महिन्द्रा बोलेरो पिकअप टिभिसी नेपालमा सार्वजनिक
काठमाडाैं । अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो पिकअप टिभिसी सार्वजनिक गरेको छ । महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुपले शुक्रबार सामाजिक संजालमार्फत भिडियाे सार्वजनिक गरी साे पिकअप सार्वजनिक गरेकाे हाे । कम्पनीले महिन्द्रा बोलेरो पिकअपलाई उद्यमशील नेपालको भरपर्दो साथी भएकाे बताएकाे छ । महिन्द्रा बोलेरो पिकअपले ऊर्जा र सहनशीलताका साथ नेपालको हरेक कुना–कुनालाई जोड्ने कम्पनीले विश्वास व्यक्त गरेकाे छ। अग्नि ग्रुप अटोमोबाइल्स, स्पेयर र सेवाहरूको प्रमुख बिक्रेता हो र यसकाे देशभर ८० भन्दा बढी डिलर र शाखाहरू सम्मिलित व्यापक नेटवर्क छ ।
नेपाली बजारमा आइपुग्याे टिभिएस अपाचे आरटिआर १६० फोरभि आरटिएफआइ
काठमाडाैं । जगदम्बा मोटर्सले टिभिएस अपाचे आरटिआर १६० फोरभि आरटिएफआइ तथा बिएस–भिआइको नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गरेकाे छ । कम्पनीले शुक्रबार काठमाडाैं एक कार्यक्रम गरी उक्त माेडल सार्वजनिक गरेकाे हाे । कम्पनीकाे अनुसार नेपालमा सार्वजनिक हुन लागेको सो मोटरसाइकलको बिएस–भिआइ मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष ३ राइड मोड्स (रेन अर्बन र स्पोर्ट मोड) रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन् । यस विशेषताले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउने कम्पनीकाे भनाइ छ । यसैगरी यस मोटरसाइकलको अर्को राम्राे पक्ष भनेको रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटिएफआइ) टेक्नोलोजी युक्त बिएस–भिआइ इन्जिन रहेको छ । अटोमोबाइल जगतमा आरटिएफआइ टेक्नोलोजिलाई निकै नै उत्कृष्ट मानिन्छ । यस आरटिएफआइ टेक्नोलोजी युक्त इन्जिनले माइलेजमा वृद्धि गदर्छ । साथै बिएसभिआइ कम्पलयिन्ट इन्जिन वातावरण मैत्री हुन्छ । त्यति मात्र नभएर यस मोटरसाइकलमा स्मार्ट एक्स कनेक्ट फिचर रहेको छ जसको सहायताले मोटरसाइकलमा ब्लुटुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग,लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् । जगदम्बा मोटर्सले नयाँ टिभिएस अपाचे आरटिआर १६० फोरभि आरटिएफआइ विथ बिएस–भिआइ काठमाडौँको पर्पल हेज रक बारबाट असार ९ गते सार्वजनिक गर्ने जनाएको छ । सो कार्यक्रम प्रख्यात नेपाली ब्यान्ड कबवेभ तथा नेपालको विभिन्न मोटो भ्लोगर्सको साथै जगदम्बा मोटर्सको प्रतिनिधिहरुको उपस्थितिमा हुने कम्पनीले जनाएकाे छ ।
नाकामै थन्किएका सुन्दरका विद्युतीय बस ४ करोड कर छुटपछि भित्रिए, साउनदेखि काठमाडौंमा गुड्ने
