका साथ कला मार्फत् जनमानसमा सन्देश दिन कार्यक्रम आयोजना गर्न लागिएको हो । कला संस्कृतिलाई उजागर गर्दै २४ मंसिरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग–३’ पुस ९ गते पोखरामा समापन हुने छ । कम्पनीको अनुसार काँकडभिट्टा लगत्तै मंसिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर सम्पन्न हुनेछ । ‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी रहने कम्पनीले जनाएको छ । सप्तरंग–३ लाई  टीभीएसले मुख्य प्रायोजन गर्देछ । कम्पनीले आफ्नो नयाँ मोटरसाइकल रेडर मार्फत्  सप्तरंग–३ मा सामेल हुन लागेको जनाएको छ ।

अप्रिलियाको रिक्रियसनल राइड सम्पन्न

काठमाडौं । अप्रिलियाको रिक्रियसनल राइड सम्पन्न भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपले हिजो आयोजना गरेको उक्त राइडमा १२० जना राइडरले सहभागिता जनाएका थिए । सोहि क्रममा नगरकोटको होटल चौतारीमा पुगेर राइडरले विभिन्न मनोरञ्जनात्मक खेलमा सहभागिता जनाउँदै उक्त रात सोहि होटलमा बिताएका थिए । खेलमा विजयी राइडरलाई पुरस्कारको साथै सहभागी सबैजनालाई प्रमाणपत्रबाट सम्मान समेत गरेको थियो । राइडमा अप्रिलियाका एसआर १५०, स्ट्रोम र केहिदिन अघिमात्र भित्रिएको एसएक्सआर १६० स्कुटरमा सवार राइडरले सहभागिता जनाएका हुन । यी स्कुटरको पर्फमेन्स टेष्ट गर्नु र राइडरलाई रिफ्रेसमेन्ट प्रदान गर्नु उक्त राइडको मुख्य उद्देश्य रहेको कम्पनीका उपाध्यक्ष विजय महतोले बताए । उनले भने, ‘ पछिल्लो समय अप्रिलिया स्कुटर प्रयोग गर्ने ग्रााहकले यस प्रकारको राइडमा सहभागी हुन इच्छा देखाउँदै आएका छन् । यसप्रकारको राइडले ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन समेत सहयोगी हुने कारण हामीले विभिन्न स्थानहरुमा राइडको आयोजना गर्दै आइरहेका छौ ।’ ग्राहकबीच अन्तरक्रिया गराउन, भेइकलको परफमेन्स र रिभ्यु गर्न तथा ब्रान्डको प्रबद्धन गर्न समेत यो राइड उपयोगी भएको उनले बताए । राइडमा सहभागी हुन इच्छुक ग्राहकको संख्या बढ्दै गएका कारण अबको केही समयपछि नयाँ लोकेशनमा पुन अर्को राइड आयोजना गर्ने तयारी आफूहरुले गरिरहेको महतोले जानकारी दिए ।