२०२५ मा ल्याम्बोर्गिनीको कीर्तिमानी बिक्री

काठमाडौं । इटालीयन लक्जरियस स्पोर्ट्स कार निर्माता ल्याम्बोर्गिनीले मंगलबार सन् २०२५ मा विश्वभर १० हजार ७४७ सवारीसाधन डेलिभरी गरेको जनाएको छ । यो अघिल्लो वर्षको प्रदर्शनभन्दा केही सुधारसहित अहिलेसम्मकै उच्च कीर्तिमान हो । जर्मनीको फक्सवागन समूह अन्तर्गतको ल्याम्बोर्गिनीले उक्त सशक्त प्रदर्शनको श्रेय आफ्नो हाइब्रिड रणनीति तथा सबै क्षेत्रबाट आएको मजबुत नतिजालाई दिएको छ ।  क्षेत्रगत रूपमा युरोप, मध्यपूर्व र अफ्रिका (ईएमईए) अग्रस्थानमा रहँदै ४ हजार ६५० गाडी डेलिभरी भएका छन् । त्यसपछि अमेरिकामा ३ हजार ३४७ र एसिया–प्रशान्त क्षेत्रमा २ हजार ७५० गाडी डेलिभरी भएका छन् । जटिल विश्वव्यापी वातावरणबीच पनि ब्रान्डलाई अलग पहिचान दिलाउन सक्षम भएको प्रमाण यी कीर्तिमानी डेलिभरीहरूले पुष्टि गरेको ल्याम्बोर्गिनीका प्रमुख कार्यकारी अधिकृत स्टेफान विन्केलमानले विज्ञप्तिमा बताएका छन् ।

निर्वाचनका लागि भारत सरकारले पहिलो चरणमा दियो ६१ वटा गाडी उपहार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको छ ।  मंगलबार सिंहदरबारस्थित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको हो । गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो ।  उक्त प्रस्तावअन्तर्गत भारतले नेपाल सरकारलाई उपहार स्वरूप पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो । यसपटकको निर्वाचनको लागि भारत सरकारले सानाठूला गरी ५३८ वटा गाडी उपलब्ध गराउने बताइएको छ । गाडीहरू नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न पाउने छ । भारत सरकारले निर्वाचन सम्पन्न गर्नको लागि नेपाल सरकारलाई सवारी लगायतका निर्वाचन उपकरण सहयोग गर्दै आइरहेको छ ।  सन् २००८ यता मात्र भारत सरकारले नेपाल सरकारलाई २ हजार ४ सय बढी सवारी साधन हस्तान्तरण गरिसकेको छ । 

टीभीएस अपाचे रेसिङ एक्सपिरियन्सको डेब्यु सम्पन्न, ६० चालक प्रतिस्पर्धामा

काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा टीभीएस अपाचे रेसिङ एक्सपिरियन्स (एआरई जीपी) को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ । टीभीएस अपाचे सिरिजको २० वर्षे यात्राको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम सातुङ्गलस्थित सवारी साधन तालिम तथा अनुसन्धान केन्द्रमा सम्पन्न भएको हो । छनोट चरणमा ६० भन्दा बढी चालक सहभागी हुँदा ३०० भन्दा बढी मोटरस्पोर्ट्स पारखी दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रमअन्तर्गत सहभागी चालकहरूले व्यावसायिक रूपमा तयार पारिएको १० मोडयुक्त रेसिङ ट्र्याकमा प्रतिस्पर्धा गरेका थिए । चालकहरूको मूल्यांकन सबैभन्दा छिटो एक फन्को समयका आधारमा गरिएको थियो । प्रतियोगिता १६० घनसेन्टिमिटर, २०० घनसेन्टिमिटर र ३१० घनसेन्टिमिटर गरी तीन वर्गमा सञ्चालन गरिएको थियो । प्रत्येक वर्गका शीर्ष तीन चालकलाई भारतको चेन्नईस्थित मद्रास अन्तर्राष्ट्रिय रेसिङ सर्किटमा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउने अवसर प्रदान गरिएको छ । साथै, उनीहरूलाई २५ हजार रुपैयाँ नगद पुरस्कार र टीभीएस कम्पनीका विशेष सवारी सुरक्षात्मक सामग्री प्रदान गरिएको कम्पनीले जनाएको छ । १६० घनसेन्टिमिटर वर्गमा सुजन थापा मगर, २०० घनसेन्टिमिटर वर्गमा अभिनव राज मल्ल र ३१० घनसेन्टिमिटर वर्गमा दिलिप दनुवार विजेता बनेका छन् । छनोट चरणका विजेताहरू अब सन् २०२६ को अप्रिलमा आयोजना हुने टीभीएस अपाचे रेसिङ अनुभवको ग्रान्ड फिनालेमा सहभागी हुनेछन् । कार्यक्रमका क्रममा टीभीएस रेसिङका अनुभवी चालकहरूद्वारा सहभागीहरूलाई व्यावसायिक रेसिङसम्बन्धी तालिम तथा मार्गदर्शन प्रदान गरिएको थियो । दिनभर सञ्चालन भएको कार्यक्रममा साहसिक प्रदर्शन, जिमखाना अभ्यास तथा मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिएका थिए । टीभीएस मोटर कम्पनीका अधिकारीहरूले नेपालमा बढ्दो परफर्मेन्स मोटरसाइकल संस्कृति र मोटरस्पोर्ट्सप्रतिको आकर्षणलाई ध्यानमा राख्दै आगामी दिनमा यस्ता गतिविधिहरूलाई थप विस्तार गर्ने बताएका छन् ।