सोमबार साँझदेखि खुल्दै सवारी लाइसेन्सको अनलाइन आवेदन

काठमाडौं । लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमति पत्रका (नयाँ तथा वर्ग थप) अनलाइन आवेदन सोमबार साँझदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै साँझ ६ बजेदेखि नयाँ अनलाईन आवेदन खुल्ने जनाएको हो । विभागले आजदेखि नयाँ अनलाईन आवेदन खुला गरिएको जनाउँदै अर्काे साताको सोमबारबाट खुला गरिने जनाएको छ । सेवाग्राहीको अधिक चाप र सर्भरमा समस्या देखिएपछि विभागले गत चैत १ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द गरेको थियो ।

एसेम्बलीङ उद्योगमा पाटपूर्जा आयात गर्दा ५० र आयकरमा ४० प्रतिशत छुट

काठमाडौं । सरकारले नेपालमा नै सवारी एसेम्बल गर्ने उद्योगलाई छुट दिने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन । उनले चार पांग्रे सवारी साधन उद्योग स्थापना वा एसेम्बल उद्योगलाई पाटपूर्जा आयातमा ५० प्रतिशत छुट दिने घोषणा गरेका हुन । यस्तै, उनले चार पांग्रे सवारी साधन खरिद गर्दा अनिवार्यरुपमा स्थायी लेखा नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था मिलाइने समेत बताए । उनले नेपालमै सवारीसाधनको एसेम्बल गर्ने उद्योग स्थापना गरे ४० प्रतिशतसम्म आयकर छुट दिने घोषणा गरे । यस्तो आयकर छुट कारोबार शुरू गरेको ५ वर्षसम्म दिइने आर्थिक वर्ष २०७९/८० को बजेटमा उल्लेख छ ।

पेट्रोलियम गाडीलाई विद्युतीय बनाइने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनलाई विद्युतीय गाडीमा रुपान्तरण गर्ने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन । उनले काठमाडौं उपत्यकामा सञ्चालन रहेका पेट्रोलियम पदार्थबाट चल्ने निजी तथा सार्वजनिक गाडीहरूलाई विद्युतीय गाडीमा रूपान्तरण गरिने बताएका हुन । सवारी प्रदूषण मापनका लागि स्वचालित प्रविधि स्थापना गरिने आवश्यक बजेट व्यवस्थापन गरिने उनले बताए ।