काठमाडौं । भन्सार शुल्कमा विवाद भएर रोकिएका सुन्दर यातायातको विद्युतीय गाडी नेपाल भित्रिएका छन् । सरकारले विद्युतीय सवारीमा सहुलियतको घोषणा गरेतापनि चर्काे भन्सार शुल्क भएको भन्दै फिर्ता पठाउने तयारीमा रहेको सुन्दरले सरकारले छुट दिएपछि ६ वटा विद्युतीय गाडी नेपाल भित्र्याएको हो । २० वटा विद्युतीय गाडीमध्ये सुरुवाती चरणमा ६ वटा भित्र्याइएको र बाँकी १४ वटा भन्सारपासको क्रममा रहेको सुन्दर यातायातले बताएको छ । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा सरकारले भन्सारमा छुट दिएपछि विद्युतीय गाडी भित्र्याइएको बताउँछन् । उनले सरकारी नीति अनुसार नै कम्पनीले छुट पाएपछि विद्युतीय गाडी भित्र्याएको बताए । सुन्दर यातायातले ल्याएको विद्युतीय गाडीमा सरकारले भन्सार तथा सडक यातायात दस्तुरमा केही छुट र बीमा कम्पनीले नै गर्नेगरी सहमति भएपछि गाडी ल्याएकाे बताए । यसअघि विद्युतीय सवारी ल्याउँदा १.५ प्रतिशत रहेको भन्सार शुल्कमा १ प्रतिशत र ५ प्रतिशत रहेको सडक यातायात शुल्कमा सुन्दरले २.५ प्रतिशत तिनु पर्ने सहमति भएपछि विद्युतीय गाडी भित्र्याएको अध्यक्ष थापाले बताए । सरकारले भन्सार तथा सडक यातायात शुल्कमा छुट दिँदा प्रति गाडी २० लाख रुपैयाँसम्म छुट पाएको उनको भनाइ छ । एउटा गाडीमा २० लाख छुट पाउँदा २० वटा गाडीको ४ करोड रुपैयाँ छुट सुन्दर यातायातले पाएको छ । यसअघि सुन्दरले चर्काे भन्सार तथा सडक शुल्क रहेको भन्दै प्रति गाडीमा ४० लाख रुपैयाँसम्म महँगो भएको भन्दै फिर्ता पठाउने चेतावनी दिएको थियो । ‘सरकारको नीति अनुसार नै हामीले २० वटा विद्युतीय बस ल्याउने तयारी गरेर सुरुवाती चरणमा ४ वटा गाडी वीरगन्ज भन्सार कार्यालयमा ल्याएका थियौँ, ‘वीरगन्ज भन्सार कार्यालयमा कर विवाद भएपछि लामो समय ४ बस भन्सारमै रोकिए’, उनले भने, ‘हामीले पटक/पटक सरकारी अधिकारीलाई भन्सार छुट दिन आग्रह गरेपछि छुट पायौँ, छुट नपाएपछि हामीले भारतमा बिक्री गर्ने तयार गरेका थियौँ, अब सबै गाडी ल्याउँछौं,’ उनले विकासन्युजसँग भने । सुन्दर यातायातले जर्मनबाट खरिद गरेर ल्याएको २० वटा विद्युतीय बसमध्ये ४ वटा बस वीरगन्ञ भन्सारमा थन्किएका थिए । १६ वटा भारतमै थिए । सुन्दर यातायातले प्रति बस एक करोड ८५ लाख रुपैयाँका दरले २० वटा विद्युतीय बस खरिद गरेको थियो । भन्सारका अधिकारीहरुले खरिद मूल्यमा २६ प्रतिशत भन्सार शुल्क तोकेका थिए । भैरहवामा गुडे ४ गाडी सुरुवाती चरणमा सुन्दरले ४ वटा विद्युतीय बस भैरहवा रुटमा सञ्चालन गरेको छ । पहिलो चरणमा भित्रिएका ती विद्युतीय बस भैरहवाको सुनौलीदेखि कपिलवस्तुको चारजितपुरसम्म सञ्चालन गरिएको अध्यक्ष थापाले बताए । ‘भैरहवामा ६ थान बस सञ्चालन गरिसकेका छौँ, साउन १० गतेभित्र हामीले १६ वटा विद्युतीय गाडी ल्याएर काठमाडौं उपत्यकामा सञ्चालन गर्ने तयारीमा छौँ’, उनले भने । यस्तै, सुन्दर यातायातले सरकारसँग विद्युतीय गाडी चार्जिङ स्टेशन र पार्किङका लागि स्थान उपलब्ध गराउन माग गरेको छ । ‘हामीले पार्किङ स्थल र चार्जिङ स्टेशन बनाउन आग्रह गरेका थियौँ, तत्काल सरकारले ठूलोे जग्गा उपलब्ध गराउन नसक्ने र कति सार्वजनिक जग्गा भए खोजी गरेर ल्याउन हामीलाई भनेको छ’, उनले भने, ‘हामीले काठमाडौं उपत्यका भित्र वा नजिकै रहेका सरकारी जग्गा हेरिरहेका छाैं, भेटिपछि निवेदन दिन्छौँ ।’