चौधरी ग्रुप विद्युतीय सवारीको व्यवसायमा प्रवेश, नेपाल भित्र्यायो निटाको ३८ लाख पर्ने कार

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले वातवरण मैत्री विद्युतीय सवारीको व्यापार शुर गरेको छ । बुधबार निटा ब्राण्डको विद्युतीय कार निटा सार्वजनिक गर्दै कम्पनी विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको हो । निटा ब्राण्ड चिनियाँ मोटर उत्पादक कम्पनी हो जोन अटोमोबाइल कम्पनीले उत्पादन गर्दै आएको कार हो । सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयत घटाइ व्यापार घाटा कम गर्ने सरकारको नीतिलाई सहयोग पुर्याउन आफूहरुले विद्युतीय सवारीको प्रवर्द्धन थालेका बताए । अधिकांश सवारी उत्पादनले आइसी इञ्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएको भए पनि निटा ब्राण्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको भएकाले निकै इफिसियन्ट रहेको कम्पनीको दाबी छ । यस कारले एकपटकको फूल चार्जमा ३८० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीले बताएको छ । पाँच जना अट्न सक्ने यो कार फूल चार्ज हुन एसी चार्जरबाट ६ घण्टा (६.६ किलोवाट) लाग्छ भने डीसी फास्ट चार्जबाट २० मिनेटमा ९० प्रतिशतसम्म चार्ज हुन्छ । ३७ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको निटा भीमा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस्क ब्रेक छ भने यो फ्रन्ट ड्राइभ मोड कार हो ।

बजेटको असर : पल्सर २२० एफको मूल्य २० हजारले बढ्याे

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट मार्फत २०० सीसी माथिका दुई पाँग्रे सवारी (मोटरसाइकको) भन्सार तथा अन्तशुल्क महशुल बढाएसँगै मोटरसाइकलको मूल्य बढ्न थालेको छ । नेपालमा विभिन्न कम्पनीका मोटरसाइकल बिक्री गर्दै आएका कम्पनीहरुले मूल्य बढ्न थालेको जनाएका छन् । बजाज मोटरसाइलको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले बिक्री वितरण गर्ने दुई पाँग्रे सवारीको मूल्य बढेको जनाएको छ । कम्पनीले बिक्री वितरण गर्दै आएका मोडलमध्ये बजेटका कारण तीन मोडलका बाइकको मूल्य बढेको जनाएको छ । बजेटका कारण बजाजका बाइकको मूल्य ३ हजारदेखि २० हजार रुपैयाँसम्म मूल्य बढेको छ । कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दै तीन मोडलको मोटरसाइकलमा मूल्य वृद्धि भएको जनाएको छ । मूल्य वृद्धि हुनेमा बजाज पल्सर १५०, पल्सर २२० एफ र एभेन्जर २२० रहेको छ । अन्य मोडलको मोटरसाइकलको मूल्य भने यथावत रहेको मूल्यसूचीमा उल्लेख छ । आजदेखि बढ्यो मूल्य कम्पनीले जेष्ठ २५ गते अर्थात बुधबारदेखि लागू हुने गरी पल्सर १५० को सिंगल डिस्क भर्सनमा ३ हजार रुपैयाँ, एभेन्जर २२० क्रुजरमा ३ हजार र पल्सर २२० एफमा २० हजार रुपैयाँ मूल्य वृद्धि गरेको हो । यी तीन मोटरसाइकलको नयाँ मूल्य क्रमशः २ लाख ८२ हजार ९००, ३ लाख ९९ हजार ९०० र ३ लाख ९४ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै २०० सीसी माथिका मोटरसाइकलको भन्सार तथा अन्तशुल्क महशुल बढेको बताएका थिए । उनले सार्वजनिक गरेको बजेट अनुसार २०० सीसी देखी २५० सीसी नाघेको मोटरसाइकलको अन्तशुल्क ८० प्रतिशतले बढेको छ । हाल २०० देखि २५० सीसी ननाघेको ६० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको थियो । यस्तै, २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महशुल लगाउने भएको छ । हाल सबै दुईपांग्रेमा ३० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्था रहेको थियो ।

यातायात विभागले भन्यो : तत्कालनै इम्बोस्ड नम्बर जडान गर्न भनिएको हाेइन

काठमाडौं । यातायात व्यवस्था विभागले आगामी साउन १ गतेभित्र बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य नभएको जनाएको छ । आवश्यक संरचना नै निर्माण नगरी विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगर्नेलाई कारवाहीको चेतावनी दिएपछि तिव्र आलोचना भएको थियो । विभागले जेठ २० गते एक सूचना जारी गरी दुई प्रदेशमा दर्ता भएका सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान नभएर ट्राफिकले जरिवाना काट्ने चेतावनी दिएको थियो । विभागले उक्त चेतावनी दिएपछि सडकदेखि संसदमा विभागको तिव्र आलोचना भएको थियो । आलोचना भएपछि विभागले मंगलबार पुनः सूचना जारी गर्दै साउन १ गतेभित्र अनिवार्य दर्ता गर्नुपर्ने नभनीएको जनाएको छ । विभागले उक्त सूचनालाई परिवर्तन गर्दै २०७८ मंसिर १ गतेदेखि दर्ता भएका सवारीलाई मात्र अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको छ । यस्तै, फागुन १ गतेपछि नामसारी भएका सवारीले समेत असार मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ । मंसिर १ अगाडी दर्ता भएका र पुराना सवारीले विस्तारै नम्बर दर्ता गर्नुपर्नेछ ।